News

May 30, 2009

कांग्रेसमा मन्त्री छान्ने जिम्मा गिरिजाप्रसाद कोइरालालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १६ नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ। कस-कसलाई मन्त्री बनाउने भन्ने जिम्मा भने पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई दिइएको छ। संसदीय दलको बैठकमा भने सभासद‍हरुले संविधानसभा सदस्यबाट मात्र मन्त्री बनाउनुपर्ने माग गरेका छन्। राजधानीमा भएको कांग्रेस केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो। बैठकपछि पार्टी महामन्त्री विमलेन्द्र निधिले सञ्चारकर्मीलाई बैठकले पार्टी सरकारमा जाने र मन्त्री चयन गर्ने जिम्मा सभापति कोइरालालाई दिएको बताए। बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको थियो। हिजोको बैठकमा महामन्त्री निधिले पार्टी सरकारमा जानुपर्छ भन्ने र अर्का महामन्त्री केबी गुरुङले सरकारमा जानुहुन्न भन्ने भिन्दाभिन्दै प्रस्ताव राखेपछि विवाद भएको थियो।शनिबार दिउसो बसेको कांग्रेस संसदीय दलको बैठकमा भने सभासद‍हरुले आफूहरु मध्येबाटै मन्त्रिपरिषद‍मा लानुपर्ने बताएका छन्। उनीहरुले निर्वाचनमा पराजितहरुलाई मन्त्रिपरिषद्‍मा लान नहुने जिकिर गरे।

रक्षासचिवलाई धम्की दिने कर्णेललाई अवकाश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रेको पाँचखालमा मैना सुनुवारको हत्याका प्रमुख रूपमा आरोपी महासेनानी बबीकुमार खत्रीले बिहीबार रक्षासचिव गणेशराज जोशीलाई आफ्नो म्याद थप नगरे गोली ठोकिदिने धम्की दिएका छन्। रक्षामन्त्री विद्या भण्डारीले सुनुवार हत्याकाण्डमा संलग्न रहेका खत्रीलाई म्याद थप नगर्न सचिवलाई निर्देशन दिएपछि दिउँसो मन्त्रालय पुगेका कर्णेल खत्रीले ‘मेरो म्याद नथप्ने को हो, मेरो म्याद थप भएन भने गोली ठोकिदिन्छु’ भनेर धम्क्याउन थालेपछि रक्षा मन्त्रालयका उच्च कर्मचारीहरू प्रधानमन्त्रीकहाँ पुगेका थिए।रक्षासचिवसहितको टोली प्रधानमन्त्री माधवकुमार नेपालकहाँ पुगेर घटनाको विवरण सुनाउनासाथ प्रधानमन्त्री नेपालले कर्णेल खत्रीलाई तत्काल अवकाश दिन बिहीबार नै निर्देशन दिएपछि रक्षा मन्त्रालयले अवकाशपत्र सोही दिन सैनिक मुख्यालय पठाएको थियो।लामो समयदेखि विवादमा तानिएका कर्णेल खत्रीलाई सैनिक मुख्यालयको प्रिन्सिपल स्टाफ अधिकृत (पीएसओ) ले २ वर्षम्याद थप गर्न रक्षा मन्त्रालयलाई सिफारिसपत्र पठाएको थियो। सैनिक मुख्यालयले जस्तो पायो, त्यस्तै व्यक्तिलाई म्याद थप गर्न पठाएर सरकारको अवमूल्यन गर्न खोजेको भन्दै प्रधानमन्त्री नेपालले सेनाको नेतृत्वसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो।

फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १६ - मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनकारी चार दलले फोरम फुटाउन षडयन्त्र गरिरहेको भन्दै यस्तै अवस्था रहे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।शीर्ष नेताहरुबीच विवादका कारण दुई दिनदेखिको केन्द्रीय कमिटी बैठक टुंगोमा पुग्न नसकिरहेको बेला शनिबार यादवले यस्तो चेतावनी दिएका हुन् ।संसदीय दलका नेता विजयकुमार गच्छेदारले भने पार्टीले समर्थन फिर्ता लिए ऐतिहाँसिक नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिएका छन् ।शंखमुलस्थित केन्द्रीय कार्यालयमा बैठक चलिरहदा यादव र गच्छेदारले छुट्टा- छुट्टै पत्रकार भेटघाट गरी आ-आफ्नो अडान दोहोर्‍याएका हुन् । विवाद बढ्दै गएपछि केन्द्रीय कार्यालयमा ठूलो संख्या्मा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।बैठकमा विवाद नमिलेपछि शीर्ष नेताहरुले छुट्टै बैठक गरेका थिए ।गठबन्धनकारी दलले समेत गच्छेदारको नेतृत्वलाई मान्यता दिएको कारण पार्टी फुटाउने षडयन्त्र भन्दै अध्यक्ष पक्षधर आक्रोसित भएका छन् ।कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले अन्तरीम संविधानमा समेत सरकारमा सहभागिताबारे पार्टीको निर्णय आधिकारीक हुने उल्लेख भएकाले गच्छेदारको घोषणाको कुनै अर्थ नरहने बताए ।उनले गठबन्धनकारी चार दलले बिगतमा जस्तो फोहोरी खेल दोहोर्‍याउदै फोरम बिभाजन गर्ने षडयन्त्र गरेको दावी गरे । उनले षडयन्त्र जारी रहे सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने चेतावनी दिए ।यादव लगत्तै संचारकर्मीसँग उपस्थित भएका गच्छेदारले भने समर्थन फिर्ता लिने निर्णय भए आफूहरुलाई मान्य नुहने बताए ।उनले फोरमको तर्फबाट आफूलेनै नेतृत्व गर्ने दोहोर्‍याउदै केन्द्रीय समितिले बहुमतको आधारमा नभइ सहमतिमा निर्णय गर्नुपर्ने बताए ।

माओवादीको संकल्प प्रस्ताव संसदमा छलफल नगरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १६ - प्रधानसेनापति अवकाश प्रकरणमा राष्ट्रपतिले चालेको कदम विरुद्ध माओवादीले संसद सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव व्यवस्थपिका संसदमा छलफलका लागि प्रस्तुत नगरिने भएको छ ।कार्य व्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले संकल्प प्रस्ताव संसदमा लैजान नपर्ने निर्णय गरेको हो । सकंल्प प्रस्तावमा सहमति जुटन नसकेपछि सभामुख सुवास नेम्वाङले संकल्प प्रस्ताव संसदमा छलफलको विषयवस्तु बन्न नसक्ने निर्णय सुनाएका थिए । एकीकृत माओवादीले भने नागरिक सर्वोच्चताका लागि चालिएको कदम अझ सशक्त पार्ने जनाएको छ । पार्टी मुख्य सचेतक पोष्टबहादुर बोगटीले संकल्प प्रस्ताव सदनमा नलगिएपछि सडक र सदनबाट नागरिक सर्वोच्चताका लागि संघर्ष चर्काइने बताए ।माओवादी नेतृत्वको सरकारले प्रधानसेनापति रुक्मांगद कटवाललाई दिएको अवकास विपरीत राष्ट्रपति डा.रामवरण यादवले सेनापति कटवाललाई पदमा यथावत रहन निर्देशन दिएपछि नागरिक सर्वोच्चताको हनन भएको भन्दै तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएका थिए । राष्ट्रपति विरुद्ध संकल्प प्रस्ताप उपर छलफल हुनुपर्ने माओवादी अडान विपरीत संसदमा रहेका २२ दल संकल्प प्रस्तव औचित्यहीन रहेको भन्दै आएका थिए ।

ओबामालाई लेनिनको पुस्तक उपहार दिने ह्युगो चाभेजले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काराकास/ भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजले आफूसित रहेको सोभियत संघको संस्थापक एवं कम्युनिस्ट नेता भ्लादिमिर लेनिनद्वारा लिखित 'ह्वाट इज टु बी देन ?' पुस्तक अमेरिकी राष्ट्रपति बाराक ओबामालाई उपहारस्वरूप प्रदान गर्ने घोषणा गरेका छन् । बाराक ओबामासँग हुने अर्को बैठकमा आफूले यो अमूल्य पुस्तक उपहार दिने भनेजुयली नेता चाभेजले बताए । सन् १९१७ मा रुसको बोल्सेभिकमाथि नियन्त्रण कायम गर्न एक दशकअगाडि नै लेनिनले उक्त पुस्तक लेखेका हुन् । यसअघि अपि्रलमा सम्पन्न शिखर सम्मेलनमा एन्ड्रुवार्डो ग्यालेनोद्वारा लिखित 'ओपेन भेइन्स अफ ल्याटिन अमेरिका फाइभ सेन्चुरिज अफ दि पिलेज अफ अ कन्टिनेन्ट' नामक पुस्तकको एकप्रति राष्ट्रपति चाभेजले ओबामालाई प्रदान गरिसकेकका छन् ।

विश्वव्यापी पेट्रोलियम पदार्थको मूल्यवृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १६ तेलमा खरिदकर्ता बढेको तथा विश्वव्यापी आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार हुने लाग्ने संकेतले तेलको पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।शुक्रबार प्रति व्यारेल तेलको मूल्य ६५ अमेरिकी डलरभन्दा माथि कारोवार भयो। यो छ महिनाको अन्तरालमा भएको सबैभन्दा महंगो कारोवार हो। युरोपमा प्रति व्यारेल कच्चा पेट्रोलियम पदार्थको मूल्य ६५ दशमलव ७५ डलरसम्म कारोवार भयो। बिहीबारको तुलनामा यो कारोबार १ दशमलव ६३ डलरले बढी हो।मार्चमा प्रतिव्यारेल ३५ डलरमा झरेको पेट्रोलियम पदार्थको मूल्यभन्दा यो झन्डै दोब्बर बढेको हो। अमेरिकाको इनर्जी विभागले जा गरेको विवरण अनुसार गत साता अमेरिकामा निर्यात हुने तेल अप्रत्यासित ढंगले घटेको थियो।५ दशमलव ४ मिलियन व्यारेल निर्यात कम भएको तथ्यांकमा उल्लेख छ। अमेरिकामा कच्चा सामाग्रीको निर्यात घटेको यो तेस्रो साता हो। तेल लगानीकर्ता अमेरिकी अर्थतन्त्रमा आएको सुधारबाट खुसी छन्।

एउटै उडानका पाइलट र को-पाइलटबीच कुटाकुट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ जेठ नेपाल एयरलाइन्स (एनएसी)को एउटै उडानका पाइलट र को-पाइलटबीच कुटाकुट भएको छ। शुक्रबार एनएसीको विमान उडाएर सँगै मनाङ पुगेका एलबी थापा र को-पाइलट राजन कुइँकेलबीच कुटाकुट भएको हो।एकै उडानबाट मनाङ पुगेका पाइलटहरुबीच झगडा भएपछि शुक्रबार एनएसीको एभ्रो बिहान काठमाडौं फर्किएन। पाइलट झगडाका कारण जहाज मनाङमै अड्किएको खबर आएपछि नेपाल एयरलाइन्सले थप पाइलट सहितको अर्को जहाज शनिबार त्यसतर्फ पठायो।नियमित उडानका लागि लुक्ला जान तयार रहेको विमान शनिबार बिहान एक्कासि पाइलटको टोली सहित मनाङतर्फ लाग्यो। सो बिमानमा गएका थप पाइलटले बिमान तथा झगडालु पाइलटहरुलाई काठमाडौं फर्काएका छन्।घाइते को-पाइलट कुइकेललाई बेहोस अवस्थामा काठमाडौं ल्याइपुर्याइएको छ। उनलाई विमानस्थलबाट सोझै अस्पताल लगिएको छ। अधिक रक्तस्रावका कारण उनी बेहोस भएको बताइएको छ। कुइकेलको हातमा गम्भीर चोट लागेको छ।झगडालु पाइलटले शुक्रबारको रात एयरपोर्ट नजिकै रहेको स्नोल्याण्ड होटलमा बिताए।पाइलटहरुबीच किन कुटपिटको भयो भन्ने खुल्न सकेको छैन।

किरात वर्कस पार्टीको पूर्वमा चन्दा आतंक तीब्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १५ सशस्त्र गतिविधि गर्दै आएको किरात जनवादी वर्कस पार्टीका कार्यकर्ताले पूर्वका विभिन्न जिल्लामा चन्दा आतंक तीब्र बनाएका छन्। उनीहरुले खोटाङ उदयपुर भोजपुरलगायत् जिल्लामा चन्दा संकलन तीब्र बनाएपछि पूर्वका सर्वसाधारण आतंकित बनेका स्थानीय पत्रकार सइन्द्र राईले बताएका छन्।उनीहरुले उदयपुरको ४४ गाविसका सचिवलाई दुई लाखका दरले चन्दा बुझाउनुपर्ने उर्दी जारी गरेका छन्। नदिएमा भौतिक कारबाही गर्ने धम्की दिएपछि गाविस सचिवहरु जिल्ला सदरमुकाम गाईघाटमा विस्थापित भएको गाविस सचिव हकहित संरक्षण समिति उदयपुरले जनाएको छ।

सन् २०१० का लागि डिभी १ सय ५२ नेपालीलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १६ आर्थिक मन्दी र कडा कानूनी दायराले नेपालीहरुको अमेरिकी बसाइ कठिन बन्दै गएको खबर आइरहेको बेला १ सय ५२ नेपालीका लागि अमेरिका जाने ढोका खुलेको छ। सन् २०१० का लागि डिभी भरेकामध्ये दोस्रो चरणको परिणाम सार्वजनिक हुँदासम्म १ सय ५२ नेपालीलाई डिभी परेको छ।चरणबद्ध रुपमा विजेताको नाम सार्वजनिक गर्ने हुनाले डिभी विजेताको संख्या अझै बढ्ने बताइन्छ। पहिलो चरण अन्तर्गत डाइभर्सिटी इमिग्रान्ट भिसा प्रोग्राम (डिभी)ले १ सय ९ जनालाई चिठ्ठा परेको सूचना दिएको थियो। दोस्रो चरणमा ४३ जनालाई डिभी परेको सूचित गरिएको छ।सन् २००९ मा १ हजार ८ सय ९१ नेपालीहरुलाई डिभी परेको थियो भने सन् २००८ मा भने २ हजार ५ सय ६५ नेपाली डिभीमार्फत् अमेरिका पुगेका थिए।डिभी विजेतालाई काठमाडौंस्थित अमेरिकी दूताबासले भिसा नदिएर 'सामाजिक अपमान' गरेको आरोप डिभी पीडितहरुले लगाए पनि देशकोराजनीतिक अस्थिरता र मध्यम वर्गीय नेपालीको अमेरिका मोहले डिभी भर्नेहरुको संख्यामा कमी आएको थिएन।

May 29, 2009

एभरेष्ट् म्याराथन् दौडमा फुर्वा तामाङ पहिलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सगरमाथा दिवससका अवसरमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको एभरेष्ट् म्याराथन् दौडमा यसपाली २१ वर्षिय फुर्वा तामाङ पहिलो भएका छन्। विश्वकै अग्लो स्थानमा हुने सो दौडका रुपमा चिनिएको एभरेष्ट् म्याराथन् यसपाली सातौं पटक सम्पन्न भएको हो। छप्पन्न वर्षअघि तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले सबैभन्दा अग्लो हिमाल सगरमाथा आरोहण गरेको सम्झनामा, एउटा निजी पर्यटन विकास संस्थाले एभरेष्ट म्याराथनको आयोजना गर्दै आएको छ। सोलुको नाम्चेबजारबाट नेपाल पर्यटन बोर्डका अधिकारीहरूले जनाएअनुसार दौड शुक्रवार बिहानै पाँचहजार मिटरभन्दा बढी उचाइमा रहेको सगरमाथा आधार शीविरबाट शुरु भएको थियो। तर १२ वटा देशका १२० धावकहरु मध्ये सबैभन्दा छरितो साबित भए सोलुखुम्बुका फुर्वा तामाङ। अघिल्लो साल द्वितिय भएका तामाङले यसपाली पोहर पहिलो हुने धावकभन्दा १३ मिनेट चाँडो दौडिएर नयाँ किर्तिमान बनाएका छन्। उनले सगरमाथा आधार शीविरदेखि नाम्चे बजारसम्मको ४२ किलोमिटर लामो दुरी तीन घण्टा ४० मिनेट ४७ सेकेण्डमा पार गरेका हुन्।फुर्वाका दाजु रामकुमार तामाङ्ले चार घण्टा सात मिनेटमा र सोलुकै सुदिप कुलुङ राईले चार घण्टा नौ मिनेटमा एभरेष्ट म्याराथनको दुरी पार गरेर, क्रमश:, दोस्रो र तेस्रो भएका छन्। महिलातर्फ सोलुकै मिङमा चाम्जी शेर्पाले पाँच घण्टा पाँच मिनेट ३२ सेकेण्डमा एभरेष्ट म्याराथन दौडिएर पहिलो भएकी छन्। आङ फुटी र मिङमा फुटी शेर्पा क्रमश: दोस्रो र तेस्रो भएका छन्। अन्तर्राष्ट्रिय तर्फ भारतीय सेनाका श्याम केशो पहिलो, भारतिय सेनाकै ओम कुमार र टि गनपती दोस्रा तेस्रा भएका छन्।प्रतियोगितामा अमेरिका, अष्ट्रेलिया, ब्रिटेन, जर्मनी, साउथ अफ्रिका र रोमानियाका धावकहरुले समेत भाग लिएका थिए। हिमनदी, झोलुङ्गे पुल, शेर्पा बस्ती अनि गुम्बाहरुले सजिसजाउ एभरेष्ट म्याराथनको रुटलाई कसैकसैले संसारकै सबैभन्दा सुन्दर म्याराथन पनि भन्ने गरेका छन्। तर सगरमाथा क्षेत्रको उचाई र भौगोलिक विकटताका कारण यसलाई त्यतिकै कठिन म्याराथन पनि मानिन्छ।

द्वन्द र असमझदारी बढेमा संविधान निर्माण कार्य पूरा हुन नसक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १५ - प्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख दलबीच द्वन्द र असमझदारी बढेमा संविधान निर्माण कार्य पूरा हुन नसक्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा राजधानीको टुडीखेलमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले दलहरुबीच सहमति कायम हुन नसके लोकतान्त्रिक संविधान निर्माण हुन नसक्ने र जनतालाई सार्वभौम बनाउन नसकिने बताए । सामन्तवादको अन्त्य गरी जनतालाई सार्वभौम बनाउन नसके भावी पुस्ताले कसैलाई माफी नदिने प्रधानमन्त्रीको भनाई थियो । १२ बुँदे सहमतिपछि मुलुक अग्रगमन तर्फ बढेको भन्दै उनले लोकतान्त्रिक संविधान निर्माणकालागि उच्च स्तरीय समझदारी निर्माण गर्न आवश्य रहेको बताए । राष्ट्रिय एकताले मात्र जनताको चाहनालाई मूर्त रुप दिन सकिने उनको कथन थियो ।उनले मलुक तरल राजनीतिक संक्रमणकालबाट गुजि्ररहेकोले विगतको भन्दा उच्च राजनीतिक समझदारीको आवश्यता औल्याए । उनले आफ्नो सम्बोधनमा सहमति, सहकार्य र एकतामा जोड दिएका थिए । समारोहमा राष्ट्रपति डा.रामवरण यादव,उपराष्ट्रपति परमानन्द झा, राजनीतिक दलका नेताहरु लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

