News

Oct 3, 2011

राजाका तस्बिर भएका नोट बजारबाट निख्रिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १६- पूर्वराजाहरुका तस्बिर भएका नोट चलन चल्तीबाट लगभग हराएका छन्। अहिले बजारमा १ खर्ब ८२ अर्ब रुपैयाँ बराबरका नोट चल्तीमा छन्। यसमध्ये पूर्वराजा (वीरेन्द्र र ज्ञानेन्द्र)का तस्बिर भएका करिब ५ अर्ब रुपैयाँका नोट मात्र बजारमा रहेको राष्ट्र बैंकको अनुमान छ। यो कुल चल्तीमा भएका नोटको करिब साढे २ प्रतिशत मात्र हो। दसैंका लागि नयाँ र सुकिलासहित ३० अर्बका नोट राष्ट्र बैंकले बजारमा ल्याउने व्यवस्था गरेको थियो। राष्ट्र बैंकको निर्देशन अनुरुप बैंक तथा वित्तीय संस्थाले उपभोक्ताबाट पूर्वराजाका तस्बिर भएका नोट खिचेर पठाएपछि बजारमा यस्ता लगभग निखि्रएका हुन्। बैंकरका अनुसार अहिले कहिले काहिँ फाट्टफुट्ट मात्र यस्ता नोट बैंकमा आउने गरेका छन्। 'राष्ट्र बैंकको निर्देशन अनुरुप पूर्वराजाका नोट बैंकले वितरण गरेका छैनन्,' बैंकर्स संघका उपाध्यक्ष राजनसिंह भण्डारीले आइतबार नागरिकसँग भने 'उपभोक्ताबाट आउने यस्ता नोट संकलन गरी राष्ट्र बैंक पठाउने गरिएको छ।'
राष्ट्र बैंकले २०६२ देखि राजाका तस्बिर भएका नोट प्रचलनमा ल्याएको छैन। छाप्न डिजाइन तयार भइसकेको नोटबाट समेत पूर्वराजा र राजमुकुट हटाएर सगरमाथा र लालिगुराँसको तस्बिर राखिएको थियो। त्यतिबेला राजाको तस्बिर छोप्ने हिसाबमा सगरमाथा र लालिगुराँस राखिएको थियो। त्यसलगत्तै मन्त्रिपरिषदले चार वर्षभित्र पूर्वराजाका तस्बिर भएका नोट हटाउने निर्णय गरेको थियो। यही निर्णय बमोजिम केही समयअघि राष्ट्र बैंकले पूर्वराजाका तस्बिर भएका नोट चल्तीबाट हटाउने सूचना निकालेको थियो। यसपछि देशभर नोट साट्ने भीड बढेपछि राष्ट्र बैंकले चलन चल्तीबाट हटाउने निर्णय स्थगित गरेको थियो। अख्तियारले हटाउने विषयमा प्रश्न गरेपछि राष्ट्र बैंक पछि हटेको थियो। पुरानालाई नयाँले विस्थापित गर्छ भन्ने मान्यता राष्ट्र बैंकको थियो। यो नीति यो दसैंमा नोटको प्रचलन हेर्दा पूर्वराजाको नोट न्यून भएकाले सफल भएको राष्ट्र बैंकका उच्च अधिकारीहरुको विश्लेषण छ।

मन्त्रीले शुभकामना कार्डसँगै पत्रकारलाई पैसा पनि बाँडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिन्दुहरुको महान पर्व दशैंको अवसरमा दिएको शुभकामना कार्डमा सबैले शुभकामना सन्देश नै दिएका हुन्छन् । तर एक मन्त्रीले भने नगद समेत दिएका छन् । दशैंको अवसरमा कसैले सामाजिक सञ्जाल फेसबुक, ट्विटरबाट शुभकामना आदान प्रदान गरिरहेका हुन्छन् । कसैले फोनबाट कसैले एसएमएसबाट त कसैले शुभकामना कार्ड नै दिएर । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले पनि पत्रकारहरुलाई दशैंको शुभकामना कार्ड दिए । तर त्यो कार्डमा शुभकामना मात्रै नभएर रुपैयाँ पैसा समेत रहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले आफूनिकट, स्वास्थ्य बीट हेर्नेसहितका पत्रकारलाई 'जरुरी काम छ, मन्त्रीज्यूलाई भेट्नु पर्‍यो' भन्दै सहयोगीलाई पटकपटक टेलिफोन गर्न लगाइ पुल्चोकस्थित सरकारी निवासमा बोलाएर शुभकामना कार्डसहित ३ हजारदेखि ८ हजार रुपैयाँसम्म नगद बाँडेका हुन् । स्वास्थ्य मन्त्री महतोको यो कार्य पदीय मर्यादा विपरित मात्र नभएर नेपालको अन्तरिम संविधान र कानुनको प्रत्यक्ष उल्लंघन पनि भएको भन्दै नेपाल पत्रकार महासंघले पैसा बाँडको प्रति आपत्ति जनाएको छ । यसैबीच पत्रकार महासंघले दसैं विदाको अवधिमा सञ्चारमाध्यम र पत्रकारमाथि हुनसक्ने आक्रमण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि र काम-कारवाहीको सम्भावनालाई ध्यानमा राखेर हमला वा हस्तक्षेप भएमा केन्द्रीय सचिवालय संयोजक सतीशजंग शाही (९८५१०७५३५५) र कार्यालय सहायक ख्यामप्रसाद चापागाईं (९८४१५९४८२४) लाई विवरण उपलब्ध गराउन महासंघले अनुरोध गरेको छ ।

Oct 1, 2011

किराँत धर्म तथा साहित्य उत्थान संघ मलेसियाको अधिवेशन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मलेसियाको क्वालालम्पुरस्थित परदेशी रेष्टुरेण्टको सभा हलमा किराँत धर्म तथा साहित्य उत्थान संघ मलेसियाको पाँचौ अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको सभापतित्व निवर्तमान उपाध्यक्ष बल बहादुर लक्समले गर्नुभएको थियो । कार्यक्रमको औपचारीक सुरुवात हुनु अगावै किराँत ज्योतिष उत्थान संघ संस्थापक तथा कि.ध.तथा सा.उ. संघ राष्ट्रिय समिति मलेसियाका सल्लाहकार माङसेवासावा थुलुङ्ग राम बहादुर ज्यूवाट कुसाङसेमा सेवा गर्नुभएको थियो । त्यसपछि विहानको १०:०० बजे शुरुवात भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल टेलिभिजनका संस्थापक सदस्य तथा कार्यक्रम सञ्चालिका श्रीमती रिता गुरुङ्ग तथा अन्य अतिथिहरुमा नेपालीखवर साप्ताहिकका सम्पादक श्री रामचन्द्र नेपाल, हाम्रो पत्रिकाका प्रकाशक देश कुशवाह र किराँत याक्थुङ्ग चुम्लुङका सचिव रुसाहाङ्ग चेम्जोङ्ग लगायत हुनुहुन्थ्यो ।
पदम कुमार फियाक लिम्बुको संचालनमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथीबाट १०८ दियो बत्तिमा दीप प्रज्वलन गरेर भएको थियो । श्री आईतराज योङ्गहाङ्गको स्वागत मन्तव्यबाट अगाडी बढेको कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो । आफ्नो मन्तव्य राख्ने क्रममा सल्लाहकार राम बहादुर र्राईले हाम्रो साम्जिक मुन्धुमको भावना अनुकुल मुहिमाम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन र वर्तमान धर्मगुरु अङसीमाङ आत्मानन्द लिङदेन 'र्सेइङ' ज्यूहरुको उपदेश र वचनहरु लाई अनुसरण गर्दै अधिवेशनवाट बन्ने नयाँ समिति अझ ससक्तरुपमा अगाडी बढोस भनि कामना गर्नुभएको थियो । त्यसैक्रममा संघका केन्द्रिय सदस्य तथा मलेसिया शाखा संरक्षक दिल कुमार केरुङ्ग ज्यूले किराँतीहरु प्रकृतीपुजक भएको हुँदा प्रकृतीसामु उधौली-उभौली सेवाहरु गरिने उल्लेख गर्दै पटक-पटक विद्धान अङसीमाङहरुको किराँत धर्ममा अवतरण हुने क्रममा मुहिगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन ज्यूको जन्म भएकेा हो भन्नुभयो । महागुरु फाल्गुनन्द लिङदेन ज्यूको समयमा किराँत समुदाय कुरीती, कु-संस्कार, विकृती, विसंगतीहरुको दलदलमा फसेर रहेकोले त्यस्ता कुराहरुवाट मुक्त गराएर ज्ञानको बाटोमा डोर्‍याउन आजीवन लाग्नुपर्ने भई हामीलाई सुमार्गमा डोर्‍याएको कुरा राख्नुभयो । मन्तव्यकै क्रममा अहिले मलेसियामा लगभग २०० भन्दा बढी संघसंस्थाहरु रहेकोमा ती मध्येको पुरानो संस्था हो र यस संस्थाले आपत विपतमा परेकाहरुलाई आर्थिक, भौतिक र कानुनी लगायतका सहयोगहरु गरी रचनात्मक कार्यहरु अघि बढिरहेकोले आउँदो समितिले अझ सशक्तरुपमा आफ्ना कार्यक्रमहरु अघि बढाउनेछ भनि आशा प्रकट गर्नुभयो ।
प्रमुख अतिथीको आसनबाट मन्तव्य प्रकट गर्दै प्रमुख अतिथि श्रीमती रिता गुरुङ्गज्यूवाट भाषा धर्म र संस्कृती भनेको देशको धरोहर हो यर्सथ आफ्नो-आफ्नो क्षेत्रबाट यी कुराहरुको संरक्षण आफैले गर्नुपर्ने कुरा परदेशमा रहेर आफ्नो भाषा र धर्मको लागि आफ्नो कर्तव्य नविर्सिकन लागीपर्नु भएकोले कार्यक्रमका झलकहरु नेपाल टेलिभिजनबाट प्रसारण गरिनेछ भन्नुभयो । त्यस्तै अन्य वक्ताहरुले पनि अधिबेशन सफलताको लागी शुभ कामना दिनुभएको थियो । कार्यक्रम उद्घाटनपश्चात भएको बन्द सत्रले विभिन्न निर्णयहरुका साथै श्री जय कुमार केरुङ्ग ज्यूको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितीको उपाध्यक्षद्धय श्री श्याम राई र झमक पुलामी मगर, सचिव पदम कुमार फियाक(लिम्बु), सहसचिव हेमराज योङ्गहाङ, कोषाध्यक्ष आईतराज योङ्गहाङ, र सदस्यहरुमा सुमन थेबे, भक्ति थेवे, भिमराज नेम्वाङ्ग, भक्त योङहाङ्ग, अर्जुन सेर्मा, श्रीमान लिम्बु, सन्तविर सेर्मा, तोम तुम्वापो र सुमन माङ थेवे, प्रिती माया योङ्गहाङ्ग हुनुहुन्छ ।
त्यस्तै अधिवेशनवाट किराँत धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिको संरक्षकमा दिलकुमार केरुङ्ग र सल्लाहकारहरुमा राम बहादुर राई, प्रेम मादेन, बल बहादुर लक्सम र थाकुहाङ्ग सम्बाहाम्फेलाई चयन गरेको छ । अन्त्यमा अत्यान्तै सौहाद्रपुर्ण वातावरणमा कार्यक्रमका सभापति बल बहादुर लक्समबाट नयाँ समितिलाई सफलताको शुभकामना प्रदान गर्दै सभा विर्सजन गर्नुभएको थियो ।

बेलायत सरकारले ४ लाख रुपैयाँ क्षेतिपुर्ति दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायत सरकारले आफनो दूतबासको पर्खाल भत्किएर ज्यान गुमाएका तीन जानको परिवार र घाईते एकलाई क्षेतिपुर्ति दिने भएको छ। ज्यान गुमाएका गोरखाका साजन श्रेष्ठ, उनकी छोरी र सिन्धुलीका बीरबहादुर माझीले जनही ४ लाख रुपैयाँ क्षेतिपुर्ति पाउने भएका हुन्। सख्त घाईते भई शिक्षण अस्पतालमा उपचाररत विनय श्रेष्ठलाई १ लाख रुपैयाँ दिने भएको छ। गत साता गएको भुइँचालोमा पर्खाल भत्किएर ज्यान गुमाएका परिवारहरुद्वारा क्षेतिपुर्ति लगायतका माग पुरा गर्न गठित सरोकार समूहका संयोजक रेसम गुरुङका सनुसार मृतकसम्बन्धी प्रमाणित कागजात दूतबासमा बुझाएपछि उक्त रकम दिइनेछ। मृतक साजनकी श्रीमती माया श्रेष्ठलाई डानिडाको मानव अधिकार इकाईमा रोजगारी दिने प्राम्भिक जानकारी आएको समेत गुरुङले जनाए। पीडित परिवारका सदस्यहरुले भने क्षेतिपूर्ति 'नाम मात्रैको' भनी आलोचना गरेको छन्।

