News

Dec 23, 2008

मधेस प्रदेशको मुद्दालाई एकबद्धरूपमा उठाउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेशी जनअधिकार फोरमको संसदीय दलको मंगलबारको बैठकले समग्र स्वायत्त मधेस प्रदेशको मुद्दालाई संसदीय र पार्टी मोर्चाले एकबद्धरूपमा उठाउने निर्णय गरेको छ । बैठकमा भौतिक योजना तथा निर्माणमन्त्रीले एक मधेश एक प्रदेशको मुद्दालाई फोरमले त्यागेको भन्ने विषयमा लामो छलफल भएको पार्टीका संविधानसभा सदस्य बीपी यादवले जानकारी दिनुभयो ।सदस्य यादवका अनुसार बैठकमा मन्त्री गच्छदारले एक मधेस प्रदेशका विरुद्धमा आफूले नबोलेको तर सञ्चारमाध्यमले त्यसलाई बङ्ग्याएको भनेर स्पष्टिकरण दिनुभएको थियो । बैठकले हिमाल मिडियामाथि भएको आक्रमणप्रति घोर निन्दा र भर्त्सना गर्दै अपराधीमाथि कडा कारबाही गर्न तथा बाँकेको नेपालगन्जमा तर्राई-मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको कार्यालयमा भएको बम विस्फोटनमा संलग्नको खोजी गरी कारबाही गर्न माग गरेको छ ।

हिमाल मिडियामा भएको आक्रमणमा संलग्नमाथि कारबाही गर्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल मिडियामा भएको आक्रमणमा संलग्नमाथि कारबाही गर्न निर्देशन दिइसकेको बताउनुभएको छ । नेकपा एमाले मा विद्रोह गरी नेकपा माओवादी मा प्रवेश गरेका नेताहरुको स्वागतमा पार्टीद्वारा मंगलबार राजधानीमा आयोजित कार्यक्रम सकिएपछि बाहिर पत्रकारहरूले राखेको जिज्ञासामा उहाँले आक्रमणपछि उत्पन्न समस्या समाधानका लागि सरोकारवाला पक्षसँग कुराकानी गरिरहेको बताउनुभयो । पत्रकारहरुसित उहाँले भन्नुभयो- "यो समस्या छिट्टै समाधान हुन्छ, यसमा तपाईंहरूले पनि सहयोग गर्नुपर्छ ।" हिमाल लगायत सञ्चार संस्थाहरुमा लगातार आक्रमण भइरहेकोप्रति सर्वत्र आलोचना र निन्दा भइरहेका बेला उहाँले यस्तो बताउनुभएको हो ।

तराईमा छ महिनामा १०० जनाको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले तराईका सशस्त्र समूहहरुसंग लामो प्रतीक्षापछि वार्ता शुरु गरे पनि तराईमा हत्याको क्रम रोकिएको छैन। पूर्वी तराईमा गएको एक साता यता १० जना मारिइसकेका छन्। सरकारले एउटा समूहसंग वार्ता गरेपनि दर्जनौ अरु समूहहरुसंग वार्ता हुने अझै कुनै संकेत छैन। वार्ताको अन्यौलले यस्तो स्थिति देखा परेको मानवअधिकारकर्मीहरुको भनाई छ।मध्य र पूर्वी तराईका सप्तरीदेखि पर्सासम्मका आठ जिल्लाहरुमा गएको सात दिनभित्र हत्या गरिएका १० जना मध्ये राज्य पक्षबाट तीन र गैरराज्य पक्षबाट सात जना छन्। धनुषामा एकजना कर्मचारी र एकजना सशस्त्र प्रहरी सहित पाँच जनाको हत्या भएको छ। पर्सामा दुई जना, सर्लाही, सिराहा र सप्तरी जिल्लामा एक, एक जना मारिएका छन्।यी क्षेत्रमा गएको छ महिनामा १०० जना मारिएको मानवअधिकारसित सम्बद्ध संगठनहरुले जनाएका छन्। मानवअधिकारको क्षेत्रमा कार्यरत बुद्धिनारायण सहनी भन्छन, “वार्ताको अन्यौलले पनि हत्या र हिंसाको श्रृङ्खला लम्बिएको हो।"सरकारी वार्ता टोलीले गत महिना मधेशी भाइरस किलर्ससित औपचारिक वार्ता गरेपनि अन्य संगठनहरु सित वार्ता भएको छैन।