फोरमको संसदीय दलको निर्णयलाई मान्यता दिने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १५ - एमाले नेतृत्वको गठबन्धनका चार दलले मधेशी जन अधिकार फोरमको संसदीय दलको निर्णयलाई मान्यता दिने निर्णय गरेको छ । एमाले गठबन्धनलाई समर्थन जनाएपनि सरकारमा सहभागितको विषयलाई लिएर फोरम विभाजित छ । फोरम अध्यक्ष उपेन्द्र यादव पक्षधरले सरकारमा सहभागिताको निर्णय केन्द्रीय समितिले लिनुपर्ने पक्षमा छन् भने संसदीय दलका नेता विजय गच्छदार संसदीय दलको निर्णय मान्य हुनपर्ने अडानमा छन् । गत जेठ ३ गते ३२ जना सभासदले संसदीय दलबाट गच्छदारको नेतृत्वमा सरकारमा जाने निर्णय गर्दै एमाले गठबन्धनलाई सघाउने निर्णय गरेको थियो । प्रधानमन्त्री माधवकुमार नेपालको निजी निवास कोटेश्वरमा शुक्रबार बिहान एमाले, काँग्रेस, तमलोपा र सदभावनाका नेताहरुको भएको बैठकले फोरमको संसदीय दलको निर्णयलाई साथ दिएर अघि बढ्ने सहमति गरेको छ । बैठकमा फोरम नेता गच्छदार पनि सहभागी थिए । फोरम संस्थापन पक्षले गठबन्धनकारी दलको निर्णयलाई फोरम फुटाउने दुर्भाग्यपूर्ण कदम भएको प्रतिक्रिया दिएको छ ।छलफलमा प्रधानमन्त्री नेपाल सहित, एमाले नेता केपी ओली, शंकर पोखरेल, काँग्रेस कार्यवाहक सभापति सुशिल कोइराला, महामन्त्री विमलेन्द्र निधी,तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतो सहभागी थिए । सरकारमा सहभागितको विषयमा निर्णय गर्न फोरमले शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रधानमन्त्रीव्दारा रत्नपार्कमा 'गणतन्त्र स्तम्भ'को शिलान्यास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १५ गते । गणतन्त्र स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री माधवकुमार नेपालले रत्नपार्कमा शुक्रबार 'गणतन्त्र स्तम्भ'को शिलान्यास गर्नुभयो । जेठ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले गणतन्त्रको सम्झना र झल्को दिनेगरी राजधानीको केन्द्रबिन्दु मानिने रत्नपार्कमा गणतन्त्र स्तम्भ निर्माण गर्ने निर्णय गरेको थियो ।भौतिक योजना तथा निर्माण मन्त्रालयद्वारा शुक्रबार बिहान आयोजित 'गणतन्त्र स्तम्भ' शिलान्यास कार्यक्रममा जानकारी गराइएअनुसार नारायणहिटी दरबार सङ्ग्रहालयभित्र निर्माण गरिने 'गणतन्त्र स्मारक' र रत्नपार्कमा निर्माण गरिन लागिएको 'गणतन्त्र स्तम्भ' फरक भौतिक निर्माण हो ।स्मारक निर्माण कार्यलाई रद्द गरी रत्नपार्कमा गणतन्त्र स्तम्भ निर्माण गर्ने निर्णय प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिमण्डलले गरेको भन्ने चर्चामा सत्यता नभएको बताउँदै भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव उमाकान्त झाले भन्नुभयो- "नारायणहिटी सङ्ग्रहालयमा बन्ने गणतन्त्र स्मारक र रत्नपार्कमा बन्ने गणतन्त्र स्तम्भ फरक भौतिक निर्माण हुन् । यसमा कसैले भ्रम नपाले हुन्छ । स्मारक र स्तम्भ शब्दले नै पृथकता जनाउँछ ।"सचिव झा भन्नुहुन्छ-"काठमाडौँ प्रवेश गर्ने जो कोहीले देख्नेगरी कलात्मक, आकर्षक र अग्लो स्तम्भ निर्माण गरिनेछ, जसले गणतन्त्रको अनुभूति पनि गराओस् ।""काठमाडौँ प्रवेश गर्दा भीमसेन स्तम्भ -धरहरा)लाई जसरी सबैतिरबाट देखिन्छ, त्यही हिसाबले गणतन्त्र स्तम्भ निर्माण गरिनेछ", सचिव झाले भन्नुभयो- "गणतन्त्र स्तम्भको डिजाइनका लागि विज्ञहरू, राजनीतिक दलहरूसँग छलफल र सार्वजनिक सूचना गरेर नागरिक समाजसँग सुझाव माग गरिनेछ । सम्भवतः गणतन्त्र स्तम्भ धरहराभन्दा अग्लो हुनेछ ।"वातावरण एवं संस्कृतिविद्हरूले रानीपोखरीको सम्पदालाई हानि पुर्‍याउने गरी भौतिक निर्माण गर्न नहुने भन्दै विरोधका स्वर पनि सुनिन थालिएको प्रसङ्गमा सचिव झाले भन्नुभयो- "रानीपोखरीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदामा कुनै हानि पुर्‍याउने गरी गणतन्त्र स्तम्भ निर्माण गरिँदैन । त्यसका लागि सबै पक्षसँग व्यापक छलफल गर्छौं ।"नेकपा -माओवादी) नेतृत्वको पूर्व सरकारले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र गणतन्त्र स्मारक बनाउने निर्णय गरेको थियो । सो प्रयोजनका लागि पाँच करोड रुपियाँ बजेट विनियोजनका साथै स्मारक निर्माणका लागि विस्तृत डिजाइन कार्यसमेत भइसकेको छ । सचिव झाका अनुसार गणतन्त्र स्मारकमा लोकतान्त्रिक आन्दोलन र गणतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्झनामा विभिन्न भौतिक निर्माण गरिनेछ । सहिदको सम्झना गर्न हल, चारवटा स्तम्भलगायत भौतिक निर्माण नारायणहिटी स्मारकमा गरिने जनाइएको छ ।यसैगरी, शुक्रबार बिहान गणतन्त्र दिवस नागरिक संयोजन समितिले 'लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गरौँ' भन्ने नाराका साथ र्‍याली र कोणसभा गरेर मनाएको छ । डा. नेत्रप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित सो समितिको र्‍याली भृकुटीमण्डप, पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा वरिष्ठ अधिवक्ता एवं मानवअधिकारवादी दमननाथ ढुङ्गानाले लोकतन्त्र मजबुद नभई गणतन्त्र संस्थागत नहुने बताउनुभयो । "लोकतन्त्र बचाउन सकेनौँ भने फेरि पनि युवाले रगत बगाउनुपर्ने दिन आउनसक्छ", वरिष्ठ अधिवक्ता ढुङ्गानाले भन्नुभयो- "लोकतन्त्र र गणतन्त्र अभिभाज्य छ । यसलाई छुटाउन खोजियो भने फेरि भिडन्त हुन्छ ।"उहाँले राजनीतिक दलहरूमा प्रतिगमनकारी शक्तिहरू सल्बलाउन थालेको आरोप लगाउँदै अग्रगमनका लागि १२ बुँदे समझदारीदेखिको समीक्षा गर्दै नयाँ सम्झौता हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा डा.नेत्रप्रसाद तिम्सिना, डा.मथुरा श्रेष्ठ र सुनिता दनुवारले मन्तव्य राख्नुभएको थियो ।

माओवादीले गणतन्त्र रक्षाको लागि शान्तिपूर्ण संघर्ष गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १५ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रको रक्षा र जनपक्षीय संविधान निर्माणका लागि सहरबाटै शान्तिपूर्ण संघर्ष गर्ने बताएका छन्। संविधान निर्माण, शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र नागरिक सर्वोच्चता कायम गराउन संघर्ष शान्तिपूर्ण हुने उनले बताए।ललितपुर जिल्ला समितिले शनिबार आयोजना गरेको 'गणतन्त्रको रक्षा र जनपक्षीय संबिधान निर्माणका चुनौति' बिषयक प्रवचनमा उनले भने- 'गणतन्त्र अहिले अपहरण भइरहेको छ । यसको रक्षा र जनपक्षीय संविधान निर्माणका लागि सहरबाटै शान्तिपूर्ण संघर्ष गर्छौँ।'सैन्य अधिनायकवाद र सामन्तवादविरुद्ध अहिले जारी लडाइँमा स्वाभिमानी र राष्ट्रप्रेमी नेपालीकै जीत हुने दाबी उनले गरे।जनताका रगतको अवमूल्यन गर्दै षडयन्त्रपूर्वक बिहारी शैलीको गणतन्त्र बनाउने चलखेल भएको दाबी उनले गरे।राजनीतिक द्वन्द्वको मूख्य कारण १२ बुँदे सहमति पछि भएका समझदारीको भावनालाई आफूखुशी व्याख्या गर्दाको परिणाम भएको दाहालले बताए।प्रधानमन्त्री पदबाट दिएको राजिनामा हार नभई प्रतिक्रान्ति र यथास्थितिवादी विरुद्ध र आत्मसम्मानको विजय भएको उनले बताए। आफूहरुलाई नेपाली सेना विरोधी भएको भन्ने भम्र दिन खोजिएको भनी उनले चिन्ता व्यक्त गरे।'मेरो कार्यकालमा देशभक्त, जनता र शान्ति प्रक्रियालाई माया गर्ने ९० प्रतिशत नेपाली सेना पाइएका छन्', उनले दाबी गरे।

May 28, 2009

नासाको सम्मेलनमा अमेरिका उडे नेपाली विद्यार्थी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ जेठ रिजन कार्की नेपाली किशोर हुन् । रिजनको 'रिजन' (गर्न खोजेको काम) प्रमाणित भए उनको मात्र होइन, नेपालकै प्रतिष्ठा उच्च हुनेछ । वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो दाबी पुष्टि गर्न उनी सोमबार अमेरिका उडेका छन् । उनको दाबी हो, 'विश्वले मान्दै आएको आइज्याक न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम र अल्बर्ट आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत छ ।' यसै वर्ष विराटनगरको बुढानीलकण्ठ सेकेन्डरी स्कुलबाट एसएलसी दिएका रिजन कार्की विश्वस्वीकार्य वैज्ञानिकलाई चुनौती दिन अमेरिका उडेका हुन् । १६ वर्षीय कार्कीले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी नियम र आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत भएको प्रमाणित गर्ने दाबी गर्न नासामा नाम दर्ता गराएका हुन् । आफन्तहरूको आर्थिक सहयोगमा नाम दर्ता गराउन सफल रिजन नासाको लगानीमा सम्मेलनमा भाग लिँदै छन् । नासाको आयोजनामा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलन (आइएसडिसी) अमेरिकाको फ्लोरिडाको आलान्डोमा मे २८ देखि ३१ सम्म हुँदै छ । अमेरिकी वैज्ञानिकहरूको संस्था नासाले नेसनल स्पेस सोसाइटीमार्फत नेपाली किशोर रिजनलाई सम्मेलनमा भाग लिन बोलाएको हो । सो सम्मेलनमा रिजनले पावर प्वाइन्टबाट आफ्ना डकुमेन्ट प्रस्तुत गर्ने तयारी गरेका छन् । रिजनको 'रिजन' साँच्चिकै प्रमाणित भयो भने उनको मात्र होइन, देशकै ठूलो प्रतिष्ठाको विषय हो । तर, दुःखको कुरा उनी उड्नु एक दिनअघिसम्म उनलाई आफ्नो भ्रमणबारे यकिन थिएन । कारण थियो- पैसा । आर्थिक सहयोगका लागि उनले धेरै सरकारी तथा गैरसरकारी संस्थालाई गुहारे, तर धेरैले उनलाई पत्याएनन् । उनले आशा मारिसकेका थिए तर सहयोग गर्‍यो नोबल एकेडेमीले । जहाजमा लाग्ने भाडादेखि पकेट खर्चसमेत नोबल एकेडेमीले दिएको छ उनलाई । 'केही गर्न खोजेको मान्छेलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो,' रिजनलाई आर्थिक सहयोग गरेका नोबल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले भने, 'उनको सिद्धान्त प्रमाणित भयो भने राष्ट्रकै इज्जतको कुरा हो ।' तर, रिजनसँगै अमेरिका जाने तरखर गरेका शिक्षक पनि आर्थिक स्रोत जुटाउन नसकेर रोकिएका छन् । सम्मेलन अवधिभर नोबल एकेडेमी र अमेरिकामा रहेको दावाली मिलन केन्द्रले खाने, बस्नेदेखि कार्यक्रमस्थलसम्म आवतजावतको व्यवस्था मिलाएका छन् । आर्थिक स्थितिका कारण उनले अमेरिका उड्ने आवश्यक तयारी गरेका थिएनन् । तर, जब आइतबार भ्रमण निश्चित भयो तयारीका लागि उनले धपेडी गर्नुपर्‍यो । सोमबार दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुपर्ने रिजन एक बजेसम्म नयाँ पाइन्ट किन्न बजारमा भौंतारिरहेका थिए । रिजनसँग कुराकानी गर्न १२ बजे नयाँ पत्रिकाकर्मी नोबल एकेडेमीमा पुग्दा उनी करिब एक घन्टापछि मात्र सो ठाउँमा आइपुगेका थिए । तर, उनी आफ्नो दाबीप्रति ढुक्क छन् । 'मैले नयाँ सिद्धान्त लेखेको छु, यसले पुराना सिद्धान्तलाई बाइपास गरेको छ,' रिजनले अमेरिका जानुअघि नयाँ पत्रिकासँग भने, 'डार्क इनर्जी र डार्क म्याटर हल भएको थिएन, तर मैले गरेको छु । गुरुत्वाकर्षणको नयाँ प्रतिवादी सिद्धान्तमार्फत यो समस्या मैले हल गरेको हुँ ।' उनले आफ्नो दाबीले अहिले नपाए भविष्यमा सिद्धान्तको मान्यता पाउने विश्वास पनि व्यक्त गरे । न्युटनको 'कुनै दुई आकाशीय पिण्डहरूको गुरुत्वाकर्षण बल ती दुई पिण्डबीचको गुणनफलसँग अनुक्रमानुपातिक र ती दुई पिण्डबीचको दूरीको बलसँग व्युत्क्रमानुपातिक हुन्छ' भन्ने नियम पूर्ण नभएको दाबी रिजनको छ । त्यसैगरी आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त पनि गुरुत्वाकर्षणसम्बन्धी शक्तिले फैलिइरहेको ब्रह्माण्डबारे कुनै व्याख्या नगरेकोले त्यो सिद्धान्त अपूर्ण भएको उनको दाबी छ । रिजनले कक्षा ६ सम्म पूर्वी पडाडी जिल्ला भोजपुरको सरस्वती निम्नमाध्यमिक विद्यालयमा पढेका हुन् । बुबा पेसाले शिक्षक भएका कारण बुबाको सरुवासँगै उनी पनि विराटनगर झरेका थिए । सरस्वती निमाविमा ६ कक्षा पढेका रिजनलाई विराटनगरको बुढानीलकण्ठ स्कुलमा दुई कक्षा घटाएर चारमा भर्ना गरिएको थियो ।

ड्राइभरको तलब खाए संसदीय समितिका सभापतिहरुले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ जेठ परिवार नियोजनका अस्थायी साधनको खर्च र सुत्केरी भत्ता खाएपछि सभासद्हरूले अब ड्राइभरको तलब पनि खान थालेका छन् । दुई-दुईजना ड्राइभर राखेको भनेर उनीहरूको नाममा तलब खानेमा संवैधानिक समितिका सभापति (वर्तमान प्रधानमन्त्री) माधवकुमार नेपालदेखि माओवादी र कांग्रेसका नेताहरू पनि छन् । संसद् र संविधानसभाका २३ समितिका सभापति र तीन दलका सचेतकलाई युएनडिपीले अत्याधुनिक गाडी र एकजना ड्राइभर दिएको छ । ती गाडीका ड्राइभरले आफ्नो तलब सिधै युएनडिपीबाट बुझ्दै आएका छन् । तर, यता संविधानसभा/संसद् सचिवालयले पनि हरेक सभापतिका लागि दुईजना ड्राइभरको सुविधा दिने गरेको छ । सभापतिहरूले छुट्टै ड्राइभर राखेका छैनन्, तर तिनका नाममा आठ हजार दुई सय ७० रुपैयाँका दरले दुईजनाको १६ हजार पाँच सय ४० रुपैयाँ बुझ्दै आएका छन् । सभापति र सचेतकहरूले आफ्नो तलब बुझ्दा दुईजना ड्राइभरको तलब पनि एकमुष्ठ बुझ्दै आएका छन् । तर, त्यसरी ड्राइभरले पैसा लिएको भए सचिवालयमा भर्पाइ बुझाउनुपर्ने नियम छ । तर, सबै सभापतिले संसद्को लेखा शाखाबाट ड्राइभरको तलब लिएका छन्, तर कसैले पनि भर्पाइ बुझाएका छैनन् । संसद् सचिवालयको आग्रहमा युएनडिपीले ३० वटा गाडी भाडामा लिएर ड्राइभरसहित दिएको थियो । सचिवालयका अनुसार ती ड्राइभरले 'ओभर टाइम' काम गरे युएनडिपीबाटै भत्ता पनि बुझ्छन् । संविधानसभाका १३ र संसद्का नौ समितिका सभापतिहरू तिनै गाडी चढ्छन् । त्यस्तै माओवादी सचेतक जयपुरी घर्ती, कांगे्रस सचेतक शोभाकर पराजुली र एमाले सचेतक थममाया थापा पनि यिनै गाडी चढ्छन् । सुरक्षा विशेष समितिका सभापति तथा सभामुख सुवास नेम्वाङ भने संसद् सचिवालयकै गाडी चढ्छन् । संवैधानिक समितिका तत्कालीन सभापति तथा वर्तमान प्रधानमन्त्री माधवकुमार नेपालको गाडी युएनडिपीका ड्राइभरले चलाउँदै आएका थिए । तर, थप दुईवटा ड्राइभर राखेको भन्दै नेपालले उनीहरूको तलब बुझ्दै आएका छन्, तर भर्पाइ भने बुझाएका छैनन् । त्यस्तै, माओवादी सचेतक घर्ती, कांग्रेस सचेतक पराजुली, एमाले सचेतक थापाले पनि भर्पाइ नबुझाई ड्राइभरको तलब बुझ्दै आएका छन् । संविधानसभाको राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिका सभापति लोकेन्द्र विष्ट र संसद्को विधायन समिति सभापति यशोदा सुवेदीले सचिवालयबाट 'गाडी सुविधा लिन्न' भनेका थिए तर उनीहरूले पनि दुई ड्राइभरको तलब र मासिक इन्धन सुविधा लिँदै आएका छन् । तर, सुवेदीले ड्राइभर र इन्धनबापत अहिलेसम्म बुझेको रकम कट्टा गरिदिन सचिवालयमा भर्खरै निवेदन दिएकी छिन् । युएनडिपीले त्यतिखेर भाडामा दिएका गाडी 'रिप्लेस' गर्ने गरी संसद् सचिवालयकै स्वामित्व रहने गरी ३० वटा स्करपियो गाडी भर्खरै दिएको छ । संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार जेठ अन्तदेखि नै ती गाडी प्रयोगमा आउनेछन् । संसद्कै स्वामित्वको गाडी चढेपछि दोहोरो ड्राइभर राखेको भनेर सभापतिले पैसा लिने सम्भावना घट्नेछ ।