प्रधानमन्त्री भट्टराईले कार्तिक ४ गतेदेखि भारत भ्रमण गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणको मिति तय भएको छ । उनले कार्तिक ४ गतेदेखि भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री भट्टराई न्यूयोर्कमा भएको राष्ट्रसंघ महासभाबाट फर्के लगत्तै पहिले भारत र त्यसपछि चीन भ्रमण गर्ने जानकारी गराइसकेका थिए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले आज राजधानीको भएको एक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणको मिति उल्लेख गर्दै सो भ्रमणमा सुगौली देखिका हालसम्म भएका असमान सन्धिहरु खारेजी वा परिमार्जन विषय प्रमुख एजेण्डा हुने बताए । प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपालको राष्ट्रिय सार्वभौमसत्ता र अखण्डता प्रति आच नआउने गरी विदेशी लगानीलाई सुरक्षित बनाउने विषयमा प्रतिबद्धता सहित सुनिश्चितता गराउने र दुई मुलुकबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै भारत र चिनबीचको पुलको रुपमा नेपाललाई विकास गर्ने विषय नै प्रधानमन्त्रीको प्रमुख एजेण्डा भएको बताए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पौडेलले प्रधानमन्त्रीको भारत भ्रमण लगत्तै चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण गराउने वा स्वयम प्रधानमन्त्री भट्टराई नै चीन भ्रमणमा जाने गरी समेत दुई मुलुकवीच छलफल भइरहेको जानकारी समेत दिएका छन् ।

प्रधानमन्त्रीले रेडियो नेपालमार्फत जनतासँग प्रत्यक्ष कुराकानी गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री बाबुराम भट्टराईले जनताका चासो, अपेक्षा, गुनासो र सरोकारबारे जनतासँगै प्रत्यक्ष रुपमा रेडियो नेपालमार्फत संवाद गर्ने भएका छन्। सरकार नियन्त्रित राष्ट्रिय प्रसारण पहुँच भएको रेडियो नेपालमार्फत भोलि आइतबारदेखि सम्वाद गर्न लागेको हुन्। प्रधानमन्त्रीको कार्यक्रम राति ८ बजेको अंग्रेजी समाचारपछि ९ बजेसम्म चल्ने छ। ८ बजेको अंग्रेजी समाचारपछि सुरु हुने प्रधानमन्त्रीको कार्यक्रम ९ बजेसम्म चल्नेछ। 'कार्यक्रम लाइभ हुनेछ', प्रधानमन्त्रीका निजी सहायक विश्वदीप पाण्डले भने- 'अबदेखि हरेक नेपाली महिनाको १५ गते प्रधानमन्त्रीले रेडियोबाट जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नु हुनेछ।' ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममार्फत प्रधानमन्त्री र जनताबीच प्रत्यक्ष कुराकानीका निम्ति सोही समयमा रेडियो नेपालको फोन नम्बर ४२११७२१ अथवा ४२११७३६ मा फोन गर्न सकिने व्यवस्था मिलाइएको रेडियो नेपालका कार्यकारी निर्देशक तपनाथ शुक्लले जानकारी दिए। प्रधानमन्त्रीको कार्यक्रमको नाम ‘जनतासँग प्रधानमन्त्री' राखिएको छ।

माओवादी लडाकुको तलव बृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १५,मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले शिविरमा रहेका माओवादी लडाकुको भत्ता १५ सय रुपैयाँ बढाउने निर्णय गरेको छ। लडाकुले सुरुमा तीन हजार रुपैयाँ भत्ता पाउँथे। प्रधानमन्त्री बाबुराम भट्टराईले आफू अर्थमन्त्री हुँदा सो भत्ता तीन हजारबाट बढाइ पाँच हजार पुर्‍याएका थिए।   यो खाना खर्चबाहेकको भत्ता हो। माओवादी सेनाका लडाकुले यसअघि प्रतिव्यक्ति मासिकभत्ता (तलब) ५ हजार रुपैयाँ पाउँछन्। त्यसबाहेक सुगम क्षेत्रमा रहेका 'क्यान्टोनमेन्ट' मा रहेका लडाकुले दैनिक ७० र दूर्गम भेगको क्यान्टोनमेन्टका लडाकुले दैनिक ११२ रुपियाँ भरणपोषण भत्ता पाउने गरेका थिए। अब लडाकुको मासिक भत्ता ६ हजार ५ सय हुनेछ। माओवादीका १९ हजार ५७५ जना लडाकु देशभरि रहेका ७ वटा मुख्य शिविर र २१ वटा सहायक शिविरमा बस्दै आएका छन्। आजको बैठकले लगानी बोर्डको कार्यकारी निर्देशक प्रतिस्पर्धाबाट चयन गर्न अर्थमन्त्री वर्षमान पुनको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ।