News

Sep 20, 2011

भक्तपुरमा दुई युवक एक थान पेनगन सहित पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुरमा दुई युवक एक थान पेन गन सहित पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीले मध्यपुर थिमी-१६ स्थित नरेफाँटबाट बारा अमरपट्टीका रामविश्वास चौधरी र रौतहट लक्ष्मीनियाका विजय चौधरीलाई पेन गन र त्यसमा प्रयोग हुने पाँचवटा गोलीसहित सोमबार सार्वजनिक गरेको हो । वृत्तका प्रमुख राज अधिकारीले ती दुवैजनालाई गत शुक्रबार पक्राउ गरिएको बताए । उनीहरुले भारतबाट बिक्रीका लागि पेनगन र गोली ल्याएको बयान प्रहरीलाई दिएका छन् ।

प्रधानमन्त्री न्युयोर्कमा, मुनसँग ब्रेकफास्ट, ओबामासँग डिनर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ३,राष्ट्रसंघीय महासभामा सहभागी हुन १३ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई आज बिहान न्युयोर्क पुगेका छन्। स्थानीय समय अनुसार दिउँसो ३ बजे जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको टोलीलाई राष्ट्रसंघीय नियोगका स्थायी प्रतिनिधि लगायत दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए। न्युयोर्कमा महासभा बैठक मंगलबारदेखि सुरु हुँदैछ। प्रधानमन्त्रीको सम्बोधन भने शुक्रबार छ। प्रधानमन्त्री भट्टराईले मंगलबार नर्वेका प्रधानमन्त्री र क्युबाका विदेशमन्त्रीसित भेट्दैछन्। त्यसैगरी उनले वासिङटन पोस्टलाई अन्तर्वार्ता दिँदैछन्। त्यसैगरी स्थानीय समय अनुसार साँझ साढे छ बजे उनी हायात होटलमा रिसेप्सनमा सहभागी हुनेछन्। बुधबार उनले भुटानी प्रधानमन्त्री, श्रीलंका र बोलिभियाका राष्ट्रपतिलाई भेट्ने छन्। त्यसैगरी बिहान राष्ट्रसंघका महासचिव बान कि मुनसँग ब्रेकफास्ट गरी बेलुकी अमेरिकी राष्ट्रपतिको रात्रीभोजमा सहभागी हुनेछन्। त्यसैगरी बिहीबार उनले स्लोभानियाका राष्ट्रपतिसँग भेट्ने कार्यक्रम छ। त्यही दिन उनले कनेक्टिकटमा आफ्ना बाल्यकालका गुरुसँग निजी भेट पनि गर्दैछन्।
शुक्रबार उनले फिनल्यान्डका राष्ट्रपति, माल्दिभ्सका उपराष्ट्रपति, मौरिससका प्रधानमन्त्री र अमेरिकी उपमन्त्रीसँग भेट्ने छन्। यही दिन न्युस्कूलमा उनले मार्क्सवाद सम्बन्धी प्रवचन दिनेछन्। शुक्रबारको पहिलो सत्रमा उनले राष्ट्रसंघमा सम्बोधन गर्नेछन्। यही दिन उनले भारतीय प्रधानमन्त्री र चिनियाँ टोलीसँग पनि भेट्नेछन्। शुक्रबार राति पौने १२ बजे उनी नेपालका लागि प्रस्थान गर्नेछन्।

फरार सभासद् शिवपूजन राय यादव पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा मधेशी जनअधिकार फोरम नेपालका सभासद् शिवपूजन राय यादव पक्राउ परेका छन् । हिजो साँझ केन्द्रीय अनुसन्धान व्युरोको टोलीले सभासद् यादवलाई काठमाडौंको छाउनीबाट पक्राउ गरेको हो । आफ्नो कूटनीतिक राहदानी अर्को व्यक्तिलाई दिएर दुरुपयोग गरेको प्रमाण फेला परेपछि यादव विगत तीन महिनादेखि फरार थिए । सभासद् यादवको राहदानी प्रयोग गरी म्याग्दीका केदार पौडेल अष्ट्रेलिया पुगेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । यादव संविधानसभाको चुनावमा सर्लाही क्षेत्र नम्बर ६ बाट निर्वाचित सभासद् हुन् । राहदानी दुरुपयोग गरेकै अभियोगमा यसअघि जनता दलकी गायत्री साह, फोरम गणतान्त्रिकका बीपी यादव र एमालेका नारदमुनि थारू चौधरी पक्राउ परिसकेका छन् ।