श्रीमान्ले आफ्नी श्रीमतीलाई जिउँदै जलाउने प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिराहा, १४ जेठ सिराहाका एक श्रीमान्ले आफ्नी ४० वषीया श्रीमतीलाई बिहीबार जिउँदै जलाउने प्रयास गरेका छन् । गोविन्दपुर-५ झिटकीका महेन्द्र यादवले ४० वर्षीया श्रीमती कुमारीदेवीलाई भकभकी उम्लिएको पानी टाउकोबाट खन्याइदिएका छन् । उम्लिएको पानीले कुमारीदेवीको आधा शरीर जलेको छ । महेन्द्रले बिहान खाना खाइरहेका वेला तातोपानी खन्याइदिएको कुमारीदेवीका देवर श्रीप्रसाद यादवले बताए । घाइते कुमारीदेवीको लाहानस्थित रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा उपचार भइरहेको छ । श्रीमान् सधैं रक्सी पिएर आई आफूलाई कुटपिट गर्ने गरेको अस्पतालमा उपचार गराइरहेकी कुमारीदेवीले बताइन् । उनले नयाँ पत्रिकासँग भनिन्, 'मलाई पाठेघर खस्ने रोग छ, उपचार गरिदिन आग्रह गर्दा उम्लिएको पानी शरीरभर खन्याए ।' उपचार गराइदिन आग्रह गर्दा श्रीमान्ले पटकपटक कुटपिट र यातना दिने गरेको कुमारीदेवीले गुनासो गरिन् । आफूलाई हेर्न अस्पताल पुगेका महिला अधिकारकर्मीसमक्ष आँखाभरि आँसु पार्दै उनले भनिन्, 'श्रीमान् सधैं कुट्छन्, मलाई हेर्ने कोही भएन ।' आफूलाई यातना दिने श्रीमान्लाई कारबाही गरिदिनसमेत कुमारीदेवीले आग्रह गरेकी छिन् । श्रीमतीलाई तातोपानी खन्याएर हत्या गर्न खोज्ने महेन्द्रलाई कारबाही गर्न ओरेक नेपाल सिराहाकी संयोजक श्यामकुमारी साहले प्रशासनसँग माग गरेकी छिन् । महेन्द्रलाई ज्यान मार्ने उद्योग गरेको मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउन उनले सुझावसमेत दिएकी छिन् । श्रीमतीको हत्या प्रयास गर्ने महेन्द्रलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

अमेरिका तथा दक्षिण कोरियाले आफ्ना सैनिक सर्तक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ उत्तर कोरियाले दक्षिण कोरियासँगको युद्धविराम सम्झौता भंग गरेको घोषणापछि संयुक्त राज्य अमेरिका तथा दक्षिण कोरियाले आफ्ना सैनिक सर्तक अवस्थामा राखेका छन् । द्विपक्षीय सम्झौताका कारण दक्षिण कोरिया र उत्तर कोरियाबीच युद्ध आधा शताब्दीअघि टुंगिएको थियो । दक्षिण कोरियाली रक्षामन्त्रालयले उत्तर कोरियामाथि सैनिक गस्ती बढाउने घोषणा गरेको छ । उत्तर कोरियाली गतिविधिको निगरानीका लागि सेनाले हवाई तथा स्थल गस्ती बढाउने रक्षामन्त्रालयका प्रवक्ता बोनता जेले बताए । उत्तर कोरियाको पछिल्लो आणविक परीक्षण छिमेकी मुलुक दक्षिण कोरिया र जापानको टाउको दुखाइको विषय बनेको छ भने अमेरिकालगायत पश्चिमा देशले उत्तर कोरियाले आफ्नो आणविक परीक्षणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उता राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाको आणविक कार्यक्रमका कारण उत्पन्न पछिल्लो अवस्थाको मूल्यांकनका र उत्तर कोरियाले दिने जवाफबारे सदस्य मुलुकसँग विचारविमर्श गरिरहेको छ । आफूविरुद्ध दक्षिण कोरियाले अमेरिकालाई साथ दिएको तथा आफ्ना पनडुब्बी र जहाजमा आणविक हतियार खोज्ने अमेरिकी नेतृत्वको कारबाहीलाई उत्तर कोरियाले 'युद्धको घोषणा' भनेको छ । 'हामीमाथिको शत्रुतापूर्ण व्यवहार, हाम्रा पनडुब्बी र जहाजमा हुने खोजतलास र सामग्रीको जफतलाई हामीले स्वाधीनतामाथिको आक्रमणका रूपमा लिनेछौँ, यदि त्यस्तो अक्षम्य अपराध भएमा शक्तिशाली सैन्यकारबाही गर्नेछौँ,' अमेरिका र दक्षिण कोरियालाई चुनौती दिँदै उत्तर कोरियाले भनेको छ । यसैगरी, उत्तर कोरियाले परमाणु अस्त्र र क्षेप्यास्त्र परीक्षण गरेपछि बढेका सुरक्षा चिन्ताबीच अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले बुधबार जापान र दक्षिण कोरियाको प्रतिरक्षा प्रतिबद्धतालाई दृढतापूर्वक दोहोर्‍याएकी छिन् । 'संयुक्त राज्य अमेरिकाले दक्षिण कोरिया र जापानको प्रतिरक्षालाई सदैव प्राथमिकता दिने गरेको छ । यो हाम्रो पक्षबाट निभाउनुपर्ने दायित्व हो, जुन हामी धेरै गम्भीरतापूर्वक लिन्छौँ,' हिलारीले भनिन् । उस्काउने र मूठभेडमा उत्रने नियत देखाएकाले उत्तर कोरियाले त्यसको परिणाम भोग्नुपर्ने हिलारीले चेतावनी दिइन् । सबैखालका आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र गतिविधि गर्न बन्देज लगाइएको राष्ट्रसंघ सुरक्षापरिषद्को प्रस्ताव उल्लंघन गर्ने बाटो उत्तर कोरियाले रोजेको उनको दाबी थियो ।

बार्सिलोनाले यस वर्ष तेस्रो फुटबलको उपाधि चुम्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोम/ पूर्ववाचाअनुरूप प्रशिक्षक पेप गार्डियालोले बार्सिलोनालाई यस वर्ष तेस्रो उपाधिका रूपमा प्रतिष्ठित युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि चुमाएका छन् । स्थानीय समयअनुसार बुधबार राति सम्पन्न फाइनलमा साविक विजेता म्यानचेस्टर युनाइटेडलाई २-० ले हराउँदै बार्सिलोना उपाधि चुम्न सफल भयो । ३८ वर्षीय 'चतुर' प्रशिक्षकले फाइनलमा बार्सिलोनालाई सफलता दिलाउने दाबी गर्दै आएका थिए । 'तिमी बहादुर छौ भने अगाडि बढ्न सक्छौ, त्यो नै राम्रो मौका पनि हुनेछ,' गार्डियालोले भनेका थिए, 'जोखिम नमोल्नुजस्तो जोखिम केही हुँदैन ।' युरोपकै सो प्रतिष्ठित प्रतियोगिताको खेलाडी (१९९२) र प्रशिक्षक दुवै पात्रका रूपमा जित्ने उनी छैटौं व्यक्ति पनि बने । उनले खेलअघि नै खेलको सिठी बजेलगत्तै स्पेनी च्याम्पियनले आक्रामक खेल खेल्ने बताएका थिए । 'हामीले आक्रमण गर्‍यौं, हामीले रक्षा गर्‍यौं तथा हामीले जित्यौं,' गार्डियालोले भने, 'समग्रमा भन्नुपर्दा हामीले सोचेअनुरूप राम्रो खेल्यौं ।' सामुयल इटोले १०औं मिनेटमा नै गोल गरेपछि बार्सिलोना विजयपथमा लम्किएको थियो । खेलको ७०औं मिनेटमा लियोनल मेसीले 'हेड' गोल गरेपछि त म्यानचेस्टर युनाइटेडको बाँकी सम्भावनासमेत समाप्त भयो । 'हामी र उनीहरू (म्यानचेस्टर) बीच जितको बराबरी सम्भावना थियो, तर अन्त्यमा हामीले खेलमा नियन्त्रण कायम गर्‍यौं र त्यही नै हाम्रो लागि राम्रो रह्यो,' गार्डियालो भन्छन्, 'किनभने बल आपनो नियन्त्रणमा रहेन भने हामी ध्वस्त हुन्छौं ।' सो सफलतासँगै बार्सिलोना एकै सिजनमा तीन उपाधि (च्याम्पियन्स लिग, घरेलु लिग तथा कप) जित्ने म्यानचेस्टर युनाइटेड, एजाक्स, सेल्टिक र पिएसभी इन्डहोभनको समकक्षमा उभियो । यसले गार्डियालोको बार्सिलोनाको पहिलो वर्षको कार्यकाललाई अविस्मरणीय पनि बनायो । उता, खेल समाप्तिपछि खुसियाली मनाउन स्पेनको बार्सिलोनाका सडकमा निस्किएका बार्सिलोनाका केही उदण्ड समर्थकहरू प्रहरीको पञ्जामा पनि परे । तोडफोड र झगडा गरेका कारण झन्डै एक सयजना समातिए भने एक सय ५३ जना घाइते भएको जनाइएको छ । अनियन्त्रित भीडलाई शान्त पार्न प्रहरीले रबरको गोलीसमेत प्रहार गर्‍यो ।

आदिवासी चलचित्र महोत्सव राजधानीमा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेस्रो नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव बिहीबारदेखि राजधानीमा सुरु भएको छ । विभिन्न क्षेत्रमा योगदान दिएका नेपाली एवं विदेशी नागरिकले आदिवासी जनजातिसँग सम्बन्धित बाजा बजाएर महोत्सवको उद्घाटन गरेका थिए । समाजका विभिन्न क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल आदिवासी समुदायको पाँच विशिष्ट व्यक्तिलाई महोत्सवको उद्घाटन समारोहमा आयोजक संस्था आइफाका तर्फबाट विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेमा वनस्पति विशेषज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, सूचना प्रविधि विशेषज्ञ महावीर पुन, लघु जलविद्युत्का प्रेरक वीरबहादुर घले, समाजसेवी महिला आजवानी चौधरी र छिङलामु शेर्पा रहेका छन् 'बिल्डिङ डिग्निटी' भन्ने नाराका साथ यसपालिको महोत्सव सुरु हुन लागेको जानकारी दिँदै फेस्टिबल निर्देशक सिर्जना सुब्बाले संविधान लेखनमा सहयोग मिलोस् भनेर विश्वका विभिन्न मुलुकमा संविधानसँग केन्दि्रत फिल्म प्रदर्शन गर्न लागेको धारणा राखिन् । बिहीबार विभिन्न मुलुकका तीनवटा डकुमेन्ट्री प्रदर्शन गरिएका थिए । बोलिभियाको संविधान निर्माण प्रक्रियामा बनेको डकुमेन्ट्री बिल्डिङ डिग्निटी प्रदर्शन गरिएको थियो । फेर्नान्डो कोला निर्देशित बिल्डिङ डिग्निटीमा संविधानसभाका लागि बोलिभियाका आदिवासीले गरेको आन्दोलन प्रस्तुत गरिएको थियो । नेपाली निर्देशक पि्रनाराज जोशीको 'ग्वे मरू' ले माटोको भाँडा बनाएर जीविकोपार्जन गर्नेहरूले झेल्नुपरेको दुःख प्रस्तुत गरेको थियो । प्रविधिको यो युगमा कुमाले पेसा अपनाउनेहरूले झेल्दै गरेका समस्या प्रस्तुत गरेका थिए निर्देशक पि्रनाले । लेप्चा भाषाको अर्को वृत्तचित्र 'लाप्चा' पनि बिहीबार नै प्रदर्शन गरियो । मोहन मानन्धरद्वारा निर्देशित २५ मिनेटको वृत्तचित्र लाप्चामा आफ्नो भाषा सांस्कृतिक संरक्षणमा लाप्चा समुदायमा आएको चेतनालाई निक्कै सशक्त रूपमा उजागर गरिएको छ । यो महोत्सवमा नेपाललगायत क्यानडा, अमेरिका, मेक्सिको, चिली, भोलिभिया, भेनेजुएला, अस्ट्रेलिया, न्युजिल्यान्ड, नर्वे, फिनल्यान्ड, स्पेन, इन्डोनेसिया र भारतका आदिवासीको विषयमा निर्मित चलचित्र वृत्तचित्र, लघुचलचित्र, म्युजिक भिडियो र एनिमेटेड चलचित्र प्रदर्शन गरिने भएका छन् । त्यस्तै, नेपालका विभिन्न आदिवासी समुदायका १८ वटा चलचित्र, वृत्तचित्र एवं म्युजिक भिडियो प्रदर्शन हुँदै छन् । नेपालबाहिरका १३ देशका २२ वटा चलचित्र एवं वृत्तचित्र हेर्न पाइनेछ । यस वर्षदेखि पुरस्कारमा एकरूपता ल्याउन आदिवासीहरूको प्रतीकको रूपमा 'ढोल'लाई प्रयोग गरिएको छ । विभिन्न पाँच विधामा पुरस्कृत हुने चलचित्र एवं वृत्तचित्रलाई स्वर्ण, रजत र कास्य ढोल प्रदान गरिनेछ । त्यस्तै, दर्शक छनोट पुरस्कार र समीक्षक छनोट पुरस्कार पनि यस वर्ष प्रदान गरिनेछ । महोत्सवमा शुक्रबार राष्ट्रियसभा गृहमा सुजन लामाको तामाङ चलचित्र गोदेवा, निर्देशक जेनी थोर्नेलीको अस्ट्रेलियन वृत्तचित्र आइल्यान्ड होम कन्ट्री, पि्रतम गुरुङ निर्देशित गुरुङ भाषाको रोधी घर र साने वेल्र्कटद्वारा निर्देशित क्यानडाको वृत्तचित्र तकारन्तो प्रदर्शन गरिनेछन् । राटि्रय सभागृह प्रांगणमा बिहीबार ठूलै मेला लागेजस्तै देखिन्थ्यो । राइ, लिम्बू , गुरुङ, सुनुवारलगायतका जातजाति आ-आफ्ना बागागाजासहित सांस्कृतिक झाँकीसहित प्रस्तुत भएका थिए । 'यो त हामो महत्त्वपूर्ण उत्सव नै हो,' निर्देशक संजोग लाफा मगरले भने ।

आज गणतन्त्र दिवस देशभर मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १५ संविधान सभाले गणतन्त्र कार्यान्वयन गर्ने घोषणा गरेको दिन गणतन्त्र दिवसका रुपमा शुक्रबार देशभर मनाइँदैछ। गणतन्त्र दिवस कै अवसरमा राष्ट्रपति रामवरण यादवले नेपालमा गणतन्त्र स्थापनाको पहिलो वर्ष पूरा भएको अवसरमा देशभित्र र बाहिर रहेका सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्। यस अवसरमा सन्देश दिंदै उनले भनेका छन्- एउटा लामो शासन परम्पराको अन्त्य र गणतन्त्रको नयाँ अध्याय सुरु भएको पहिलो वर्ष त्यति सहज हुन नसकेको अनुभव तपाईं हामी सबैले गरेकै छौं। आउने दिन पनि सजिला हुने छैनन्। सङ्क्रमणकाल कहीं पनि सहज हुँदैन। त्यसैले अगाडिको चुनौतीपूर्ण उकालो यात्रालाई कसरी सहज बनाउने भन्नेमा आज सबै नेपालीको ध्यान जानु जरुरी रहेको छ। सन्देशमा उल्लेख छ-हाम्रो अहिलेको प्रमुख गन्तव्य शान्ति प्रक्रियाको पूर्णता र नयाँ संविधानको निर्माण हो।त्यो गन्तव्यमा पुग्नसके मात्र हाम्रो नयाँ गणतन्त्रले जरा हाल्न सक्नेछ।राष्ट्रको यथार्थ र आवश्यकता मनन गरी एक अर्कासँग हातेमालो गर्दै अगाडि बढेमा गन्तव्यमा पुग्न अवश्य पनि गाह्रो हुने छैन।हुन त हामीले गएको एक वर्षसहमति र सहकार्यको माला धेरै जप्यौं तर त्यो मालाका लागि चाहिने जति विश्वास र समझदारीका फूल फुलाउन भने सकेनौं।असहमतिको अधिकार लोकतन्त्रको सबैभन्दा मुख्य विशेषता हो।त्यसलाई दबाइयो भने लोकतन्त्र कुरुप हुने र गणतन्त्रका जरा कुहिने खतरा बढ्छ। असहमतिका बिझाउने काँडाका बीचमै विश्वास र समझदारीको फूल फुलाउने खतरा बढ्छ।तर असहमतिका बिझाउने काँडाका बीचमै विश्वास र समझदारीको फूल फुलाउन सक्यौँ भने लोकतान्त्रिक गणतन्त्रको बगैंचा ढकमक्क हुनेछ, जहाँ नेपाल र सम्पूर्ण नेपालीको सुन्दर तस्बिर खिच्न सकिनेछ -सन्देशमा भनिएको छ।हाम्रा लागि अन्तरिम संविधानले निर्धारण गरेको समयावधिभित्रै नयाँ संविधान निर्माण गर्नु जति जरुरी छ, त्यो संविधानलाई लोकतान्त्रिक, समतामूलक, समावेशी र दिगो बनाउने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ।गएका ६० वर्ष हामीले धेरै वटा संविधान परीक्षण गर्‍यौ।तर यसरी देशलाई लामो समयसम्म परीक्षणको चक्रमा रुमल्याइरहनु कसैको पनि हितमा हुँदैन -सन्देशमा उल्लेख छ।
सन्देशमा उल्लेख छ-अब बन्ने संविधान एउटा अर्को परीक्षण मात्र नहोस् भन्ने सुनिश्चित गरिनु जरुरी छ।त्यस्तो गर्न सकिएमात्र नेपालमा स्थिरता आउनेछ।स्थिरताले शान्ति ल्याउनेछ र शान्तिले उन्नति, अनिमात्र तराई हामी सबैले देखेको स्थिर, शान्त र उन्नत नेपालको सपना साकार हुन सक्नेछ ।