Dec 22, 2008

चिकित्सकको लापरबाहीले किशोरीको आँखाको ज्योति गुम्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा, ७ पुस चिकित्सकको लापरबाहीले झापाकी एक किशोरीको आँखाको ज्योति गुमेको छ । चारपानेस्थित मेची आँखा उपचार केन्द्रका चिकित्सकको लापरबाहीले अनारमनी- ३ की अन्जु थापाको ज्योति गुमेको हो । चिकित्सकको लापरबाहीले छोरीको आँखाको ज्योति गुमेको आमा खिनमायाले बताइन् । 'डाक्टरकै लापरबाहीले मेरी छोरीको देब्रे आँखा बिगि्रयो,' उनले नयाँ पत्रिकासँग भनिन्, 'उसले दाहिने आँखा पनि राम्रोसँग देख्दिन ।' अन्जुको देब्रे आँखा सदाका लागि बन्द भएको छ । जलविन्दुका कारण उनले आँखाको ज्योति गुमाएको चिकित्सकले बताएका छन् । दुवै आँखा चिलाएर रातो हुन थालेपछि २२ मार्च २००५ मा पहिलो पटक अन्जु सो उपचार केन्द्रमा भर्ना भएको अभिलेख छ । तर, उपचारमा संलग्न चिकित्सकले सामान्य एलर्जी भएको भन्दै आँखामा हाल्ने र खाने औषधि उनलाई दिएका थिए । चिकित्सककै सल्लाहमा उनलाई एउटा चस्मासमेत दिइएको थियो । हालसम्म पनि उनले सो चस्मा प्रयोग गरिरहेकी छिन् । 'कतै जानुपर्दैन । यहीँ निको हुन्छ भनेपछि कतै पनि गएनौँ,' स्थानीय देवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वषर्ीया अन्जुले भनिन्, '२२ वर्ष पुगेपछि आफैं ठीक हुन्छ भनेका थिए, ज्योति नै गुम्यो ।' प्रारम्भिक चरणमा अन्जुको उपचारमा संलग्न कुनै पनि चिकित्सक हाल सो उपचार केन्द्रमा छैनन् । डा. सञ्जय सिंह, डा. चन्द्र राई र सान्तनु गांगुली अन्यत्रै कार्यरत रहेको उपचार केन्द्रले जनाएको छ । पछिल्लोपटक अन्जुको उपचारमा संलग्न चिकित्सक डा. पुरुषोत्तम जोशीले आफूले कुनै लापरबाही नगरेको दाबी गरे । 'मैले कुनै लापरबाही गरेको छैन,' उनले नयाँ पत्रिकासँग भने, 'बरु दाहिने आँखाको ज्योति गुम्न नदिन मैले नै काठमाडौं जान सल्लाह दिएको थिएँ ।' निरन्तर सम्पर्कमा रहन भनिए पनि सोअनुरूप नआएकाले यस घटनाको जिम्मेवारी लिन नसकिने आँखा उपचार केन्द्रले जनाएको छ । 'प्रत्येक तीन/तीन हप्तामा आउनू भनेका थियौँ,' केन्द्रका प्रशासकीय अधिकृत सुरज रौनियारले भने, 'तर, उहाँहरू २१ महिनासम्म पनि सम्पर्कमा आउनुभएन ।' सो अवधिभित्र अन्जु उपचारका लागि आएको रेकर्ड अस्पतालमा नरहेको उनले दाबी गरे । डा. जोशीका अनुसार अन्जुका आँखामा चिलाउने र आँखाको प्रेसर गरी दुईवटा रोग देखिएका थिए । उनका आँखामा 'एमएलियो' नामक औषधि लामो समयसम्म प्रयोग गरिएकाले थप समस्या निम्तिएको केन्द्रको दाबी छ । पीडित पक्षले भने आफूहरू निरन्तर अस्पतालको सम्पर्कमा रहेको जिकिर गरेको छ । 'हामीले निरन्तर अस्पताल गएर उपचार गराएका हौँ,' अन्जुकी आमा खिनमायाले भनिन् । लगातार तीन वर्षसम्म उपचार गराउँदा पनि देब्रे आँखा झन् दुखेपछि केन्द्रका चिकित्सकले काठमाडौं लान भनेको उनले बताइन् । केन्द्रले काठमाडौं लान सल्लाह दिएलगत्तै काँकडभिट्टास्थित मेची नेत्रालयमा अन्जुको आँखा परीक्षण गरिएको थियो । नेत्रालयले देब्रे आँखा बिगि्रसकेको र दाहिने आँखा पनि जोखिममा रहेकाले तत्काल काठमाडौं लैजान सल्लाह दिएको खिनमायाले बताइन् । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा गरिएको दुई महिना लामो उपचारपछि अन्जुको दाहिने आँखामा आंशिक सुधार आएको छ । तिलगंगा अस्पतालका चिकित्सकले गलत औषधिको प्रयोगबाट अन्जुले आँखाको ज्योति गुमाएको बताएको पीडित पक्षको दाबी छ । यसैबीच अन्जुले आँखाको ज्योति गुमाएपछि परिवार र उनका सहपाठी विद्यार्थीले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेका छन् । विद्यार्थीले दैनिकजसो नारा-जुलुससहित केन्द्रमा घेराउ र धर्ना दिँदै आएका छन् । उनीहरूले आइतबार केन्द्रमा घेराउ गरी चिकित्सक र कर्मचारीलाई एक घन्टासम्म अस्पतालभित्रै थुनेका थिए । पीडित पक्षलाईर् अस्पताल प्रशासनले क्षतिपूर्ति नदिए चरणबद्ध आन्दोलन गर्ने विद्यार्थीले चेतावनी दिएका छन् । सोमबार पनि विद्यार्थीले केन्द्रको मूलद्वारमा दुई घन्टा तालाबन्दीसहित धर्ना दिए ।

