News

Dec 4, 2009

इराकी पत्रकार मुन्तजार अल जैदीमाथि पनि जुत्ता प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गरेर रातारात चर्चित बनेका इराकी पत्रकार मुन्तजार अल जैदीमाथि पनि जुत्ता प्रहार भएको छ । बुसलाई जुत्ता हानेर अमेरिकीविरोधीहरूका नजरमा सुपरम्यान बनेका जैदीले केही समय जेल पनि बस्नुपरेको थियो । पेरिसमा भएको एक पत्रकार सम्मेलनमा जैदी युद्धपीडित इराकीका बारेमा बोलिरहेका वेला उनीमाथि जुत्ता प्रहार गरिएको थियो । जसरी जैदीले हानेको जुत्ता बुसले छलेका थिए, त्यसैगरी जैदीले पनि आफूतिर हानिएको जुत्ता छलेकका थिए । जैदीलाई जुत्ता प्रहार गर्ने मानिस निर्वासित इराकी पत्रकार भएको थाहा पाइएको छ । जैदीमाथि जुत्ता प्रहार गर्ने पत्रकार अमेरिकी नीतिका समर्थक हुन् । उनले जैदीलाई इराकमा तानाशाहीका लागि काम गरिरहेको आरोप लगाएका छन् । आफूमाथि जुत्ता प्रहार गर्नेप्रति जैदीको टिप्पणी थियो, 'उसले मेरो शैली चोर्‍यो ।' सन् २००८ को डिसेम्बरमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गरेर मुन्तजार अल जैदी हिरो मात्रै भएनन्, उनको यस कदमपछि संसारका विभिन्न भागमा राजनीतिकर्मीमाथि जुत्ता वर्षाउने लहर नै सुरु भएको थियो । उनी कतिसम्म लोकप्रिय भएका थिए भने उनलाई थुप्रै विवाह प्रस्ताव पनि प्राप्त भएका थिए । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले उनलाई आफ्नो देशको नागरिकता दिने घोषणा गरेका थिए । तर, जैदीले चाभेजको प्रस्ताव अस्वीकार गरेका थिए । बुसलाई जुत्ता प्रहार गरेपछि जैदीले बुसलाई कुकुर भनेका थिए र इराकका विधुवा, टुहुरा र मरेकाहरूका तर्फबाट बिदाइको अभिवादनस्वरूप आफूले जुत्ता फ्याँकेको बताएका थिए । विदेशी राष्ट्राध्यक्षलाई आक्रमण गरेको अभियोगमा उनलाई नौ महिनाको जेल सजाय दिइएको थियो । गत सेप्टेम्बरमा जेलमुक्त भएका उनले आफूलाई जेलमा यातना दिएको बताएका थिए ।

Dec 3, 2009

माओवादीले सिमाङ्कन पछि गणराज्यको घोषणा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर १८ - माओवादीले गणराज्यको सिमाङ्कन वृहतरुपमा छलफल गरेर निर्धारण गर्ने निष्कर्ष निकालेको छ । बिहीबार पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकले संघीय राज्य घोषणा गर्दा राष्ट्रियतालाई आधार मानेर त्यसैको आधारमा सिमाङ्कन गर्ने घोषणा गर्ने बताइएको छ । जातीय आधारमा संघीय राज्य हुनपर्ने भन्दै आएको माओवादीले बुधबार बसेको स्थायी समिति बैठकले अचानकरुपमा अडान परिवर्तन गरेको थियो । बैठकले जातीय आधारमा संघीयता घोषणा गर्दा साम्प्रदायिक द्वन्द्वको खतरा हुन सक्ने भन्दै यस्तो निष्कर्ष निकालेको थियो । अर्को बैठक शुक्रबार बस्ने छ ।

१३ बिद्यार्थी संगठनले शुल्कबृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै धर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३डिसेम्बर,२००९, त्रिभुवन विश्वविद्यालयले दश गुणा शुल्कबृद्धिको विरोधमा आन्दोलनरत १३ बिद्यार्थी संगठनले आज बिहिबारदेखि शुल्कबृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै त्रिवि उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन धर्ना दिंदैछन् । शुल्कका बारेमा कुरा गर्न त्रिविविले बिद्यार्थी संगठनहरुलाई फेरि वार्तामा बोलाएको छ । बिद्यार्थीहरुको आन्दोलनका कारण शुल्कबृद्धि कार्यान्वयन गराउन नसक्ने आफ्ना आंगिक क्याम्पस प्रमुखहरुको भनाई आएपछि विश्वविद्यालय शुल्क घटाउने तयारीमा जुटेको छ । त्रिविका पदाधिकारीहरुले तीस प्रतिशतसम्म शुल्क घटाउन सकिने अभिव्यक्ति सार्वजनिक गरेका छन् । यस अगाडि बिद्यार्थी संगठनहरुले काँग्रेस, एकीकृत माओवादी र एमालेका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाउँदै शुल्कबृद्धि फिर्ता नलिए त्रिविको यही मंसिर २६ गते हुने ३५ औं दीक्षान्त समारोह विथोल्ने चेतावनी दिएका थिए । बिद्यार्थी नेताहरुले नेताहरुसमक्ष त्रिविका उपकुलपति, रेक्टर र रजिष्टारलाई पनि बर्खास्त गर्न माग गरेका छन् ।

