News

Jan 21, 2012

थुनामा रहेका अभियुक्त भगाएको आरोपमा ६ प्रहरी निलम्बनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिरासतमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त भगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी हवल्दारसहित ६ जनालाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा हिरासत सुरक्षा क्वार्टरगार्डका प्रमुख हवल्दार केवर रावत, प्रहरी जनावहरु कमलदेवप्रसाद यादव, गुलाफ सरदार, रघु यादव, गुरुकुमार ठाकुर र दीपककुमार खत्री रहेको प्रहरीले जनाएको छ । थुनुवा भगाउन मिलेमतो देखिएकाले ती प्रहरीलाई निलम्बन गरी थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

Jan 20, 2012

पहिचानको आधारमा संघीय राज्यको स्थापना हुनुपर्नेमा जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/प्रदीप मेन्याङ्बो
धरान, माघ ६ - आत्मनिर्णय अधिकार र संघीयता सम्वन्धी अन्तराष्ट्रिय सम्मेलका सहभागीहरुले पहिचानको आधारमा संघीय राज्यको स्थापना हुनुपर्नेमा जोड दिएका छन् । विज्ञहरुद्वारा प्रस्तुत कार्यपत्रहरुमाथि शुक्रबार भएको छलफलमा सहभागीहरुले पहिचानसहितको संघीयतामा जोड दिएका हुन् । स्वशासनमा साँस्कृतिक मात्र नभएर राजनीतिक पहिचानसहितको हुनुपर्ने पनि जोड उनीहरुले दिए । आदिवासी जनजातिहरुको आत्मनिर्णय अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी धरानमा जारी तीनदिने अन्तराष्ट्रिय सम्मेलनको दोश्रोदिनको छलफलमा उक्त धारणा आएको हो । उनीहरुले आत्मनिर्णयको अधिकारको नीति अनुसार स्वयत्त राज्य गठन हुनुपर्ने पनि वताएका छन् । त्यसैगरी स्वायत्त प्रदेशहरुमा भूमिमाथिको आदिवासी जनजातिको अधिकार नयाँ ढंगले स्थापित गर्नुपर्नेमा पनि जोड दिए । आदिवासी जनाजातिहरुले परम्परागत रुपमा अपनाउँदै आएको न्याय प्रथालाइ प्रचलित ऐनसंग नबाझिने गरी राज्यको न्याय प्रणालीमा व्यवस्थित गर्नुपर्नेमा पनि जोड दिइएको छ । आदिवासी जनाजाति महिलाहरुलाई पनि राज्यले कायम गरेको तेत्तिस प्रतिशत सहभागिता भित्र निरन्तरता दिनुपर्नेमा सहभागी महिलाहरुले धारणा राखेका थिए ।
छलफलको दोस्रो शत्रमा नेपाली विज्ञहरु डा. कृष्ण भट्टचन, डा. ओम गुरुङ, डा. लाल राप्चा, डा. गोविन्द तुम्बा, डम्वर चेम्जोङ, लोक वहादुर थापामगर, जुनु गौचन, कमल तिगेला, दिनेश घले, बालकृष्ण माबुहाङ, पात्र धिमाल र सोनी लामाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुतीपछि सहभागीहरु विभिन्न आठ समुहमा विभाजन भइ समुहगत रुपमा लिम्बूवानमा थाक थलो खुलेका २३ जातिको स्वयत्तता र आत्मनिर्णको अधिकार कस्तो हुने विषयमा छलफल गरिरहेका छन् । त्यसमा अन्य जातिको समेत सहभागिता रहेको आयोजक समितिक सदस्य सचिव सुरेश गनगाइले जानकारी दिएका छन् ।