सार्क मुलुकहरूमध्ये महँगो मट्टीतेल नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वसाधारणका लागि महत्त्वपूर्ण उपभोग्य पदार्थ ठहरिएको मट्टीतेलको मूल्य सार्क मुलुकहरूमध्ये नेपालमा सबैभन्दा महँगो रहेको छ ।डिजेलमा भएको मिसावट नियन्त्रण गर्न नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समान गरेपछि मट्टीतेल महँगो भएको हो ।डिजेल र मट्टीतेलको मूल्य समान भएपछि मट्टीतेलको खपतमा ६५ प्रतिशत कमी आएको छ । निगम स्रोतका अनुसार मूल्य समान भएपछि डिजेलको माग भने ३५ प्रतिशत बढेको छ । पेट्रोलपम्पले डिजेलमा मट्टीतेल मिसावट नगरेका कारण र उद्योगले मट्टीतेलको साटो डिजेल प्रयोग गर्न थालेपछि मट्टीतेलको माग घटेको बताइएको छ ।नेपालमा अहिले मट्टीतेलको उपभोक्ता मूल्य ६० रुपैयाँ ५० पैसा रहेको छ । जब कि छिमेकी मुलुक भारतमा ५५ रुपैयाँ २७ पैसा रहेको छ । नेपालले लामो समयदेखि भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । भारतमा नेपालमा भन्दा पेट्रोलियम पदार्थको खुद्रा मूल्यसमेत सस्तो रहेको छ । द्वन्द्वबाट गुजि्ररहेको श्रीलंकाभन्दा पनि नेपालमा मट्टीतेलको मूल्य ४ रुपैयाँले महँगो रहेको छ । भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर पाँच र डिजेल तथा मट्टीतेल पाँच रुपैयाँ महँगो छ । भारतमा पेट्रोल प्रतिलिटर ८० रुपैयाँ ९६ पैसा, डिजेल ५५ रुपैयाँ ७७ पैसा छ भने नेपालमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ र ६५ रुपैयाँ छ । १५ डिसेम्बरको भारतीय मूल्यअनुसार पेट्रोलमा निगमलाई २९ रुपैयाँभन्दा बढी नाफा रहेको स्रोतले बतायो । त्यस्तै, डिजेलमा नौ रुपैयाँभन्दा बढी नाफा रहेको छ । निगमको नाफा व्यावसायिक क्षेत्रले लिएकोभन्दा पनि बढी छ । निगमले प्रत्येक ३ तारेखमा पेट्रोलियम पदार्थको मूल्य समायोजन नीति लिएको छ । पेट्रोलियम व्यवसायीले समेत मूल्य कटौती कम भएको जनाएका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डे निगमले अन्तर्राष्ट्रिय बजारअनुसार न्यून मूल्य समायोजन मात्र गरेको बताउँछन् । 'पेट्रोलियम पदार्थको मूल्य अझै घटाइनुपर्छ,' उनले भने । तर, पाण्डे पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा कम कायम गर्न नहुने बताउँछन् । 'पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा कम गर्नुहुँदैन,' उनले भने, 'भारतमा भन्दा कम भए पेट्रोलियम पदार्थ अपचलन भएर मुलुकले घाटा व्यहोर्नुपर्ने अवस्था आउँछ ।' लोडसेडिङ बढ्दै गएपछि नेपाल आयल निगमलाई डिजेल आपूर्तिमा हम्मेहम्मे परेको छ । अहिले दैनिक १८ लाख लिटर डिजेलको माग रहेको छ । मागअनुरूप आपूर्ति गर्न निगमले सोमबारदेखि बरौनीबाट डिजेल ल्याउन थालेको छ । निगम स्रोतका अनुसार, भारतीय नम्बर प्लेटका ट्यांकरले सिधै डिजेल आपूर्ति गर्न थालेका छन् । मट्टीतेल र डिजेल मूल्य समान भएकाले समेत डिजेल माग बढेको हो । अहिले डिजेलको मासिक माग ४२ हजार किलोलिटर रहेको छ । गत महिना डिजेलको माग २७ हजार किलोलिटर मात्र थियो ।निगमका अनुसार, अहिले मट्टीतेलको माग घटेको छ । हाल मट्टीतेलको माग मासिक पाँच हजार किलोलिटर मात्र रहेको छ । डिजेलभन्दा मट्टीतेलको मूल्य कम हुँदा मट्टीतेल खपत १० हजार किलोलिटर हुने गर्दथ्यो ।

