News

Dec 9, 2010

लिम्बुवान नभएसम्म महिनाको १५ गते लिम्बुवान बन्द हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ, फोटोः दिलकुमार लावती
मंसिर १४, नेपालको संघीय गणतान्त्रिक आन्दोलनलाई सहयोग गर्दै आदिवासी जनजाति आन्दोलनलाई राजनीतिक रुपमा उठान र नेतृत्व गरिरहेको सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको गत असोजमा सम्पन्न तेस्रो विस्तारित बैठककको निर्णयानुसार मङ्सिर १५ गते लिम्बुवान बन्द हुने भएको छ ।मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीयता, गणतन्त्र, जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वशासन र आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्तता तथा आदिवासी जनजातिका अधिकारहरुको सवैधानिक सुनिश्चितताका लागि सरकारलाई लिम्बुवानका नौ जिल्ला र उपत्यकाबाटसमेत ज्ञापन-पत्र बुझाउँदा पनि कुनै सम्बोधन नभएपछि मंसिर १० गते लिम्बुवानभरि हजारौं कालो झण्डा गाड्दै मंसिर १४ गते साँझ लिम्बुवानका सबै जिल्लामा मसाल जुलुश प्रदर्शन गरेर मंसिर १५ गतेबाट लिम्बुवान नभएसम्म प्रत्येक महिनाको १५ गते लिम्बुवान बन्दको आन्दोलन घोषणा गरेको छ । परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक' द्वारा हस्ताक्षरित विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष नेपालमा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको अरुणपूर्व नौ जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, ताप्लिजोङ, पान्थर र इलामलाई लिम्बुवान स्वायत्त राज्य घोषणा गरिनुपर्ने; लिम्बुवान र राज्यबीच २०६४ फागुन १८ गते भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्नुपर्ने; ILO महासन्धि १६९ र UNDRIP तत्काल लागू गरिनुपर्ने माग राखेको छ । त्यसैगरी, लिम्बुवानको जल, जङ्गल र जमिनमाथिको शोषण र हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने; कोशी उच्च बाँधको निर्माण कार्य तुरुन्त रोक्नुपर्ने; लिम्बुवानबाट सङ्कलन गरिएको सम्पूर्ण कर लिम्बुवानमै खर्च गरिनुपर्ने; पहिले लिम्बुवानको सुनिश्चित गरेर मात्र मतदाता नामावली सङ्कलन गरिनुपर्ने माग राखेको छ । साथै, लिम्बुवान परिषदले संविधान सभा अध्यक्षको नालायकीपनले गर्दा लिम्बुवानबाट समानुपातिकमा सिफारिस गरी पठाइएका सभासद राजकुमार नाल्बोले पदीय मर्यादा विपरीत चलखेल गर्ने मौका पाइरहेकोमा ती गद्दार सभासदलाई तुरुन्त पदबाट बर्खास्त गरिनुपर्ने माग राख्दै न्यायोचित राजनीतिक आन्दोलनलाई सफल पार्न देश विदेशमा रहेका सम्पूर्ण जनसमुदायलाई साथ सहयोग गर्न समेत अपील गरिएको छ ।