नयाँ मन्त्रिपरिषद बढीमा ३५ सदस्यीय हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १४ - प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रिपरिषद बढीमा ३५ सदस्यीय हुने बताएका छन् । उनले सरकारको कार्यशैली चुस्त र परिणामुखी हुनेसमेत दाबी गरे । प्रधानमन्त्री भएपछि कान्तिपुरलाई बुधबार दिएको विशेष अन्तर्वार्तामा उनले सम्भव भएसम्म शुक्रबार, नभए आइतबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने बताए । '२४ मन्त्रालय, त्यसको एकतिहाइ राज्यमन्त्री र सहायकमन्त्री हुन सक्छन्,' उनले भने, 'मैले भनेको छु, बढीमा ३५, त्योभन्दा बढी हुँदैन ।' मन्त्रिपरिषदको कार्यविभाजन तत्कालका लागि मात्र भएको उल्लेख गर्दै उनले सत्ता साझेदार दलहरूको सहमतिमा मन्त्रालय बाँडफाँड र कार्यविभाजन गरिने बताएका छन् । 'पहिलोपटक महिला रक्षामन्त्री हुनु भएको छ,' उनले भने, 'यसले नेपाली महिलाको शिर ठाडो बनाएको छ ।' विद्या भण्डारी र सुरेन्द्र पाण्डेलाई दिइएको रक्षा र अर्थको जिम्मेवारी अस्थायी भएको उनले बताए । सरकार विस्तारमा ढिलाइ भइहाले पनि बजेट बनाउन सजिलो होस् भन्नेमा ध्यान दिएर जिम्मेवारी दिइएको उनले बताए । प्रधानमन्त्री नेपालले गठबन्धनलाई समर्थन गर्ने साना दलहरूको समूहलाई समेत मन्त्रिपरिषदमा राख्ने संकेत गरेका छन् । 'सरकारमा आउनु भनेको मन्त्री बन्नु मात्र होइन,' उनले भने, 'साना दलहरूलाई मिलाएर मन्त्रिपरिषदमा राख्न पनि सकिन्छ ।' नेपालका अनुसार नयाँ सरकारका तीन प्राथमिकता हुनेछन्, 'शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने, संविधान निर्माण र जनतालाई सेवा प्रदान गर्ने ।' शान्ति प्रक्रियाअन्तर्गत शिविरमा रहेका माओवादी लडाकुको 'पुनःस्थापना र समायोजन' द्वन्द्वपीडितलाई राहत र पुनःस्थापनालगायत कामहरू गरिने उनले बताए । 'शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने सबैको आवश्यकता र बाध्यता पनि हो,' उनले भने, 'त्यो आवश्यकता भएकाले कसैले सहयोग गरेन भने जनताका बीचमा नांगिन्छ ।' सहमतिको राजनीतिमा जोड दिँदै नेपालले आफ्नो सरकारमा माओवादीसमेत सहभागी हुने अपेक्षासमेत गरेका छन् । 'माओवादीको हठ मात्र देखिने कुरामा सुधार होस्, उनीहरूका वास्तविक संवेदनशील कुराहरूलाई सम्बोधन गर्न सकियोस्,' उनले भने, 'यो कडी समात्न सकियो भने समस्या हल गर्न सकिन्छ ।' माओवादीलाई सहमतिमा ल्याउने मार्गचित्र सार्वजनिक गर्न भने उनले अस्वीकार गरे । 'यहीभित्र छ नि, म्यानओभरिङ गर्ने ठाउँ नै त्यही हो । यो सबै बताइसकेपछि त केही पनि बाँकी रहँदैन ।' आफूले देशवासीका नाममा सम्बोधन गर्नुअघि पूर्ववर्ती प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेको र सदन अन्त्य गर्ने विषयमा पनि सल्लाह लिएको उनले बताए । 'उहाँलाई सकारात्मक पाएँ, मान्छेको व्यवहार न हो,' उनले भने, 'विपक्षीको मनोविज्ञान कस्तो हुन्छ, मलाई झलझल्ती सम्झना छ ।' सेना र माओवादीबीचको तिक्त सम्बन्धका कारण सेनापति विवाद आएको उल्लेख गर्दै उनले त्यसलाई नागरिक सर्वोच्चतासँग जोडेर हेर्न नमिल्ने बताए । 'सेनासँग उहाँहरूको सम्बन्ध तिक्त भएको कुरा साँचो हो । यही तिक्त सम्बन्धलाई सैनिक सर्वोच्चता भन्ने कि नभन्ने ?' उनले भने, 'ढंग नपुर्‍याउँदा समस्या हुन्छ । पहिले कांग्रेसले सेना चलाउन खोज्दा पनि नजानेको हो ।' प्रधानसेनापति बर्खास्त गर्ने पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउने स्पष्ट संकेत गरेका छन् । 'अहिले त प्रधानसेनापति रुक्मांगद कटवाल नै हुन्,' उनले भने, 'यसमा कुनै भ्रम नपाले हुन्छ ।' कटवाल हटाउने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा राष्ट्रपतिले रोकपछि यसमा ठूलो राजनीतिक बहस भएको छ । 'यो समस्यालाई हामी समाधान गर्छौं,' उनले भने, 'पहिले सरकारले पूर्णता पाओस् ।' नयाँ संविधानमा कस्तो राष्ट्रपति राख्ने भन्नेमा छलफल गर्नु उचित हुने उनले बताए । 'हामी नयाँ संविधानको घर बनाइरहेका छौं,' उनले भने, 'कस्तो राष्ट्रपति चाहिन्छ ? कति अधिकार दिँदा राष्ट्रपति निरंकुश हुन्छ भन्नेमा छलफल गर्न सकिन्छ ।' संविधान निर्माण निर्धारित समयमै हुनेमा आश्वस्त पार्दै उनले संविधान निर्माण गरी नयाँ निर्वाचन नभएसम्म आफ्नो सरकार चल्ने दाबी गरे । नागरिक सर्वोच्चतामा प्रयोग गर्ने सदनको गणित र मन दुवैमा आफूले विश्वास पाएको उनले बताए । 'एमालेको आवश्यकता महसुस गणितले मात्र होइन, मनले महसुस गरेको हो । माओवादीको गलत व्यवहारले यस्तो भएको हो,' उनले भने, 'प्रचण्डलाई पनि चाहिने माधव नेपाल हो भन्ने लागेको होला तर आफ्नो ठाउँमा आयो भन्ने होला ।' चुनौतीपूर्ण अवस्थामा आफूले नेतृत्व लिएको उल्लेख गर्दै उनले 'धेरैथोक गर्न सकिने' विश्वास व्यक्त गरेका छन् । 'राज्य सञ्चालनका साधनस्रोत र मसँग भएका संकल्पलाई हेर्दा धेरैथोक गर्न सकिने रहेछ भन्ने लाग्छ, विगतमा ड्राइभिङ सिटमा बस्नेहरूले यसमा केन्दि्रत भएर किन गर्न सकेनन् ? मेरो दिमागमा नाचिरहेको छ,' उनले भने । प्रधानमन्त्री उद्घाटन र भेटघाटमा अल्भिनेभन्दा कार्ययोजना बनाउने र कामको अनुगमनमा लाग्नुपर्ने पक्षमा आफू रहेको उल्लेख गर्दै उनले यसका लागि आवश्यक सहयोगी समूह बनाउने बताए । समयमा काम गर्न प्रशासनयन्त्र गतिशील हुनुपर्नेमा उनले जोड दिए । 'म परिणामुखी, गृहकार्य गर्ने, अनुगमन गर्ने, समस्या पहिल्याउने, परिणाम हेर्ने खालको गतिशील र परामर्शीय सरकार सञ्चालन गर्नेछु,' उनले भने, 'म विशेष काममा बढी केन्दि्रत हुन चाहन्छु ।' आफ्नो नेतृत्वको सरकार गठनमा विदेशी हात रहेको माओवादी आरोपलाई अस्वीकार गर्दै उनले दलहरूको विश्वासमा गठबन्धन बनेको प्रस्ट पारेका छन् । भारत र चीन दुवैसँग असल छिमेकीको सम्बन्ध राखिने उल्लेख गर्दै उनले नेपालप्रति दुवैको सद्भाव रहेको बताए । उनले त्यहाँका नेताहरूसँग उत्तिकै असल सम्बन्ध रहेको बताए । माओवादी लडाकु व्यवस्थापन नहुन्जेल राष्ट्रसंघीय मिसन (अनमिन) आवश्यक हुने उल्लेख गर्दै उनले मानव अधिकार उच्चायुक्त कार्यालयको समय तीन महिना थप्ने निर्णय भएको जानकारी दिए । 'अनमिनको समय अलिपछि सकिने भएकाले निर्णय भएको छैन,' उनले भने ।

हङकङमा वान्तवा र यन. बी. यायोक्खाबाट सम्मानित

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/राई चन्द्र दुमी
किराँत राई यायोक्खा हङकङले दुई किराँत प्रतिभाहरुलाई सम्मानित गरेको छ । विदेशमा बसेर नेपाली साहित्यमा अग्रणी भूमिका खेलिरहेका रामकृष्ण बान्तवा र पावर लिफि्टङमा एसिया सेकेण्ड रनरअप नर बहादुर राई (यन. बी.) लाई यायोक्खा हङकङले गत १७ तारिखका दिन आफ्नो किराँत चलनअनुसार फेटा गुथी प्रशंसा पत्रको साथमा सम्मान गरेको छ ।कविता संग्रह, गीतिनाटक, नाटक र उपन्यास गरेर आजसम्म १२ कृति प्रकाशन गरिसकेका बान्तवा “सघन तुवाँलो,, एक सामाजिक उपन्यास प्रकाशित भएपछि चर्चाको शिखरमा पुगेका थिए भने त्यही उपन्यासलाई अमेरिकन प्रकाशकले अंग्रेजी अनुवादको प्रकाशन गरेपछि राई अन्तर्राष्ट्रिय स्तरमा चिनिँदै अरु उचाइमा पुगेका हुन् । “द श्रील मिस्ट” भनेर अंग्रेजी अनुवाद भएको सघन तुवाँलोले नेपालका पत्रिका, भीडीओ मैगजिन, टेलीभिजन, एफएम रेडियोहरुमा निरन्तर स्थान पाउन थालेपछि किराँत राई यायोक्खा हङकङले बान्तवाको प्रतिभाहरुको खोजी गर्न शुरु गरेको हो । किराँतहरुले बडो महत्व दिने किराँत मुद्धुमहरुसमेत सिलसिलेवर समेटिएको सघन तुवाँलो नारी प्रधान उपन्यास हो । “सरल भाषामा सफलताकोसाथ सामाजिक बिकृतिहरु चिर्नु, समसामयिक र गहन कथासार र शिल्प शैलीको सुन्दर त्रिवेणीको कारण नै बान्तवा चर्चाको शिखरमा पुगेका हुन्” एक हङकङेली साहित्यकारको भनाइ छ ।खोटाङ खार्ताम्छा २ चोखानेका नर बहादुर राई (यन. बी) गएको ५, ७ वर्षदेखि हङकङमा भारत्तोलन खेल खेल्दै आएको कुशल खेलाडी हुन् । गत वर्षहरुमा उल्लेख्य प्रस्तुति दिन निरन्तर साधना र खानाको ब्यालेन्स मिलाउन थालेपछि गएको २ वर्ष वरिपरि उनमा असामान्य विकास भएर आयो । आज आएर एसियाकै तेश्रो स्थानमा पुगेका नर बहादुर २००८ को हङकङ गोल्ड मेडलिस्ट र रेकर्ड होल्डर हुन् । धेरै क्षेत्रीय गेमहरुमा भाग लिँदै प्रतिस्पर्धा जित्दै आएका उनले हङकङमै आयोजित एसियन गेममा हङकङ राष्ट्रिय टिमबाट सहभागी भई भर्खरै सेकेण्ड रनर अप उपाधिकोसाथ पुरस्कार र ट्रफीहरु प्राप्त गरेका छन् । मिडियाको खासै आँखा पर्न नसकेको उनी यसअघि साधारण गेमहरुमा भने उत्कृष्ट हुँदै आए पनि स्तरीय गेम प्रतिस्पर्धामा सालाखाला उपाधिहरु मात्र हातलागी गर्दै आएका थिए ।युनलङस्थित किराँत चुल्हामा प्रतिभाहरुलाई सम्मान र साकेवा कलाकारहरु समेतलाई ताइतोङमा बीबीक्यू दिने भनिएकोमा राईहरुको ठूलै जमघट हुँदै गएर चुल्हामा नअट्ने सम्भावना बढ्दै गएपछि बीबीक्यू स्पट ताईतङमै सम्मान कार्यलाई पनि पुर्‍याइएको थियो ।बीबीक्यू कार्यक्रमपछि बेलुकिपख सम्पन्न भएको औपचारिक कार्यक्रमलाई संस्थाको सचिव शशि मदन राईले सञ्चालन गरेका थिए । अध्यक्ष नरहाङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा यायोक्खा हङकङ भू.पू. अध्यक्ष हेजेन राई, आदिवासी जनजाति महासंघ हङकङ अध्यक्ष भूपेन्द्र चेम्जोङ, सल्लाहकार गेन चाम्लिङ, सल्लाहकार बसन्त कुमारी राई, सल्लाहकार राम्ली राई, यायोक्खा भू.पू. सचिव तथा सनराइज साप्ताहिकको तर्फबाट राई चन्द्र दुमीको आतिथ्य रहेको थियो । उपस्थित अतिथि वर्ग तथा समुदायलाई स्वागत गर्दै सहसचिव मोति चाम्लिङले २ प्रतिभाहरुको चर्चा गरेका थिए ।अभिनन्दनपछि सम्मानित ब्क्यक्तिहरु व्दयलाई पनि मन्च दिइएको थियो । लेखक रामकृष्ण बान्तवाले मन्तब्य दिनुअघि आफ्नो तर्फबाट आफ्ना अंग्रेजी नेपाली २ कृतिहरु यायोक्खा हङकलाई भनेर अध्यक्ष नरहाङ राईलाई हस्तान्तरण गरेका थिए । दुबै प्रतिभाहरुले आआफ्नो क्षेत्रबाट आफ्नो जातिको नाम उच्चो राख्न समग्र नेपाललाई चिनाउने कार्यमा तनमनले लागिरहन आजको यस सम्मान कार्यले अरु हौसला बढेको र आफूहरुलाई अरु जिम्मेवारी थपिएको महशुस गरेको छौँ भन्ने कुरा बताएका थिए । हर्षविभोर रामकृष्णले आफ्नो बोल्ने क्रममा जय जय यायोक्खा, छेकुलुङ, हेन्कुवुङ, यलम्बर हाङ, पारुहाङ सुम्निमा भनेर अन्तरहृदयबाटै उदघोष गरेको थिए । सोझो सीधा र साधारण नर बहादुर राईले भावविभोर हुँदै भने -”हङकङकै झण्डा उठाएर भए पनि हङकको क्वलमा मैले एउटा शिल्ड राखिलिएको छु तर त्यो कसले राख्यो भन्दा हामी नेपालीले राखेको भन्ने नै प्रचार हुँदोरहेछ, किनभने त्यहाँ ठूल्ठूलो गुरुजीहरुले पनि नर बहादुर राई भनेको सुनेको छैन, नेपाली खेलाडी यन. बी. ले जितेको भन्ने सैयौँ पटक सुनेको छु ।”अतिथिहरु जनजाति महासंघ अध्यक्ष भूपेन्द्र चेम्जोङ, कि. रा. या. सल्लाहकार राम ली राई आदिले शुभकानमा मन्तब्य दिएपछि औपचारिक कार्यक्रम समापन गर्दै अध्यक्ष नरहाङ राईले -”अब, रामकृष्ण र नरबहादुर घेरा तोडेर संसार विजय गर्न निस्कनुभएको छ हामी सबै किराँत राईहरुले गर्व गर्नलायक काम गर्ने व्दय प्रतिभालाई हार्दिक शुभकामना भन्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

साना दललाई १० सिट बराबर एक मन्त्री दिने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १४ सत्तारुढ नेकपा एमाले र कांग्रेस शुक्रबार मन्त्रालय बाँडफाँटको टुंगो लगाएर आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमत भएका छन्। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई दलका शीर्ष नेताहरुको भेटमा यस्तो सहमति भएको एमाले महासचिव ईश्वर पोखरेलले बताए।"शुक्रबारसम्म साझा कार्यक्रम र दलगत मन्त्रालय बाँडफाँटको निष्कर्ष निकालेर आइतबार मन्त्रिमण्डल विस्तार हुन्छ"- पोखरलेले संचारकर्मीसँग भने। दुई दलबीच ३५ को हाराहारीमा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री बनाउने सहमति पनि भएको छ। "कुल मन्त्रीको संख्या ३५ भन्दा माथि नलैजाने सहमति भयो"- कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने।एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई काम गर्न सजिलो हुने गरेर केही महत्वपूर्ण मन्त्रालय एमालेलाई दिन कांग्रेस सहमत भएको पनि बताए।साना पार्टीलाई मन्त्रालय कसरी दिने भन्ने अन्यौलबारे भने दुई दल साना दलहरुको समूह बनाएर बाँडफाँट गर्न सहमत भएका छन् । "सरकारलाई समर्थन गरेका सबै दललाई संविधानसभामा उनीहरुको उपस्थितिका आधारमा मन्त्रिमण्डलमा स्थान दिन सहमति भएको छ", पौडेलले भने- "साना दलको समूह बनाउने र कम्तीमा १० सिट बराबर १ मन्त्री दिने सहमति भएको छ।"भेटमा कांग्रेस कार्यबाहक सभापति सुशील कोइराला, उपसभापति पौडेल र महामन्त्री विमलेन्द्र निधि सहभागी थिए । एमालेबाट भने प्रधानमन्त्री माधवकुमार नेपालसहित अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता केपी ओली, महासचिव पोखरेल र सचिव शंकर पोखरेल सहभागी थिए।

नेकपा एकीकृत विभाजन हुने स्थितिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १४ नेकपा एकीकृतका केन्द्रीय सदस्य नवराज सुवेदीले माओवादीसँगको पार्टी एकताका लागि केन्द्रीय समितिमा प्रस्ताव दर्ता गरेका छन्। सुवेदीको प्रस्तावमाथि छलफल गर्न तथा पार्टीको भावी नीति र कार्यक्रम तय गर्न एकीकृतको २० गतेदेखि केन्द्रीय समितिको बैठक बस्दैछ। छलफल नगर्दासम्म सुवेदीको प्रस्तावलाई गोप्य राखिएको छ। असारको पहिलो सातासम्म पार्टीले के गर्ने भन्नेबारे स्पष्ट हुने सुवेदीले नागरिकलाई बताए। 'माओवादीले प्रचण्डपथ विधानबाट हटाइसकेकाले ऊसँग एकता गर्नुपर्छ। माओवादीका जनयुद्धपछिका परिवर्तनलाई आत्मसात गर्नुपर्छु सुवेदीको प्रस्तावमा छ।एकीकृतका अध्यक्ष ऋषि कट्टेलले भने माओवादीसँग पार्टी एकता हुन नसक्ने र एकाध व्यक्ति जान सक्ने बताए। 'पार्टी एकता हुन्छ माओवादीसँग भन्ने हल्ला हो। दुई चार जना जान सक्छन्। हाम्रो पार्टी माओवादीसँग एकता गर्दैनु कट्टेलले भने।पार्टीले गति नलिएको र गठन हुँदा कम्युनिस्ट केन्द्र बनाउने उद्देश्य भएकाले धु्रवीकरण आवश्यक भएको मत माओवादीसित एकता हुनुपर्छ भन्ने पक्षधरको छ।वैकल्पिक सहित ४३ जना केन्द्रीय समिति सदस्य रहेको एकीकृतमा सुवेदीलगायतले फरक मत राखेका छन्। पूर्व एकताकेन्द्र मसाल माले र मालेमा केन्द्रबाट विभाजन भएका समूहले गठन गरेको एकीकृत अहिले संसदमा माओवादीको पक्षमा उभिएको छ।एकीकृतको आधार बागलुङमा बलियो भएकाले त्यहाँको जिल्ला पार्टी माओवादी एकता गर्ने सवालमा के गर्छ भन्ने महत्वपूर्ण बनेको छ। बागलुङका पूर्व जिविस सभापतिसमेत रहेका लीलबहादुर थापा मगरले पनि धु्रवीकरण आवश्यक भएको बताए। 'सुवेदीसँगको छलफलमा महाधिवेशनले धु्रवीकरणलाई रोकेको छैनु थापा निकट स्रोतले भन्यो।'हामी ध्रुविकरणको विरोधी होइनौं। केन्द्रमा फरक प्रस्ताव पेस गरिएको छ। त्यो छलफलमा आएपछि जिल्लाले धारणा बनाउँछु बागलुङ पार्टी सचिव फमलाल न्युरेले भने। 'असारको पहिलो सातासम्म पार्टीले के गर्छ भन्ने टुंगोमा पुग्छौं' सुवेदीले भने। आगामी बैठकमा फरक प्रस्ताव बारे छलफलपछि पार्टी तल्लो निकायसम्म पुर् याइने छ।

