News

Sep 3, 2011

बल्ल मिल्यो मधेसी मोर्चाको मन्त्रालय भागबण्डा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १७ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शनिबार मन्त्रालय भागबण्डामा सहमति भएको छ ।शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवास ठिमीमा बसेको मोर्चाको बैठकले मन्त्रालय बाँडफाट गरेको हो । 'अब मन्त्रालयको कुरा मिल्यो,' बैठकपछि फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले भने, 'राष्ट्रपतिलाई जानकारी नगराएसम्म सवै भन्न मिल्दैन ।'

मोर्चा 'मनाउन' दुई मन्त्रालय फुटाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १७ -सत्ताको प्रमुख घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको चित्त बुझाउन प्रधानमन्त्री बाबुराम भट्टराईले भौतिक योजना तथा निर्माण र कृषि तथा सहकारीलाई फुटाएर दुई मन्त्रालय बढाउने सहमति गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसमेत सहभागी शुक्रबार अपराह्न मोर्चासँगको बैठकमा भट्टराई मन्त्रालय संख्या बढाएर २८ पुर्‍याउन तयार भएका हुन्। नयाँ गठन हुनेमध्येबाट मोर्चालाई एउटा मन्त्रालय थप्ने सहमतिपछि मोर्चा र माओवादीबीच मन्त्रालय भागबन्डामा देखिएको विवाद सल्टिएको छ। 'आवास तथा भौतिक योजना र कृषि तथा सहकारी मन्त्रालय फुटाएर मोर्चालाई यसअघिको सहमतिबाहेक थप एक मन्त्रालय दिन माओवादी तयार भएको छ,' फोरम लोकतान्त्रिकका मुख्य सचेतक रामजनम चौधरीले नागरिकसँग भने, 'मोर्चाले पाएको थप एक मन्त्रालय फोरम गणतान्त्रिकलाई हो।' जयप्रकाशप्रसाद गुप्ताले नेतृत्व गरेको फोरम गणतान्त्रिकले उपप्रधानमन्त्री नपाए सरकारमा सहभागी नहुने अडान राखेपछि बदलामा एउटा मन्त्रालय थप्ने सहमति भएको हो। यसअघि माओवादीसँग गुप्ता नेतृत्वको फोरम गणतान्त्रिकलाई दुई मन्त्रालयसहित मोर्चालाई ११ मन्त्रालय दिने सहमति भएको थियो। नयाँ सहमतिअनुसार माओवादीले ११, मोर्चाले १२, फोरम नेपाललाई दुई र बाँकी मन्त्रालय अरू साना दललाई बाँडिनेछ।

