News

Jul 1, 2008

घूससहित खरिदार नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पन्ध्र हजार रुपियाँ घूस लिएको आरोप लगाउँदै एमाले भ्रातृ संगठन युथ फोर्सले श्रम विभागका एक कर्मचारीलाई मंगलबार नियन्त्रणमा लिई प्रहरीमा बुझाएको छ।सो विभागका खरिदार भुवन रेग्मीलाई पैसा लिँदालिँदै कार्यालयमै नियन्त्रणमा लिइएको युथ फोर्सले दाबी गरेको छ। र्स्वर्गद्वारी ओरेन्टेसन कम्पनी दर्ताका लागि पटक-पटक धाउँदा पनि दर्ता नभएपछि कल्पना श्रेष्ठ नामकी महिलाले युथ फोर्सको कार्यालयमा उजुरी हालेकी थिइन्।उजुरी प्राप्त भएपछि पनि सकेसम्म समझदारीमै मिलाउन आग्रह गरिएको तर कर्मचारीले नमानेको युथ फोर्सका नारायण खड्काले बताए।यता विभागका महानिर्देशक डिल्लीराज शर्माले आफना कर्मचारीमाथि भएको कुटपिटको निन्दा गर्दै अपहरणको शैलीमा एक समूह आएर जबर्जस्ती गरेको बताएका छन्।घूस खाएको भए आफूहरू छानबिन गर्न तयार भएको बताउँदै उनले कार्यालयमै कुटपिट गरिनु राष्ट्रसेवकको अपमान भएको बताए।युथ फोर्सले भने खरिदार रेग्मीले घूस खाएको बताउँदै आफूहरूले दिएको १५ हजार रुपियाँको नम्बरसमेत टिपेको जनाएको छ।तीन दिनसम्म समस्या समाधानको प्रयास गर्दा पनि नभएपछि ५५ जनाको फोर्सको समूह मंगलबार बिहान सो कार्यालय पुगेको थियो।३० हजार रुपियाँ दिने र कम्पनी दर्ता गर्ने भन्दै कम्पनीकी कल्पनाले दमन चन्द नामका व्यक्तिमार्फत बैनाबापत १५ हजार रुपियाँ पठाएको फोर्सको दाबी छ।दमनले विभागका कर्मचारी रेग्मीलाई रकम बुझाउनासाथ युथ फोर्सले घेरा हालेर घूस खाएको तथ्य र्सार्वजनिक गरेको जनाएको छ।युथ फोर्सका प्रतिनिधि खड्काले आफूले खरिदार रेग्मी र घूस रकम प्रहरीलाई बुझाएको बताए।खरिदार रेग्मीलाई पक्रनुअघि युथ फोर्सका कार्यकर्ता आफनो परिचय र्सार्वजनिक नगरी गोप्य ढंगले बसेको र पछि आफूहरू युथ फोर्स भएको परिचय दिएको बताइएको छ।युथ फोर्सद्वारा नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएका खरिदार रेग्मीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशअनुसार मंगलबार साँझ मुक्त गरिएको थियो।

No comments: