News

Dec 22, 2008

जनतान्त्रिकको वार्ताटोली सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईमा सशस्त्र संघर्षरत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका तीनजना प्रमुख नेता सोमबार जनकपुरमा सार्वजनिक भएका छन् ।सरकारसित वार्ता गर्न मोर्चाद्वारा गठित टोलीका संयोजकसहित तीनजना सदस्य सार्वजनिक भएका हुन् ।नेपाल-भारत सीमा क्षेत्र महोत्तरीको भिठामोडबाट स्थानीय प्रशासनको गाडी चढेर जनकपुर आएका मोर्चाका केन्द्रीय प्रवक्ता एवं वार्ताटोलीका संयोजक सञ्जय गुप्ता उर्फ कौटिल्य शर्मा, केन्द्रीय सदस्य रविदत्त मिश्रा र मोर्चाका वैकल्पिक केन्द्रीय सदस्य गुलाम सरवर शेख पत्रकार सम्मेलन गरी सार्वजनिक भएका हुन् ।धनुषाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला र प्रहरी नायव उपरीक्षक यादवराज खनालको रोहवरमा जनकपुरस्थित अधिकृत संगममा उनीहरूले पत्रकार सम्मेलन गरेका थिए । वार्ताटोली संयोजक गुप्ताले सरकारका प्रतिनिधि र सरकारद्वारा नियुक्त सहजकर्ताबीच आन्तरिक छलफलपछि निकट भविष्यमा औपचारिक वार्ता थालिने बताए । वार्ता साकारात्मक हुने र सरकारले चाहेमा चाँडै देशमा शान्ति स्थापना हुने उनको दाबी छ ।आफ्ना न्यूनतम तीनवटा सर्त पूरा भएपछि वार्ता हुने उनले बताए । सरकार र मोर्चाबीच अन्तरक्रिया गर्ने, आफना कार्यकर्तालाई रिहाइ गर्ने र वार्ता जनकपुरमा गर्नुपर्ने मोर्चाका सर्त छन् । वार्तामा समावेश गरिने मुद्दाबारे बताउन नमानेका गुप्ताले वार्ताको तिथि निश्चित भइसकेपछि सोबारे जानकारी गराउने बताए ।

कांगेसद्वारा फेरि संसद् बहिष्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफनो पार्टी राखेको नौबुँदे मागप्रति प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरे पनि पूरा नगरेको भन्दै नेपाली
काँग्रेसले आइतबारको व्यवस्थापिका-संसद्को बैठक बहिष्कार गरेको छ। प्रमुख प्रतिपक्षी दल कांगे्रसले प्रधानमन्त्रीद्वारा प्रतिबद्धता व्यक्त गरिएका आफना माग सुनुवाइ नभए संसद् बहिष्कार गरिरहने चेतावनी दिएको छ। काँग्रेसले यसअघि पनि सदन बहिष्कार गरेको थियो। काँग्रेसले आइतबारको बैठक बहिष्कार गरेपछि सभामुख सुवास नेम्वाङले बैठक स्थगित गर्नुभएको थियो। त्यसै गरी हालै गठित संवैधानिक समितिमा मुस्लिम समुदायको सहभागिता हुनुपर्ने माग गर्दै दलित जनजाति पार्टी कांगेसले सदन बहिष्कार गर्नुअघि केही बेर सदनको काममा अवरोध पुर्याएको थियो।

नेपाली तारा दिपक लिम्बुलाई सम्मान दक्षिण कोरियामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण कोरियामा पाल्नु भएका नेपाली सुप्रसिद्ध गायक नेपाली तारा दिपक लिम्बुलाई किरांत याक्थुम चुम्लुड सम्पर्क समितिले हिजो भएको नेपाली
सांस्कृतिक कार्यक्रममा सम्मान गरिएको छ । सम्मान कार्यक्रममा किरांत याक्थुम चुम्लुड सम्पर्क समितिका अध्यक्ष नारद लिम्बुले सम्मानपत्रको साथै उपहार हस्तान्तरण गर्नु भएको थियो । सम्मानको क्रममा अध्यक्ष लिम्बुले नेपाली तारा दिपक लिम्बुको मिठो स्वर र गायनको प्रसंसा गर्दे नेपाली र नेपालीको गौरवलाई अझ उच्च बनाउन सक्ने विश्वस्त रहेको बताउदै सम्मान कार्यक्रमको लागी समय दिएकोमा आयोजक टोलीलाई धन्यवाद दिनु भयो । त्यस्तै नेपाली तारा लिम्बुले किरांत याक्थुम चुम्लुड सम्पर्क समितिको यो सम्मानलाई जिवनको अन्त सम्म नभुल्ने विचार व्‍यक्त गर्दे आगामी दिनहरुमा पनि अझ बढी माया ममता र स्नेहको कामना गर्नु भयो । स्मरणीय छ सुप्रसिद्ध गायक नेपाली तारा दिपक लिम्बु आगामी २००९ मा राप्ती सम्पर्क मंच द्धारा आयोजित राप्ती झंन्कार सांस्कृतिक कार्यक्रममा पुन दक्षिण कोरिया आउनु हुने छ ।

महाधिवेशनमा एमालेले तीन लाख मानिस उतार्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आगामी माघ पहिलो साता बुटवलमा हुने पार्टीको महाधिवेशनमा नेकपा एमालेले तीन लाख मानिस उतार्ने भएको छ । आठौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक भरतमोहन अधिकारीको अध्यक्षतामा बसेको वैठकमा यसबारे छलफल गरिएको पार्टीले जनाएको छ ।संयोजक अधिकारीले सम्मेलन स्थल बुटवलको स्थलगत भ्रमणको जानकारी दिँदै बुटवलमा एक गणतन्त्र स्तम्भ निर्माण गर्ने, पुस महिनाभरी प्रचार-प्रसार अभियानलाई तीव्रता दिई तीन लाख मानिस बुटवलमा ल्याइने जानकारी दिनुभयो । त्यसअवसरमा पार्टीको आठौँ महाधिवेशन समापनसम्बन्धी विभिन्न उपसमितिका संयोजक, सचिव र मूल व्यवस्थापन समितिका सदस्यहरू अमृत बोहोरा, इश्वर पोखरेल, केशव बडाल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, भीम रावल, विष्णु रिमाल र विद्या भण्डारीलगायतका पदाधिकारीहरूले कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको कार्यालय सचिव डा. भीष्मनाथ अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

वाइसिएल शिविर हटाउन सरकारले पत्र काटेको जानकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले सत्तारुढ नेकपा माओवादीको भ्रातृ संस्था योङ कम्युनिस्ट लिग वाइसिएललाई देशका विभिन्न औद्योगिक क्षेत्रमा राखिएका आफ्ना शिविर ३५ दिनभित्र छाड्न सरकारले पत्र काटिसकेको बताउनुभएको छ ।रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले वाइसिएलले औद्योगिक क्षेत्रमा बसेर औद्योगिक वातावरण बिगारेको र औद्योगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायीबाट चन्दा उठाउने, धम्की दिनेजस्ता कार्य भइरहेको दाबी गर्नुभयो । मन्त्री शाक्यले प्रधानमन्त्रीले समेत औद्योगिक वातावरण तयार गर्छु भन्नु भएकाले उनीहरू हट्ने विश्वास आफूले लिएको बताउनुभयो । उहाँले भन्नुभयो-बालाजु, धरानलगायत मुलुकका सबैजसो औद्योगिक क्षेत्रमा वाइसिएलले आफ्ना शिविर खडा गरेर लामो समयदेखि बस्दै आएका छन्, वाइसिएलसमेत जिम्मेवार र अनुशासित बन्नुपर्दछ । वाइसिएललाई औद्योगिक क्षेत्र छाड्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले तीन दिनअघि पत्र पठाएको जानकारी दिँदै मन्त्री शाक्यले उद्योग क्षेत्रको समस्या नै वाइसिएल भएको र उनीहरूकै गतिविधिका कारण सम्पूर्ण उद्योग क्षेत्र आतङ्कित, भयभित र त्रासमा रहन बाध्य भएको पनि उल्लेख गर्नुभयो ।

