News

Sep 2, 2011

माओवादी र मधेसी मोर्चा बिचको मन्त्रिमण्डल विस्तार अनिश्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १६,मन्त्रिमण्डल विस्तार गर्नेबारे माओवादी र मधेसी मोर्चाका नेताबीच केही समयअघिमात्र बैठक सकिएको छ। आजै मधेसी मोर्चाको बैठक बस्ने र उसको निर्णयपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने भनिए पनि यो काम भने अनिश्चित देखिएको छ। सत्ता साझेदार दुई दलको उक्त बैठकमा यसअघि भाग लगाइएका केही मन्त्रालय साटफेर गर्ने र कति जना उपप्रधान मन्त्री राख्‍ने भन्नेबारे सहमति भएको बताइएको छ तर कुन कुन मन्त्रालय साटफेर हुने भयो वा कति जना उपप्रधान मन्त्री हुने भए भन्ने जानकारीचाहिँ दिइएको छैन। एकातिर माओवादीले सरकारमा पठाउने मन्त्रीहरु नै निश्चित भइसकेको छैन भने मोर्चाका ५ तिर फर्किएका ५ घटकबीचको सहमति पनि सहज छैन। मोर्चाका प्रत्येक घटकका नेता आफू उपप्रधान मन्त्री वा त्यो नपाए 'कमाउ' मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका छन्। त्यसभित्र पनि सबै नेता-सभासद् मन्त्री हुनैपर्ने अडानमा छन्। सबैलाई चित्त बुझाउन सक्ने अवस्था मोर्चामा देखा परेको छैन। यही कारण मोर्चाले मन्त्रीको नाम निश्चित गर्ने काम पक्कै सहज छैन। मन्त्रीमा नपर्ने मोर्चाका सदस्य तत्कालै पार्टी फुटाउन लागिपर्ने भयले पनि नेताहरु सताइएका छन्। विगतका घटना र अभ्यासले उनीहरु अहिले नै त्रसित छन्। उता पार्टी निर्णयविपरित माओवादी लडाकुको हतियार राखेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाएकामा सङ्घर्षसमेत घोषणा गरिसकेको माओवादी उपाध्यक्ष वैद्य पक्षले आफूहरु सरकारमा सामेल नहुनेसमेतको निर्णय गरिसकेको छ। यस्तो अवस्थामा तत्कालै मन्त्रिमण्डल विस्तार हुने सम्भावना निकै कम छ।