'जनसत्ता'को निर्णय मान्यता दिएको विरोधमा संसद् अबरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ६ - सशस्त्र युद्धका बेला माओवादी 'जनसत्ता'ले गरेका घरजग्गा किनबेच, अंशबन्डा र बकसपत्रका निर्णयलाई सरकारले मान्यता दिएको विरोधमा विपक्षी दलहरुले संसद् चल्न दिएनन् । संसद् बैठकको सुरुमै एमाले सभासद् अग्नि खरेल र कांग्रेसकी पुष्पा भूसालले सरकारी निर्णय फिर्ता नभएसम्म संसद्को कारबाही अगाडि बढ्न नदिने बताएका थिए । कांग्रेस-एमालेसहित विपक्षी दलका सभासद्हरु उभिएपछि बैठक स्थगित भयो । बैठक अबरुद्ध भएपछि सभामुख सुवासचन्द्र नेम्वाङले सरकारी निर्णयका बारेमा सदनमा जानकारी दिन रुलिङ गरेका छन् । उनले प्रतिपक्षीले मागेको जवाफ सदनमा अनुत्तरित रहन नसक्ने बताए । 'जनसत्ता'को निर्णयलाई सरकारले मान्यता दिएको विरोधमा आन्दोलित विपक्षी कांग्रेस, एमालेसहित १७ दलको शुक्रबार बसेको बैठकले निर्णय नसच्याएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको थियो । विरोधमा संसद् बैठक अबरुद्ध पार्दै आएका कांग्रेस-एमालेलाई सरकारमा नरहेका साना दलले पनि साथ दिएका हुन् । 'जनसत्ता'को निर्णयलाई सरकारले मान्यता दिने भूमिसुधार मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्ले केही दिनअघि पास गरेको थियो । कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार बसेको १७ दलको बैठकले निर्णय नसच्याएसम्म संसद् चल्न नदिने निर्णय गरेको एमाले बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

राज्य पुनसंरचना आयोगमा आधारभूत विषयमै असहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघियताका आधारभूत विषयमै राज्य पुनसंरचनाका लागि सुझाव दिन गठित विज्ञ सम्मिलित आयोग भित्र चर्को मतभेद उत्पन्न भएको छ । यता प्रतिवेदन बुझाउने समय नजिकिँदै छ भने सदस्यहरुबीच प्रदेशको नाम, संख्या, राजनीतिक अग्राधिकार, आत्मनिर्णयको अधिकार लगायत आधारभूत विषयमा नै मत बाझिएको छ । संयोजकसहित ९ सदस्यीय आयोगमा चर्को विवाद भएपछि मतदानबाट विवादित विषय टुङ्गो लगाउने विकल्पसहित गोप्य स्थानमा छलफल भइरहेको छ । स्रोतका अनुसार, संविधानसभाको राज्य पुनसंरचना सम्वन्धी बिषयगत समितिको प्रस्तावित प्रतिवेदनलाई समेत समेटेर झन्डै ५४ पृष्ठको मस्यौदा तयार पारिएको छ । तर मस्यौदामा राज्य पुनसंरचनाको आधारभूत विषयमै मतभेद बढेको आयोगका एक सदस्यले जानकारी दिए । समस्या समाधानका लागि गम्भीर ढंगमा छलफल भइरहेको ती सदस्यको भनाइ छ । कांग्रेस र एमालेका प्रतिनिधिले जातिय आधारमा राज्य पुनसंरचना हुन नसक्ने अडान राखेका छन् भने स्टेला तामाङ, कृष्ण हाछेथु र मल्ल के सुन्दरले जातिय दृष्टिबाट संघीय प्रणाली निर्धारण गर्नुपर्ने धारणा राखेका छन् । संयोजक मदन परियार लगायत अन्य सदस्यले मध्यमार्गी तवरबाट पुनसंरचना गर्नुपर्ने सुझाव राखेको स्रोतले जनाएको छ ।

नेपाल टेलिकमले बिटिएस टावरसहितका गाडी ल्याए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ६,भिडभाड भएको ठाउँमा मोबाइलको सिग्नलमा समस्या आउन नदिन नेपाल टेलिकमले बिटिएस टावरसहितका गाडी ल्याएको छ। ठूलो आकारको एउटा र सानो दुईवटा गाडी आइसकेका छन्। यी टावरलाई भिडभाड हुँदा र नेटवर्क समस्या आएका ठाउँमा राखेर चलाउने टेलिकमको योजना छ। 'बिटिएस टावर सहितका भ्यानहरु तयार भएर अहिले परीक्षण भइरहेको छ,' प्रबन्ध निर्देशक अमरनाथ सिंहले भने। सबै प्राविधिक पक्षको निर्माण गर पनि यसको सप्लायर्स कम्पनीले हस्तान्तरण गर्न भने बाँकी छ। पुल्चोकस्थित टेलिकमको मोबाइल सेवा निर्देशनालयमा अहिले यी गाडीहरु राखिएका छन्। सप्लायर्स कम्पनीका प्राविधिकहरु नयाँ वर्ष मनाउन गएकोमा अहिलेसम्म नफर्केको हुँदा हस्तान्तरण हुन बाँकी रहेको हो।
टेलिकमले गत वर्ष मोबाइल टावरसहितका गाडी किन्न ग्लोबल टेन्डर गरेको थियो। टेन्डरमा मोबाइल टावरका १३ वटा गाडीहरु किन्ने उल्लेख थियो। यसमध्ये पहिलोपटक तीनवटा आएर तयार भइसकेका हुन्। १३ वटामध्ये तीनवटामा ब्याकअपसहितको सिस्टम रहने र १० वटामा भने जेनेरेटर, टावरहरु हुने छन्।
तयार भएका गाडीलाई औपचारिक कार्यक्रममार्फत सञ्चालनमा ल्याउने तयारी टेलिकमले गरिरहेको छ। पाँचवटा गाडीलाई काठमाडौंबाहिर क्षेत्रीय कार्यालयमा राख्ने योजना टेलिकमको छ। जुन ठाउँमा समस्या देखिन्छ त्यही ठाउँमा पुर्‍याएर सेवा सञ्चालन गर्ने योजना रहेको प्रबन्ध निर्देशक सिंहले बताए।
फोर्ड कम्पनीको गाडीमा राखिएका टावरलाई सभा सम्मेलन हुँदा टुँडिखेल, दशरथ रंगशाला, बानेश्वरजस्ता ठाउँमा लगेर राखिनेछ। त्यसले गर्दा मोबाइल कलको ट्राफिकमा समस्या नआउने टेलिकम अधिकारीहरुले बताए। 'गुणस्तरलाई सुधार्न र मानिसको बढी चहलपहल हुने ठाउँमा समस्या नहोस् भनेर यस्तो बिटिएस किन्ने निर्णय गरेका हौं,' प्रबन्ध निर्देशक सिंहले भने। काठमाडौंमा बढी भिडभाड हुने बानेश्वर, खुलामञ्च र खेल हुँदा दशरथ रंगशालामा यस्ता गाडीलाई परिचालित गरिनेछ। झन्डै दुई वर्षअघि पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टि समारोहमा मोबाइल फोन नलागेर हैरानी भएपछि टेलिकमले यस्तो गाडी किन्ने योजना बनाएको थियो। विदेशमा पनि यस्तो बिटिएस भ्यान सञ्चालन गरेर भिडभाड हुँदा सर्वसाधारणले सजिलै कुराकानी गर्न सक्ने अवस्था बनाइन्छ।
अहिले तीनवटा तयार भएपछि टेलिकमले चरणवद्ध रुपमा अरु गाडीसमेत ल्याएर आवश्यक पर्ने स्थानमा परिचालन गर्नेछ। तीनवटा गाडीमा भने पुरै मोबाइलको ब्याकअप र सिस्टमसमेत हुनेछ। प्राकृतिक एवं दैवी प्रकोप पर्दासमेत यस्ता गाडीमा हुने डाटाले गर्दा भविष्यमा कुनै समस्या आउन दिँदैन। झट्ट हेर्दा क्रेनजस्तो लाग्ने मोबाइल बिटिएस भ्यानमा टावरलाई फोल्ड गरेर राखिएको हुन्छ। मोबाइल टेलिफोनले काम नगरेको ठाउँमा लगेपछि अग्लो बनाएर राखिन्छ। जसले गर्दा वरिपरि रहेकाले सजिलै कुराकानी गर्न सक्छन्। मोबाइल टेलिफोन गुणस्तरको विषयमा ग्राहकदेखि प्रधानमन्त्री, मन्त्रीबाट समेत बारम्बार आलोचित हुनुपरेपछि सेवा सुधार्न टावरसहितको गाडी किन्ने निर्णय टेलिकमले गरेको हो। थाइल्यान्डको कम्पनीले बिटिएससहितको गाडी दिन सबैभन्दा सस्तो मूल्य प्रस्ताव गरेको थियो। 'जुलुस, आमसभा हुँदा त्यस्तो ठाउँमा मोबाइल टेलिफोनले भनेको समयमा काम नगर्ने हुन्छ, त्यहाँ गाडीमा रहेको टावर राख्दा सयौंले एकैपटक कुराकानी गर्न सक्छन्,' टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने। बाँकी गाडी आएपछि टेलिकमले विराटनगर, वीरगन्ज, पोखरा र नेपालगन्जमा समेत 'स्ट्यान्डबाई' रुपमा राख्ने निर्णय गरेको छ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा आज पनि विरोध प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा आज पनि राजधानीको विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । आज बिहानै प्रदर्शनी मार्गस्थित मानविकी क्याम्पस अगाडी विद्यार्थीहरुले जुलुस प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले तत्काल सरकारले मूल्य वृद्धि फिर्ता नलिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । एमाले निकट अनेरास्ववियुको आह्वानमा भएको सो विरोध प्रदर्शनमा अन्य विद्यार्थी संगठनले समेत सहभागिता जनाएका छन् । सत्तारुढ माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले समेत आन्दोलनमा साथ दिने निर्णय गरिसकेको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा समेत माग गरेका छन् ।

Jan 19, 2012

लिरामोले राज्य पूनसंरचना आयोगलाई सुझाव वुझायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिम्वुवान राष्ट्रिय मोर्चाले अध्यक्ष दिल पालुङवा लिम्वु, सदस्य डि.वी पालुङवा लिम्वुलाई हङकङवाट नेपालमा पर्ठाई उपाध्यक्ष धनवीर सांवा, सदस्य इन्द्रजित लिम्वुको प्रतिनिधी मण्डल वनाई अध्यक्षको नेतृत्वमा राज्यपूनसंरचना आयोगमा नेपालको लागि संघीय शासन व्यवस्था तथा १२ स्वायत्त राज्यहरुको निर्माण, शासकीय स्वरुप र लिम्वुवानको खाकाको सम्वन्धमा सुझाव पत्र पेश गरेको छ । ९ जनवरी २०१२, सोमवार उक्त सुझाव पत्र ललितपुरको जावलाखेल स्थित आयोगको कार्यालयमा वुझाईएको थियो । यसको दर्ता नं.७५ र दर्ता मिती २०६८-०९-२५ रहेको छ । वोधार्थको रुपमा किरात याक्थुङ चुम्लुङ, नेपाल, जनजाति महासंघ नेपाल र आदिवासी जनजाति सभासद(ककस) लाई दिईएको छ ।
१२ स्वायत्तराज्यहरुमा लिम्वुवान, खम्वुवान, ताम्वासालिङ, नेवावान, तमुवान, मगरात, थारुवान, खसान, जडान, लुम्वीनी, चितावान र मिथिला रहेको र उक्त राज्यहरुको खाका संघीय नेपालको म्यापमा देखाईएको पनि संलग्न गराईएको थियो । सुझाव पत्र तल प्रस्तुत गरिएको छः
माननीय संयोजक
डा.मदन परियार ज्यू
राज्य पूनसंरचना आयोग नेपाल ।

विषय-सुझाव पत्र पेश सम्वन्धमा ।

महोदय

उपरोक्त सम्बन्धमा वर्तमान अवस्थामा देशमा बन्न गईरहेको संविधानमा उल्लेखन गर्नको लागि संघीय व्यवस्थाको मोडलमा स्वायत्त राज्यहरुको खाका तयार गरिरहनु भएको अवस्थामा लिम्वुवान राष्ट्रिय मोर्चाको तर्फाट स्वायत्त राज्यहरुको खाका, लिम्वुवान राज्यको खाका तथा शासकीय स्वरुपको वारेमा निम्नानुसार सुझाव पेश गरिएको जानकारी अनुरोध गर्दछौं ।

