News

Nov 12, 2010

तीन दलको गोप्य वार्ताप्रति साना नौ दल असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति, नयाँ संविधान, सरकार र बजेटका विषयमा सहमति जुटाउने नाममा प्रमुख तीन दलले एकलौटीरुपमा मुलुकलाई अगाडि बढाउन खोजेको भन्दै साना राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन्।उनीहरुले त्रिदलीय गोप्य बैठकमा भएका छलफल र सहमतिबारे सबै राजनीतिक दललाई जानकारी गराउनुपर्ने माग गरेका छन्। जारी गतिरोध र बजेट आउन नसकेको अवस्था बारे छलफल गर्न सिंहदरबारमा बसेको नौ साना दलको बैठकले सरकार निर्माणमा मात्र नलागी संविधान लेखन र शान्ति प्रक्रियालाई टुंग्याउने दिशामा केन्द्रीत हुन पनि प्रमुख तीन दललाई सुझाव दिएका छन्।बजेट नआउँदा अर्थतन्त्र धरासायी हुँदै गएको निष्कर्ष निकाल्दै साना दलले कात्तिक मसान्तभित्रै नीति तथा कार्यक्रम सहितको पूर्णबजेट ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।त्यस्तै भारतीय माओवादीलाइ नेपाली माओवादीले शैन्य तालिम दिएको भन्नेबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने पनि साना दलको माग रहेको छ। उनीहरुले यदि नेपालका माओवादीले भारतीय माओवादीलाई शैन्य तालिम दिएको भए त्यो आपत्तिजनक हुने बताएका छन्।

देउसीभैलोबाट मावि सञ्चालन गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(रुकुम), देउसीभैलोबाट संकलन भएको रकमले मावि सञ्चालन गर्ने जिल्लामा रहेको एक निम्न माध्यामिक विद्यालयले निर्णय गरेको छ। जिल्लाको अर्मा गाविसमा क्रियाशील जनसेवा युवा क्लबले देउसीभैलोबाट संकलन गरेको दुई लाख २७ हजार आठ सय पचास रुपिया मावि साचालन गर्न भन्दै विद्यालयलाई हस्तान्तरण गरेको छ। जनकल्याण निम्न माध्यामिक विद्यालय अर्मा बागखोर रुकुमलाई सो क्लबले देउसीभैलोबाट संकलन गरेको उक्त रकम हस्तानतरण गरेको क्लबका सदस्य प्रेमप्रकाश ओलीले बताउनुभयो। क्लबले यही कात्तिक १७ देखि २० गतेसम्म खेलेको देउसीभैलोबाट उक्त रकम संकलन गरेको थियो। क्लबका सदस्य प्रेमप्रकाश ओलीले भने जनकल्याण निमाविलाई मावि बनाउने भनेको धेरै भयो तर आर्थिक स्रोत थिएन। यस पटक देउसी खेलेर भएपनि रकम संकलन गर्नुपर्छ भनेका थियौं सोचेभन्दा बढी भयो। ओलीका अनुसार देउसीबाट यति धेरै रकम संकलन होला भन्ने क्लबले सोचेको थिएन। अर्मा गाविसलगायत छिमेकी गाविसहरु छिबांग पेउघा र नुवाकोटमा देउसी खेलेको सो क्लबले बताएको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरी जनकल्याण निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञबहादुर ओलीलाई क्लबका अध्यक्ष डण्डवीर डिसीले हस्तान्तरण गर्नुभएको हो। उक्त विद्याललयमा हाल ४ जना स्थायी १ जना राहत र १ जना निजी गरी ६ जना शिक्षक कार्यरत छन्। देउसीभैलोबाट संकलन भएको रकम हस्तान्तरण कार्यक्रममा सबैभन्दा बढी रकम दिने अर्मा गाविस-६ का शशिराम ओलीलाई सम्मानसमेत गरिएको थियो। क्लबका अध्यक्ष डण्डवीर डिसीले शशिरामलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो। शशिराम ओलीले १३ हजार आठ सय पचास रुपियाँ उक्त जनसेवा युवा क्लबलाई देउसीभैलोमा दक्षिणा स्वरुप दिएका थिए। जनकल्याण निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर डाँगीका अनुसार यो निर्णय क्लबले मात्र गरेको हो।

Nov 10, 2010

भारतीय माओवादीलाई तालिम दिएको विषय मन्त्रिपरिषद्‌मा लगिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २४,माओवादीले भारतीय माओवादीलाई तालिम दिएको सम्बन्धमा आएको खवर गम्भीर रहेको उल्लेख गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले त्यसलाई मन्त्रिपरिषद्को बैठकमा उठाउने बताएका छन् । 'यो गम्भीर बिषय हो, यसलाई म मन्त्रिपरिषद्को बैठकमा उठाउछु' परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी कोइरालाले बुधबार भने । नेपाली माओवादी र मुस्लिम आतंकवादी समुह लस्कर ए तोइवाले माओवादी लडाकुका शिविरहरुमा भारतीय माओवादीलाई बैचारिक तथा सैन्य तालिम दिएको भन्दै कारवाही गर्न माग गरी भारतीय दुतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो । 'भारतीय दुतावासले पठाएको पत्रको बारेमा प्रधानमन्त्री ज्यू पनि जानकार हुनुहुन्छ' परराष्ट्रमन्त्री कोइरालाले भनिन्, 'छिट्टे आवश्यक कदम चालिने छ ।' माओवादीले भने निरन्तर रुपमा भारतीय भनाइको खण्डन गर्दै आएको छ । यसलाई उनीहरुले षड्यन्त्रको एउटा हिस्साको रुपमा चित्रित गर्दै आएका छन् ।

नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा रामवरण यादवले सङ्घीय गणतन्त्र ब्राजिलको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा डिल्मा रोसेफलाई नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई ज्ञापन गर्नुभएको छ ।नवनिर्वाचित राष्ट्रपति रोसेफलाई पठाउनुभएको सन्देशमा राष्ट्रपति यादवले उहाँको कार्यकालमा दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध अरु प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।त्यसैगरी प्रधानमन्त्री माधवकुमार नेपालले पनि एक सन्देश पठाई ब्राजिलका राष्ट्रपति रोसेफलाई बधाई ज्ञापन गर्नुभएको छ ।राष्ट्रपति पदमा निर्वाचित रोसेफको कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध अरु सुदृढ हुने विश्वास पनि प्रधानमन्त्री नेपालले व्यक्त गर्नुभएको छ ।

प्रमुख तीन दलको बैठक जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख तीन दलको बैठक बसिरहेको छ । यसअघि बैठक बसेको स्थान काठमाडौंको हात्तीवन रिसोर्टमै बस्ने भनिएको बैठक अन्तिम अवस्थामा आएर गोकर्ण रिसोर्टमा सुरु भएको छ ।तिहार अघि नै दलहरुले गोप्य बैठकबाट सहमतिका प्रयास थालेका थिए । छलफलको एजेन्डाका विषयमा आवश्यक तयारी गरिने बताइए पनि दलहरु विना तयारी फेरि बैठकमा पुगेका छन् ।जारी बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव रामबहादुर थापा, नेपाली काङ्ग्रेसका तर्फबाट सभापति सुशील कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महत, र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरु सहभागी हुनुहुन्छ ।यसअघि आज बिहान पनि तीन दलको बैठकमा छलफल हुने एजेन्डाका विषयमा नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । सरकार गठन, सरकारको पूर्ण बजेट, शान्ति प्रक्रियालगायतका विषयमा दलहरुबीच सहमति हुन नसक्दा राजनीतिक गतिरोध लामो समयदेखि जारी रहेको छ ।

