News

Jul 14, 2009

एमाले अध्यक्ष खनालका अंगरक्षकद्वारा आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २९ - एमाले अध्यक्ष झलनाथ खनालका अंगरक्षक नुरापति नेपालले सोमबार अपरान्ह आत्महत्या गरेका छन् । काठमाडौं स्वयम्भुस्थित पार्कमा गइ उनले कन्चटमा गोली हानी आत्महत्या गरेको प्रहरी नायव महानिरीक्षक विनोद सिंहले जानकारी दिए । पाल्पा घर भएका नेपाल हाल सुरक्षा महाशाखा काठमाडौंमा प्रहरी नायव निरीक्षक पदमा कार्यरत थिए । अन्दाजी ३० बर्षे नेपालले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।

सांस्कृतिक पहिचान चित्र प्रदर्शनीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय-अन्तर्राष्ट्रिय विषय र विम्बको प्रयोग गरेर राजधानीमा चित्रकला प्रदर्शनी गरिँदै आएको थियो । तर, मंगलबार किराँत ललितकला समाजले समापन गरेको प्रदर्शनीले दर्शकलाई नयाँ झल्को दियो ।राई, लिम्बू, याख्खा र सुनुवार, चार जातिका २४ जना युवादेखि पाका कलाकारसम्मका सांस्कृतिक चित्र प्रदर्शनीमा राखिएका थिए । एक सातासम्म चलेको प्रदर्शनीमा वरिष्ठ कलाकार टेकवीर मुखिया, समाजका अध्यक्ष रतनकुमार राई, शान्तकुमार राई, अर्जुन खालिङ, पूर्णकुमार वनेम, धनबहादुर याख्खालगायतका कलाकारका विभिन्न शीर्षकका चित्र राखिएका थिए ।किराँतको आपनै धर्म, संस्कृति तथा परम्परा भएको बताउँदै अध्यक्ष राईले कलामा पनि आफ्नो समुदायको सांस्कृतिक पहिचान देखियोस् भनेर प्रदर्शनी आयोजना गरेको जनाए ।

Jul 13, 2009

३२ सूचना प्रविधि अध्यापन गराउने कलेजलाई वेव स्पेस उपलब्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपत्यकाका विभिन्न सरकारी/निजी गरी ३२ सूचना प्रविधि अध्यापन गराउने कलेजलाई त्यस्तो सुविधा उपलब्ध गराएको माइक्रोसफ्टका कार्यक्रम निर्देशक रविचन्द्र कोइरालाले बताए । उनले भने, 'ई-रिभोलुसनका लागि सहयोग गर्न यस्तो कार्यक्रम ल्याएका हौं ।' माइक्रोसफ्टले यो वर्ष १० हजार विद्यार्थीलाई सूचना प्रविधिबारे जानकारी दिने उद्देश्यले सुरु गरेको 'एप्लिकेसन फर माइक्रोसफ्ट स्टुडेन्ट' -एएमएसपी) कार्यक्रमअन्तर्गत निःशुल्क वेव स्पेस उपलब्ध गराउन लागिएको उनले जानकारी दिए । एएमएसपी कार्यक्रमअन्तर्गत लाइभ एट एजुकेसन, एमएसडिएन एकेडेमिक एलाएन्स एन्ड माइक्रोसफ्ट डि्रम्सपार्क, माक्रोसफ्ट डिजिटल लिटेरेसी र माइक्रोसफ्ट आइटी एकेडेमी कार्यक्रम सञ्चालन गरिने उनले बताए ।लाइभ एट एजुकेसन कार्यक्रमअन्तर्गत निःशुल्क वेव स्पेस उपलब्ध गराउन लागिएको हो । यसैगरी एमएसडिएन एकेडेमिक एलाएन्स एन्ड माइक्रोसफ्ट डि्रम्सपार्क कार्यक्रमअन्तर्गत माइक्रोसफ्टले साझेदार बनाएका कलेजलाई निःशुल्क सक्कली सफ्टवेयर उपलब्ध गराउनेछ । माक्रोसफ्ट डिजिटल लिटेरेसीअन्तर्गत भने विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन निःशुल्क तालिमलगायत कार्यक्रम गरिनेछ भने माइक्रोसफ्ट आइटी एकेडेमीअन्तर्गत विभिन्न कलेजमा सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई अन्तर्राष्ट्रिय मापदण्डको तालिम दिइनेछ । तालिमप्राप्त विद्यार्थीलाई परीक्षा लिएर माइक्रोसफ्टले अन्तर्राष्ट्रिय मान्यता दिलाउने कोइरालाले बताए ।यसैगरी माइक्रोसफ्ट नेपालमा आबद्ध कर्मचारी र विद्यार्थी साझेदारले एक वर्षमा ७ दिन दुर्गम क्ष्ाेत्रमा गएर सूचना प्रविधिबारे जानकारी दिने कार्यक्रम पनि ल्याइएको छ । कर्मचारी र विद्यार्थीले विभिन्न जिल्लाका गाउँ-गाउँ पुगी सर्वसाधारणलाई सूचना प्रविधिबारे जानकारी दिनेछन् ।