May 27, 2009

कटवाललाई कारबाही गर्ने प्रधानमन्त्रीको हातमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ जेठ माओवादी नेतृत्वको सरकारले गरेको प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्ने निर्णय फिर्ता लिने/नलिने जिम्मा मन्त्रिपरिषद्ले प्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धमा सामान्य छलफलपछि निर्णय लिने अधिकार प्रधानमन्त्रीलाई सुम्पेको हो । यसअघि बिहान बसेको सरकारको समर्थनमा रहेका २२ दलको बैठकले प्रधानसेनापतिलाई कारबाही गर्नेलगायतका पूर्ववर्ती सरकारले गरेका केही निर्णय उल्ट्याउन एमाले नेतृत्वको सरकारलाई सुझाव दिएको थियो । माओवादी नेतृत्वको सरकारले गत २० वैशाखमा प्रधानसेनापति कटवाललाई कारबाही गर्दै दोस्रो बरियताका कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयप्रति सरकारमै सहभागी दलहरूले समेत विरोध जनाएपछि राष्ट्रपति डा. रामवरण यादवले सेनापतिलाई पत्र पठाउँदै पदमा बहाल रहन निर्देशन दिएका थिए । मन्त्रिपरिषद् बैठकले सेनापति कटवालमाथि गरिएको कारबाही फिर्ता गर्ने/नगर्ने सम्बन्धमा छलफल गरेको थियो । 'सामान्य छलफल भयो । निर्णय लिने-नलिने अधिकार प्रधानमन्त्रीको जिम्मा दिइएको छ,' बैठकपछि अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकारहरूसित भने । बैठकले कोसी बाढीबारे स्थलगत अध्ययन/अवलोकन गर्न तीन सदस्यीय उच्चस्तरीय टोली पठाउने निर्णय गरेको छ । अर्थमन्त्री पाण्डेका अनुसार गृह, भौतिक योजना तथा निर्माण र जलस्रोत मन्त्रालयका सचिवहरू संलग्न उच्चस्तरीय टोलीलाई स्थलगत अवलोकनमा जान निर्देशन दिइएको छ । बैठकले प्रधानमन्त्री नेपालको राजनीतिक सल्लाहकारमा एमाले नेता रघुजी पन्त र प्रेस सल्लाहकारमा पत्रकार विष्णु रिजाललाई नियुक्त गरेको छ । पूर्वमन्त्री पन्त एमाले पोलिटब्युरो सदस्य हुन् भने रिजाल बुधबार साप्ताहिकका सम्पादक तथा एमाले प्रचार विभागका सदस्य हुन् । त्यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा यादवचन्द्र शर्मा नियुक्त गरिएका छन् । बैठकले आगामी १५ जेठमा गणतन्त्र दिवस भव्यताकासाथ मनाउने निर्णय गरेको छ । सोही दिन रत्नपार्कमा गणतन्त्र स्तम्भको शिलान्यास गर्ने निर्णय पनि गरिएको छ । कणर्ाली क्षेत्रमा देखिएको खाद्यान्न संकट तत्काल सामाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्री पाण्डेले बताए ।

राहदानीमै इराक प्रतिबन्ध लेखिएको वितरण गर्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अवैध रूपमा रोजगारीका लागि इराक जाने नेपाली संख्या बढ्न थालेपछि सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिको राहदानीमा विशेष व्यवस्थासहित संशोधन गरेको छ। खाडी तथा अन्य राष्ट्रको बाटो गरेर इराकमा काम गर्न जाने नेपालीलाई नियन्त्रण गर्न परराष्ट्र मन्त्रालयले इराकमा काम गर्न जान अमान्य (नटभ्यालिड टु इराक फर वर्क) लेखिएको राहदानी वितरण गर्न थालेको छ।श्रम र परराष्ट्र मन्त्रालयले लामो गृहकार्यपछि रोजगारीका लागि जोखिमपूर्ण भन्दै वाहकको राहदानीमै इराक जान मनाही लेखिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले जानकारी दिनुभयो। ‘अब नयाँ प्रिन्ट भएर आउने साधारण राहदानीमा यो व्यवस्था गरिएको हो’, प्रवक्ता प्रधानले मंगलबार नेपाल समाचारपत्रसँग भन्नुभयो- ‘इराकमा अवैधानिक रूपमा काम गर्न जाने नेपालीलाई रोक्न यो नियम बनाइएको हो।’वैदेशिक रोजगारीमा आफ्ना नागरिकलाई विदेश पठाउने अन्य राष्ट्रले समेत यो नियम लागू गरिसकेको उहाँले जानकारी दिनुभयो। ‘कार्यालयको काम वा कूटनीतिक रूपमा विदेश जाने नेपालीमा भने यो नियम लागू नगरिएको मन्त्रालयले जनाएको छ। कति नेपाली इराकमा कार्यरत छन् भन्ने तथ्यांक परराष्ट्र मन्त्रालयसँग नभए पनि ठूलो संख्यामा नेपालीले त्यहाँ जोखिमपूर्वक काम गरिरहेको तथ्यांक छ।४ वर्षघि १२ जना नेपाली रोजगारीका लागि इराक जाने क्रममा हत्या गरिएपछि सरकार राहदानीमै उल्लेख गरेर नयाँ प्रावधान राख्न बाध्य भएको हो। ठूलो संख्यामा कामदार विदेश पठाउने फिलिपिन्सले यसअघि यस्तो प्रावधान लागू गरिसकेको छ। यस्तो प्रावधान गरिएको राहदानीले वाहकलाई इराक सरकारले आफ्नो देश प्रवेश गर्न रोक लगाउने प्रवक्ता प्रधानले जानकारी दिनुभयो। राहदानीमा इराकमा कामका लागि अमान्य लेखिएपछि इराक जाने नेपालीको संख्या घट्ने मन्त्रालयको अनुमान छ।

प्रचण्डका लागि सुरक्षामा ७० जनाको सेनाटोली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ जेठ प्रधानमन्त्रीबाट भर्खरै अवकाश लिएका माओवादी अध्यक्ष प्रचण्डका लागि माओवादी जनमुक्ति सेनाले सुरक्षा-व्यवस्था कडा पारेको छ । उनको सुरक्षार्थ अहिलेसम्म जनमुक्ति सेनाका डिभिजन सहकमान्डरको नेतृत्वमा करिब ५० जनाको टोली थियो, अब कमान्डरको नेतृत्वमा ७० जनाको टोली खटिने भएको छ । प्रधानमन्त्री हुनुअघि जनमुक्ति सेनाका सर्वोच्च कमान्डर रहेका प्रचण्डका लागि अहिलेसम्म जनमुक्ति सेनाका डिभिजन सहकमान्डर मन्जिलको नेतृत्वमा टोली खटिएको थियो । तर, अब प्रचण्डको सुरक्षा-दस्ताको नेतृत्व गर्न पहिलो डिभिजन कमान्डर सन्तु दराई 'परवाना' आउन लागेका छन् । सूत्रका अनुसार नयाँ टोलीका केही सदस्य प्रचण्डनिवास नयाँबजार आइसकेका छन् । प्रधानमन्त्री हुनुअघिसम्म प्रचण्ड माओवादी जनमुक्ति सेनाको सर्वोच्च कमान्डर थिए, त्यो वेलामा उनको सुरक्षार्थ डिभिजन सहकमान्डरको नेतृत्वमा करिब ५० जनाको टोली थियो । तर, उनी प्रधानमन्त्री हुनासाथ दोहोरो सुरक्षा-व्यवस्था हटेपछि त्यसअघि उनको सुरक्षार्थ खटिएका जनमुक्ति सेनाका धेरैजसो सदस्य तालिम गर्न भन्दै डिभिजन फर्किएका थिए भने २२ जना नयाँबजारमा बस्दै आएका थिए । जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन पासाङले भने नियमित सरुवाअन्तर्गत टिम बदलिन लागेको बताए । 'हाम्रो सैन्य नियमावलीअनुसार नै सरुवा हुन्छ । हेडक्वाटरमा आउने-जाने प्रक्रिया पनि त्यहीअनुसार भइरहन्छ,' उनले भने । माओवादी जनमुक्ति सेनाको सूत्रका अनुसार प्रचण्डको सुरक्षा टोली परिवर्तन गर्ने विषयमा पार्टी र जनमुक्ति सेनाबीच छलफल र सहमति भइसकेको छ । पासाङले पनि पार्टीको निर्णयअनुसार हेडक्वाटरको सुरक्षा टिमको व्यवस्थापन गरिने पनि बताए । 'हेडक्वाटरले बोलाउन साथ नयाँ टिम आउँछ, त्यो स्वाभाविक हो,' उनले भने । प्रधानमन्त्री हुँदा प्रचण्डले नेपाली सेनाको पनि सुरक्षा पाउँदै आएका थिए । अब उनको सुरक्षाका लागि नेपाल प्रहरीका डिएसपी रामचन्द्र भण्डारीको नेतृत्वमा टोली खटिने भएको छ । गत साता काठमाडौंमा भेला भएका जनमुक्ति सेनाका कमान्डरहरूको बैठकमा पार्टी नेतृत्वको सुरक्षा टोली बदल्नेबारे छलफल भएको थियो । पार्टीका शीर्ष नेताहरूसँगको छलफलपछि निर्णय गरिएको हो । कमान्डरहरूले गत बुधबार माओवादी अध्यक्ष प्रचण्ड र बिहीबार वरिष्ठ नेता डा. बाबुराम भट्टराईसँग भेट गरेका थिए ।

नेपाली चलचित्रमा बलिउड सिरियलकी प्रेरणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिन्दी सिरियल 'कसौटी जिन्दगी'मा अभिनय गरेर चर्चा बटुलेकी अभिनेत्री श्वेता तिवारी (प्रेरणा) ले अभिनय गरेको नेपाली चलचित्र काठमाडौका हलमा प्रदर्शन हुने भएको छ । शुक्रबारदेखि विश्वज्योतिलगायत दर्जन हलमा प्रदर्शन हुन लागेको चलचित्र त्रिनेत्रमा उनले मुख्य भूमिका निर्वाह गरेकी छिन् । भोजपुरी र नेपाली दुई भाषामा निर्माण भएको उक्त चलचित्रमा प्रेरणाको जोडी बनेका छन्, निखिल उप्रेती । मनोज नारायणको निर्देशन रहेको त्रिनेत्र पारिवारिक प्रेमकथामा निर्माण भएको चलचित्रका प्राविधिक निर्देशक सानुकाजी शाक्यले बताए । भोजपुरी चलचित्र सास ननद और भौजाईमा काम गर्ने क्रममा प्रेरणासँग भेटेका सानुले प्रेरणाको नेपाली चलचित्रप्रति मोह भएकै कारण अभिनयका लागि आग्रह गरेका थिए । 'नेपाली चलचित्रको विषयमा प्रेरणाले धेरै नै चासो राख्दिरहिछन्, त्यही कारण हामीले उनलाई प्रस्ताव राख्यौँ,' सानुले भने । तीन चरण कुरा गरेपछि सुटिङका लागि राजी भएकी प्रेरणाले सुटिङको सिलसिलामा १४ दिन काठमाडौंमा बिताएकी थिइन् । प्रेरणासँग काम गर्दाको अनुभव सुनाउँदै सानु भन्छन्, 'भारतीय कलाकार अलि बढी व्यावसायिक हुँदारहेछन्, नेपाली हिरोइनलाई जस्तो सबै कुरा सिकाइरहनु नपर्ने हुनाले काम गर्न सजिलो भयो ।' पहिलोपटक प्रेरणालाई काम गराएका सानुले अरू चलचित्रमा पनि उनलाई काम गराउने योजना रहेको सुनाए । 'अरू फिल्ममा काम गर्ने विषयमा हाम्रो सल्लाह भइसकेको छ, तर कहिले गर्ने टुंगो लागिसकेको छैन,' उनले भने । त्रिनेत्रमा काम गरेपछि अभिनेत्री प्रेरणा नेपाली चलचित्रप्रति थप सकारात्मक भएको सुनाए सानुले । नेपाल र भारतका कतिपय रीति-रिवाज समान भएकाले पनि प्रेरणा नेपाली चलचित्रमा काम गर्न पाएकोमा खुसी थिइन्,' सानु भन्छन् । प्रेरणाको अतिरिक्त उषा पौडेल, रमेश बुढाथोकी, सम्पदा गिरीलगायतकाले पनि यसमा अभिनय गरेका छन् भने काठमाडौंमा वितरणको जिम्मा भगवती फिल्मस्ले लिएको छ ।

सफलताको कथा सुनाउँदै सगरमाथा महिला आरोही

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिन्धुपाल्चोक/ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि चर्चामा रहेका महिला आरोही सफलताको कथा सुनाउँदै गाउँका स्कुले बालबालिकामाझ पुगेका छन् । हरेक सफलताको कथाले बालबालिकाको कलिलो मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने महिला आरोहीको धारणा छ । सफलतापछाडि लुकेको सुख, दुःख र आरोह, अवरोहका कथा बालबालिकाको धारणा परिवर्तनमा सहायकसिद्ध हुने बताउँछन् उनीहरू । 'त्यसैले यो अभियान लिएर गाउँ छिरेका हौँ,' प्रथम समावेशी महिला सगरमाथा आरोहण दल- २००८ की सदस्य माया गुरुङले भनिन् । राजधानीका विद्यार्थीलाई सफलताको कहानी सुनाएर गाउँ छिरेका आरोहीले सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोकका समेत ३१ विद्यालयका बालबालिकासँग आरोहण अनुभव साटिसकेका छन् । ठीक एक वर्षअघि १२ जेठ ०६५ मा दलका १० महिला सदस्यले सगरमाथाको सफल आरोहण गरेका थिए । दलमा दोलखाकी कुजन आचार्य, पेमाडिकी शेर्पा, महोत्तरीकी आशाकुमारी सिंह दनुवार, कैलालीकी उषा विष्ट, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा, माङरी शेर्पा, काठमाडौंकी सुस्मिता मास्के, चुनु श्रेष्ठ, ताप्लेजुङकी नवाङफुटी शेर्पा र नुवाकोटकी बुद्धमाया तामाङ संलग्न छन् । सिन्धुपाल्चोकको विभिन्न पाँच विद्यालयमा आरोहण अनुभव बाँडेर दलका सदस्य सोमबार राजधानी फर्किए । दलका सदस्य माया गुरुङ, कुजन आचार्य, पेमाडिकी शेर्पा र आशाकुमारी सिंहले ककलिङ हरिसिद्धि, बालशिक्षा, कृष्णरत्न गंगा, सेतीदेवी शारदा र शारदा माविमा पुगेर आरोहण अनुभव सुनाएका थिए । आरोही यही अभियान लिएर मध्यपश्चिम र सुदूरपश्चिमका विद्यालय जाने कार्यक्रम छ । 'विद्यार्थीले एकदमै नौलो अनुभव गरिरहेका छन्,' आफ्ना अनुभव सुन्न विद्यार्थी निकै अनुशासित हुने गरेको सुनाउँदै मायाले थपिन्, 'रुचिपूर्वक सहभागी हुन्छन्, बढीभन्दा बढी जिज्ञासा राख्छन् ।' आफूहरूले हिमाल चडेको भिडियो दृश्य पावरप्वाइन्टका माध्यमबाट हेर्दा र हिमाल चढ्दाका सामग्री प्रत्यक्ष देख्दा विद्यार्थी निकै रोमाञ्चित र उत्तेजित हुने आरोहीको अनुभव छ । 'आँट भए गाह्रो काम पनि सजिलै गर्न सकिन्छ भन्ने सन्देश दिनु हाम्रो अभियानको मुख्य लक्ष्य हो,' अर्की सदस्य कुजन आचार्यले भनिन् ।

कोसीले ड्याम फुटेपछि सर्वसाधारणको बिचल्ली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, १३ जेठ कोसी नदीको पानी पुरानो धारमा फर्काउन बनाइएका तीनवटा कफरड्याम मंगलबार राति भत्किएका छन् । कफरड्याम फुटेपछि नदी राति १२ बजेदेखि पूर्वी तटबन्धनतर्फ हानिएको छ । कोसीले तटबन्धको उत्तरतर्फको भागमा बनाइएको स्परमा धक्का दिन थालेको छ । कोसीले धक्का हान्न थालेपछि कोसी ब्यारेजमा रहेका ५२ मध्ये ५० वटा ढोका खोलिएको छ । दुईवटा भने बिगि्रएका कारण खोल्न नसकिएको सुनसरीको प्रमुख जिल्ला अधिकारी हरेकृष्णप्रसाद उपाध्यायले बताए । कोसीले मधुवनमा रहेको कफरड्याम भत्काएपछि कोसी प्रभावित क्षेत्रका सर्वसाधारण आतंकित भएका छन् । कोसीले उत्तरी क्षेत्रबाट निर्माणाधीन तटबन्धमा कटान थालेपछि सर्वसाधारण सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । तटबन्ध फुटाएर कोसी गाउँ पस्ने भयले सुनसरीको हरिपुर, श्रीपुर र पश्चिम कुसाहाका सर्वसाधारण सुरक्षित स्थानतर्फ सर्न थालेको सुनसरी प्रहरीले जनाएको छ । लामो समयसम्म विभिन्न शिविरमा बसेर भर्खरै घर फर्किएका सर्वसाधारण पुनः सुनसरीको लौकही, नहरचोकमा रहेको शिविरमा आउन थालेको प्रहरीले जनाएको छ । गत २ भदौमा कोसीले पूर्वी तटबन्ध भत्काएपछि विस्थापित भएका झन्डै ५० हजार सर्वसाधारणमध्ये आधाभन्दा बढी आफ्नै गाउँ फर्केका थिए । यसैबीच, अबिरल परेको बर्षाका कारण सुनसरीबाट पश्चिम जाने र पश्चिमबाट सुनसरी आउने सबै यातायात बन्द भएको छ । कोसीमा पानीका मात्रा बढेपछि सुनसरीको चतरामा बनाएको फेरि पनि मंगलबारदेखि अवरुद्ध भएपछि सुनसरीबाट पश्चिम चल्ने र सुनसरी आउने सवारीका साधन चल्न सकेका छैनन् । कोसीमा अत्यधिक पानीको मात्रा भएको भन्दै सोमबार साँझदेखि चतरामा बनाएको दुईवटै फेरी सञ्चालन बन्द गरिएको चतरा प्रहरीले जनाएको छ । यसअघि नै सुनसरीको पश्चिम कुसाहामा बनाएको डाइभर्सन भासिएपछि पूर्व-पश्चिम सडक खण्डको सुनसरीको लौकही-भन्टाबारी राजमार्गको यातायात अवरुद्ध भएको थियो । कफरड्याम भत्किएपछि स्थानीय प्रशासनले कोसी ब्यारेजमा समेत सवारीका साधन चल्न रोक लगाएको छ । यस्तै अबिरल वर्षाका कारण सुनसरीको भुटाहा- २ र ३ को बीचमा रहेको सुनसरी खोलामा बाँधेको मोरियाबाँध बुधबार बाढीले फुटाएको छ । खोलामा आएको बाढीले बिहान बाँध फुटाएपछि बाँध दक्षिणका बासिन्दा आतंकित बनेका छन् । बाँध फुटाएपछि खोला आसपासका सर्वसाधारण घर छाडी सुरक्षित स्थानतर्फ जान थालेको सुनसरी प्रहरीले जनाएको छ । बाँध फुटे पनि कुनै खतरा नभएकाले उनीहरूलाई फर्काउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, उनीहरू खोलाको बाँध त बाढीले फुटायो भने अब कोसी नदीमा आएको बाढीले पनि तटबन्ध भत्काई आफूहरूलाई बगाउने भन्दै फर्किन मानेका छैनन् । यसैबीच, सरकारी टोलीले बुधबार कोसी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । कफरड्याम भत्किएपछि हुन सक्ने क्षति कसरी रोक्न सकिन्छ, अध्ययन गर्न बुधबार गृहसचिव गोविन्द कुसुम र जलस्रोत सचिव शंकरप्रसाद कोइरालासहितको सरकारी टोलीले घटनास्थलको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक हरेकृष्ण उपाध्यायले बताए । राति तीनवटा कफरड्याम फुटेर पानी बहाव भारतीय पक्षले बनाउँदै गरेको पूर्वी तटबन्धको उत्तरतर्फको भाग कटान सुरु गरेपछि बिहान नवगठित तीन सदस्यीय मन्त्रिपरिषद्को दोस्रो बैंठकले कोसी तटबन्ध निरीक्षण गर्न तीन सदस्यीय उच्चस्तरीय टोली पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारी टोली निरीक्षणमा आएको हो । बर्षा कायम रहे पूर्वी तटबन्ध भत्किएर पुनः कोसीले खतरा ल्याउने ठहर गर्दै टोलीले पुनर्निर्माण भइरहेको पूर्वी तटबन्ध द्रूतगतिमा निर्माण गर्न भारत सरकारलाई आग्रह गर्ने निष्कर्ष पनि निकालेको प्रजिअ उपाध्यायले बताए । उनका अनुसार टोलीमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि, भारतीय दूतावसाका प्रतिनिधि, बिहार सरकार जल संसाधन विभागका प्रतिनिधि, भारतीय तथा नेपाली इन्जिनियरलगायतको सहभागिता थियो ।