ताप्लेजुङ साँघुको झडपमा एकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताप्लेजुङ जिल्लाको पश्चिमी साँघु गाविसमा स्थानीयबीच झडप हुँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । झपडमा गम्भीर घाइते भएका साँघु-९ ताम्राङ बस्ने २७ वर्षीय बलबहादुर पन्धाक (लिम्बू) लाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । त्यस्तै, साँघु-९ कै २८ वर्षीय दुर्गा लिम्बू गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ । झडपको खबर पाउनासाथ साँघु चौकीबाट प्रहरी त्यहाँ पुगेर स्थिति साम्य बनाएको र मृत्यु हुने बलबहादुरको साथबाट एकथान इटालियन स्वचालित पेस्तोल र त्यसको गोली पनि बरामद गरिएको प्रहरीले बताएको छ ।

विश्‍वकै जोखिम सूचीमा काठमाडौं

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ३- फागुन अन्तिम साता जापानमा गएको महाभुकम्पका पीडितको सहयोगार्थ नेपालमा स्थापना गरिएको उद्धार कोषमा रकम जम्मा गर्ने अन्तिम समय असोज ९ गते सकिँदै छ। केही दिनअघि काठमाडौंस्थित जापानी दूतावासले बैंक खातामा रकम जम्मा गर्नेहरूको मुक्तकन्ठले प्रशंसा गर्‍यो। जापानको प्रशंसा र सहयोग रकम जम्मा गर्ने म्याद नसकिँदै नेपाल आफैं भुकम्पको चपेटामा परेको छ। उपल्लो ताप्लेजुङ केन्द्रबिन्दु भई आइतबार साँझ गएको ६ दशमलव ८ रेक्टर स्केलको भुकम्पबाट नेपालभित्र मात्रै ७ जनाको ज्यान गइसकेको छ। पहिलो झट्कापछिको २४ घन्टाभित्रै त्यही ठाउँलाई केन्द्रबिन्दु बनाएर १ सय ५० स-साना भुकम्प गएको भुकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिएका छन्।
नेपाल भुकम्पीय दृष्टिले विश्वको ११ औं जोखिम राष्ट्रमा पर्छ। मानवीय क्षति हुनसक्ने विश्व सहरको सूचीमा काठमाडौं पहिलो हो। नेपाललाई अति संवेदनशील राष्ट्र बनाउने यहाँका पूर्वाधार नै हुन्। १९९० र २०४५ सालको भुकम्पले चर्किएका घर अझै उस्तै छन्। तिनैमा मानिस बस्छन्। पुनर्निर्माण गरिएको छैन। घर ढल्न लागेका छन्। तीनतिरबाट टेको दिइन्छ तर बस्न छोडिँदैन। भुइँचालो आफैं जनधनको क्षति गर्दैन। क्षति पुर्‍याउँछ असुरक्षित संरचनाले। अध्ययनले भन्छ - भुइँचालो आउँदा ८० प्रतिशत नोक्सानीको कारक घर हुन्, १० प्रतिशत आकस्मिक स्वास्थ्य सुविधा नपाउनु र १० प्रतिशत आपतकाल व्यवस्थापन गर्ने क्षमताको कमी।
काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिका नगर नियोजन भाइकाजी तिवारीका अनुसार अघिल्लो वर्षसम्म उपत्यकामा मात्र वर्षेनी ८ देखि १० हजार नयाँ घर थपिने गरेका थिए। विभिन्न कारणले अहिले यो संख्या ५ देखि ८ हजारमा झरेको छ। उपत्यकाभित्रको घर संख्या साढे तीनदेखि चार लाखसम्म रहेको अनुमान गरिन्छ। जनसंख्या झन्डै ५० लाख। उपत्यकाभित्रका घर र जनसंख्याको वास्तविक तथ्यांक कसैसँग छैन। सबै अनुमान भरमा चलेको छ। तिवारीका अनुसार उपत्यकाको जनसंख्या प्रत्येक वर्ष १६ प्रतिशत बढेको छ। उपत्यकाभित्रका घरको मापदण्ड जाँच गर्ने जिम्मेवारी पाएको समितिमा अनुगमन गर्ने जम्मा २२ कर्मचारी छन्। एउटा कर्मचारीको भागमा झन्डै १९ हजार घर पर्छ। २२ कर्मचारीले अनुगमन गरेपछि मापदण्ड जाँच गर्ने प्राविधिज्ञ समितिमा जम्मा २ जना छन्। कार्यालयमा काम गर्ने पनि तिनै र मापदण्ड परीक्षण गर्न फिल्डमा जाने पनि तिनै कर्मचारी हुन्।
'उपत्यकामा अधिकांश घर मापदण्डविपरीत बनेका छन्,' समितिका नगर नियोजन तिवारीले भने, 'कसैले नक्सा एउटा पास गर्छन् घर अर्कै तरिकाले बनाउँछन्, कोही मापदण्ड अनुसार त बनाउँछन् तर नक्सामा भएको संरचना केही थपघट गर्छन्।'

नेपालमा भुकम्पीय जोखिम
सन् १९९९ मा राष्ट्र संघीय क्षेत्रीय विकास केन्द्र (युएनसिआरडी) ले भुकम्पीय दृष्टिकोणले संवेदनशील विश्वका २१ सहरको तुलनात्मक अध्ययन गरेको थियो। अध्ययनमा भुकम्प जाने प्रक्रिया, सहरको भौगोलिक बनोट, नागरिकको सचेतता समेटिएको थियो। संवेदनशील सहरमा काठमाडौं पहिलो नम्बरमा देखियो। दोस्रो नम्बरमा रहेको सान्सल्भाडोरभन्दा काठमाडौंको जोखिम दुईगुना बढी रहेको अध्ययनको निष्कर्ष थियो।
राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी) ले सन् २००५ मा तीनवटा ठूला प्राकृतिक उत्पात (भुकम्प, बाढी र चक्रवात) लाई लिएर अध्ययन गर्‍यो। यसबाट उत्पन्न असर र कमजोरी अध्ययन गर्दा भुकम्पीय दृष्टिले ११ औं र बाढीको दृष्टिले ३० औं स्थानमा नेपाल देखियो। सन् २००२ मा जाइकाले तयार पारेको प्रतिवेदन झन् डरलाग्दो छ। जाइकाको प्रतिवेदन भन्छ - परिकल्पना गरिएअनुसार काठमाडौंमा भुकम्प आए काठमाडौं नेपालको राजधानी रहन सक्नेमा शंका छ।
चार-पाँच वर्षअगाडि विश्व बैंकले 'हट स्पट स्टडी' गरेको थियो। विपतको हिसाबले संसारभर यो अध्ययन गरिएको थियो। अध्ययनले नेपाल देखिने किसिमको हट स्पट रहेछ भन्ने निस्कर्ष निकाल्यो। यसैकारण धेरैले नेपाललाई पाइलट कन्ट्रीका रूपमा लिने गरेका छन्।
भौगोलिक कारण पनि नेपाल ठूला भुकम्प आउने राष्ट्रमा पर्छ। हिमालमा भुकम्प जाने सम्भावना बढी हुन्छ र गइरहन्छ। यसकारण नेपाल भुकम्पीय दृष्टिले सधैं घाँटीमाथि तरबार झुन्डिएको अवस्थामा छ। बितेका १ सय २६ वर्षमा नेपाली हिमाली क्षेत्र र यसको वरपर चारवटा महाभुकम्प गइसकेका छन् - सिलोङ (१८८७), काँकडा (१९०५), नेपाल (१९३४) र आसाम (१९५०)।
भारतीय भूखण्ड (प्लेट) र तिब्बतीय भूखण्डको जोर्नीमा छ नेपाल। जोर्नी चलायमान हुन्छ। वर्षको साढे दुई सेन्टिमिटरका दरले भारतीय प्लेट तिब्बती प्लेटभित्र घुसि्रँदैछ। भुकम्प आउँदा प्लेट सर्ने गर्छ। नेपालमा हिमाल बनेको मुख्य कारण यही हो। एक सय वर्षसम्म प्लेट सरेन भने ठूलो भुकम्प आउँछ।
काठमाडौंभन्दा पश्चिम काँगडासम्म तीन सय वर्षयता ठूलो भुकम्प गएको छैन। अर्थात भारतीय प्लेट साढे सात मिटर कुन बेला तिब्बती प्लेटभित्र सर्ने हो, ठेगान छैन। एकपटकमा तीन मिटरमात्र सर्‍यो भने आठ रेक्टरभन्दा ठूलो भुकम्प जान्छ। काठमाडौंपूर्व १९९० सालमा यसरी प्लेट सर्दा ठूलो भुकम्प गएको थियो।
भुकम्प कहिले, कहाँ जान्छ पत्ता लगाउन आजसम्म कसैले सकेको छैन। तर यति रेक्टरसम्मको भुकम्प कुनै पनि बेला जानसक्छ भनी दिर्घकालीन भविष्यवाणी भने गर्न सकिन्छ। यसैको आधारमा नेपालमा ठूलो भुकम्प जाने अनुमान गरिंदै आएको थियो, नभन्दै आइतबार ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गयो।
नेपालमा सन् १२५५ गएको भुकम्प रेकर्ड गरिएको पहिलो ठूलो भुकम्प हो। त्यसयता दस वटा ठूला भुकम्प गएको छ। इतिहासले यही भन्छ- बितेको ७ सय ५५ वर्षमा महाभुकम्पले काठमाडौंलाई ९ पटक थर्काएको छ। ठूला भुकम्पले ६ हजार देखि १० हजार वर्ग किलोमिटरसम्म असर गरेको देखिन्छ। प्रत्येक एकसय वर्षमा नेपालमा एउटा महाभुकम्प गएको इतिहास छ।

भुकम्पले पुर्‍याउने क्षति
भुकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (एनसेट) ले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, पनौती, दमौलीलगायत प्रमुख सहरको अध्ययन गरेको थियो। युएनडिपीले विराटनगर, हेटौंडा, धनगढी, सुर्खेतलगायत सहरको। अध्ययनको निष्कर्ष निकै भयावह छ। सातदेखि आठ रेक्टरको भुकम्प गए सहरमा डेढदेखि दुई प्रतिशत मानिसको मृत्यु हुनेछ। काठमाडौं उपत्यकामा अहिले ५० लाखभन्दा बढी मानिस बस्छन्। अध्ययनलाई आधार मान्ने हो भने काठमाडौंमा मात्र एक लाख मानिसको मृत्यु हुने देखिन्छ। घाइतेको संख्या योभन्दा पाँच दोब्बर हुनेछ। यो आँकडा दिउसो जाने भुकम्पको हो। राति भुकम्प गए अझै ठूलो मानवीय क्षति हुन्छ।
भुकम्पको इन्टेनसिटी (तीव्रता) १ देखि १२ हुन्छ। १२ इन्टेनसिटी धान्ने भवन बनाउन प्रायः असम्भव छ। सामान्य घरले ९ इन्टेनसिटी धान्यो भने गजब मानिन्छ। अस्पताल, विद्यालय, कलेज, विद्युत्, दूरसञ्चार भवन ९ इन्टनसिटीभन्दा बढी धान्ने हुनुपर्छ। तर विडम्बना नेपालमा यस्ता भवन, स्कुल, अस्पताल कम छन्। भवन निर्माणसंहिताले पनि यही भन्छ - आवासगृह ९ इन्टेनसिटी थेग्न सक्ने बनाउनुपर्छ।
एनसेटले नेपालका मुख्य १९ अस्पतालको भुकम्पीय जोखिमका दृष्टिले अध्ययन गरेको थियो। अध्ययनमा प्रत्येक अस्पतालमा केही न केही कमजोरी भेटिएको थियो। आवासगृह, स्कुल, अस्पताल आदिमा संरचनात्मक (भवनको बनोट) र गैरसंरचनात्मक (भवनमा राखिएका सामग्री) दुईथरी कमजोरी छन्।
एनसेटको अध्ययनअनुसार नेपालमा ९० प्रतिशत भवन परम्परागत रूपमा (ठेकेदारको भरमा) निर्माण गरिएका छन्। बाँकी १० प्रतिशत मात्र इन्जिनियर भवन (इन्जिनियरको रेखदेखमा) छन्। आवासगृह मात्र होइन स्कुल, स्वास्थ्यसेवा भवन पनि ठेकेदारको मात्र निगरानीमा बनाइएको छ। नेपालका १० प्रतिशत भवनले मात्र भुकम्प थेग्न सक्छन्, यो पनि अनुमान हो।
काठमाडौंनजिक नौ इन्टेनसिटीको भुकम्प गए यहाँका ६० प्रतिशत घर मर्मत गर्न नसकिने गरी भत्कने एनसेटको अध्ययनले देखाउँछ। काठमाडौंका आधाभन्दा बढी संरचना (विद्युत्, फोन, पुल, सडक) काम नलाग्ने हुने छन्।
घरले 'भर्टिकल लोड' थाम्न सक्छ तर 'होरिजेन्टल लोड' सक्दैन। भुकम्पकले अधिकांश तलमाथि भन्दा पनि दायाँ-बायाँ हल्लाउँछ। तासको घर जस्तै छन् नेपालका घर। घरमा राखिएको बिम र पिलर कमजोर भए घर ध्वस्त हुन बेर लाग्दैन।

कसरी घटाउने जोखिम
विभिन्न प्रकोपका कारण वर्षेनि नेपालमा ११ सय मानिसको मृत्यु हुन्छ। प्रकोपकै कारण वर्षेनि कुल गार्हस्थ उत्पादनको सुन्य दशमलव १ प्रतिशत गुमाउनुपर्छ। वर्षेनि प्रकोपबाट एक अर्ब २० करोड रुपैयाँभन्दा बढी राष्ट्रले गुमाउँदै आएको छ।
सन् २००५ मा जापानको कोबेमा बसेको १ सय ६८ राष्ट्रको बैठकले प्रकोप जोखिम न्यूनीकरण गर्ने पाँच वटा उपाय निकालेको छ। नेपालले यसमा सहभागी भई हस्ताक्षरसमेत गरेको छ। सबै राष्ट्रले यसैलाई पछ्याइरहेका छन्। पहिलो काम भुइँचालोबाट हुने जोखिमको निर्क्योल गर्नुपर्छ। जनधनको क्षति बढी हुने कारण पत्ता लगाएपछि दोस्रो प्राथमिकतामा ज्ञानको व्यवस्थापनलाई राखिएको छ। मानिसलाई आवश्यक तालिम यसअन्तर्गत पर्छ। तेस्रो, घर पूर्वाधार बलियो बनाउनु। यसमा खाना जोहो गर्नेदेखि जोखिम कम गर्ने कार्य समेटिएको छ। पूर्वतयारीलाई चौथो नम्बरमा राखिएको छ। पाँचौं, राष्ट्रको प्रतिबद्धता हो, जसमा नीति, नियम, कानुन र कार्यान्वयनमा जोड दिइएको छ।
सरकारसँग बाढी, पहिरो, प्रकोपको नक्सा छैन। प्रत्येक सहरमा अस्पताल, खाली ठाउँ, पुल, सडक कहाँ-कहाँ छन् सरकारले त्यसको नक्सा तयार पार्नुपर्छ। अनिमात्र आपतकालीन अवस्थामा छिटो र प्रभावकारी काम गर्न सकिन्छ। एनसेट अहिले यसैमा लागेको छ।
पूर्वतयारी गरे जनधनको सुरक्षा हुन्छ भन्ने जापानले देखाइसकेको छ। जापानमा ८ रेक्टर स्केलको भुकम्प जाँदा एक जनाको पनि ज्यान गएन। हाम्रो स्थिति ठिक उल्टो छ। नब्बे सालको भुकम्पले नभत्केका घर अझै छन्। अहिल्यै ढल्न लागेका घरमा मानिस बस्दै आएका छन्।

कार्यकर्ताको अनसनबीच काँग्रेस केन्द्रीय समितिको बैठक जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ३ - भातृ संस्थाका नेता कार्यकर्ताहरु परस्पर विपरित माग लिएर अनसन बसिरहेका बेला काँग्रेस केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो सुरु भएको छ । काँग्रेसमा भातृ संस्थाहरु केन्द्रीय समितिलाई भंग गर्ने वा नगर्ने भन्ने सम्बन्धमा काँग्रेसभित्र विवाद हुँदै गरेको बेला विवाद समाधानको लागि बैठक बस्न लागेको हो । नयाँ अधिवेशनको लागि भातृ संगठनहरुको कार्यसमिति भंग गरेर जाने स‌ंस्थापन पक्षको प्रस्ताव र नेता शेरबहादुर देउवा पक्षको बिरोधले गर्दा भातृ संगठनहरुको अधिवेशन तोकिन सकेको छैन । काँग्रेस केन्द्रीय कार्यालयको परिसरमा तरुण दलका अध्यक्ष महेन्द्र यादवलगायतका समुह भातृ संगठनको केन्द्रीय समिति बिघटन गर्न नहुने भन्दै सोमबारदेखि अमरण अनसनमा बसेका छन् भने तरुण दलकै सहअध्यक्ष विनोद कायस्थलगायतका समुह विघटनको पक्षमा रिले अनसन गरिरहेका छन् । यादव देउवा पक्षका हुन् भने कायस्थ संस्थापन पक्षका हुन् ।