प्रधानमन्त्रीसहित सबै मन्त्री सगरमाथा आधार क्षेत्रमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्याङबोचे, मंसिर १८- सगरमाथाको कालापत्थरमा हुने मन्त्रिपरिषद बैठकमा भाग लिन प्रधानमन्त्रीसहित सबै मन्त्री सगरमाथा आधार क्षेत्र पुगेका छन्। ५ हजार २ सय ४२ मिटर उचाइको कालापत्थरमा हुने बैठकमा भाग लिनु पूर्व त्यहाँको वातावरणमा घुलमिल हुन मन्त्रीहरु एक दिन अघि लुक्ला पुगेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रीहरु आज लुक्लामा बस्नेछन्। 'हाइअल्टिच्युड' लाग्ने सम्भावनालाई ध्यानमा राख्दै भोलि शुक्रबार मन्त्रीहरुको स्वास्थ्य परीक्षणपछि मात्र कालापत्थर लगिनेछ। मन्त्रिपरिषद बैठक २० मिनेट जति लामो हुने स्रोतले जनाएको छ। मन्त्रीहरुलाई लुक्लाबाट हेलिकोप्टरबाट कालापत्थर उतारिनेछ। त्यसका लागि नेपाली सेना तथा श्री एयरको एमआइ सेभेन्टिन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।६ निजी बिमान तथा नेपाल एयरलाइन्सको एक बिमानले मन्त्री तथा अन्यलाई सगरमाथा आधार शिविर ल्याइपुर्‍याएको हो। प्रधानमन्त्री माधवकुमार नेपाल भने सेनाको हेलिकोप्टरमा इलामबाट सोझै लुक्ला विमानस्थल ओर्लिएका हुन्।आपूर्ति मन्त्री राजेन्द्र महतो, रक्षा मन्त्री विद्या भण्डारी र विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र ढुङगेल स्वास्थ्यका कारण लुक्ला आउन सकेका छैनन्। प्रधानमन्त्री तथा मन्त्रीहरुको लुक्ला आगमनसँगै उच्चस्तरीय सरकारी अधिकारी तथा चिकित्सकसमेत त्यहाँ पुगेका छन्।
जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले विश्वकै अग्लो स्थानमा मन्त्रिपरिषद बैठक गर्न लागिएको हो। शुक्रबार बिहान १० बजे बस्ने मन्त्रिपरिषद बैठकले दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र, रामेछाप र दोलखाको गौरीशंकर संरक्षण क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुञ्जलाई दोब्बर पार्ने निर्णय गर्नेछ।
यो मन्त्रिपरिषद बैठकको रिपोर्टिङका लागि स्वदेशी तथा विदेशी मिडियाकर्मीको चहलपहल स्याङ्बोचेमा बढेको छ।मन्त्रिपरिषद बैठक आफ्नो ठाउँमा हुन लागेकोमा स्थानीबासी दङ्ग देखिएका छन्। ३ हजार ७ सय मिटर उचाइमा रहेको स्याङ्बोचे बिहीबार दिउँसो २ बजेसम्म रमाइलो थियो। ३ बजेपछि मौसम बदलिएर हुस्सु लागेको छ। छिन छिनमा यसरी मौसम बदलिनु यहाँको विशेषता नै हो।

पेट्रोलियम पदार्थको बिक्री वितरण सुचारु हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्सिर १७ गते । पेट्रोल पम्पमा कार्यरत मजदुरहरू र पेट्रोलियम डिलर्स एसोसिएसन प्रतिनिधिका बीच बुधबार सातबुँदे सहमति भएपछि बिहीबारदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण सुचारु हुने भएको छ । विभिन्न २० बुँदे माग राखेर गत शुक्रबारदेखि आन्दोलनमा उत्रिएको अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घका प्रतिनिधि र डिलर्स एसोसिएसनका प्रतिनिधिबीच बुधबार राति सहमति भएपछि मजदुर सङ्घले यसअघिको घोषित अनिश्चितकालीन नेपाल आयल निगमका डिपो बन्द कार्यक्रम फिर्ता लिएको हो । देशभरका सात सय पेट्रोल पम्पमा १३ हजार मजदुर कार्यरत रहेका छन् ।वार्ताबाट मजदुर सङ्घले उठाएको नियुक्तिपत्रको सम्बन्धमा पम्पमा कार्यरत मजदुरलाई गत साउन १ गतेदेखि लागू हुनेगरी पेट्रोल पम्पले नियुक्तिपत्र दिने र त्यो मितिबाट मजदुरको तलबबाट सरकारले यसै आर्थिक वर्षबाट तलबमा उठाउने गरेको एक प्रतिशत सामाजिक सुरक्षा कोषको लागि रकम असुल गर्ने कुरामा सहमति भएको छ । बुधबार दिउँसो २ बजेबाट सुरु भएको वार्ता करिब पाँच घण्टासम्म त मजदुरलाई स्थायी प्रकृतिको नियुक्ति दिनुपर्ने मागमा मजदुरहरू अडिग रहेपछि वार्ता लम्बिएको हो ।