पाकिस्तानमा विस्फोट ३० व्यक्तिको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इस्लामावाद/ पाकिस्तानी सहर लाहोरमा बुधबार बिहान भएको शाक्तिशाली कार बम विस्फोटमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ भने कैयौँ घाइते भएका प्रहरीले जनाएको छ । लाहोर प्रहरीको मुख्य कार्यालय भवनअगाडि भएको सो विस्फोटमा कैयौँ सरकारी भवन भत्केका तथा गाडीहरू दन्दनी बलेका दृश्य पाकिस्तानी टेलिभिजनले देखाइरहेका छन् । शंकास्पद एक आत्मघाती आक्रमणकारीले उक्त विस्फोट गराएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । पाकिस्तानी गुप्तचर संस्था इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई)-लगायत सुरक्षा निकायका कार्यालय रहेको स्थानमा यो घटना भएको हो । विस्फोट अतिवादी समूह तालेवानले गराएको आशंका गरिएको छ ।

नेत्री आङसान सुकीलाई निःसर्त रिहा गर्न ओबामाको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ अमेरिकी राष्ट्रपति बाराक ओबामाले म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकीलाई निःसर्त तत्काल रिहा गर्न सैनिक सरकारसँग आग्रह गरेका छन् । राष्ट्रपतिले जारी गरेको वक्तव्यमा विपक्षी दल नेसनल लिग फर डेमोक्रेसीकी नेत्री सुकीलाई नजरबन्दमा राखिएकोमा निन्दा गरिएको छ । जुन्ता सरकारले सुकीले थुनुवासम्बन्धी नियम पालना नगरेको भन्दै मुद्दा चलाएको सन्दर्भमा राष्ट्रपति ओबामाले लिखित वक्तव्य जारी गरेर उनको रिहाइको अपिल गरेका हुन् । नेत्री सुकीमाथि लगाइएका सम्पूर्ण आरोप फिर्ता लिन, हिरासतमा राखिएका उनीसहित उनको दलका सबैलाई निःसर्त रिहा गर्न अमेरिकी राष्ट्रपतिले अनुरोध पनि गरेका छन् ।

May 26, 2009

मन्त्रालय बाँडफाँडमा दलहरूको आन्तरिक द्वन्द्व सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १२ - मन्त्रिपरिषदमा पठाउने सदस्य र कार्यविभाजनलाई लिएर दलहरूमा आन्तरिक द्वन्द्व सुरु भएको छ । सोमबार नियुक्त दुई मन्त्रीबारे एमालेमा असन्तुष्टि देखिएको छ भने कांग्रेसले मन्त्रालय बाँडफाँडको टुंगो लागेपछि मात्रै सरकारमा जाने तय गरेको छ । मधेसी फोरममा आन्तरिक विवाद जारी छ ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आइतबार प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा कांग्रेसबाट तत्कालै मन्त्री पठाउने बताएका थिए । तर पार्टी पदाधिकारीहरूले मन्त्रालय बाँडफाँड टुंगो लागेपछि मात्र व्यक्ति छान्न सोमबार बिहान सल्लाह दिएकाले त्यो योजना रोकियो ।कोइरालाले सोमबार बिहान वरिष्ठ नेता शेरबहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । त्यहाँबाट सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर मन्त्रालय बाँडफाँड नगरी सरकारमा जान नहुने सुझाव आयो ।बाँडफाँडको टुंगो लगाउन गठबन्धन दलहरूबीच सोमबार बैठक डाकिएको थियो । 'तर एमालेको आफ्नै बैठक भएकाले बस्न सकिएन,' कांग्रेस उपसभापति पौडेलले भने, 'मन्त्रालय बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रम बनेपछि व्यक्ति छानिनेछ ।'
सुरुमा राखिएका दुई मन्त्रीबारे एमालेमै मतभेदमा देखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री नेपाल, अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीको सहमतिमा दुई मन्त्री चयन गरिएका हुन् । खनालको प्रस्तावमा पाण्डे र ओलीको समर्थनमा भण्डारी नियुक्त भएका हुन् । तर उनीहरूलाई दिइएको मन्त्रालयप्रति विवादमुक्त भएन ।स्रोतका अनुसार ओलीनिकट नेताहरूले भण्डारीलाई गृह मन्त्रालय दिन नेपाललाई दबाब दिएका छन् भने पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन् । समाजशास्त्रमा स्नातकोत्तर पाण्डेको अर्थ मामिलामा दक्षता नरहेको उनीहरूको भनाइ छ । प्रारम्भिक मन्त्रिमण्डलमा एमालेले अर्थ र रक्षा मन्त्रालय लिनुलाई कांग्रेसले चाहिँ 'अस्थायी' मानेको छ । 'सरकार चलाउनमात्रै हो, यो अस्थायी हो,' कांग्रेस नेता प्रकाशशरण महतले भने, 'छलफलमा कसले कुन मन्त्रालय लिने भन्नेबारे निर्णय नै भएको छैन ।' कांग्रेसले कुन कुन मन्त्रालय लिने भन्नेबारे आपसी छलफलबाट तय हुनुपर्ने उनले बताए । भने, 'अहिल्यै यही मन्त्रालय चाहियो भनेर हामीले भनेका छैनौं ।' सरकारमा कसले नेतृत्व गर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ । स्रोतका अनुसार सभापति कोइरालाले पौडेल र देउवाले गोपालमान श्रेष्ठलाई नेतृत्वमा पठाउन चाहेका छन् । कार्यवाहक सभापति सुशील कोइराला समूहले भने कुलबहादुर गुरुङको नाम अगाडि सारेको छ । मन्त्रीहरूमा भने विमलेन्द्र निधि, शेखर कोइराला, विनयध्वज चन्द, प्रकाशशरण महतको नाम चर्चामा छ । 'कस्तो र कति मन्त्रालय पाउने भन्नेले पनि व्यक्तिको चयनमा फरक आउन सक्छ,' एक नेताले भने, 'कांग्रेसले पाउने मन्त्रालयबारे निर्णय भएपछि व्यक्ति छनोट गरिनेछ ।' फोरमबाट छ मन्त्रालय माग मधेसी फोरमले नयाँ सरकारमा छ मन्त्रालय पाउनुपर्ने माग गरेको छ । सोमबार साँझ बसेको फोरमको पाँच सदस्यीय कार्यदल बैठकले यस्तो दाबी गरेको हो । बैठकले नयाँ सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठबुँदे सहमति, फोरम र सरकारबीच भएको २२ बुँदे सहमतिको समेत सम्बोधन हुनुपर्ने माग दोहोर्‍याएको छ । बैठकपछि प्रवक्ता जितेन्द्र देवले भने, 'छ मन्त्रालयको माग हाम्रो हो, अरू कुरा सत्ता पक्षसँगको छलफलपछि मात्र हुन्छ ।' मधेसकै अर्को दल तमलोपाले सरकारमा जाने/नजाने निर्णयबारे अनौपचारिक छलफल जारी राखेको छ । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले प्रधानमन्त्रीलगायत गठबन्धन दलसँग छलफल नभएका कारण टुंगोमा पुग्न नसकेको बताए ।
सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयमा पनि फोरममा फेरि विवाद देखिएको छ । सोमबार बिहान पार्टी अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष जयप्रकाश गुप्ताले प्रधानमन्त्री नेपालसंग भेटी संस्थापन पक्षसँग छलफल गर्न आग्रह गरेपछि विवाद सार्वजनिक भएको हो । यसअघि आइतबार बेलुकी संसदीय दलका नेता विजयकुमार गच्छदारले प्रधानमन्त्री नेपाललाई भेटी सरकारमा सहभागिताबारे छलफल गरेका थिए । उनले सरकारमा फोरमका तर्फबाट आफैंले नेतृत्व गर्ने बताएका थिए । अध्यक्ष यादवले आइतबार साँझ सभासद र केन्द्रीय सदस्यहरूबीच राखेको परिचयात्मक कार्यक्रममा यादव पक्षधर सभासदले गच्छदारको खुलेरै विरोध गरेका थिए । त्यसपछि गच्छदार बीचैमा कार्यक्रमबाट बाहिरिए । शनिबार संविधानसभा बैठकमा अध्यक्ष यादवको साटो गच्छदारले बोलेकोमा विरोध जनाइएको थियो ।
आइतबारको कार्यक्रममा अध्यक्ष यादवले पुरानो मन्त्रिमण्डलमा सहभागी चारैजनाबाहेक नयाँ अनुहारलाई सरकारमा पठाउने धारणा राखेका थिए । त्यसलाई आफूलाई सरकारमा जान नदिने षड्यन्त्र भन्दै गच्छदार झस्किएका थिए । आइतबारको भेटमा प्रधानमन्त्रीले पार्टीभित्र सहमति नभए पनि गच्छदार समूहलाई सरकारमा सहभागी गराउने आश्वासन दिएको स्रोतको दाबी छ ।

मालपोत अधिकृतहरूलाई जिल्ला अदालतले जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सातौं पटकसम्म कागजात पठाउन पत्राचार गर्दा पनि अटेर गर्ने मालपोत अधिकृतहरूलाई काठमाडौं जिल्ला अदालतले जनही ५ सय रुपियाँ जरिवानाको फन्दामा पारेको छ। सो अदालतका स्रेस्तेदार गोपाल बास्तोलाका अनुसार सात पटकसम्म कागजात पठाउन पत्राचार गर्दा अटेर गरेपछि मालपोत अधिकृतहरूलाई जरिवानाको फन्दामा पारेको हो। कागजात पठाउन अटेर गर्ने मालपोत कार्यालय कलंकीका प्रमुख रघुनाथ अधिकारी छन्। यसै गरी मालपोत कार्यालय चावहिलका प्रमुख अमृत कर्माचार्य र डिल्लीबजारका प्रमुख प्रेम खापुङ पनि अदालतको आदेश अटेर गर्ने अधिकृतका रूपमा दरिएका छन्। दावा शेपा वादी र रामगोपाल कार्की प्रतिवादी भएको महत्त्वपूणॅबदरसम्बन्धी मुद्दामा सम्बन्धित कागजात पठाउन अदालतले आदेश दिँदा पनि मालपोत कार्यालय, कलंकीका प्रमुख अधिकारीले अटेर गरेका थिए। मोतीरत्न शाक्यविरुद्ध विश्वरत्न शाक्य भएको हक कायम मुद्दामा चावहिलका प्रमुख कर्माचार्यले जग्गाहरूको दर्ता से्रस्ता र प्रमाणित प्रतिलिपि पठाउन आनाकानी गरेका थिए। डिल्लीबजारका प्रमुखलाई पनि त्यस्तै स्रेस्ता र प्रतिलिपि पठाउन धेरै पटक पत्राचार गर्दा पनि अटेर गरेपछि ५ सय रुपियाँ जरिवाना गर्नुपरेको बताइएको छ। तीनै जना मालपोतका हाकिमलाई जरिवाना गर्ने न्यायाधीश टेकनारायण कुँवर हुनुहुन्छ। मुलुकी ऐन, २०२० को अदालती बन्दोबस्तको महलको २१९ नम्बरमा अटेर गर्ने सरकारी कार्यालयको प्रमुखलाई जरिवाना गर्न सक्ने प्रावधान छ। उहाँले भन्नुभयो- प्रधानन्यायाधीशले २ वर्षपुराना मुद्दा असोज महिनाभित्रमा छिनोफानो गर्न निर्देशन भएको छ। सरकारी पदाधिकारीले अदालतको आदेश अटेर गर्दै जाने हो भने त्यो निर्देशनबमोजिम काम पूरा नहुन सक्छ, त्यसैले अब यस्ता आदेश हुँदै जान्छन्।

बाँदर भगाउने घाँस मोलासेस जातको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्वतको भंगरा गाविसका किसान गंगाप्रसाद शर्मा बिहान वेलैमा खेतीपातीको काममा निस्कन्थे । फर्केर घर आउँदा खाना पकाएर राखेको कसौँडी रित्तै हुन्थ्यो । एक दिन/दुई दिन होइन, बारम्बार यस्तो हुन थाल्यो । सुरुसुरुमा त छक्क पर्थे उनी । तर, निरन्तर कसौँडीको भात गायब भएपछि उनले थाहा पाए, भात त बाँदरलाई पो आहारा बनेको रहेछ ।पीडा गोविन्दको मात्रै होइन, पहाडी जिल्ला पर्वतका धेरैजसो किसान यसरी नै बाँदरबाट आजित भइरहेका छन् । खेतबारीको अन्नबाली खाएर सताएका कथा/व्यथा त कति छन् कति । परिवारको गर्जो टार्न बिहानदेखि बेलुकासम्म खेतबारीमा कुटोकोदाली गरेर चार माना फलाउने किसान बाँदरबाट सताउनु सताइएका छन् । दुःख गरेर बाली भित्र्याउने वेलामा बाँदरले सखाप पारेपछि वर्षैपिच्छे अत्तालिने किसानहरू अहिले नौलो जुक्ति अपनाएर खेती-सुरक्षामा खटिन थालेका छन् । किसानहरू घाँसखेतीको प्रयोगद्वारा बाँदर धपाउने उपाय खोजिरहेका छन् । बाँदर भगाउन छाप्रो हालेर बस्ने, टिन ठटाउने गर्दै आएका उनीहरूले मोलासेस र स्टाइलो नामक घाँसखेती गरेर काइदाको तरिका अपनाएका हुन् । बाँदर लखेट्न हरेक दिन एकजनाले खेतबारी कुरेर बस्नुपथ्र्यो । तर, अब ती दिन फेरिएका छन् । दिनभरि खेतबारी कुर्नुपर्ने दैनिकी फेर्न उनीहरू अभियानकै रूपमा बाँदर भगाउने मोलासेस जातको घाँस खेतबारीका कान्ला-कान्ला र डिल-डिलमा रोप्न थालेका छन् । झट्ट सुन्दा अचम्म लाग्न पनि सक्छ, घाँस रोपेर पनि बाँदर भाग्छ त ? तर, पर्वतका अधिकांश गाविसका किसानसँग घाँस रोपेपछि बाँदर भागेको अनुभव छ । मकै र धानखेती बाँदरले नोक्सान बनाएपछि पर्वतका मुडिकुवा, ठानामौला, भंगारा, लुंखुदेउराली, पाखापानी, हुवास, त्रिवेणी, टकलाकलगायतका गाविसका किसान यस जुक्तिमा लागेका हुन् । सो घाँस वस्तुभाउका लागि पनि पोषिलो आहारा हुने र बाँदर-प्रकोप पनि कम हुने भएकाले किसानका बीचमा लोकपि्रय बन्दै गएको छ । मोलासेस घाँसको पात र फूल बाँदरको जीउमा टाँस्सिएपछि त्यो निकाल्न खोज्दा रौँसमेत उक्किने र घाउ बन्ने गर्छ । 'बाँदरको घाउ' भन्ने नेपाली उखानजस्तै रौँ उखेल्दा घाउ बनेपछि बाँदर आउन छाड्ने कुरा परीक्षणका क्रममा पुष्टि भएकाले यस घाँसलाई बाँदरविरुद्ध रोप्न थालिएको हो ।

कोइरालानिवासमा सरकारमा भाग खोज्दै विजयकुमार गच्छदार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरमका संसदीय दलका नेता विजयकुमार गच्छदारले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई भेटी आफूलाई मधेसी मोर्चाको तर्फबाट सरकारमा राख्न माग गरेका छन् । गच्छदारको नेतृत्वमा मधेसी नेताहरूको समूह मन्त्रालयको बार्गेनिङका लागि कोइरालानिवास पुगेको थियो । भेटमा गच्छदारले सरकारलाई लामो समय टिकाउन र समयमा नै संविधान निर्माण गर्न फोरमका तर्फबाट आफूले नै सरकारमा नेतृत्व गर्नुपर्ने दाबी गरेका थिए । फोरम, तमलोपा, सद्भावनाका नेताहरूसँग कोइरालाले सबैलाई समेटेर सरकार विस्तार गर्ने आश्वासन दिए । तर मोर्चाका नेताहरूले फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष जयप्रकाश गुप्ताको असहमतिका बाबजुत ३२ जना फोरमका सभासद्ले एमाले नेता माधवकुमार नेपालको पक्षमा हस्ताक्षर गरेको भन्दै गच्छदारको नेतृत्वमा नै फोरमलाई सरकारमा सहभागी गराउनुपर्नेमा जोड दिए । फोरम संसदीय दलका नेता गच्छदारले कांग्रेस सभापति कोइरालालाई आफूले पार्टीभित्र आप्ठ्यारो सहेर पनि कांग्रेस, एमालेको गठबन्धनलाईर् समर्थन गरेको बताए । पार्टी अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष जयप्रकाश गुप्ताले पछि मात्र गठबन्धनलाई समर्थन गरेको उनको भनाइ थियो । गच्छदारको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'मैले पार्टीमा ठूलो संघर्ष गरेर समर्थन जुटाएको हुँ, त्यसतर्फ पनि तपाईंले ख्याल गरी दिनुहोला ।'