जनजाति महासंघ वेलायतले संविधान सुझाव बुझायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माणको लागि विभिन्न संघ, संगठन तथा ब्यक्तिहरुबाट सुझाव संकलन गर्ने क्रममा नेपाल जनजाति महासंघ वेलायतले आफ्नो सुझाव प्रतिनिधिहरु मार्फत सभामुख सुवास नेम्वाङलाई केहीदिन अघि बुझाएको छ।
सुझावको भूमिकामा भनिएको छ – नेपालको जातिय मुक्ति आदोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरुको वेलायतमा ठूलो उपस्थिति रहेको छ। यहाका विभिन्न ११ वटा जातिय उत्थान संस्थाहरुको साझा र शसक्त संगठन नेपाल आदीवासी जनजाति महासंघ हो। यसको स्वतः सदस्यहरु लगभग ७० हजार जनजाति नेपालीहरु वेलायतमा रहेको उल्लेख गरिएको छ।
गत २६ अप्रिल ०९ का दिन ब्रिटिस लिजन क्लब, क्यावर्लि वेलायतमा सम्पन्न नेपालको नयाँ संविधान विषयक अन्तरक्रिया कार्यक्रम तथा भेलाबाट पारित बुदाँगत सुझावहरु नै सभामुखलाई बुझाइएको थियो। सुझावलाई विभिन्न ५ चरणमा छुट्टाइएको छ।

सहमति/समर्थन अन्तर्गत – नेपाल आदीवासी जनजाति महासंघ, केन्द्रिय कार्य समिति नेपालको सुझाव प्रति समर्थन छ भनिएको छ।दोस्रो चरणमा संविधानमा हुनैपर्ने अनिवार्य बुंदाहरु भनी उल्लेख गरिएको छ। जस अन्तर्गत १. कुनैपनि हालतमा देश धर्म निरपेक्ष यथावत रहनु पर्दछ। २. देश संघिय राज्यमा जानैपर्दछ। संघियताको लागि मुख्य आधारहरु (क) ऐतिहासिक, (ख) जातिय, (ग) भाषिक, (घ) भौगोलिक र (ङ) आर्थिक धरातल हुनुपर्दछ। ३. देशको स्थायी सरकार तथा राजनैतिक सरकारमा जातिय जनसंख्याको आधारमा समानुपातिक अवसर र पंहूच हुनु पर्दछ। ४. चन्द्रबंशी, सूर्यवंशी र राणा शासनलाई मात्र प्रतिनिधित्व गर्ने नेपालको राष्ट्रिय झण्डालाई प्राविधिक तथा पूर्ण परिबर्तन गर्नु पर्दछ। नयाँ झण्डामा सागरमाथा राख्न प्रस्ताव गरिएको छ। ५. देशको निशान चिन्हमा रहेको संस्कृत शब्द स्वर्गदपि गरियसी लाई हटाउनु पर्दछ। ६. देशको राष्ट्रिय जनावरमा गाई नराख्ने साथै कुनै पनि जनावर नराख्ने सुझाव गरिएको छ यदि राख्नै पर्ने भएमा नेपालमा मात्र पाइने एकसिंङ्गे गैडा प्रस्ताव गरिएको छ। ७. आदीवासी जनजाति सम्बन्धिको संयुक्त राष्ट्रसंघको अभिसन्धि १६९ लाई स–सम्मान कार्यन्वयन गर्नेपर्ने सुझाव गरेको छ।