लिम्बुवानको 'जय लिम्बुवान' फिल्म हङकङमा प्रदर्शन हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,नबराज काम्बाङ्/ हङकङ
२१ डिसेम्बर २०१०/ ऐतिहासिक लिम्बुवान प्राप्तिको लागि सहयोगार्थ स्वरुप र लिम्बुवानी आन्दोलनलाई थप उर्जा दिने उद्येश्यले लिम्बुवान भूमिको ऐतिहासिक नेपाली कथानक चलचित्र जय लिम्बुवान अब चाडै हङकङमा प्रदर्शन हुने भएको छ । जय लिम्बुवान फिल्म यही २७ डिसेम्बर २०१० सोमबारका दिन हेन्री जि लेवङ, याउ मा तेइ कम्युनिटी हलमा साँझ ६:३० बाट १० बजेसम्म प्रदशनका लागि अन्तिम गरिएको छ । आमा फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा आदिवासी जनजातिको हकअधिकार ILO महासन्धि १६९ र UNDRIP तथा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान स्वायत्त राज्यको मागलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । यस फिल्मले लिम्बुवान के हो तथा किन र कसरी लिम्बुवानको आन्दोलन हुँदैछ भन्ने सवालमा जानकारी दिनेछ । यसमा अरुणपूर्व मेचीवारि लगायतका लिम्बुवाननी गीतहरु पनि भएकोले दर्शकलाई भरपुर मनोरञ्जनसमेत दिनेछ । साथै, फिल्ममा कलाकारहरु जातीय मुक्तिका लागि बलिदानीपूर्ण भावनाले समर्पित छन् । जय लिम्बुवान फिल्मका प्रमुख कलाकारहरु प्रेम सुब्बा, पुष्कर श्रेष्ठ, सानुबाबा सुब्बा र मौसमी मल्लका साथमा अन्य लिम्बुवानी कलाकारहरु पनि रहेका छन् । यस फिल्मको निर्माण विशेन्द्र चेम्जोङ र निर्देशन अशोक चेम्जोङबाट भएको हो । फिल्म प्रदर्शनको विभिन्न सूचना र पोष्टर पम्प्लेटिङ गर्दै सिट सिमित भएकोले यथासीघ्र टिकट लिई सिट सुरक्षित गर्न सम्पूर्ण हङकङवासी नेपालीहरुलाई अनुरोधसमेत गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा आज पनि प्रर्दशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २३ - प्रहरी नियन्त्रणमा रहेका आफ्नो सहकर्मी रिहाइको माग गर्दै विद्यार्थीले चावहिल स्थित पशुपति क्याम्पस अगाडि प्रर्दशन गरिरहेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको बिरोधमा उत्रिएका विद्यार्थीसँग मंगलबार भएको झडपमा प्रहरीले स्ववियु उपसभापति सहित ९ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बुधबार अपरान्ह्र सम्म रिहाई गर्ने जनाए पनि अझैसम्म नियन्त्रणमा राखेको भन्दै विद्यथीले प्रर्दशन गरेका हुन् । यसैबीच ग्यास विक्रेता माहासंघले बबहरमल स्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । बिहान १० बजे सुरु घेराउ कार्यक्रम मध्यान्ह्र १२ बजे सम्म जारी रहने महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए ।
यसैगरी, पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा पाल्पाका विद्यार्थी संगठनले बिहीबार बिहानैदेखि तानसेन-तम्घास सडक अवरुद्ध पारेका छन् । उनीहरुले सरकार र आयल निगम विरुद्ध चर्को नाराबाजी गर्दै सडक अवरुद्ध पारेका हुन् । विरोध स्वरुप विद्यार्थीले रातो ग्यास सिलिण्डर उल्टो पारी दाउरा बालेर सडकमा प्रर्दशन गरेका थिए । प्रर्दशनमा स्थानीयबासी र व्यापारी पनि सहभागी थिए ।

स्नातक दॊस्रो वर्षको सम्पूर्ण परीक्षा अवरुद्ध हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन विश्वविद्यालयको लापरबाहीका कारण स्नातक तह दोस्रो वर्षको साचालित सम्पूर्ण परीक्षा अवरुद्ध हुने सम्भावना बढेको छ। उपत्यकाका दर्जनबढी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले त्रिविले पटकपटक बिनाकारण परीक्षु सार्ने त्यसका सम्बन्धमा विद्यार्थीहरुलाई समयमै जानकारी नगराउने तथा परीक्षा फारम छुटेका विद्यार्थीको फारम नबुझ्ने अकर्मण्यताका कारण विद्यार्थी संगठनहरु त्रिविको विरोध गर्दै आइरहेकाले परीक्षा प्रभावित हुने सम्भावना बढेको हो।अखिल क्रान्तिकारीको १८औं राष्ट्रिय सम्मेलनको कारण देखाउँदै त्रिविले आज २३ देखि आउँदो मंसिर २९ गतेसम्मको परीक्षा अनिश्चितकालका लागि सारिसकेको छ। मंगलबार उपत्यकाका १३ स्ववियु सभापतिको संयुक्त बैठकले गरेको निर्णयानुसार हिजो बुधबारको परीक्षा अवरुद्ध भएको छ भने त्यसपछिको कुनै पनि परीक्षाहरु साचालन हुन नदिने स्ववियु सभापतिहरुले जनाएका छन्।

परराष्ट्र मन्त्रालयका पाँच कर्मचारी हटाइए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २३ - प्रलोभनमा परी राहदानी बनाउने काममा संलग्न भएको आशंकामा परराष्ट्र मन्त्रालयले मंसिर १५ गते पाँच कर्मचारी हटाएको छ । हटाएका कर्मचारीमा कम्प्युटर अपरेटर दीपेश शर्मा, टेलिफोन अपरेटर सरिता गुरुङ, पियन लक्ष्मी धौराली, महेन्द्र यादव र कपिराम काफ्ले छन् । स्रोतका अनुसार प्रशासन विभाग प्रमुख हरीशचन्द्र घिमिरेले उनीहरूलाई हटाएका हुन् । शर्मा, धौराली, यादव र काफ्लेलाई १० महिनाअघि र गुरुङलाई चार वर्षअघि परराष्ट्रले नियुक्त गरेको थियो । गुरुङलाई पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले टेलिफोन अपरेटरमा नियुक्त गरेका थिए भने बाँकी चार जना उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको कार्यकालमा नियुक्त भएका हुन् । काफ्ले अपांगता भएका व्यक्ति हुन् भने धौराली र गुरुङका बाबु परराष्ट्रमा सवारी चालक छन् । आफ्ना नातेदार नियुक्त गर्न प्रशासन विभाग प्रमुखले उनीहरूलाई हटाएको केही कर्मचारीले दाबी गरेका छन् ।

भारतीय राजदूत राकेश सुदलाई फिर्ता बोलाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २३ - व्यापक अलोचना बढेको भन्दै भारतीय राजदूत राकेश सुदलाई दिल्ली फर्काउन लागिएको छ । एक भारतीय अखवारले बिहीबार प्रकाशित गरेको समाचार अनुसार उनको ठाउँमा विदेश मन्त्रालयका बिशेष सचिव जयन्त प्रसादलाई नियुक्तिको तयारी भइरहेको छ । भारतीय पत्रिका दी टेलीग्राफले माओवादीले भरखरै सरकार संहालेको र नेपालको अबस्था ज्यादै चुनौतीपूर्ण भएको बेला राजदूत सुदले काम सुरु गरेको भएपनि छिट्टै उनको घमण्डी पाराको कार्यशैलीकम कारण अलोचना बढाएको उल्लेख गरेको छ ।
'उनले भारतीय हितको पक्षमा काम गरेको कुरामा शंका नभएपनि त्यहाँ जुनप्रकारको माहोल बनि रहेको छ, त्यसले बेफाइदा गरेको छ' एक उच्च कुटनीतिक अधिकारीको हवाला दिंदै दी टेलीग्राफले लेखेको छ, 'उनको कार्यकालमा नेपालमा सबैभन्दा धेरै भारतको अलोचना भएको छ । राजनीतिक तहबाट मात्र होइन, सडकबाट पनि अलोचना भएको ।'
राजदूत सुदको फिर्ती र प्रसादको नियुक्तिलाई नयाँ दिल्लीले नेपालसंग र खास गरेर माओवादीसंगको सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन चाहेको बुझिनु पर्ने ति अधिकारीको भनाइ रहेको छ ।
प्रधानसेनापति रुक्मागत कटवाल काण्डमा माओवादीले सत्ता छाड्नु परेपछि त्यसको दोष भारत र बिशेष गरेर राजदूत सुदलाई दिंदै माओवादीले राष्ट्रियता बचाउ अभियान नै चलाएको थियो । त्यही समयदेखि सुरु भएको माओवादी र भारत (सुद)बीचको द्वन्द प्रधानमन्त्री निर्वाचन हुँदै गत महिना सोलुखुम्बुमा उनलाई जुत्ता हानिएको घट्नासम्म आइपुगेको छ ।
त्यसैगरी पत्रिकाको न्यूजप्रिन्ट रोक्ने, भारतीय बहुराष्ट्रियता कम्पनीहरुको बिज्ञापन रोक्ने तथा नेपाली मिडियाका बिरुद्धमा बिज्ञप्ति जारी गर्नेसम्मको कामले गर्दा नेपाल भित्र राजदूत सुदको कार्यशैलीलाई लिएर व्यापक अलोचना भइरहेको छ । दी टेलीग्राफका अनुसार प्रसाल पनि यसअघि सुद जस्तै अफगानिस्तानका राजदूत भइसकेका छन् । उनका बाबु इतिहासकार विमल प्रसाद सन् १९९० मा नेपालका राजदूत रहेको र त्यसको राम्रो स्मरण नेपालीमा रहेको पनि उल्लेख गरिएको छ ।