सरकारमा सहभागी हुन माओवादीलाई आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ जेठ प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन माओवादीलाई आह्वान गरेका छन् । शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र तोकिएको समयभित्र नयाँ संविधान लेख्न सहमति र एकता अपरिहार्य भएकोमा उनले जोड दिए । प्रधानमन्त्री भएपछि मंगलबार देशवासीलाई सम्बोधन गर्दै नेपालले भने,'हामीले संयुक्त रूपमा यहाँसम्म ल्याइपुर्‍याएको शान्तिप्रक्रियालाई मिलेरै टुंगोमा पुर्‍याउनुपर्छ । बाह्रबँुदे सहमतिदेखि हामीले आरम्भ गरेको सहमति, सहकार्य र एकताको यात्रालाई विश्राम लगाउने समय यो होइन । म एकीकृत नेकपा -माओवादी) का मित्रहरूलाई टाढा होइन, सँगै बसेर एक-अर्काका कुरा सुन्न र बुझ्न आह्वान गर्दछु । सँगै बसेर कुरा गर्ने हो भने कटुतालाई पनि हार्दिकतामा परिणत गर्न सकिन्छ ।' प्रधानमन्त्री नेपालले नयाँ सरकार नागरिक सर्वोच्चताकै आधारमा गठन भएको दाबी गरे । उनले घुमाउरो भाषामा माओवादीले नागरिक सर्वोच्चतालाई आफ्नोअनुकूल परिभाषा गरिरहेको आरोप पनि लगाए । 'एक बन्दुकका विरुद्ध अर्को बन्दुकको प्रयोग, हिंसाका विरुद्ध प्रतिहिंसा, सैनिक बर्दीमा होस् वा सादा पोसाकमा थोपरिने कुनै पनि प्रकारको अधिनायकवाद लोकतन्त्र वा नागरिक सर्वोच्चता हुन सक्दैन । न त कार्यकारीको स्वेच्छाचारिता नै नागरिक सर्वोच्चता हुनसक्छ,' प्रधानमन्त्री नेपालले भने ।

कोसीको बाँध पुनः फुटेर मानववस्तीमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इनरुवा, जेठ १२ गते । सुनसरीको पश्चिम कुसहास्थित निर्माण भएको दुईवटा कफर-ड्याम (अस्थायी कोसी बाँध) मङ्गलबार अबेर राति फुटेर मानववस्तीमा प्रवेश गरेको छ । विगत केही दिनदेखि अविरल वर्षाले गर्दा कोसीमा पानी बढिरहेको थियो । आज कोसीमा ८१ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको थियो ।मानववस्तीमा पानी प्रवेश गरेपछि त्यहाँ अस्थायी टहरा बनाएर बसेका १०० भन्दा बढी परिवार खोलाको डिलमा बसेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीबक्स गुल्मभित्र पानी प्रवेश गरेको कुरा सेनानी पुरुषोत्तम खड्काले बताउनुभयो ।आज अचानक कोसीमा पानी बढेको हुँदा कमजोर उक्त बाँध फुटेको प्रत्यक्षदर्शीहरू बताउँछन् । तटबन्ध निर्माणमा देखिएको असावधानीका कारण उक्त घटना भएको सेनानी खड्का बताउनुहुन्छ । विगत केही दिनदेखि कोसीको बाँध फुट्ने खतरा भएको कुरा सार्वजनिक भए पनि यसको रोकथाम गर्न कतैबाट कुनै प्रयास नभएको यस समाचारदातालाई स्थानीय एक पीडितले बताए ।

माओवादीले व्यक्तिको बाँझो जग्गामा खेती गर्ने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १२ एकिकृत नेकपा माओवादीले व्यक्तिको बाँझो जग्गामा खेती गर्ने घोषणा गरेको छ । माओवादीको भातृ संगठन अखिल नेपाल किसान संघ (२००७) को मंगलबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले खेती नै नगरि बाँझो छाड्नेहरुको जग्गामा सामुहिक खेती गर्ने निर्णय गरेको हो । सचिवालयले 'जमिनमा अनुपस्थित भूमाफियाको बाँझो जग्गामा समुहिक खेती गरि पीडित जनतालाई अन्न वितरण गर्ने' निर्णय गरेको छ । त्यसैगरी श्रमिक किसान ज्यालामा ठग्नेलाई कारवाही गर्न स्थापना गरिएको स्वयम सेवक दललाई सक्रिय पार्ने निर्णय गरेको छ । संघले कुखुरा तथा त्यसको अण्डा र धूलो दूधको निर्वाधरुपमा नेपालमा भित्रिदा नेपाली किसान संकटमा परेका बताउँदै त्यस्ता वस्तुहरु रोक्ने भएको छ। यसका लागि सरकारलाई ध्यानाकर्षण गराएर नाका नाकामा गरी रोक्ने निर्णय गरेको छ। सो संघले नेपालमै पर्याप्त मात्रामा उत्पादन भएकाले नेपाली उत्पादनले बजार नपाउने तर विदेशी उत्पादनलाई प्रश्रय दिइएकाले रोक्ने जनाएको हो । असोजसम्मका संघर्ष विभिन्न कार्यक्रम कार्यक्रम सार्वजनिक गर्दै सो संघले असोज ७ गते उपत्यका तथा असोज २ गते थारुहट, २९ गते भोजपुरा र मिथिला राज्यको बन्दको घोषणा गरेको छ । संघले भदौ २४ गते देशभरी नै एक घण्टा चक्का जाम गर्ने बताएको छ। सचिवालयको बैठक पछि साचारकर्मीसँग कुरा गर्दै संघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माओवादी सरकारकै पालामा माग राखेको बताए । उनले माओवादी वा जोसुकैको सरकार भए पनि किसानका समस्या समाधान गराउन संघर्ष जारी राख्ने बताए।

प्रधानमन्त्री माधवकुमार नेपालको राष्ट्रका नाममा सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध संघर्षमा रगत बगायौँ। हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर्‍यौं, कैयौं हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं। यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं। लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ। म आफ्नो अमूल्य जीवन उर्त्र्सग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु। घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु। वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारका अकल्पनीय पीडामा आफूलाई पनि सामेल गराउँछु।म आफ्नो पहिलो सम्बोधन नेपाली जनताद्वारा निर्वाचित र्सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसदभित्र गर्न चाहन्थेँ। तर, सरकारले पूर्णता नपाइसकेको र अन्य दलहरूसँग नीति तथा कार्यक्रमलगायतका विषयहरूमा अझै छलफल चलिरहेको अवस्थालाई ध्यानमा राख्दै नेपाली जनता समक्ष आफ्ना विचारहरू राख्न चाहेको हुँ।
संघर्षका लामा, कठीन र ऐतिहासिक चरणहरू पार गर्दै नेपाल नयाँ युगमा प्रवेश गरेको छ। सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। हिंसा र प्रतिहिंसाको पीडापूर्ण शृङ्खला अन्त्य गर्दै हामी शान्तिको मार्गमा अघि बढेका छौं। पहिलो चोटी र्सार्वभौमसत्ता सम्पन्न नेपाली जनता आफ्नो संविधान आफैले निर्माण गर्न संविधानसभा गठन गर्न सफल भएका छौँ। हामीले गठन गरेको संविधानसभा समावेशीकरणका दृष्टिले अनुपम छ। महिला, आदिवासी-जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, पछाडि पारिएका क्षेत्रका जनतालगायत नेपाली जनताले विगतमा गरेका आन्दोलनमा विभेदकारी राज्यसंरचनाको अन्त्य गर्दै सङ्घीय, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने इच्छा प्रकट भएको छ। विगतका सरकारले विभिन्न पक्षसँग गरेका सहमति र सम्झौतालाई मैले नयाँ नेपाल निर्माणको आधारका रूपमा लिएको छु। म जोड दिएर भन्न चाहन्छु- अहिलेसम्म हामीले जे जति उपलव्धिहरू प्राप्त गरेका छौं, यो तपाई हाम्रो साझा मिहिनेतको प्रतिफल हो। भविष्यप्रतिको हाम्रो आशाको आधार पनि यही नै हो।
न्यायप्रेमी जनसमुदाय,
नयाँ युग निर्माणका निम्ति कर्ीर्तिमानी योगदान गर्नुहुने तपाईहरू सबैलाई म हार्दिक अभिनन्दन गर्दछु।
ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात् हामीले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका थियौँ। सङ्क्रमणको अत्यन्त जटिल र असहज मोडमा शान्ति स्थापना, संविधानसभा निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। म उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु।
सविधानसभाबाट गणतन्त्रको कार्यान्वयन गरिएपछि त्यसको संस्थागत विकासका लागि महत्वपूर्ण आधारशीला निर्माण गर्नु अर्को चुनौतीपूर्ण काम थियो। राष्ट्रपतिको निर्वाचनपछि जीत-हारको असहज परिस्थितिका बीचमा पनि मेरो दलले संविधानसभाको जनादेशलाई हृदयङ्गम गर्दै नेकपा (माओवादी) लाई नेतृत्वको जिम्मेवारी दिन पहल गरेको थियो। निवर्तमान प्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले झन्डै नौ महिना उक्त जिम्मेवारी निर्वाह गर्नुभयो। म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका सकारात्मक कामहरूलाई उत्तराधिकारमा लिँदै अगाडि बढ्नेछ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवज्यूले राष्ट्रिय एकता, अखण्डता र संविधानको संरक्षणका लागि अभिभावकीय भूमिका खेलिरहनुभएको छ। म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
मुलुकले गम्भीर चुनौती सामना गरिरहेको यस घडीमा प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्नका लागि ममाथि विश्वास सुम्पिनु हुने सबै राजनीतिक दलका नेताहरू, राजनीतिक दलहरू र माननीय सभासद्हरूप्रति म कृतज्ञ छु। मलाई थाहा छ- नयाँ सरकारको आगामी बाटो सहज छैन। तर, जब म विगतमा परस्पर निषेधकारी सम्बन्ध रहेका हामीले दिगो शान्तिको खोजीमा ज्यान हत्केलामा राखेर तय गरेको मुलुकभित्र र बाहिरका कष्टपूर्ण यात्रा सम्झिन्छु, लोकतन्त्र स्थापनाका निम्ति संयुक्त शान्तिपूर्ण आन्दोलनमा हामी सबै एक भएको कुरा सम्झिन्छु र टुट्न लागेका वार्ता र समझदारीको धागोलाई जोड्न सफल भएका अनेकौं पलहरू सम्झिन्छु। मलाई लाग्छ, आजका चुनौतीका पहाडहरू तिनका तुलनामा निकै होचा छन्। मेरो दृढ विश्वास छ- जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्दै हामी युगले सुम्पेका ऐतिहासिक अभिभाराहरू पूरा गर्न सफल हुनेछौँ।
संविधान निर्माण यतिबेला हामी सबैको र्सवाधिक महत्वको अभिभारा हो। जनताले राम्रो मात्र होइन, 'हाम्रो' पनि भन्न पाउने गरी एक बर्षभत्र संविधान निर्माण गर्नु चुनौतीपूर्ण अवश्य छ। तर, असम्भव छैन। राज्यको सङ्घीय र समावेशी संरचना, शासकीय स्वरूप, राज्यका सामाजिक-आर्थिक-सांस्कृतिक चरित्र जस्ता महत्वपूर्ण विषयमा रहेका विविध मान्यताबाट सहमतिका आधार पहिल्याउन सरकारले कुनै कसर राख्ने छैन। सहमति, सहकार्य र सहयात्राका विगतका दिनहरूका अनुभवका आधारमा हामी पुनः एकतावद्ध भएर अघि बढ्न र्समर्थ हुनेछौँ। राजनीतिक विवादका वीचमा पनि विना कुनै अवरोध हामीले संविधान निर्माणको कामलाई निरन्तरता दिन सकेका छौँ। आगामी दिनमा पनि संविधानसभा सदस्य र राजनीतिक दलहरूका तर्फाट यसरी नै संविधान निर्माणको काममा सकारात्मक योगदान रहने कुरामा म विश्वस्त छु। म यहाँहरू सबैलाई आश्वस्त तुल्याउन चाहन्छु- हामी निर्धारित समयभित्रै नयाँ संविधान निर्माण गर्नेछौँ।
बाह्र बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता हुँदै अगाडि बढेको शान्ति प्रक्रियाले महत्वपूर्ण सफलता प्राप्त गरेको छ। तर पनि, यसलाई पूर्णता दिन अझै धेरै गर्न बाँकी छ। पछिल्ला दिनमा देखा परेका असमझदारीले नेपालको शान्ति प्रक्रियालाई खल्बलाउने पो हो कि भन्ने आशङ्का पैदा भएको छ। सङ्क्रमणकाल लम्बिदै जाँदा नेपाली जनताले अकल्पनीय पीडाको अनुभूति गर्नु परिरहेको छ। तर, म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु- नेपाली आकाशमा देखा परेका काला बादल छिट्टै हटेर जानेछन्। नेपाली सेनाले लोकतान्त्रिक परिवर्तन र गणतन्त्रलाई आत्मसात गरी खेलेको सकारात्मक भूमिकाको म प्रशंसा गर्दछु। शान्ति प्रक्रियाको प्रत्येक चरणमा नेपाली सेनाको संवेदनशीलताप्रति सरकार सचेत रहनेछ। सेना समायोजन विशेष समिति मातहत रहेका माओवादी सेनाका लडाकुका संवेदनशीलतालाई आत्मसात गर्दै रेखदेख, पुनर्स्थापना र समायोजन मार्फ् उनीहरूको भविष्यलाई सुनिश्चित गर्ने दायित्व सरकारले गम्भीरतापूवक बहन गर्नेछ।
हिंसा र प्रतिहिंसाले सिर्जना गरेका घाउहरू पुर्दै समाजमा नयाँ स्तरको एकता र मेलमिलाप निर्माण गरिनेछ। विस्थापित र द्वन्द्वको पीडा भोगिरहनुभएका आदरणीय जनसमुदायहरू ∕ ढुक्क हुनुहोस्, राज्यले तपाईंहरूलाई न्याय दिनेछ।
राजनीतिक उद्देश्यका निम्ति हिंसाको प्रयोग र अपराधको राजनीतिकरण हाम्रा सामु गम्भीर चुनौती बनेको छ। मध्यतर्राई र पूर्वी पहाडी भेकमा देखिएका हिंसात्मक गतिविधिले त्यहाँकै जनजीवन कष्टप्रद वनेको छ। जसको हितका लागि हिंसाको सहारा लिइएको दावी गरिएको छ, उनीहरू नै पीडित रहेको तथ्यलाई मनन गर्न म सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछु। जनताको शान्तिपूर्ण आन्दोलनबाट बिराट राजनीतिक परिवर्तन गर्न सफल निकट अतीतको स्मरण गराउँदै म सबै पक्षलाई अनुरोध गर्न चाहन्छु- आफ्ना माग पर्ूर्तिका लागि हिंसाको सहारा लिनु बिल्कुलै उचित छैन। वार्ताबाटै समस्याको समाधान खोज्न सकिन्छ। सरकार यसका लागि हदैसम्म लचिलो भएर प्रस्तुत हुनेछ। तर, नागरिक सुरक्षाका प्रश्नमा सरकारले कुनै अनुचित सम्झौता गर्ने छैन।
विगतमा राज्यले विभिन्न समूहहरुसँग गरेका सहमति र समझदारीहरुलाई दलहरुबीच समन्वय गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ।
आदरणीय जनसमुदाय,
इतिहासले हामीलाई विभेदकारी र केन्द्रीकृत राज्यसंरचना दिएको छ। हामी यसलाई रूपान्तरण गर्न लागेका छौँ। त्यसैले सबै खाले वर्गीय, जातीय, लैङ्िगक, क्षेत्रीय र सांस्कृतिक विभेदको अन्त्य र सामाजिक न्यायले युक्त, समावेशी, सङ्घीय र लोकतान्त्रिक नेपालको निर्माण यतिबेला हाम्रो मुख्य कार्यसूची बनेको छ। राज्यको अग्रगामी पर्ुनर्संरचनाको अर्थ समाजको विविधतालाई राज्यमा प्रतिबिम्बित गर्नु हो, नेपालको नयाँ र लोकतान्त्रिक परिभाषा निर्माण गर्नु हो। तर, आफ्नो पहिचान स्थापना गर्न खोज्दा अरूको पहिचानलाई नामेट या अवमूल्यन गर्नु उचित हुँदैन। त्यसैले मेरो विनम्र आग्रह छ- समग्र राष्ट्रको हितलाई ध्यानमा राखेर पहिचान, पहुँच र प्रतिनिधित्वको विषयलाई नयाँ नेपाल निर्माणको आधारका रूपमा स्थापित गरौँ। हाम्रो सामाजिक-सांस्कृतिक विविधतालाई सम्मान र संरक्षण गर्दै राष्ट्रिय एकतालाई अझ बलियो पारौँ र उन्नत नेपालको निर्माण गरौँ।
नेपाली जनताको महानता, सौर्य र त्यागका लागि 'धन्यवाद' भनेर मात्र पुग्दैन भन्ने मैले राम्रोसँग बुझेको छु। गणतन्त्र र शान्ति प्रक्रियाको लाभांश जनताको घरआँगनसम्म पुग्न सकेन भने यसप्रति जनताको अपनत्व स्थापित हुन सक्दैन र जनताले आफ्नो ठान्न नसकेको राजनीतिक प्रणाली वा प्रक्रिया दर्ीघजीवी हुनसक्दैन भन्ने तथ्यप्रति पनि म सजग छु। राजनीतिक परिवर्तनपछिको समयमा देखिएको अराजकता, असुरक्षा, वढ्दो दण्डहीनता, छाडा र अनियन्त्रित वजारका कारणले आम नेपाली जनताले निकै ठूलो कष्टको सामना गर्नु परिरहेको तथ्यप्रति मेरो गम्भीर ध्यान गएको छ। त्यसैले म आश्वस्त पार्न चाहन्छु- सरकारले जनतालाई अनुभूत हुने गरी राहत र सुधारका तात्कालिक कार्यक्रम अगाडि बढाउनेछ। हामीसँग सामाजिक आर्थिक रूपान्तरणका कार्यक्रमहरू छन्, जसलाई कार्यान्वयन गर्न सरकार गम्भीरतापूवक लाग्नेछ। श्रमजीवी,, सीमान्तीकृत र विपन्न वर्गको हित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी अभियान सञ्चालन गर्नेछ।
युवाहरू बेरोजगारीबाट आक्रान्त छन्। सुकुम्वासीहरू घरवारविहीन हुनुको पीडामा छन्। मुक्त घोषणा गरिए पनि कमैयाहरूको पुनःस्थापना हुन सकेको छैन। दलितहरूमाथि अहिले पनि अमानवीय व्यवहार कायमै छ। महिला हिंसामा कमी आएको छैन। बाढी-पहिरो पीडितहरुले उचित राहत पाउन सकेका छैनन्। शारीरिक रुपमा अपाङ्ग नागरिकहरुका पनि उस्तै समस्या छन्। यीलगायतका ज्वलन्त सामाजिक समस्याहरूप्रति म पूर्ण रूपमा संवेदनशील र सचेत छु। यी समस्या समाधान गर्नेतर्फमैले पर्याप्त ध्यान केन्द्रित गर्नेछु।
लोकतन्त्रमा राजनीति भनेको प्रतिष्पर्धा र पहलकदमीवाट नेतृत्व लिने कुरा हो। यो विवाद, सम्वाद र सहमतिका आधारमा सहकार्यको दिशामा अघि वढ्ने प्रक्रिया पनि हो। यही प्रक्रियाबाट नै राजनीतिक दलहरूका बीचमा उच्चस्तरको समझदारी निर्माण गर्न सकिन्छ। सहकार्य र एकताबाट मात्रै चुनौतीका पहाडहरूलाई छिचोल्दै गन्तव्यमा पुग्न सकिन्छ। यही मान्यतामा उभिएर मेरो दलले विगतदेखि नै आफूलाई राष्ट्रिय सहमतिका पक्षमा र कुनै पनि रूपको धु्रवीकरणका विपक्षमा उभ्याउँदै आएको हो। आज त्यस मान्यताको सहीपना झन् टड्कारो गरी पुष्टि भएको छ। त्यसैले राष्ट्रिय सहमति नयाँ सरकारको पहिलो प्राथमिकता हुनेछ। यसको कार्यसम्पादनको मुख्य आधार पनि यही हुनेछ। म एकीकृत नेकपा (माओवादी) लगायतका दलहरूलाई परिस्थितिजन्य परिघटनाका रूपमा देखा परेका असमझदारी र तिक्तताबाट माथि उठेर राष्ट्रिय सहमतिका आधार निर्माण गर्न नयाँ अग्रसरताका साथ अघि बढ्न हार्दिक अपिल गर्दछु। यसका लागि सरकार आफ्नो तर्फाट आवश्यक सबै प्रक्रिया र कामहरू अघि बढाउन तत्पर रहने कुरामा विश्वास दिलाउँछु।
लोकतन्त्र, कसैका लागि 'प्रयोग' वा 'उपयोग' गरेर कुनै पनि प्रकारको अधिनायकवादी शासन शैलीमा फड्को मार्ने खुड्किलो होइन। लोकको चाहना र इच्छा अनुसार राजनीतिक दल र नेताहरूले आफूलाई रूपान्तरण गर्दै र देशको नेतृत्व गर्न योग्य सावित गर्दै लैजाने अवसर एवम् विधि हो- लोकतन्त्र। एक बन्दुकका विरुद्ध अर्को बन्दुकको प्रयोग, हिंसाका विरुद्ध प्रतिहिंसा, सैनिक बर्दीमा होस् वा सादा पोशाकमा थोपरिने कुनै पनि प्रकारको अधिनायकवाद लोकतन्त्र वा नागरिक सर्वोच्चता हुन सक्दैन। न त कार्यकारीको स्वेच्छाचारिता नै नागरिक सर्वोच्चता हुनसक्छ। लोकतन्त्र त विधिद्वारा निर्देशित तथा 'नियन्त्रण र सन्तुलनमा' आधारित प्रणाली हो। यसको आफूलाई पायक पर्ने व्याख्या हुन सक्दैन। सामाजिक रूपान्तरण शान्तिपूर्ण ढङ्गले सम्भव छ भन्ने मान्यताको प्रतिनिधिका हैसियतले म यो विश्वास दिलाउन चाहन्छु- नयाँ सरकारको स्थापनाको आधार नागरिक सर्वोच्चता नै हो। यो सरकार नागरिक सर्वोच्चताको प्रतीक हो, जसको निर्माण जनताद्वारा निर्वाचित व्यवस्थापिका-संसद्बाट भएको छ। नागरिक सर्वोच्चताप्रति यो सरकारको प्रतिबद्धता अटल रहनेछ।
नेपाल राष्ट्र कहिल्यै पराधीन रहेन। तर, नेपालको सत्ताकेन्द्रमा द्वन्द्व चर्केका बेला वा आन्तरिक राजनीतिक शक्तिहरू विभाजित भएको बेला हाम्रो स्वतन्त्र अस्मिता, निर्णय क्षमता र अधिकारलाई कुण्ठित पार्न खोजिएको इतिहास छ। पूर्खाहरूले हामीलाई सिकाएका छन्- 'आफ्नो थैलीको मुख बलियो गरी बाँध, अरूलाई दोष नदेऊ।' यही शिक्षालाई आत्मसात गर्दै हामी एकजुट भएर आफ्नो देशको सुरक्षा, स्वार्थ र स्वाभिमानको रक्षा गर्न सक्छौं। राष्ट्रवाद र विदेशी हस्तक्षेपको विषयलाई पनि आफ्नो निहित स्वार्थमा आधारित वनाएर व्याख्या गर्नु हुँदैन, अनि यसलाई हामीले राजनीतिक दाउपेचको विषय बनाउनै हुँदैन। नेपालको राष्ट्रिय हित, र्सार्वभौमसत्ता, स्वतन्त्र अस्मिता, भौगोलिक अखण्डता, र स्वाभिमानमा ठेस लाग्ने कुनै पनि काम वर्तमान सरकारले गर्नेछैन। राष्ट्रिय हितको संरक्षण र सर्म्बर्द्धन मेरो पहिलो दायित्व हुनेछ। राष्ट्रिय हितका प्रत्येक विषयमा एकताबद्ध हुन सबै राजनीतिक दललाई म हार्दिक अनुरोध गर्दछु।
नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति र समृद्धिका लागि मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको निरन्तर साथ र ऐक्यवद्धताबाट हामी लाभान्वित हुँदै आएका छौं। म नेपाली जनताको तर्फाट उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। हामी छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय समुदायसँग मित्रवत्, हार्दिक र सम्मानपूर्ण सम्बन्धलाई अझ विकसित गर्न चाहन्छौँ।
अहिले तपाईंहरूका सामु गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीका रूपमा खडा भएको म माधवकुमार नेपाल, तपाईहरू जस्तै एक नेपाली नागरिक हुँ। मेरो पनि अरूको जस्तै सफलतामा खुशी साटासाट गर्ने र दुःखका बेला आँशु बहाई आफूलाई हल्का बनाउने मन छ। आम नेपाली नेताजस्तै मेरो भागमा पनि कहिले विजयश्री र कहिले पराजय परेको छ। जुनसुकै अवस्थामा पनि राष्ट्र र जनताले आवश्यक ठानेको समयमा मेरो सामर्थ्यको अधिकतम लगानी गर्दै आएको तथ्य यहाँहरूलाई अवगतै छ। म न विषवृक्ष हुँ, न त कल्पवृक्ष नै। तर, म त्यस्तो एउटा वृक्ष बन्न चाहन्छु, जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिन प्रयत्न गर्नेछ, नसके बाटो हिँड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ। मेरा निम्ति राजनीति कहिल्यै पनि छलकपट, षडयन्त्र या दाउपेचको बिषय रहेन। राजनीतिमा दोहोरो मापदण्डलाई मैले सधैँ घृणा गरेको छु। राजनीतिलाई जहिले पनि राष्ट्र र जनताको सर्वोत्तम हित गर्ने एउटा महत्वपूर्ण माध्यमका रूपमा मैले लिँदै आएको छु। एउटा खुल्ला किताबको पाना जस्तै तपाईँहरूका सामु उभिएको यो माधवकुमार नेपाल प्रधानमन्त्रीका रूपमा आफ्नो क्षमताको पल्लै छेउसम्म हाम्रो प्यारो राष्ट्र नेपाल, हामी जनता र हाम्रो उज्ज्वल भविष्य र साझा समृद्धिका लागि समर्पित हुनेछ।
दिदीबहिनी तथा दाजुभाइहरू
म पुनः जोड दिएर भन्न चाहन्छु- शान्ति प्रक्रिया अहिले पनि अधुरै छ। त्यसमा अनेकौँ प्रकारका जटिलता देखा परेका छन्। हामीले संयुक्त रूपमा यहाँसम्म ल्याइपुर्‍याएको शान्ति प्रक्रियालाई मिलेरै टुङ्गोमा पुर्‍याउनर्ुपर्छ। बाह्रवुदे सहमतिदेखि हामीले आरम्भ गरेको सहमति,, सहकार्य र एकताको यात्रालाई विश्राम लगाउने समय यो होइन। म एकीकृत नेकपा (माओवादी) का मित्रहरूलाई टाढा होइन, सँगै बसेर एक-अर्काका कुरा सुन्न र बुझ्न आह्वान गर्दछु। सँगै बसेर कुरा गर्ने हो भने कटुतालाई पनि हार्दिकतामा परिणत गर्न सकिन्छ। हिजो मेरो दल राष्ट्रपति निर्वाचनका सर्न्दर्भमा पाएको धोकाका वावजुद राष्ट्र र जनताप्रतिको दायित्ववोधलाई आत्मसात गर्दै एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा सरकार गठन गर्न सहयोगी बनेको हो र सरकारमा सहभागी पनि भएको हो। अहिले परिस्थितिजन्य कारणले एकीकृत नेकपा (माओवादी) का अध्यक्षले प्रधानमन्त्रीवाट राजीनामा दिनुपरे पनि सहमति र सहकार्यको यात्रालाई विराम लगाउनुपर्ने अवस्था होइन। तर्सथ, म नेपालको शान्ति प्रक्रिया अघि वढाउन एकीकृत नेकपा (माओवादी) लाई वर्तमान सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गर्दछु।
अन्त्यमा, सपना नदेख्ने कुनै पनि राष्ट्र, संस्था वा नेताले प्रगति गर्न सक्दैन। मेरो पनि एउटा सपना छ- लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल बनाउने। यो सपना तपाई हामी सबैको साझा सपना हो। यो सपना पूरा गर्न पार गर्नुपर्ने लामो यात्राबारे म सचेत छु। मेरो आग्रह छ- आउनुहोस्, लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल निर्माणको यो साझा सपना हामी सबै मिलेरै साकार पारौँ।
धन्यवाद।
माधवकुमार नेपाल
प्रधानमन्त्री
१२ जेठ, २०६६