बलात्कार गरेर भिडियो क्लिप सार्वजनिक गर्नेहरु पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, भदौ १६- सुर्खेतको काँक्रेविहार जङ्गलमा एक युवतीमाथि सामूहिक बलात्कार गर्ने अपराधमा संलग्न तथा मतियारमध्ये एक महिला र दुई पुरुषलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। एक युवतीलाई बलात्कार गर्दै गरेको अश्लील भिडियो क्लिप सार्वजनिक भएपछि घटनामा संलग्न व्यक्तिमध्येका महिला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। क्षेत्रीय प्रहरी कार्यालयलमा बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले बलात्कारमा संलग्न लाटीकोइली- ८ का सरोज जिसी र बलराम रावतलाई सार्वजनिक गरेको छ। उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीको भनाइ छ। क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी पार्वती थापाका अनुसार सामूहिक बलात्कारको घटनामा रावल र जिसीसहित लाटीकोइली- ८ का भोला भनिने अनन्तराज मानन्धर, लाटीकोइली- २ बामेखोलाका कृष्ण डाँगी, हेमराज गिरी संलग्न थिए। प्रहरीले घटनाका मुख्य योजनाकार सीता चन्द रावतलाई बिहीबार पक्राउ गरेको जनाएको छ। डिआइजी थापाका अनुसार घटनामा संलग्न व्यक्तिहरुले पीडित युवती र परिवारलाई घटना बाहिर ल्याए ज्यान मार्ने धम्की दिएका थिए। पीडित युवतीलाई पीडकहरुले अपहरण गरेर सुर्खेतको मैनतडा- ८ की ममता कार्कीको घरमा लुकाइराखेको अवस्थामा बुधबार उद्धार गरेको थियो।
'घटनामा संलग्न रावत र जिसीले दिएको सूचनाका आधारमा युवतीलाई मैनतडा- ८ की ममता कार्कीको घरबाट उद्धार गरेर ल्याएका छौं', डिआइजी थापाले भन्नुभयो- 'उनी एकदमै कमजोर छिन्, मानसिक रुपमा अस्वस्थ छिन् र त्रसित छिन्।'युवतीलाई अपहरण तथा शरीर बन्धक बनाई काँक्रेविहार जङ्गल क्षेत्रको जन्तीसाल भन्ने स्थानमा अनन्त, हेमराज, कृष्णले पालैपालो जबरजस्ती करणी गरेको र बलराम र सरोजले उक्त कार्यमा सहयोग गरेको प्रहरीको भनाइ छ। जबरजस्ती करणी गरिरहेको भिडियो अनन्तराज मानन्धरले खिचेको प्रहरी अनुसन्धानबाट खुलेको छ। भिडियो ब्लू टुथ, मेमोरिकार्ड, सिडी र इन्टरनेटमा समेत सार्वजनिक भएपछि मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा १३ वटा अधिकारवादी सङ्घसंस्थाले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीमा घटनाको सत्यतथ्य पत्ता लगाई दोषीहरुमाथि कानुनी कारबाहीको माग गरिएको छ।
'घटना जघन्य छ, हामी घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्छौं', डिआइजी थापाले भनिन् -'संलग्न जो कोहीलाई पनि छोडिन्न।'उनले पक्राउ परेकाहरु विरुद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा चलाइने बताइन् 'युवती अत्यन्तै त्रसित छिन्, उनी बोल्नसक्ने अवस्थामा पनि छैनन्, हामीले उद्धार गरेर सुरक्षित राखेका छौं।'प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार सीताले 'तिमी गरिब छौं, मुद्दा लड्न सक्दैनौँ। यो घटना बाहिर कसैलाई नभन्नु' भनेकी थिइन्। भिडियो क्लिप बजारमा छ्यापछ्याप्ती भएपछि पीडित युवतीलाई अपहरण गरेर एक साताअघि मैनतडा पुर्‍याइएको थियो।

Sep 1, 2011

माओवादी सचिव गजुरेल पनि उपप्रधान मन्त्रीको सूचीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १५,वर्तमान सरकारको मुख्य साझेदार मधेसी मोर्चाले मानेमा माओवादीबाट सचिव सीपी गजुरेल पनि उपप्रधान मन्त्री हुने भएका छन्। उसले मानेमा आफू उपप्रधान तथा परराष्ट्र मन्त्रीको जिम्मेवारमा रहने जानकारी गजुरेल नै दिएका हुन। रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन। गजुरेलले पार्टीभित्र सबै पक्षलाई ध्यानमा राखेर सरकारमा पठाउने र त्यसैअनुरुप कार्य विभाजनसमेत हुने पनि स्पष्ट पारे। अर्कोतर्फ प्रधान मन्त्री बाबुराम भट्टराई र उपप्रधान मन्त्री विजयकुमार गच्छदारले बिहीबारसम्म मन्त्रिपरिषद् गठन भइसक्ने बताए पनि दुवै पार्टीमा यसबारे विवाद साम्य हुन सकेको छैन। माओवादी अध्यक्षले आफ्नो पार्टीबाट मन्त्री हुनेहरुको नाम टुङ्गो लगाउन सकेका छैनन् भने मधेसी मोर्चामा पनि मन्त्री को हुने भन्ने विषयमा तीब्र विवाद चुलिएको छ। खासगरी कमाइ हुने मन्त्रालय ताक्ने र त्यसमा पनि यही व्यक्ति हुनुपर्छ भन्ने अडानका कारण मन्त्रीहरु तोकिन नसकेका हुन। दुवै पार्टीमा मन्त्री चयनका लागि व्यापक बहस र छलफल जारी छ। तर यो यतिबेलासम्म टुङ्गिन्छ भन्ने अनुमानचाहिँ गर्न सकिने अवस्था छैन।

अमेरिकी सेनाको लागी अगष्ट महिना सबैभन्दा दुर्भाग्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अफगानिस्तानमा एक दशक देखि सक्रिय अमेरिकी सेना तर्फ यो वर्षको अगष्ट महिना सबैभन्दा धेरै क्षतिको महिना बनेको छ । यो हप्ता मात्र ६६ जना अमेरिकी सेना विभिन्न घटनामा मारिएका छन् । जसमध्ये तालिवान विद्रोहीले अमेरिकी हेलिकप्टरमा गोली हानी ३० जना अमेरिकी विशेष सेना नेभी सिलका सदस्य मारेको घटना उल्लेख्य मानिएको छ । यो वर्षको पछिल्ला आठ महिनामा मात्रै ३ सय ६ अमेरिकी सेना मारिएका थिए । गत महिना नेटोका नयां कमाण्डर नियुक्त जनरल जोन एलेनले अफगानिस्तानमा गठबन्धन सेनाका लागि चुनौतिहरु प्रशस्त रहेको बताएका थिए । अमेरिकाले यो वर्ष १० हजार, अर्को वर्ष २३ हजार आफ्ना सेना अफगानिस्तानबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ । अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सुरक्षाकर्मीलाई सुम्पिई त्यहांबाट सन् २०१४ मा सबै विदेशी सेना स्वदेश फर्कने अनुमान गरिएको छ ।

सद्‍भावना आनन्दीदेवी फुट्यो, संविधान सभामा ३२ औं दल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १५,नेपाल सद्‍भावना पार्टी आनन्दीदेवी फुटेको छ। दुई सभासद्‍ रहेका यो दलका एक सभासद् मोतिलाल दुगड नवनेपाल निर्माण पार्टी खोलेर अलग्गिएका हुन। यो पार्टीसहित अब संविधान सभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या ३२ पुगेको छ। आनन्दीदेवीमा भने सरिता गिरीमात्र सभासद्‍ रहेकी छिन्। दुगडले आफूले नयाँ पार्टी निर्माण गरेको सूचना ३ बजेर १० मिनेटमा सभामुख सुवासचन्द्र नेम्वाङलाई गराएका थिए। यसरी नयाँ दल निर्माण गरेपछि सभामुखलाई जानकारी गराउनुपर्ने नियम छ।

थरुहट बन्दको कारण जनजिवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिभिन्न माग राख्दै थरुहट तराई पार्टीले आव्हान गरेको बन्दको कारण जनजिवन प्रभावित भएको छ । संविधानसभा खारेज गर, ताजा जनादेश लिन चुनाव गर लगायत आठ सूत्रीय माग राख्दै थरुहट तराई पार्टीले बिहीबारबाट दुई दिने थरुहट प्रदेश बन्दको आव्हान गरेको हो । बन्दका कारण विहानै देखि बर्दियाको जनजिवन प्रभावित बनेको छ । यहाँबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । त्यसै गरि गुलरिया, राजापुर, भुरीगाउँ, बासगढी, मैनापोखर लगायतका पसल बन्द छ्न् भने बन्दको असर शिक्षण संस्थान, कलकारखानामा परेको छ । बिहीबार राति थरुहटका कार्यकर्ताले राजापुरमा मशाल जुलुस प्रदर्शन गरेका थिए ।

नाइजेरियामा बाढीका कारण १ सय २ भन्दा बढीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नाइजेरियाको दक्षिण पश्चिमी शहर इवादानमा भीषण वर्षा पछि आएको बाढीका कारण १ सय २ भन्दा बढीको मृत्यु भएको छ । मर्नेहरुमा अधिकांश बालबालिका रहेको नाइजेरियाली रेडक्रसले जनाएको छ । २ हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीका कारण पुलहरु भत्किनुका साथै धेरै घर बगाएको अधिकारीहरुले जनाएका छन् । नाइजेरियामा वर्षाको समयमा बाढीको घटना सामान्य मानिन्छ । गत वर्ष मात्र त्यहां बाढीका कारण ५ लाख मानिस विस्थापित भएका थिए ।