उपप्रधानमन्त्रीको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई नै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १७ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको शुक्रबारको बैठकले उपप्रधानमन्त्रीको दाबी छोड्दै यसबारे प्रधानमन्त्रीलाई नै निर्णय गर्न दिने निष्कर्ष निकालेको छ । मोर्चाले आफ्नो निष्कर्षको जानकारी प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समेत गराएको छ । भौतिक योजना मन्त्रालयमा तमलोपा र सदभावना पार्टीले आफ्नो अडान कायमै राखेपछि मन्त्रालय बाँडफाँडबारे भने शुक्रबारको बैठक पनि अनिर्णीत रह्यो । 'मोर्चाले कसैका लागि पनि उपप्रधानमन्त्री दाबी नगर्ने निर्णय गरेको छ,' स्रोतले भन्यो, 'उपप्रधानमन्त्री बनाउने/नबनाउने निर्णयको जिम्मा प्रधानमन्त्रीमै छाडेको छ ।' प्रधानमन्त्रीले आवश्यकता हेरेर गर्ने निर्णयमा मोर्चा सहमत हुने निर्णयसमेत गरेको छ । शुक्रबारको बैठकमा पनि मोर्चाभित्र सबैभन्दा बढी गतिरोध भौतिक योजना मन्त्रालयकै विषयमा भयो । उक्त मन्त्रालयमा तमलोपा, तमलोपा नेपाल र सद्भावना पार्टीले दाबी जारी राखेका छन् । 'तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले उक्त मन्त्रालय नपाए सरकारमा नजाने अडान कायमै राखेका छन् भने सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि आफूले एक मात्र मन्त्रालय पाउने भएकाले रोज्ने अधिकार आफ्नै हुनुपर्ने बताएका छन्,' स्रोतले भन्यो, 'बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले भौतिक योजना मन्त्रालयमा त्रिपाठीको नाउँ प्रस्तावित भएको भन्दै आफूले यसमा कुनै विकल्प दिन नसक्ने बताएका थिए ।' सद्भावना अध्यक्ष महतोले पनि उक्त मन्त्रालयमा अडान कायमै राखेपछि बैठक अनिणर्ीत भएको थियो । मोर्चाले मन्त्रालय बाँडफाँडबारे गृहकार्यको अन्तिम समयसीमा शनिबारसम्म तोकेको छ । 'भोलि सहमति/असहमति जे भए पनि मोर्चाको तर्फबाट अन्तिम नामावली प्रधानमन्त्रीसमक्ष पठाइनेछ,' स्रोतले भन्यो, 'पर्सि बिहान शपथ ग्रहण हुनेछ ।'स्रोतअनुसार माओवादीले मोर्चालाई तीनवटा मन्त्रालय पछि विभाजित गर्ने जानकारी दिएको छ । भौतिक योजनामा सहरी विकास छुट्टै मन्त्रालय बन्ने, कृषि तथा सहकारीबाट सहकारीलाई छुट्टयाएर सहकारी तथा लगानी मन्त्रालय बनाइने र संघीय मामिला तथा संस्कृति मन्त्रालयबाट संस्कृति छुट्टै मन्त्रालय बन्ने पनि स्रोतले जनायो ।

राज्य पुनर्संरचना आयोगका विषयमा दलहरुबीच कुरा मिलेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १७ - राज्य पुनर्संरचना आयोग बनाउनुपर्ने अडानबाट कांग्रेसपछि नहटेपछि त्यस विषयमा दलहरुबीच सहमति हुन सकेको छैन । संविधानमा देखिएको विवाद समाधान उपसमितिको लामो समयपछि बसेको बैठकमा दलहरुबीच आयोग गठन वा विज्ञहरुको समूह बनाउने विषयमा कुरा मिल्न सकेन ।संविधानमा देखिएको विवाद समाधान उपसमितिको लामो समयपछि बसेको बैठकमा कांग्रेसले संवैधानिक व्यवस्था अनुसार आयोग गठन गरिनुपर्ने आफ्नो पूर्व अडानमा अडिग रह्यो । माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच संविधान निर्माणका लागि समय कम भएकाले आयोग गठन नगर्ने सहमति भइसकेको छ । बीचको बाटोका रुपमा विज्ञहरु सम्मिलित समूह बनाएर राज्य पुनर्संरचनाका विषयमा छलफल गराउन सकिने प्रस्ताव आएपनि कांग्रेसले त्यसलाई स्विकार गरेन । विज्ञहरुको समूह बनाउन माओवादी र एमाले सहमत भएका छन् । कांग्रेसले राज्यको पुनर्संरचनाको विषय गम्भीर भएकाले यसलाई आयोग बनाएर टुंग्याउनुपर्नेमा जोड दिएको छ । कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार नै आयोग गठनको माग गर्दै आएको छ भने माओवादीले राज्यपुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रतिवेदन तयार पारिसकेकाले सुझावका लागि विज्ञ सम्मिलित प्राविधिक सहितको समूह गठन गरिनुपर्नेमा जोड दिएको छ । मधेशवादी दलहरुले आयोग गठनमा असहमति राख्दै आएका छन् । दलहरुबीच राज्यपुनर्संरचना, निर्वाचन प्रणाली र सशाकीय स्वरुपका विषयमा तिव्र मतभेद छ । विज्ञहरुको समूह बनाउने विषयमा उपसमितिका अधिकांश सदस्य सहमत भएपनि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको अनुपस्थितिका कारण निर्णय हुन सकेन । बैठकपछि कांग्रेस नेता बिमलेन्द्र निधिले कांग्रेस आयोग गठनका पक्षमा रहेकाले यस विषयमा पार्टी भित्र थप छलफल गरेर निर्णय लिइने बताए ।