स्वायत्त राज्यहरुको खाका
अवको संघीय नेपालमा १२ स्वायत्त राज्यहरु निर्माण गरनिु पर्ने अवधारणा लिम्वुवान राष्ट्रिय मोर्चाको रहेको छ । त्यसको खाका सहितको नेपालको नक्सा यसै पत्रसाथ सम्लग्न रहेको ब्यहोरा अनुरोध छ । साथै अधिकार वांडफांडमा मुद्रा, परराष्ट्र निती, सेना तथा सिमा सुरक्षा सम्वन्धी अधिकार केन्द्रीय सरकारमा रहने गरी अन्य अधिकारहरु स्वायत्त राज्यहरुमा रहने व्यवस्था हुनु पर्दछ ।

स्वायत्त राज्य निर्माणको आधारहरुः
स्वायतताको मोडेलहरु विश्वमा विभिन्न प्रकारका पाईएका छन । नेपाल जस्तो जातिय तथा भौगोलिक विविधता भएको मुलुकमा राज्यको पुनसंरचना गर्दा जातीय ऐतिहासिकता, जातीय बाहुल्यता, भौगोलिक तथा प्रशासनिक सुगमता, भाषिक समता, मिश्रीत, ऐतिहासिक महत्व एवं सम्पदा तथा राष्ट्रिय अखण्डता जस्ता बिषयहरुलाई मुलभूतरुपमा ध्यान दिनु उपयुक्तहुने अवधारणा तथा सुझाव प्रस्तुत गर्दछौं ।

राज्य पुनसंरचनाको सर्न्दर्भमा लिम्बुवानको जिउदो ऐ्तिहासिक तथ्यलाई नकार्न पनि नहुने अवधारणा तथा सुझाव प्रस्तुत गर्दछौं ।

त्यस्तैगरि खम्बुवान, ताम्बासालिङ, नेवावान, तमुवान, मगरात, थारुवान जातिय ऐतिहासिकताको आधारमा र खसान, जडान जातिय समावेसी तथा लुम्बिनी ऐतिहासिक महत्व एवं सम्पदाको आधारमा र चितवान, मिथिला (मिश्रीत) भाषिक, भौगोलिक तथा प्रशासनिक सुगमताको आधारमा रहन उपयुक्त भएको अवधारणा तथा सुझाव प्रस्तुत गर्दछौं ।