छलफलका विषयहरु अन्तर्गत १. प्रधानमन्त्रि प्रणाली हुनु पर्दछ र राष्ट्र प्रमुखमा राष्ट्रपति रहने ब्यवस्था गर्नु पर्दछ। सेरमोनियल राष्ट्रपतिको लागि राष्ट्रपति/राष्ट्राध्यक्ष म48डलबाट चयन हुनु पर्दछ। उक्त म48डलमा ५ जना सदस्य रहनेछन्। त्यसमा आर्य खस समुदायबाट १, दलितबाट १, तराइ, मधेसीबाट १, महिलाबाट १, जनजातिबाट १ जना रहने गरि पालैपालोको ब्यवस्था हुनुपर्ने। समावेसि तवरले राष्ट्रपति बनाउदा सबै जाति, समुदायलाई सम्मान गर्न सकिन्छ भने प्रधान मन्त्रि चाहि सबैभन्दा शक्तिशालि हुने ब्यवस्था गर्नुपर्दछ भनिएको छ साथै छिमेकी मुलुक मलेसियाले यहि तरिका अपनाउदै आएको छ भनी उल्लेख गरिएको छ। २. केन्द्र र स्वायत्त राज्य दुवैमा – (क) जनप्रतिनिधि सभा र (ख) जातिय सभा रहनु पर्दछ। ३. भ्रष्टाचार रोक्न तथा देशको कुटनैतिक सम्वेदनशिलतालाई ध्यानमा राख्दै कडा कानुनको ब्यवस्था गर्ने। ४. देश बाहिर रहेका नेपालीहरुले उनीहरु रहेकै देशको नागरिकता लिएपनि नेपालको नागरिकता त्याग्न नपर्ने र नेपालमा सम्पति राख्न र जोड्न पाउने ब्यवस्था गर्नुपर्दछ। निजको सन्तानले पनि बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने ब्यवस्था हुनु पर्दछ साथै नेपालको महत्वपूर्ण सवालमा राजदुताबास मार्फत प्रवासी नेपालीहरुले भोट दिनसक्ने ब्यवस्था गर्नुपर्दछ भनी उल्लेख गरिएको छ। ५. दुई शताब्दिदेखि वेलायत, भारत, सिंगापुर लगायतका मुलुकमा निरन्तर र ठूलो संख्यामा रहेका गोर्खा सैनिकहरुलाई सवैधानिक रुपले समेट्नदेशको सम्झौता अनुसार बाहिर भूमिमा खटेर देशको सेवा गर्नु पर्दछ भनी संविधानको मौलिक हक अन्तर्गत उल्लेख गर्ने। सम्झौता अनुसार विदेशमा खटेर काम गर्नु देशकै आदेश मानेको हो। यसलाई देशकै सेवा स्वीकार्नु पर्दछ भनिएको छ। ६. ब्यक्तिले एकै पदमा दुई कार्यकाल भन्दा बढि रहन नपाउने वा लगातार तेस्रो पटक सोहि पदमा काम गर्न नपाउने ब्यवस्था गर्नु उपयुक्त्त हुन्छ। ७. विदेशमा विचल्लिमा परेका नेपालीहरुलाई उद्धार गर्नको लागि विशेष ब्यवस्थाको निमित्त संविधान सापेक्ष बनाउनु पर्दछ भनि उल्लेख गरिएको छ।