Sep 19, 2011

हाँसपोसा, सुनसरी र छथर तेह्रथुममा मञ्चसम्बद्ध लिम्बुवानको संगठन विस्तार र प्रशिक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२०६८ भाद्र ३१ इटहरी,सुनसरी,छथरथुम,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाँसपोसा गाउँ परिषदको आयोजनामा "संघीय लोक-गणतन्त्र नेपाल र लिम्बुवान स्वायत्त गणराज्य स्थापनाको लागि लिम्बुवानबासी एक हौं" भन्ने नाराका साथ "हासपोसा गाउँ परिषद भेला, प्रशिक्षण एबम पुनर्गठन कार्यक्रम" धनप्रसाद केदेमको सभापतित्वमा सम्पन्न भएको छ |उक्त कार्यक्रममा हाँसपोसा गाउँ परिषद, तुम्याहाङ परिषद, महिला परिषद, युवा मञ्च र एल. भी. समिति गठन भएको थियो |
हाँसपोसा गाउँ कमिटिमा अध्यक्ष हर्कमान वनेम, उपाधक्ष लक्ष्मी योङहाङ, सचिब प्रतिक ओख्राबू ,सह-सचिब संजय सावा, कोषाध्यक्ष लाल केदेम, सदस्यहरूमा महेश केदेम, नरसिं वनेम, नरेन्द्रकुमार पन्धाक, मानराज लावती, सन्दिप राई, आयुश लाबुङ, तेजकुमार लाबुङ चुनिएका छन् | त्यसैगरी, तुम्याहाङ परिषदमा अधक्ष्य सुकवीर सावा, उपाधक्ष्य: हस्तराज केदेम, सचिब ज्ञानबहादुर चोङबाङ, सहसचिब खड्का पन्धाक, कोषाध्यक्ष गङ्गा पाहिम, सदस्यहरूमा उत्तरमान कुरुम्बाङ, राइटर थाङदेन, बिर्खबहादुर वनेम, छात्र खापुङ, परमाद सिं वनेम, लिला ओख्रबू. नरबहादुर चोङबाङ रहनु भएको छ | यसैगरी, महिला परिषदमा अधक्ष्य जसोदा केदेम, उपाधक्ष्य शोभा वनेम, सचिब नर्बदा चेम्जोङ, सहसचिब लक्की केदेम, कोषाध्यक्ष कमला खेवा र सदस्यहरूमा बिष्णु थुलुङ, सुभद्रा मिभक, सिता चेम्जोङ, पर्मिला तुम्बापो, मिना फोम्बो, गीता तुम्बापो, र चन्द्रकला चेम्जोङ रहनु भएको छ | यस्तैगरेर, संघीय लिम्बुवान युवा मंचमा अधक्ष्य भिम खापुङ, उपाधक्ष्य बिशाल तुम्बापो, सचिब राजकुमार श्रेष्ठ, सहसचिब विक्रम तामाङ , कोषाधक्ष्य असारसिं थलङ र सदस्यहरूमा दिलकुमार श्रेष्ठ, नीमेस ओख्राबू, सुरेश सावा, बिबेक लिम्बू चुनिएका छन् | साथै, एल, भी. प्राइमरी कमान्डरमा मोहन थेगिम रहनु भएको छ |
हासपोसा गाउँ परिषद भेला, प्रशिक्षण एबम पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै धरान नगर परिषदका अधक्ष्य कुमार थम्सुहाङले "दासत्व जीवन ज्युन नचाहने हो भने संघीयताको सवालमा आन्दोलित भइ अघि बढ्नुपर्ने" कुरामा जोड दिनु भयो | यस्तैगरेर, इटहरी नगर परिषदका अधक्ष दुर्गालाल चौधरीले तीन ठूला राजनीतिक दलले नेपाललाई अन्यौलतामा धकेलीरहेको र उक्त दल दलबाट उस्किन र नेपाली जनताहरुलाई उकास्नको निम्ति संबिधान सभामार्फत जातीय ऐतिहासइक पृष्ठभूमिको आधारमा लिम्बुवान, खम्बुवान, तामङसालिङ, नेवा:, तमुवान, मगरात्, थरुहट्, मिथिला राज्यहरु सुनिश्चित हुनुपर्द्छ भन्ने आफ्नो बिचार राख्नु भएको थियो | धरान नगर सचिब तथा बिधार्थी परिषदका कार्यवाहक अध्यक्ष अमित थेबेले नवगठित कमिटीहरुलाई प्रशिक्षण तथा संगठनको कार्यक्रम तथा भावी योजनाको विषयमा जानकारी गराउदै केही ठूला दल भनाउँदाहरुले 'गोठ एकातिर गाइगोरु अर्को तिर' पारी लिम्बुवान भूमिलाई टुक्राउन र छुट्याउन खोजेकोमा राज्य पुनर्संरचना समितिसंग आपत्ति प्रकट गर्नु भएको थियो | कार्यक्रमका प्रमुख अतिथि सुनसरी जिल्लाका अधक्ष्य डम्बर खजुमले अबको बन्ने लिम्बुवान सबै भाषाभाषी, जातजाति र धर्म-संस्कृतिलाई आटाउन सक्ने आधुनिक, समुन्नत र भ्रष्टाचारविहीन लिम्बुवान बन्नुपर्छ भन्दै नव गठित समितिहरुलाई शुभकामना व्यक्त्त गर्नुभएको थियो |
हाँसपोसा, सुनसरीमा सम्पन्न उक्त कार्यक्रमको संचालन सन्तोष कुरुङ्बाङले गर्नुभएको थियो भने स्वागत मन्तब्य तत्कालीन हासपोसा गाउँ कमिटीका उपाधक्ष्य सुकबिर सावाले गर्नु भएको थियो |
त्यसैगरी, तेह्रथुम छथरको शुक्रबारेमा संघीय विद्यार्थी युनियन लिम्बुवान छथरथुमको शान्तिला तिगेलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । शुक्रबारे बजारको रेडक्रस भवनमा एक कार्यक्रमको आयोजना गरी गठन भएको सो कार्य समितिमा उपाध्यक्ष कविता कार्की, सचिवमा डी. वी. तुम्सावा, सह-सचिवमा हिमप्रसाद पाक्सावा र अर्थ-सचिवमा चन्द्रकला पाक्सावा रहनु भएको छ ।
छथर क्षेत्रमा रहेका सरस्वती उच्च माध्यमिक विद्यालय हमरजुङ, शुक्रबारे; नविन शिक्षा सदन उच्च मा वि फाक्चामारा र भगवती उ मा वि ओख्रेका विद्यार्थी र हमरजुङ गाउ कार्य समिति गरी करिव ४५ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद तेह्रथुमका सचिवालय सदस्य दिल पाक्सावा, जिल्ला सदस्य नीरविन्दु थोक्लेन र संघीय विद्यार्थी युनियन लिम्बुवान तेह्रथुमका जिल्ला सदस्य विमला पाक्सावाको उपस्थिति रहेको थियो । कार्यक्रम मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद गाउ कार्य समितिका अध्यक्ष प्रकास पाक्सावाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद गाउ कार्य समितिका सचिव सुजन पाक्सावाले गर्नुभएको थियो ।
प्रेमकुमार तुम्बापो, सुनसरी; नमराक पाक्सवा, छ्थरथुम, लिम्बुवान; डीबी आङबुङ, काठमांडू