Sep 2, 2011

गोर्खा सैनिकको कोटा कटौती हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १६ - बेलायत सरकारले सन् २०१५ भित्र आफ्नो सैन्य संख्या निश्चित संख्यामा घटाउने भएपछि यो चरणमा १ सय ४० गोर्खा सैनिकको कोटा कटौती हुने भएको छ । बेलायती दूतावासबाट जारी विज्ञप्तिअनुसार सैन्य संख्या कटौती भए पनि नेपालबाट गोर्खा सैनिक भर्तीको क्रम जारी रहने छ । बेलायती सेना ९३ हजार रहेकोमा यस वर्ष ५ हजारलाई विशेष सेवा-सुविधाको प्याकेजसहित कटौती गर्न लागिएको हो । कटौतीमा परेकालाई सामान्य नागरिक जीवनमा प्रवेश गर्न एक वर्ष अवधि दिइएको छ ।

साँचो प्रकरण नसच्याए गम्भीर क्षति बेहोर्नुपर्ने वैद्य पक्षको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १६- एकीकृत नेकपा (माओवादी) का अध्यक्षले साँचो हस्तान्तरण पार्टी निर्णयअनुरुप नै भएको बताएलगत्तै स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले पार्टी नेतृत्वले पार्टी निर्णयविपरीत माओवादी सेनाका लडाकुको हतियार राखिएको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने कार्य गरेको दाबी गरेका छन्। शुक्रबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा नेता चन्दले साँचो बुझाइने निर्णय कहीँ कतै नभएको दाबी गर्दै भने– यही भदौ ८ गते पाँचबुँदे प्रस्ताव सार्वजनिक गर्नुअघि बसेको स्थायी समिति बैठकमा साँचो भन्ने शब्द राख्‍ने/नराख्‍ने भन्नेमा लामो छलफल भएको हो, तर पछि साँचो बुझाउने भन्ने शब्द राखिएन। साँचो बुझाउने निर्णयविरुद्ध आफूहरुले साङ्केतिकरुपमा आन्दोलन सुरु गरेको बताउँदै उनले सो निर्णय नसच्याए पार्टीले गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिए। पार्टी सैन्य विभाग प्रमुख तथा महासचिव रामबहादुर थापा र उपाध्यक्ष मोहन वैद्यलगायत कसैलाई पनि जानकारी नदिई एकलौटीरुपमा साँचो बुझाउने निर्णय गरिएको चन्दको दाबी थियो। पार्टी स्थायी समितिको बैठक बोलाउने जिम्मा महासचिव थापाको भए पनि महासचिवलाई नै जानकारी नदिई आज स्थायी समिति बैठक बोलाइएकाले शुक्रबारको बैठकमा आफूहरु नगएको चन्दले बताए।

योजना आयोगका उपाध्यक्षसहित दुई सदस्यले राजीनामा दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १६ - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले शुक्रबार राजीनामा दिएका छन् । उनीसँगै आयोग सदस्यद्वय डा. प्रेम कुँवर र रामकुमार शर्माले राजीनामा दिए । उपाध्यक्ष डा देवकोटाले आयोगमा पत्रकार सम्मेलन गरी आफूले वर्तमान सरकारलाई काम गर्न सहज परिस्थिति सिर्जना गर्न राजीनामा दिएको बताए । राजीनामा दिनेबारे शुक्रबार नै प्रधानमन्त्री बाबुराम भट्टराईलाई जानकारी गराएको उनले बताए ।गोरखा निवासी देवकोटा जेठ तेस्रो साता योजना आयोगको उपाध्यक्ष नियुक्त भएका हुन् । त्यसअघि भने उनी आयोग सदस्य थिए । एमाले निकट उनलाई झलनाथ खनाल नेतृत्वको सरकारले नियुक्त गरेको थियो । पत्रकार सम्मेलनमा उपाध्यक्ष देवकोटाले ३१ महिने आफ्नो कार्यकालमा मुलुकको विकासका लागि २० वर्षे दृष्टिकोणको खाका तयार पारेको, बबइ डाइभर्सन, माथिल्लो तामाकोसी, मध्यपहाडी लोकमार्गलगायतको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे ।