News

Aug 22, 2008

तीन कैदी प्रहरी नियन्त्रणबाट फरार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिभिन्न घटनामा संलग्न भइ जिल्ला प्रहरी कार्यालय बाँकेमा हिरासतमा रहेका तीनजना थुनुवाहरु आज शुक्रबार बिहान फरार भएका छन् । फरार हुनेहरुमा दङ्गा नियन्त्रण प्रहरी गण नेपालगंन्जमा बिद्रोह गर्ने खुशीराम चौधरी, टेलिफोन तार चोरीमा पक्राउ परेका शाविर खाँ, र शेर अलि रहेका छन् ।उनीहरुसँगै भागेका जनतान्त्रिक तराइ मुक्ति मोर्चा ज्वाला सिहं समूहका बिनोद गडरियालाई भने प्रहरीले पक्राउ गरेको छ । थुनुवा कोठाभित्र रहेको शौचालयको झयालको ग्रिल उप्काएर ती कैदीहरु फरार भएको बताइएको छ ।भागेकाहरुको ७ वटा प्रहरी टोली परिचालन गरी खोजी भइरहेको बाँकेका प्रहरी नायब उपरिक्षक गोबिन्द राम परियारले बताउनुभयो । बाँके जिल्लाका सबै सिमानामा नाकाबन्दी गरी फरार थुनुवाहरुको व्यापक खोजी भइरहेको र घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको परियारले बताउनुभयो ।

सरकारमा एमालेको नेतृत्व वामदेवले गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी नेतृत्वको सरकारमा नेकपा एमालेबाट स्थायी कमिटी सदस्य वामदेव गौतमको नेतृत्वमा सहभागिता हुने भएको छ । एमालेको स्थायी कमिटी वैठकले गौतमको नेतृत्वमा पार्टीले मन्त्रिमण्डलमा सहभागिता जनाउने निधो गरेको हो । नेता गौतमले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।एमालेले मन्त्रिमण्डलमा ६ वटा मन्त्रालय पाएको छ । अन्य मन्त्रीहरु को को हुने भन्नेबारे छलफल भइरहेको उल्लेख गर्दै नेतृ साहना प्रधानले ती नामहरुको अन्तिम टुंगो लागिनसकेको बताउनुभयो । आज शुक्रबार मन्त्रिमण्डल गठन हुँदैछ ।

पूर्वपश्चिम राजमार्ग बन्दपछि वैकल्पिक मार्ग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी नदीमा आएको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि काठमाडौं र पश्चिम नेपाल जाने यात्रुहरुका लागि चतरा-फत्तेपुर सडक विकल्प भएको छ । बाढीले राजमार्गमा लामो समयसम्म यातायात सञ्चालन हुन नसक्ने अवस्थामा चतरा-फत्तेपुर सडक राम्रो विकल्प बनेको छ ।चतरास्थित सप्तकोसी नदीमा डुंगाबाट तरेर पारी उदयपुरको रामपुर हुँदै फत्तेपुर कञ्चनपुर हुँदै राजमार्गबाट गन्तव्य स्थान पुग्ने गरिन्छ । लौकही-भाण्टाबारी सडक खण्ड भत्किएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएकाले अहिले दैनिक हजारौँको संख्यामा यात्रीहरुले सो मार्ग प्रयोग गरिरहेका छन् । काठमाडौँ, सिरहा र पश्चिम जान यही मार्ग प्रयोग गरेर दैनिक हिँड्न थालेका छन् । दैनिक बस र टयाक्सीमा चतरासम्म आउने यात्रुको संख्या एक्कासि बढेको छ स्थानीय व्यवसायीहरु बताउँछन् । झुम्का वा धरानबाट चतरा पुगेपछि त्यहाँबाट डुङ्गा तरेर उदयपुरको रामपुरबाट टयाक्टरको प्रयोग गरी फत्तेपुर-सप्तरीको कञ्चनपुर हुँदै पूर्व पश्चिम राजमार्ग जोडिन्छ । यसरी यो मार्गको प्रयोग गर्दा करिब चार घण्टाको अधिकतम समय लाग्ने गरेको उक्त सडक प्रयोग गर्ने विराटनगर-४ निवासी निश्चल दाहाल बताउँछन् । चतरा-फत्तेपुर हुँदै काठमाडौँ जाने मार्ग यो स्थायी विकल्प देखिएको यसको विकास गर्नुपर्ने चतरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण श्रेष्ठ बताउनुभयो । चतराबाट रामपुर जान डुङ्गामा प्रतियात्रुले २० तिर्ने गरेका छन् भने दुइ किलोमिटर टाढा पैदल हिँडेर झोलुङ्गे पुल प्रयोग गरी कोसी तर्न सकिन्छ ।सप्तकोसीमा पुल भत्किएको सडकको स्तर सुधार गर्न चतराका स्थानीय बासिन्दाले माग गरेको छ । यसैबीच यातायात व्यवसायीले राजधानीलगायतका पश्चिमका विभिन्न स्थानमा जानका लागि भारतको बाटो प्रयोग गरी यात्रुलाई लाने गरेका छन् । भारतको जोगवनी हुँदै काठमाडौँ र सिरहा लागि यहाँबाट यातायातका साधन हिँडेको पूर्वाञ्चल यातायात व्यवसायी संघले जनाएको छ ।