प्रतिशोधको कारबाही भए पनि हामी निरन्तर सूचना लिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, २१ मंसिर,अमेरिकी विदेश मन्त्रालयको सूचना 'लिक' गरेर विश्व हल्लाउने विकिलिक्सका संस्थापक जुलियन पल असान्ज गिरफ्तार भएका छन् । तर, विकिलिक्सले गोप्य दस्ताबेज सार्वजनिक गरिरहने जनाएको छ । सर्वशक्तिमान राष्ट्र अमेरिकाले कूटनीतिक आवरणमा कसरी रणनीतिक सञ्जाल बनाइरहेको छ भन्ने खुलासा विकिलिक्सबाट भएको छ । वेबसाइटले विश्वभर रहेका दुई सय ७० अमेरिकी नियोगबाट विदेश मन्त्रालयले संकलन गरेका दस्ताबेज क्रमशः खुलासा गरिरहेको छ । इराक र अफगानिस्तान युद्धका अन्तरकथा तथा इरान र चीनलगायतका विभिन्न देशबारे अमेरिकाको भित्री धारणा विकिलिक्सबाट छरपस्ट भएका छन् । विभिन्न देशबारे अमेरिकाको वास्तविक धारणा छरपस्ट भएपछि विकिलिक्सविरुद्ध अमेरिका आक्रोशित भएको छ भने कयाँै देश अमेरिकालाई साथ दिँदै असान्जविरुद्ध खनिएका थिए । यही क्रममा स्विडेनले यौन दुव्र्यवहारको पुरानो मुद्दामा असान्जविरुद्ध गतसाता इन्टरपोलमार्फत वारेन्ट जारी गरेको थियो ।
स्विडेनले जारी गरेको वारेन्टबारे जानकारी लिन असान्ज आफ्ना वकिलका साथ मंगलबार लन्डन प्रहरीमा गएका थिए । त्यहीँबाट उनलाई पक्राउ गरिएको हो । उनले स्विडेनमा रहँदा दुई महिलालाई यौन दुव्र्यवहार गरेको आरोप छ । तर, असान्जले भने यसबारे यसअघि नै प्रष्टीकरण दिइसकेका छन् । 'स्विडेनमा रहँदा दुई महिलासँग यौनसम्पर्क भएको हो, तर सहमतिमा,' उनले भनेका छन् ।
तर, एउटी महिलाले असान्जले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । यो विषयमा प्रारम्भिक छानबिनपछि बेलायती प्रशासनले असान्जलाई स्विडेनसमक्ष सुपुर्दगी गर्ने भएको छ । तर, उनका वकिलहरूले स्विडेनले पर्याप्त आधारसमेत नदेखाई वारेन्ट जारी गरेको दाबी गरेका छन् ।
आफ्ना संस्थापकविरुद्ध प्रतिशोधात्मक कारबाही भएको भन्दै विकिलिक्सले दस्ताबेज सार्वजनिक गर्न नछाड्ने घोषणा गरेको छ । विकिलिक्सले आफूलाई प्राप्त दस्ताबेज विभिन्न सञ्चारमाध्यमबाट प्रसार गर्ने तयारी यसअघि नै पूरा गरिसकेको छ ।
असान्जले यसअघि नै दुई सयभन्दा बढी गोप्य वेबसाइट बनाई अमेरिकी गोप्य दस्ताबेज 'अपलोड' गरिसकेका छन् । विकिलिक्सजस्ता कयौँ वेबसाइट बन्द गरिए पनि त्यस्ता थुप्रै वेबसाइटबाट सूचना आइरहने भएको छ । विकिलिक्सले आफूलाई सहयोग गर्न र बलियो बनाइराख्न प्रशंसकसँग आग्रह गरेको छ । जवाफमा लाखौँ प्रशंसकले विकिलिक्सलाई प्रोत्साहित गरिरहेका छन् ।
अमेरिकी विदेश मन्त्रालयका दुई लाख ५१ हजार दस्ताबेजसम्म पहुँच पुर्‍याउने र तिनलाई विश्वसामु पुर्‍याउने जुलियन असान्ज विद्यालयको ढोका पनि नकुल्चेका व्यक्ति हुन् । धेरै जान्ने भए सम्पत्तिमा लोभ गर्छन् भनेर बाबुआमाले नै पढ्न नदिए पनि असान्ज आफैँ यस्ता असाधारण व्यक्ति साबित भए, जसले कम्प्युटर, वेबसाइट र ह्याकिङमा अहिलेसम्म नगरेको काम गरे ।