News

Jul 10, 2009

भारतमा विषालु रक्सी सेवनबाट मर्नेहरूको संख्या ८४

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अहमदावाद/ भारतको अहमदावादमा विषालु रक्सी सेवनबाट मर्नेहरूको संख्या ८४ पुगेको छ । प्रहरीका अनुसार विषालु रक्सी सेवनबाट थुप्रै बिरामी परेका छन् । उनीहरूको अहमदावादका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये ३० जनाभन्दा बढीको स्थिति चिन्ताजनक छ ।रक्सीको गैरकानुनी कारोबारमा संलग्न व्यक्तिविरुद्ध प्रहरीले खोजतलास सुरु गरेको छ । प्रहरीले संदिग्ध एक सय आरोपीलाई पक्राउ गरेको छ ।सरकारले पूर्वन्यायाधीश कमल मेहताको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।
आयोगमा गुजरात प्रहरीका पूर्वमहानिर्देशक जिसी रायगरसहित अन्य तीन व्यक्ति पनि सामेल छन् ।
आयोगले ३० नोभेम्बरभित्र सरकारलाई पहिलो प्रतिवेदन बुझाउनुपर्नेछ । यस मामलामा ६ प्रहरी अधिकारीलाई समेत निलम्बित गरिएको गुजरात राज्यका प्रहरी महानिर्देशक एसएस खण्डेलवालले बुधबार बताए ।

एकरात बिताउन दसलाख युरो खर्चे क्रिस्टियानो रोनाल्डोले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले इटालियन मोडेलसँग एक रात बिताउन दस लाख युरो खर्चेका छन् । इटालीका मोडेल राफलेला फिसियानोले आफ्ना निजी ब्लकमा आठ महिनाअघि रोनाल्डोसँग रात बिताएको दाबी गरेकी छिन् ।पोर्चुगिज खेलाडीका पूर्वपि्रयेसी बताउने २१ वषर्ीया फिसियानोले आफ्नो कुमारीत्व रोनाल्डोलाई सुम्पेकोसमेत बताइन् ।'मैले आपनो कुमारीत्व दस लाख युरोमा रोनाल्डोलाई बेचेकी थिएँ,' ब्लकमा मोडेल फिसियानोले उल्लेख गरेकी छिन् । आठ महिनासम्म उनीले घटनालाई गुपचुपै राखिन् । तर, हाल मिडियामा आफू चर्चित हुन रोनाल्डोसितको प्रसंगलाई सार्वजनिक गरेको उनको भनाइ छ । 'सञ्चारमा रोनाल्डोले जे गरे पनि चर्चा पाउँछ, मैले पनि चर्चा पाउन यो कुरा अगाडि ल्याएकी हुँ,' उनले भनिन् । उनी हाल एक सन्तानकी आमा बन्न लागेकी छिन् । उनका समकक्षीहरूले बच्चाको पिताको नाम सोधेर उनीलाई हैरान पारेका छन् । सोही समस्याको समाधान खोज्न पनि यस्तो बाटो अपनाएको उनले बताइन् । 'गर्भमा रहेको बच्चाको पिताको नाम सोधेर दिक्कै बनाए,' यसबारे रोनाल्डोसँग कुरा गर्न कठिनाइ भएको उनको धारणा छ ।'मैले रोनाल्डोसँग कुरा गर्न कोसिस गरेकी थिएँ,' उनी अघि थप्छिन्, 'मलाई लाज लागेको छ, उसलाई यी सबै कुरा कसरी भनूँ भनेर ।' आठ महिनाअघि ६२ वर्षे इस्टोन जोनले फिसियानोलाई रोनाल्डोसँग परिचय गराएका थिए । 'कुनै पनि हालतमा म आपनो कुमारीत्व बेच्न तयार थिइनँ, तर यत्रो पैसा आएपछि तयार भएँ,' उनले भनिन्, 'यसै कारण मैले रोनाल्डोलाई एक रात दिएकी हुँ, यो केवल मेरो श्रीमान्कै लागि भनेर साँचेकी थिएँ ।' फिसियानोले अबदेखि आपना श्रीमान्सँग मात्रै रात बिताउने पनि ब्लकमा उल्लेख गरेकी छिन् ।