लिम्वुवानको खाका
लिम्वुवान नयां राज्यको नाम होईन । साथै जातिय नाम पनि होईन । यो ऐतिहासिक कालदेखिनै एक स्वतन्त्र राज्य वा देशको रुपमा रहेको थियो । यसको लागि इतिहास साक्षी छ । वि.सं.१८३१ देखिमात्र गोर्खासंगको धेरै युद्धपछि गोर्खाले हरण गर्न नसकेपछि गोर्खाले कुटनितिक रुपमा लिम्वुवानलाई पूर्ण स्वायत्त प्रदान गर्दै स्वशासन उपभोग गर्ने सम्झौता गरि लिम्वुवान स्वाशासित राज्यको रुपमा रहेको थियो । यो क्रम वि.सं.२०२१ को भूमिसुधार लागु नभएसम्म सञ्चालित थियो । तथापी वि.सं. २०५२ मा मालपोत लिम्वुवानमा खडागरिसकेपछि मात्र पूर्णरुपमा लिम्वुवानको स्वसाशन समाप्त भएको थियो । यर्सथ यही समाप्त भएको लिम्वुवानको स्वशासन राज्यपूनसंरचनाको क्रममा पूनस्थापना हुन सान्दर्भिक देखिएकोले लिम्वुवान स्वायत्त राज्य वनाईनुपर्ने हाम्रो जोड रहेको छ । शासन प्रणालीमा पुरानोझैं नभएतापनि राज्यको नाम र सिमाक्षेत्र ऐतिहासिक आधारमा हुनु पर्नेछ । तर्सथ लिम्वुवान क्षेत्रको राज्यको नाम लिम्वुवान स्वायत्त राज्य हुनु पर्ने कुरामा जोडदार वकालत गर्दछौं ।
लिम्वुवान स्वायत्त राज्यको सिमाना ऐतिहासिक आधारमा(नेपालभित्रको मात्र)पूर्वमा मेची नदी, पश्चिममा सिस्वा संखुवा खोला, अरुण हुदै सप्तकोशी, उत्तरमा हिमालय तिव्वत(चिन) र दक्षिणमा भारत रहेकोले अव वन्ने लिम्वुवान स्वायत्त राज्यको सिमाना यही मुताविक हुनु पर्दछ । अर्थात हाल नेपालको अरुण पूर्वको ९ जिल्लाहरु ताप्लेजुङ, पाचथर,र्इलाम, झापा, संखुवासभा, तेरथुम, धनकुटा, मोरङ र सुनसरीहरु समावेस हुनुपर्नेछ । यो सिमाभित्र लिम्वुवानी राष्ट्र, राष्ट्रवाद तथा राष्ट्रियता समावेश हुनेछ । राष्ट्र, राष्ट्रवाद र राष्ट्रियता माथि आघात भएमा त्यसको नकारात्मक असर कतिसम्म पर्छ भन्ने कुरा सवैलाई ज्ञात भएकै हो ।
लिम्वुवान भित्र अन्य जातिय समुदायहरु पनि नभएका होईनन् । तर उनीहरुको लागि सम्वन्धित क्षेत्रमा विषेश क्षेत्र या उपस्वायत्त राज्यहरु निर्माण गर्न सकिने
छ । जस्तै-याख्खा, आठपहर्राई लोहरुङ, याम्फु, लेप्चा, सेर्पा, धिमाल, थारु, मोचे, कोचे, राजवंशी, मुसलमान, खम्वु आदि । दलित लगायत अन्य जातिहरुलाई उनीहरुको वाहुल्यताको आधारमा इकाई स्तरको क्षेत्र निर्माण गर्न सकिनेछ । यो प्रावधान संविधानमा राख्न सकिनेछ ।
लिम्वुवानवाहेक माथि उल्लेखित अन्य राज्यहरुमा पनि विषेश या उपस्वायत्त राज्यहरु निर्माण गरिनुपर्दछ । संविधानमा स्वायत्त राज्य निर्माण गर्न सकिने र दुइ वा सोभन्दा वढी स्वायत्त राज्यहरु मिलेर एउटै स्वायत्त राज्य वन्न सकिने प्रावधानहरु राख्न सकिनेछ ।

शासकीय स्वरुप
आजसम्म नेपाल केन्द्रीकृत राज्यको रुपमा रहेको तथा संसदीय व्यावस्था अंगीकार गर्दै आएको सन्दर्भमा देशको अधोगतिको स्थिती तपाई हामी सवैले देखेका वुझेका हौं । अस्थिर सरकार हुनु, सांसद किनवेच हुनु, अयोग्य व्यक्ति सरकार प्रमुख हुन सक्नु यो व्यावस्थाको कमजोरीहरु हुन । तर्सथ अवको शासन प्रणाली संघीय मोडलमा राष्ट्रपतीय प्रणालीमा हुनु उपयुक्त देखिन्छ । राष्ट्रपति प्रत्यक्ष निर्वाचित तथा सरकार प्रमुख हुनुपर्दछ । राष्ट्रपतिको अवधी ५ वर्षो एक कार्यकाल तथा दुइ पटकसम्म निर्वाचनमा सहभागी हुन सक्ने व्यावस्था गर्न सकिनेछ ।

वोधार्थः
१)अर्जुन लिम्वु-अध्यक्ष, किरात याक्थुङ चुम्लुङ,नेपाल ।
२)राज कुमार लेखी-अध्यक्ष, जनजाति महासंघ नेपाल ।
३)पृथ्वी सुव्वा गुरुङ-अध्यक्ष, आदिवासी जनजाति सभासद(ककस)
धन्यवाद (नोगेन)

प्रतिनिधि मण्डल
अध्यक्ष- दिल पालुङवा लिम्वु
उपाध्यक्ष- धनवीर सांवा
सदस्य- डी.बी. पालुङवा
सदस्य- इन्द्रजीत लिम्बु

मितिः २०६८/०९/२५ गते
लिम्वुवान राष्ट्रिय मोर्चा