भगौडा सैनिक हतियारसहित पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जाजरकोट/ हतियारसहित पक्राउ परेका नेपाली सेनाका भगौडा लेस नायक महारूप शाहीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।मजकोट-६ का शाहीलाई स्थानीयबासीको सहयोगमा सीमा इलाका प्रहरी कार्यालयबाट गस्तीमा गएको प्रहरी टोलीले नाइन एमएमको गोली लाग्ने दुई थान पिस्तोल र १३ राउन्ड गोलीसहित गत बुधबार राति पक्राउ गरेको थियो । शाहीले आफू नेपाली सेनाको पूर्व लेस नायक भएको बताए । आफूलेे ०३७ सालमा नेपाली सेनाको रुद्रध्वज गण सुर्खेतमा मानबहादुर शाहीको नामबाट सेवा सुरु गरेको र ०४३ सालमा सेवाबाट भागेपछि महारूप शाहीको नामबाट नागरिकता बनाएको उनले बताए । 'प्लाटुन कमान्डर तालिमका क्रममा २०४३ सालमा नाइन एमएम ब्राउनिङ पेस्तोल, टी वान सेभेन सेभेन एट सिक्स फोर सेल्फ लोडिङ बेल्जियम पिस्तोल दुई थान म्यागजिन र २४ थान गोलीसहित भागेको थिएँ,' उनले भने । शाहीले सेनाको जागिर छोडेपछि चोरी डकैती लागि अन्य सहयोगी साथी लगाउने उद्देश्यले अर्को वान-वान अटोमेटिक इन्डियन पिस्तोल किनेको प्रहरीलाई बयान दिएका छन् । उनले चोरी तथा लुटपाटको घटनामा सग्लग्न रहेको समेत स्विकारेका छन् । उनका सहयोगी लोकेन्द्रबहादुर शाही फरार रहेको प्रहरी नायब उपरीक्षक रामप्यारा खरेलले बताए । फरार शाहीसमेत नेपाली सेनामा कार्यरत रहेको प्रहरीले बताएको छ । बडाभैरव गाविस-४ खोर घर भई हाल नेपाली सेनाको अरिदमन गण नवलपरासीमा सिपाही पदमा कार्यरत रहेको खरेलले बताए ।

Nov 9, 2010

एमालेले नयाँ प्रस्ताव ल्याउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले एकअर्कालाई स्वीकार गर्न नसक्दा गतिरोध लम्बिएको भन्दै एमालेले दुवैलाई मान्य हुने प्रस्ताव भोली बस्ने तीन दलको वैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।शान्ति प्रक्रिया टुंगोमा पुग्ने कार्यतालिका सहितको भरपर्दो आधार नभई सरकार गठन हुन नसक्ने र सरकार गठन नभई शान्ति प्रक्रिया अघि बढ्न नसक्ने माओवादी-कांग्रेस अडानका कारण मुलुक भड्खालोमा पुग्न लागेको भन्दै सहमतीका लागि दुवैलाई मान्य हुने प्रस्ताव एमालेले तयार गरेको हो ।यद्यपी सो प्रस्तावका बारेमा एमालेले केही बताएको छैन । हात्तिवन रिर्सोटमा भएको छलफल र गतिरोध अन्त्यका लागि भोली बस्ने तीन दलको बैठकमा पार्टीले खेल्ने भूमिकाका विषयमा एमाले शिर्ष नेतृत्वले आज छलफल गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा एमालेका शिर्ष नेतृत्वबीच आज विहान छलफल भएको हो । बैठकमा सहभागि एमाले नेता भरतमोहन अधिकारीले भोली हुने तीन दलको बैठकमा कसरी सहमती कायम गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल र स्थायी समिति सदस्य भरतमोहन अधिकारीको सहभागिता रहेको थियो ।आन्तरिक छलफल गरे लगत्तै एमाले अध्यक्ष झलनाथ खनाल र नेता भरतमोहन अधिकारीले कांग्रेस सभापति सुशिल कोइरालासाग छलफल गर्नु भएको थियो ।