आग्रह अन्तर्गत – कानुनको नजरमा हामी सबै बराबर हुनुपर्दछ र सफा पवित्र हिर्दयले सबैको भलो चिताई संविधान बनाऔं। अब कसैमाथि षड्यन्त्र गर्ने दुष्प्रयास नहोस र त्यो सम्भव पनि छैन भनिएको छ।
घोर आपत्ति र शसक्त आन्दोलन अन्तर्गत – १. देश धर्म निरपेक्ष नभएको खण्डमा। २. संघिय राज्य नभएको खण्डमा। ३. प्रवासी नेपालीहरुको आवाजलाई स–सम्मान सम्बोधन नगरेको खण्डमा। ४. विभेदकारी संविधान निर्माण भएको खण्डमा वा संविधान निर्माणमा कुनै षडयन्त्र भएको ख48डमा जुनसुकै प्रकारको आन्दोलन गर्न बाँध्य हुनेछौ भनी चेतावनी पनि समेटिएको छ।
संविधान सुझाव समितिका सह–संयोजक विश्वासदीप तिगेला र महासंघ अध्यक्ष थर्क रानामगरको हस्ताक्षर रहेको उक्त सुझाव पत्र बोधार्थको लागि जनजाति महासंघ केन्द्रिय कार्य समितिका अध्यक्ष पासाङ शेर्पालाई बुझाइएको छ। महासंघले केहीमहिना अघि अधिबक्ता चण्डिकाराज राईको संयोजकत्वमा नारायण किशोर पुन, श्रीमति गंगा राई, वेद लावती, भरत थापा मगर, नविन लामा, बुद्धि गुरुङ सदस्य रहेको संविधान सुझाव समिति निर्माण गरेको थियो ।

Jul 11, 2009

सीमा अतिक्रमणलाई विषय बनाएर 'कालापानी' फिल्म निर्माण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतबाट नेपालको सीमा अतिक्रमणलाई मुख्य विषय बनाएर 'कालापानी' फिल्म निर्माण भइरहेको छ । हाल चितवनमा छायांकन भइरहेको यो फिल्ममा अतिक्रमणबाट पीडित नेपाली जनताको भावना समेटिने दावी फिल्मका निर्माण संयोजक किसान पोखरेलको छ ।यसअघि माओवादी जनयुद्ध सम्बन्धी आगो र जनयुद्ध फिल्म निर्माणमा संलग्न निर्माता किसान भारतको दादागिरीले नेपालीले दुःख पाएको तथा भारतको हेपाहा प्रवृत्तिबाट नेपाली जनता आजित भएका कारण फिल्ममार्फत जागरण ल्याउन यो फिल्म निर्माणमा जुटेको बताउँछन् । फिल्ममा पात्रको नाम प्रतिकात्मक रूपमा नेपालको सीमा किल्ला, काँगडा, टिस्टा आदि राखिएको छ भने भारतीय अतिक्रमणकारीको नाम जिल्ला सिंह छ ।उद्धव अविदितको निर्देशन रहेको यो फिल्ममा दीलिप रायमाझी, सञ्चिता लुइँटेल, गणेश उप्रेतीलगायतका कलाकार प्रमुख भूमिकामा छन् । निर्माण युनिटले निखिल उप्रेतीलाई अभिनय गराउने दाबी गरे पनि निखिलले भने नभ्याउने बताउँदै आएका छन् ।