Jul 9, 2009

भक्तपुरमा हत्याको बिरोधमा आजपनि प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २५ - भक्तपुरमा स्थानीयवासीको आक्रमणबाट दुई जना युवकको मृत्यु विषयलाई लिएर बिहीबार पनि भक्तपुरमा प्रदर्शन भएको छ । मृतकका आफन्त, आदर्श जनप्रेमी उच्च माविका विद्यार्थी तथा स्थानीयवासीको प्रदर्शनका कारण कोटेश्वरदेखि भक्तपुरसम्मको क्षेत्र बिहीबार पनि बिहानै देखि तनावग्रस्त बनेको छ । घटनाको बिरोधमा नयाँ ठिमी, पेप्सीकोला, कौशलटार, जडिबुटी र कोटेश्वर क्षेत्र प्रदर्शन गरिएको छ । स्थानीवासीको कुटपिटबाट मंगलबार मृत्यु हुने विद्यार्थी सविन क्षेत्री र जीवन थापाका सहपाठी, आफन्त र स्थानीयवासीले दोषीमाथि कारवाहीको माग गर्दै टायर बालेर सडक अवरुद्ध पारेका छन् । प्रदर्शनका कारण अरनिको राजमार्ग हुँदै काठमाडौं आउने तथा काठमाडौंबाट भक्तपुर जाने यातायात ठप्प भएको छ ।बच्चा अपहरणको प्रयास गरेको आशंकामा स्थानीयवासीले कुटपिट गर्दा हिजो चितवन घर भएको क्षेत्री र पाल्पाका थापाको मृत्यु भएको थियो । उनीहरु दुवै जना पेप्सीकोलामा बस्दै आएका थिए ।

गृहले शंका लागेका व्यक्तिलाई प्रहरीमा बुझाउन आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अपहरणकारी भएको आशंकामा स्थानीयवासीद्वारा अपरिचित व्यक्ति कुटिने र मारिने क्रम बढेपछि गृह मन्त्रालयले शंका लागेका व्यक्तिलाई प्रहरीमा बुझाउन आग्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत सो आग्रह गरेको हो । मन्त्रालयले हल्लाको भरमा अपरिचित व्यक्तिलाई गरिने आक्रमणबाट समाजलाई अराजकतातर्फ लैजाने उल्लेख गर्दै हल्ला र उत्तेजनाको भरमा विनाआधार कसैमाथि आक्रमण नगर्न सचेतसमेत गराएको छ ।यसैबीच ठिमीमा बुधबार अपहरणकारीको अभियोगमा स्थानीयवासीद्वारा दुईजना युवाको हत्या भएको विरोधमा पीडित परिवारले विरोध प्रदर्शन गरेका छन् ।उता महानगरीय प्रहरी वृत्त ठिमीले मंगलबार मारिएका दुई किशोरको हत्यामा संलग्न रहेको आशंकामा १० जनालाई पक्राउ गरेको छ । वृत्तले हत्याको अभियोगमा सुवास अधिकारी, सुमन कार्की, सन्तोष ढकाल, अञ्जन थापा, सन्तोष श्रेष्ठ, रोहित डंगोल, सरोज श्रेष्ठलगायतलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