प्रमुख तीन दलका टाउके नेताहरु एउटै मञ्चमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३डिसेम्बर,२००९, प्रमुख तीन दलका शीर्ष नेता आज राजधानीमा आयोजित एक कार्यक्रममा एउटै मञ्चमा सहभागी भएका छन् । नेपाल एफएम नेटवर्कले आज आयोजना गरेको नागरिक संवाद कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली काँग्रेसका कावा सभापति सुशील कोइराला एउटै मञ्चमा देखिएका छन् । उक्त कार्यक्रममा बोल्दै शीर्ष नेताहरुले एकापसमा मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेताहरुले एक अर्कोलाई आरोप लगाउन पनि पछाडि परेनन् । कार्यक्रममा बोल्ने नागरिक समाजका अगुवाहरुले भने दलहरुलाई मिलेर अगाडि बढन सुझाव दिए । सहमति कायम गरेर निर्धारित समयमा संविधान निर्माण गर्न र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन उनीहरुले सुझाव दिएका थिए । कार्यक्रममा नागरिक समाजका अगुवाहरु दमननाथ ढुंगाना, डा. पूर्णकान्त अधिकारी, देवेन्द्रराज पाण्डे, पदमरत्न तुलाधर, श्याम श्रेष्ठ, बिष्णुहरि उप्रेती लगायतले राजनीतिक संयन्त्रमार्फ संयुक्त सरकार बन्नुपर्ने सुझाव पनि दिएका थिए ।

Dec 2, 2009

चासोक तङनामको उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय चाड चासोक् तङ्नाम् २०६६ को उपलक्ष्यमा संयुक्त लिम्बुवान मोर्चा, नेपालद्वारा ललितपुर चुम्लुङहिम, ललितपुरमा आयोजना गरिएको शुभकामना आदान-प्रदान एवम् चियापान समारोह लिम्बुवानी आन्दोलनको माहौलमा सम्पन्न भएको छ ।संयुक्त लिम्बुवान मोर्चा, नेपालको समन्वयकर्ता लिम्बू जातिको जातीय संगठन किरात याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन नुगो लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रमको अतिथिहरुमा एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ, नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू, नेकपा एकीकृतका ऋषि कट्टेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिम र राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष माथवरसिंह थापालगायतका नेता तथा सभासद्हरुसमेत हुनुहुन्थ्यो । समारोहका सभाध्यक्ष अर्जुन लिम्बूले कार्यक्रमा उपस्थित् अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै चासोक तङनामबारे अवगत गराउनु भएको थियो । आमन्त्रित सबै अतिथिहरुले देशको वर्तमान परिस्थिति र संविधान लेखन तथा लिम्बुवान बारे आ-आफ्ना धारणाहरु राख्नु भएको थियो । सो कार्यक्रममा लिम्बू जातिको मौलिकता झल्कने विभिन्न परिकारका खानपिनसहित अथितिहरुलाई सम्मान र सत्कार गरिएको थियो । चासोक तङ्नामको अवसरमा शुभकामना आदान-प्रदान गर्दै लिम्बू जाति र लिम्बुवान स्वायत्तताको सवाललाई बढावा दिने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रमको उद्घोषण संयुक्त लिम्बुवान मोर्चा, नेपालका श्री जबेगूद्वारा गरिएको थियो ।
आयोजकःसंयुक्त लिम्बुवान मोर्चा, नेपाल
१. लिम्बुवान मुक्ति मोर्चा
२. लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा (एकीकृत नेकपा माओवादी)
३. संघीय लिम्बुवान राज्य परिषद् (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)
४. नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ (नेकपा एमाले)
५. नेपाल लिम्बुवान स्वशासित संघ (नेकपा एकीकृत)
६. लिम्बुवान प्रान्तीय परिषद् (राष्ट्रिय जनमुक्ति पार्टी
७. नेपला लिम्बू संघ (नेपाली कांग्रेस) किरात याक्थुङ चुम्लुङ