May 25, 2009

प्रधानसेनापति हटाउने पूर्ववर्ती सरकारको निर्णय फिर्ता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १० - माधवकुमार नेपाल निर्विरोध प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने पूर्ववर्ती सरकारको निर्णय फिर्ता हुने एमाले र कांग्रेस गठबन्धनका नेताले बताएका छन् ।'सेनापति हटाउने पुरानो निर्णय रद्द गरिनेछ,' कांग्रेस नेता रामशरण महतले शनिबार कान्तिपुरसँग भने, 'निर्णय असंवैधानिक र सहमतिविरुद्ध गरिएकाले रद्द गरिने भएको हो ।' महत कांग्रेसतर्फबाट माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन तथा पुनःस्थापना विशेष समितिका सदस्यसमेत हुन् । विशेष समितिले भने निरन्तरता पाउने उनले बताए । विशेष समितिले प्राविधिक समितिको समेत गठन गरेर माओवादी सेनाको भविष्य सम्बन्धमा खाका बनाइरहेको छ । 'व्यक्तिहरू फेरिन सक्छन्, नेतृत्व फेरिन सक्ला तर विशेष समिति रहन्छ,' उनले भने । एमाले नेताहरूले यस विषयमा औपचारिक प्रतिक्रिया नदिए पनि सरकारले पूर्णता पाएपछि सेनापति हटाउने निर्णय फिर्ता लिइने बताएका छन् । 'सेनापति हटाउने निर्णय फिर्ता हुन्छ,' एमालेका एक वरिष्ठ नेताले भने, 'तर पार्टीभित्रै यस विषयमा विवाद रहेकाले अहिल्यै औपचारिक रूपमा भन्न मिल्दैन ।' सेनापति कटवाललाई स्पष्टीकरण सोध्न एमाले अध्यक्ष झलनाथ खनाल र निवर्तमान उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहमति दिएका थिए । गौतमले अझै कटवाललाई हटाउने निर्णय ठीक रहेको बताउँदै आएका छन् । माओवादी नेतृत्वको सरकारले सत्तारूढ तथा विपक्षीको असहमतिका बाबजुद सेनापति कटवाललाई हटाउने निर्णय गरेपछि अल्पमतमा परेको थियो । गत वैशाख २० गते पूर्ववर्ती सरकारले सेनापति कटवाललाई हटाएर नेपाली सेनाका दोस्रो वरीयताका रथी कुलबहादुर खडकालाई कायममुकायम सेनापतिमा नियुक्तिको निर्णय गरेको थियो । तर राष्ट्रपति रामवरण यादवले सरकारको निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सेनापति कटवाललाई तत्कालका लागि यथास्थानमा काम गर्न निर्देशन दिएका थिए । राष्ट्रपतिको निर्देशनलाई माओवादी नेतृत्वको सरकारले असंवैधानिक बताउँदै सच्याउन आग्रह गरेको थियो ।

भेल्लुपिल्लाई प्रभाकरण मारिएको स्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोलम्बो/ श्रीलंकाका पृथकतावादी तमिल विद्रोहीहरूले पहिलोपटक आफ्ना नेता भेल्लुपिल्लाई प्रभाकरण मारिएको स्वीकार गरेका छन् । उनी एक साताअघि सरकारी फौजसँगको भिडन्तमा मारिएका हुन् । विद्रोहीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सेलभारासा पाथमानाथनले प्रभाकरण मारिएको पुष्टि गरे । उनले आइतबार एक वक्तव्यमार्फत् भने, 'एलटिटिईका अतुलनीय नेता तथा सर्वोच्च कमान्डर प्रभाकरनले सरकारी फौजसँगको युद्धमा वीरगति पाए भन्ने घोषणा हामीले अत्यन्त दुःखपूर्वक गरिरहेका छौँ ।' प्रभाकरणको अन्तिम आग्रहअनुरूप जनताको मुक्तिका लागि आफूहरूले अभियान जारी राख्ने संकेत पनि उनले गरे ।

उत्तर कोरियाद्वारा दोस्रो भूमिगत आणविक परीक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ उत्तर कोरियाले दोस्रो भूमिगत आणविक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । मुलुकको प्रतिरक्षा प्रणाली सबल बनाउने अभियानअन्र्तगत सोमबार थप भूमिगत आणविक परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको बताइएको छ । यसैबीच, दक्षिण कोरियाले उत्तर कोरियाभित्र कृत्रिम भू-कम्पन पैदा भएको पुष्टि गर्दै राष्ट्रिय सुरक्षापरिषद्को आपतकालीन बैठक बोलाएको छ । दक्षिण कोरियाली राष्ट्रपतिका प्रवक्ता ली दोङ क्वानले उत्तर कोरियाबाट आणविक परीक्षण गरेको घोषणा आउनु केही क्षणअघि संवाददातासँग भने, 'विभिन्न पक्षलाई विचार गरेर हेर्दा उत्तर कोरियाले आणविक परीक्षण गरेको देखिन आएको छ र हामीले स्थितिलाई नजिकबाट नियालिरहेका छौँ ।' लीका अनुसार उत्तर कोरियाको हामक्युङ प्रान्तको किल्जुमा ९:४५ बजे ४.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । भूकम्प आणविक परीक्षणका कारण आएको बताइएको छ । उत्तर कोरियाले किल्जुको पुङ्केरी क्षेत्रबाट सन् २००६ को अक्टोबरमा पहिलो आणविक परीक्षण गरेको थियो । भारतका रक्षामन्त्री एके एन्थोनीले उत्तर केारियाको आणविक परीक्षण गर्ने कदम पूरै विश्वका लागि चिन्ताको विषय भएको बताएका छन् ।

माधवकुमार नेपालले प्रधानमन्त्री पदको शपथग्रहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ११ गते । राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री माधवकुमार नेपाललाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।सोही अवसरमा प्रधानमन्त्री नेपालले नवनियुक्त रक्षामन्त्री विद्यादेवी भण्डारी तथा अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो ।शपथग्रहण समारोहमा उपराष्ट्रपति परमान्द झा, संविधानसभाका अध्यक्ष तथा व्यवस्थापिका संसद्का सभाभुख सुवासचन्द्र नेम्वाड तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश मीनबहादुर रायमाझीलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।सो समारोहमा एकीकृत नेकपा (माओवादी)का नेता कृणबहादुर महरा, दीनानाथ शर्मा तथा नारायणकाजी श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो । माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार निर्माणप्रक्रियाप्रति असहमति जनाउँदै आएको एकीकृत माओवादीका नेता महराले नेपाललाई शपथग्रहणस्थलमा नै पुगेर बधाई दिनुभएको थियो भने नारायणकाजी श्रेष्ठ र शर्मा कार्यक्रमस्थलमा उपस्थित हुनुहुन्थ्यो ।नेपाली काङ्ग्रेसका नेता सुशील कोइराला, शेरबहादुर देउवा तथा कूटनीतिक नियोगका पदाधिकारीहरूको पनि शपथग्रहण समारोहमा उपस्थिति थियो । प्रधानमन्त्री नेपालले सत्ता साझेदार दलका समेत केही मन्त्रीलाई समावेश गरी आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेको भए पनि अन्य दलबाट नामावली प्राप्त नभएका कारण आˆनै दलका दुई सदस्यसहितको मन्त्रिमण्डल गठन गर्नुभएको हो ।विगतमा एकीकृत माओवादीका मन्त्रीले तोडेको दौरासुरुवाल लगाउने परम्परालाई पुनः जोड्दै प्रधानमन्त्री नेपालले सेतो दौरासुरुवाल, खैरो कोट लगाएर शपथ लिनुभएको थियो भने शपथमा 'ईश्वरका नाममा' लेखिएको शब्द उच्चारण नै नगरी शपथ लिनुभएको थियो । प्रधानमन्त्री नेपाललाई उहाँका पिता मङ्गलप्रसाद उपाध्यायले समेत शपथग्रहणस्थललमा नै बधाई दिनुभएको थियो ।यसैगरी नवनियुक्त रक्षामन्त्री विद्यादेवी भण्डारी हालै सम्पन्न नेकपा (एमाले )को महाधिवेशनबाट पार्टीको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म २०१८ सालमा भएको र उहाँले २०३६ सालमा पार्टी सदस्यता लिनुभई २०५४ सालमा केन्द्रीय कमिटीको सदस्य बन्नुभएको थियो । उहाँले साढे तीन महिना जेलजीवन व्यतीत गर्नुभएको थियो । त्यस्तै तीनपटक सांसद हुनुभएको थियो भने यसअघि एकपटक मन्त्री भइसक्नुभएको छ । उहाँको शिक्षा प्रवीणता प्रमाणपत्र तहसम्म रहेको छ । यस्तै नवनियुक्त अर्थमन्त्री सुरेन्द्र पाण्डेको जन्म २०१५ सालमा भएको थियो । उहाँले २०३७ सालमा पार्टी सदस्यता लिनुभएको थियो भने उहाँ २०४८ सालमा पार्टीको केन्द्रीय कमिटीमा छानिनुभएको थियो । उहाँले राजनीतिक जीवनमा चार महिना जेलजीवन बिताउनुभएको छ भने १० वर्षसम्म भूमिगत रहनुभएको थियो । यसअघि दुईपटक सांसद भइसक्नुभएका उहाँ नेकपा (एमाले)ले संसदीय दलको सचेतक तथा उपनेता भइसक्नुभएको छ । उहाँले समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको छ ।