Jul 8, 2009

चौथो पटक अनमिनको म्याद थपका लागि प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, असार २५ - संयुक्त राष्ट्रसंघसमक्ष नेपाल सरकारले मंगलबार चौथो पटक राष्ट्रसंघीय मिसन (अनमिन) को म्याद थपका लागि प्रस्ताव गरेको छ । प्रस्तावमा अनमिनको म्याद ६ महिना बढाउन अनुरोध छ । अनमिनको म्याद आगामी साउन ८ मा समाप्त हुँदैछ । सरकारको तर्फबाट राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि मधुरमण आचार्यले दर्ता गराएको प्रस्तावमा आगामी छ महिनाभित्र शान्ति प्रक्रिया तार्किक निष्र्कषमा पुर्‍याउने प्रतिबद्धता छ ।महासचिव वान कि मुनलाई अनुरोध गरिएको पत्रमा आगामी छ महिनालाई अन्तिम मौकाका रूपमा उपयोग गर्न सरकारले कुनै कसर नछाड्ने दृढता छ । गत माघ १० मा तेस्रो पटक अनमिनको म्याद थप्नेक्रममा सुरक्षा परिषदले शान्ति प्रक्रियालाई सोही अवधिमा निष्कर्षमा पुर्‍याउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेको थियो । पटकपटक अनमिनको म्याद थप्नु राष्ट्रसंघका लागि असजिलो एवं बोझिलो बन्दै गएको परिषदको प्रतिवेदनमा उल्लेख थियो । निष्पक्ष संविधानसभाको निर्वाचन र शान्ति प्रक्रियाका लागि तत्कालीन सात पार्टी सम्मिलित सरकार र नेकपा माओवादीले राष्ट्रसंघका महासचिवलाई लिखित अनुरोध गरेपछि सुरक्षा परिषदले २०६३ माघ ९ मा अनमिन स्थापना गरेको थियो । स्थायी प्रतिनिधि आचार्यले कान्तिपुरलाई जनाएअनुसार आगामी साउन ५ मा बस्ने सुरक्षा परिषद बैठकमा नेपालबारे छलफल हुनेछ ।

माओवादीले तीन करोडमा रिसोर्ट भवन किने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २५ - माओवादीको केन्द्रीय कार्यालय बुधबार राजधानीको कोटेश्वरनजिक पेरिसडाँडास्थित आफ्नै भवनमा सरेको छ । उसले करिब तीन करोड रुपैयाँमा त्यहाँको एक रिसोर्ट भवन किनेको हो ।अध्यक्ष पुष्पकमल दाहालले रिबन काटेर बुधबार नयाँ कार्यालय भवन उद्घाटन गरे । बैंकले लिलाम गरेको भवनलाई भ्रातृ संगठन अखिल नेपाल टे्रेड युनियन महासंघले करिब दुई महिनाअघि खरिद गरी आफ्नो नाममा बनाएको थियो । करिब १५ वर्षअघि पेरिस नामको रिसोर्ट खुलेपछि त्यस क्षेत्रलाई पेरिसडाँडा भन्न थालिएको हो । ललितपुरकी पद्मादेवी धाख्वाले ऋण तिर्न नसकेपछि राष्ट्रिय वाणिज्य बैंक विशालबजार शाखाबाट लिलामीमा परेको थियो । उनले रिसोर्ट सञ्चालनका लागि ऋण लिएकी थिइन् ।माओवादीले ऋण, साँवा र ब्याजसहित दुई करोड पाँच लाख रुपैयाँ बैंकलाई बुझाएको थियो । भवन मर्मत र धाख्वाको अन्य ऋण तिर्दा करिब तीन करोड रुपैयाँ लगानी भएको माओवादीले जनाएको छ । भवन रहेको जग्गाको क्षेत्रफल दुई रोपनी १३ आना छ । केन्द्रीय कार्यालय सचिव नारायण दाहालले भवन पार्टीको नाममा बनाउन करिब तीन करोड रुपैयाँ खर्च भएको जानकारी दिए । उनले आफ्नै भवनमा सरेपछि पार्टी व्यवस्थित हुने बताए । 'अब कार्यालय व्यवस्थित हुनेछ,' उनले कान्तिपुरसँग भने, 'यसलाई आधुनिकरण पनि गरिनेछ ।' यसअघि माओवादी केन्द्रीय कार्यालय तीन वर्षदेखि बुद्धनगरस्थित निजी घरमा मासिक ३० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएको थियो ।माओवादी निकट राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष शिवप्रसाद कट्टेलले भवन खरिदका लागि सुरुदेखि पहल गरेका थिए । उनले भवन खरिदका लागि करिब दुई वर्ष लागेको बताए । उनले यसबीचमा पुनरावेदन अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा चल्दै आएका जग्गा रोक्का, ठगीलगायत विभिन्न प्रकृतिका करिब डेढ दर्जन मुद्दामा मिलाएको उल्लेख गरे । 'पार्टीको लागि बैंक, अदालत, स्थानीयवासीले सहयोग गरे' उनले कान्तिपुरसँग भने, 'सबैको सहयोगबिना यो काम सम्भव थिएन ।' भवनमा ४९ कोठा र करिब डेढ सय अट्ने एक हल छ । केन्द्रीय समिति बैठकका लागि हल भने माओवादीले यसै साता बनाएको हो । करिब ६० प्रतिशत केन्द्रीय सदस्यका आफ्नै गाडी भएकाले कार्यालयमा अट्ने सम्भावना भने कम छ । उसले भवनअगाडि रहेको अदालतमा मुद्दा चलिरहेको करिब डेढ रोपनी जग्गा खरिद गर्ने सोच बनाएको जनाएको छ । ट्रेड युनियन, उद्योग व्यापार किसान, महिला, शिक्षकलगायत करिब दर्जन भ्रातृ संगठनका केन्द्रीय कार्यालय उक्त भवनमा छन् ।