बाढीपीडितलाई सहयोग गर्न प्रधानमन्त्रीद्वारा अपिल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सप्तकोसीको बाँध भत्केर सुनसरी जिल्लामा भएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै उद्धार र राहत सञ्चालन गर्न तथा क्षतिग्रस्त पूर्वाधार संरचनाहरूको पुननिर्माण गर्नका लागि सहयोग गर्न सबै मित्रराष्ट्रहरू र अन्य अन्तर्राष्ट्रिय समुदायलाई आहृवान गर्नुभएको छ ।प्रधानमन्त्री दाहालद्वारा प्रकाशित अपिलमा केही दिनअघि अप्रत्यासित रूपमा सप्तकोसी नदीको तटबन्ध फुटेर सुनसरीको श्रीपुर, हरिपुर र कुसाहासमेतका तीन गाउँ विकास समिति पूर्ण रूपमा र अन्य चार गाउँ विकास समिति आंशिकरूपमा जलमग्न भई हजारौं परिवार विस्थापित भएको तथा ५० हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएको अत्यन्त पीडादायी तथा विपत्तिपूर्ण स्थितिबाट नेपाल सरकार अत्यन्त दुखी भएको उल्लेख गरिएको छ ।अपिलमा यस विपत्तिपूर्ण प्रकोपबाट अमूल्य धनसम्पत्तिको क्षति पुग्न गएकोमा सरकार अत्यन्त मर्माहत भएको उल्लेख छ । प्रधानमन्त्रीले यो घटना के कसरी हुन गएको हो भन्ने सम्बन्धमा सरकारले गम्भीरतापूर्वक छानविन गरी वास्तविकता जनसमक्ष ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।अपिलमा भनिएको छ, "कोसी नदीको बाँध भत्किइ आएको यस त्रासदीपूर्ण बाढीले करिब एक हजार घर र हजारौं विघा खेतीको जमीन बगाएको छ भने हजारौं घर प्रभावित भएका छन् र थुप्रै पुलपुलेसा, करिब ३ किलोमिटर पूर्वपश्चिम राजमार्ग भत्किएको, खानेपानी तथा टेलिफोन लाइन अबरुद्ध भएको छ ।"प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा थप सहयोग गर्न राजनीतिक दल, राजनीतिकर्मी, उद्योगपति, व्यापारी, औद्योगिक प्रतिष्ठान, व्यवसायी, राष्ट्रसेवक कर्नचारी, नागरिक समाज तथा सम्पूर्ण नेपाली दाजुभाइलाई आवश्यक सहयोग गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्नसमेत अपिल गर्नुभएको छ ।

Aug 20, 2008

प्रधान सेनापति रुक्मांगद कटवालले प्रधानमन्त्री प्रचण्डलाई भेटे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधान सेनापति रुक्मांगद कटवालले प्रधानमन्त्री प्रचण्डलाई मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालयमा भेटेर बधाई दिनुभएको छ। सोमबार प्रधानमन्त्रीको शपथग्रहण समारोह सकिएलगत्तै समारोहस्थलबाट बाहिरिनुभएका प्रधानसेनापति कटवालले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर औपचारिक रूपमा बधाई दिनुभएको थियो।भेटका अवसरमा प्रधानसेनापति कटवालले मुलुकको र्सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र एकताका लागि लड्न सेना तयार रहेको जानकारी गराउनुभएको थियो।र्सार्वजनिक समारोहमा प्रधानसेनापति कटवालको नाम नै किटेर आलोचना गर्दै आउनुभएका प्रधानमन्त्री प्रचण्ड र माओवादीविरुद्ध कडा अभिव्यक्ति दिँदै आउनुभएका प्रधानसेनापति कटवालबीच भएको पहिलो औपचारिक भेटमा दुवैले असजिलो महसुस गरेको स्रोतले जानकारी दिएको छ। आधा घण्टा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सेनाको संरचनाबारे पटकपटक जिज्ञासा राख्नुभएको बताइएको छ।

बिग्रियो प्रधानमन्त्रीको गाडी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री प्रचण्ड चढेको बा१झ ४०८६ नम्बरको गाडी शहीदगेटअगाडि मंगलबार बेलुकी बिग्रिएपछि उहाँ अर्को गाडीबाट आफनो निवासस्थानतर्फलाग्नुभयो। नेकपा (एमाले) र माओवादीबीच सत्ता बाँडफाँडको बैठक सकेर आफनो निवासस्थान नयाँ बजारतर्फजाने क्रममा उक्त गाडी बिग्रिएपछि उहाँ अर्को गाडी बोलाएर जानुभएको थियो।प्रधानमन्त्री प्रचण्डको सवारीसाधन बीच बाटोमा नै बिग्रिएपछि उहाँको सुरक्षामा खटिएका नेपाली सेना, प्रहरी र माओवादी लडाकूले पूरै बाटो छेक्दा केहीबेर सवारी आवागमनमा बाधा पुगेको थियो। सिंहदरबारबाट तत्कालै अर्को सवारीसाधन मगाई प्रधानमन्त्री प्रचण्ड हिँडेको केहीबेरपछि अघिल्लो गाडीलाई ठेलेर सडक किनारमा ल्याउने क्रममा गाडी स्र्टार्ट भएको थियो।

सरकारका सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले इमानदार र निष्पक्ष भएर काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । पदभार ग्रहण गरेको भोलिपल्ट आफ्नै कार्यालयमा सामूहिक निर्देशन दिंदै उहाँले आफूले राजनीतिक आधारमा कसैप्रति पूर्वाग्रह नराख्ने समेत बताउनुभएको छ । गुण र दोषका आधारमा कर्मचारीको मूल्यांकन गरिने उहाँले बताउनुभएको थियो ।निर्देशनको क्रममा उहाँले मुलुकको राष्ट्रियता, स्वतन्त्रता एवम् अखण्डतालाई सवल बनाउन हरदम क्रियाशील रहने, निजामती कर्मचारीहरूले राष्ट्र र जनतालाई सर्वोपरी ठानी कुनै पूर्वाग्रह एवम् कसैको डर त्रास नमानी निश्पक्षतापूर्वक कार्यसम्पादन गर्नुपर्नेतर्फ जोड दिनुभयो ।प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानपश्चात नयाँ सरकार गठन भएकाले अन्तर्राष्ट्रिय समुदाय र नेपाली जनताको यसमा ठूलो भरोसा रहेको र यो सरकारको सफलतामा मुलुकको भविष्य निर्भर रहेकाले यस तथ्यलाई आत्मसात गरी कार्य गर्न र राजनीतिक परिवर्तन र जनआकांक्षालाई आत्मसात गर्दै आफ्नो परम्परागत सोच, चिन्तन, कार्यशैली र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गर्नुभयो ।