प्रशान्त तामाङ अब फिल्म हिरोको रूपमा प्रस्तुत हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इन्डियन आइडल प्रशान्त तामाङ अब हिरोको रूपमा प्रस्तुत हुने भएका छन्, त्यो पनि नेपाली फिल्ममा । फिल्ममा उनको गायकी संघर्षको कथा प्रस्तुत गरिँदै छ । नयाँ निर्देशक दिनेशराज शर्माको निर्देशनमा बन्ने उक्त फिल्मको सुटिङ माघको पहिलो साताबाट सुरु हुने भएको छ । तर, फिल्मको नाम जुरिसकेको छैन । गायक प्रशान्तले नै लेखेको कथामा निर्माण हुन लागेको उक्त फिल्मको निर्माता सिक्किमका नागरिक रहेका छन् । असी प्रतिशत छायांकन भारतको सिक्किम तथा दार्जिलिङका विभिन्न स्थानमा गरिने जानकारी निर्देशक शर्माले दिए । बाँकी छायांकन नेपालमा गरिने भएको छ । सामान्य भारतीय सिपाहीको जागिर खाइरहेका नेपाली मूलका प्रशान्त कसरी इन्डियन आइडल बन्न सफल भए, उनले उक्त स्थान हासिल गर्न कस्ता किसिमका संघर्ष गर्नुपर्‍यो, सिनेमामा प्रस्तुत गरिने भएको छ । प्रशान्तबाहेक राजेश हमाल, रमित ढुंगाना, झरना थापालगायतका कलाकारले पनि अभिनय गर्नेर्छन् यस फिल्ममा । प्रशान्तले अभिनय गर्ने यस फिल्ममा गायक रहेका छन्- प्रशान्त र उदीतनारायण झा । विकास चौधरीले संगीत दिएको यस फिल्मको सुटिङ पहिल्यै गर्ने योजना भए पनि प्रशान्त र सोनी टेलिभिजनसँगको सम्झौता अवधि पूरा भइनसकेकाले माघबाट सुटिङ सुरु गर्न लागिएको हो । अत्याधुनिक प्रविधिको एचडिएक्स-वान क्यामेराले छायांकन गर्ने तयारी गरिएको यस फिल्ममा बाक्लो हिऊँ पर्दै गरेको सिन कैद गर्नुपर्ने भएकाले माघ महिनामै काम थाल्ने छायांकार विमल भट्टराई बताउँछन् । आफ्नो गायकीय शिल्पी प्रस्तुत गर्न थुप्रैपटक नेपाल आइसकेका प्रशान्तले आफ्नो संघर्षको कथामा आफै हिरो भई फिल्म खेल्न पाएकोमा प्रशन्न भएको बताएका छन् ।

एसिसी यु-१९ वमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली महिला क्रिकेट टोली एसिसी यु-१९ वमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार चियाङ मई जिमखाना क्रिकेट मैदानमा भएको सेमिफाइनलमा आयोजक थाइल्यान्डलाई ८३ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । नेपाली किशोरीको टोलीले मलेसियाविरुद्ध मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सोमबार नै भएको अर्को सेमिफाइनलमा मलेसियाले हङकङलाई दुई रनले पराजित गरेको थियो । टस जितेको थाइल्यान्डले निम्तो दिएपछि नेपालले पहिले ब्याटिङ गर्‍यो । टोलीकी तृष्णा सिंहले ३३ रनको योगदान दिएपछि निर्धारित २५ ओभरमा नेपालले १ सय ३२ रनको योगफल तयार गर्‍यो । सो योगफल तयार गर्दा नेपालले आठ विकेेटको क्षति व्यहोरेको थियो । प्रत्युत्तरमा आएको थाइल्यान्ड १५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाई ४९ रनमा समेटियो । थाइल्यान्डलाई थोरै रनमा समेट्ने क्रममा नेपाली किशोरीले घातक बलिङको नमुना देखाएका थिए । जसमा रेखा रावल र केशरी चौधरीले तीन-तीन, सीता मगरले दुई र सोनु खड्काले एक विकेट लिए । थाइल्यान्डलाई सानदार रूपमा पराजित गरे पनि नेपालको सुरुवात भने गतिलो थिएन । टोलीले १४ रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो । ओपनरद्वय माया रावत-२) र सरिता मगर-२) फितलो देखिए । यद्यपि, माया रावत प्रतियोगिताका खेलमा सय रन पूरा गर्ने तीनमध्येकी एक खेलाडी हुन् । तेस्रो क्रममा ब्याटिङमा आएकी तृष्णाले क्रिजमा टिक्दै जितको आधार तयार गरेकी थिइन् । ६२ बल सामना गरेकी तृष्णाले दुई चौका प्रहार गरिन् । उनको अभियानमा विनु मगर-२३)ले गतिलो साथ दिइन् । ३२ बल सामना गरेकी मगरले दुई चौका प्रहार गर्न भ्याइन् । यसबाहेक टोलीका लागि सीता मगर-१४)ले उल्लेखनीय योगदान दिइन् । निर्धारित ओभर सकिँदा रेखा रावल ६ रनमा र रोसनी बोहरा १ रनमा अविजित थिए । कप्तान नेरी थापाले भने दुई रन जोडिन् । थाइल्यान्डकी बलर पिराओर्न कमला बलिङमा खतरनाक देखिइन् । नेपालकी प्लेयर अफ द म्याच तृष्णालगायत उनले चार विकेट लिइन् । थाइल्यान्डको ब्याटिङमा दोहोरो अंकको रन जोड्ने कुनै खेलाडी भएन । सर्वाधिक रन जोड्नेमा पुण्डारिका प्राथान्नमिर-८) र नारिवेल चाइवाई-७)मात्र थिए ।