सत्तासिन दलबीच सचिव बढुवामा तीव्र विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तासिन दलबीच सचिव बढुवामा तीव्र विवाद भएपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव बढुवाको टुंगो लगाउन सकेन ।बुधबारको मन्त्रिपरिषद् बैठकमा रिक्त २२ सचिवको पदपूर्ति गर्ने विषयले प्रमुखता पाए पनि त्यसको टुंगो लाग्न नसकेको हो । सरकारले लामो समयदेखि विभिन्न मन्त्रालयमा रिक्त रहेका सचिवको पदपूर्ति गर्न नसक्दा ती मन्त्रालय निमित्त सचिवको भरमा चल्दै आइरहेका छन् ।
बढुवा समितिले सचिव पदमा पूर्ति गर्नका लागि ६६ जना सहसचिवको सिफारिस मन्त्रिपरिषद् समक्ष गरिसकेको छ । उनीहरूबाट सचिव छनोट गर्दा कसलाई गर्ने भन्नेमा विवाद चुलिएको हो ।सत्तासिन दुई प्रमुख दल एमाले र कांग्रेसबीच नै सचिवमा कसकसलाई ल्याउने भन्नेमा मन्त्रिपरिषद्मा तीव्र मदभेद देखिएको मन्त्रिपरिषद् स्रोतले बताएको छ । केही सचिव तथा सचिव बढुवाको सिफारिसमा परेका सहसचिवहरूले मन्त्री तथा राजनीतिक दलका नेतासँग लबिङ गरिरहेको बुझिएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले सचिव बढुवाका लागि केही गृहकार्य जरुरी भएकाले त्यसका लागि प्रशासनिक समितिमा पठाइएको जानकारी दिए । 'अब सचिव छनोटसम्बन्धी कार्य प्रशासनिक समितिले नै टुंगो लगाउँछ,' प्रवक्ता पोख्रेलले भने ।प्रधानमन्त्री अध्यक्ष रहने प्रशासनिक समितिमा सरकारमा सहभागी भएका प्रमुख राजनीतिक दलको प्रतिनिधित्व रहने गरी विभिन्न मन्त्रीहरू सदस्यका रूपमा राखिएको छ । समितिका सदस्यमा उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजय गच्छदार, गृहमन्त्री भीम रावल, परराष्ट्रमन्त्री सुजाता कोइराला, सामान्य प्रशासनमन्त्री प्रभाकर प्रधानांग रहेका छन् भने सदस्य-सचिवमा मुख्य सचिव भोजराज घिमिरे छन् ।सरकारले सचिव बढुवा गर्न नसक्दा सूचना तथा सञ्चार मन्त्रालय, उद्योग मन्त्रालय, जल तथा शक्ति आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं महानगरपालिका, पाँचवटै क्षेत्रीय प्रशासन कार्यालय, शिविर व्यवस्थापनलगायका २२ मन्त्रालय तथा निकाय निमित्त सचिवको भरमा सञ्चालन भइरहेका छन् ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले न्याय सेवा आयोगको सिफारिसमा मन्त्रिपरिषद् कार्यालयका सहसचिव प्रमोदकुमार कार्कीलाई भने सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।