लेखबहादुर साङ्लोको बन्धनमा दिन काट्न बाध्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्वत, २७ असार दक्षिणी पर्वतको बेउलीवास गाविस गोहाकुकका लेखबहादुर सुवेदी सात वर्षदेखि साङ्लोको बन्धनमा दिन काट्न बाध्य भएका छन् । मानसिक सन्तुलन गुमाएका ३० वषर्ीय उनको आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन सकेको छैन । रोजगारीको क्रममा भारत पुगेका लेखबहादुर आठ वर्षअघि घर फर्केका थिए । घर फर्केपछि उनको मानसिक सन्तुलन बिग्रेको मामा उमापति सापकोटाले बताए । 'उपचारको प्रयास सफल भएको छैन,' खर्च अभावमा थप उपचार हुन नसकेको बताउँदै उनले भने, 'अन्यत्र लैजान सक्ने स्थिति छैन ।' परिवारमा कमाउने कोही नभएकाले आफैँले भान्जाको हेरचाह गर्दै आएको उनले बताए ।परिवारले बाहिर निस्कँदा अँध्यारो कोठामा लेखबहादुरलाई साङ्लोले बाँध्ने गरेका छन् । फलामे साङ्लोले खुट्टा र ढाडमा डोरीले बाँधेर परिवारका सदस्य काममा जाने गरेको मामाले बताए । साङ्लोबाट फुत्केपछि छिमेकीलाई कुटपिट गर्ने तथा भेट्नै नसक्ने गरी भाग्ने गरेकाले बाँधेर राखिएको उल्लेख गर्दै उनले भने, 'दुई महिनाअघि साङ्लोबाट फुत्केर भागे, तीन दिनपछि मात्र फेला पारियो ।'मामाका अनुसार लेखबहादुरको परिवारमा आमासहित दुई बहिनी, एक छोरी र श्रीमती छन् । कमाउने व्यक्ति नै बिरामी परेपछि परिवारको बिचल्ली भएको पनि उनले बताए ।

सरकारको नीति तथा कार्यक्रम माथि छलफल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २८ - व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ । केही बेर ढिलो गरी सुरु भएको संसद बैठकमा बोल्दै एकीकृत माओवादीका सभासद डा.बाबुराम भट्टराईले असंवैधनिक सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीको समर्थन नहुने बताएका छन् । नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागिता जनाउनु सरकारलाई बैधानिकता प्रदान गर्नु हो भन्दै उनले सैनिक सर्वोच्चताको आडमा बनेको सरकारले पूर्ववर्ती सरकारको निर्णय उल्ट्याएर पूर्व राजा ज्ञानेन्द्रले गरेको भन्दा असंवैधानिक काम गरेको दावी गरे । उनले राष्ट्रपतिलाई अगाडि सारेर काँग्रेस र एमालेले मुलुकमा सैनिक सर्वोच्चता लाद्न खोजेका आरोप लगाए । माओवादीले नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागिता नजनाउने यसअघि नै निर्णय लिइसकेको छ । सभासद भट्टराईले बोले लगत्तै माओवादी सभासदहरु संसदबाट बाहिरिने कार्यक्रम छ ।सदनको काम कारवाही अवरुद्ध नगर्न मधेशी जनअधिकार फोरम सहमत भएपछि नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो । छलफलपछि आजै नीति तथा कार्यक्रम पारित गरिने छ । संसदीय दलको विवादका कारण फोरम संस्थापन पक्षले सदन चल्न नदिने अडान लिएपछि शनिबार हुने भनिएको छलफल हुन सकेको थिएन । सभामुख सुवास नेम्वाङको पहलमा भएको वार्तामा फोरम गच्छदार समूहले संसदीय दलको कार्यालय छाड्ने सहमति भएपछि फोरम संस्थापन पक्ष सदन अवरुद्ध नगर्ने जनाएको हो । राष्ट्रपति डा.रामवरण यादवले बिहीबार सदनमा प्रस्तुत गरेका सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्न शनिबार र आइतबार गरी २० घण्टा समय छुट्याएकोमा शनिबार संसद बैठक बस्न नसकेपछि आज एकदिन मात्र छलफल हुन लागेको छ ।