Dec 21, 2008

विदेश पुगेकी एक युवतीले मानसिक सन्तुलन गुमाइन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सानीआमामार्फत धन कमाउन विदेश पुगेकी एक युवती मानसिक सन्तुलन गुमाएर स्वदेश फर्केकी छन् ।सिन्धुपाल्चोकको सेलाङ-७ की १७ वर्षीया गीता मगर कुवेतबाट मानसिक सन्तुलन गुमाएर नेपाल फर्केकी हुन् । गीता गत साउनमा कुवेत प्रवेश गरेकी थिइन् । कुवेत पुगेको चार महिनापछि उनी १ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । कतार एयरवेजबाट राति आएकी उनलाई विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले अर्धचेत अवस्थामा फेलापारेका थिए ।अर्धचेत अवस्थामै माइती नेपालको संरक्षणमा पुगेकी गीताको होस खुलेपछि मानसिक सन्तुलन गुमेको पत्ता लागेको उनको परिवारजनले बताएका छन् । बेठेगानको गफ गर्ने उनी माइती नेपालकै संरक्षणमा छिन् । धन कमाउन गएकी गीता यस्तो अवस्थामा भेटिएपछि परिवारजन चिन्तित बनेका छन् । गीताकी ४० वषर्ीया आमा मानकुमारी पनि वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा पुगेकी छिन् । परिवारका अनुसार गीता कुवेत र मानकुमारी साउदी अरब जान भनेर २४ असारमा चौताराबाट राजधानी लागेका थिए । मगर परिवारको सदरमुकाम चौतारामा होटल व्यवसाय छ । साउनमा आमाछोरी छुट्टाछुट्टै मुलुक प्रस्थान गरेका थिए । 'कुवेत पुगेपछि म आइपुगेँ भनेर घरमा फोन गरेकी थिई,' चिन्तित हुँदै गीताकी दिदी नानु मगरले भनिन्, 'अर्कोपल्ट सम्पर्क नहुँदै यस्तो हालतमा देख्नुपर्‍यो ।' उनले आमा मानकुमारी भने सम्पर्कमा आइरहेको बताइन् । 'बेठेगानका कुरा गरिरहेकाले गीता कसरी सन्तुलन गुमाएर फर्किन् भन्ने बुझ्न सकिएन,' उनले भनिन्, 'कसैले कुरा गरे त्यो पैसा ऊ त्यही झोलामा छ मात्र भन्छे ।' नानुका अनुसार आमाछोरी दुवैलाई कान्छी मगर नाम गरेकी आफ्नै सानीआमाले विदेश पुर्‍याएकी हुन् । सानीआमा 'कान्छी' पनि विदेश जान भनेर हिँडेको र सम्पर्कमा नआएको उनले बताइन् । उनले बहिनी गीतालाई कुवेत पठाउन दस हजार भारु खर्च भएको जानकारी दिइन् ।भर्खर १७ वर्ष मात्र पुगेकी गीताको विदेश पठाउन उमेर बढाएर २० वर्ष उल्लेख गरी राहदानी लिइएको परिवारले जनाएको छ । कुवेत नेपाली महिला कामदारका लागि प्रतिबन्धित देश हो । छोरी अर्धचेत अवस्थामा फेलापरेको खबर पाएपछि गीताका बाबु तामबहादुर शुक्रबार माइती नेपाल, काठमाडौं पुगेका छन् ।

तमिल नेता बेल्लुपिल्लई प्रभाकरण चर्चाको शिखरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
करिब २५ वर्षयता श्रीलंकाका विद्रोही पृथकतावादी तमिल नेता बेल्लुपिल्लई प्रभाकरणको नाम चर्चाको शिखरमा छ । उनी लिबरेसन टाइगर्स अफ तमिल इलमका प्रमुख हुन् र जंगलमा लुकेर श्रीलंकाको सरकारसँग दुई दशकभन्दा बढी समयदेखि निरन्तर युद्धको नेतृत्व गरिरहेका छन् ।प्रभाकरण निडर र निर्दयी गुरिल्ला नेताका रूपमा चिनिएका छन् । उनको नेतृत्वमा तमिल टाइगरहरू अति नै अनुशासित, उत्प्रेरित छन् र देशको उत्तर-पूर्वी क्षेत्रमा भिन्नै गृहराज्यका लागि अथक युद्ध गरिरहेका छन्धेरैजना हताहत भइसकेपछि पनि गत तीन दशकदेखि उनको सेनाले श्रीलंकाली सेनासँग हार्ने कुनै लक्षण देखाएको छैन । अहिले भने उनीमाथि पहिलेभन्दा धेरै बढी सैनिक दबाब बढ्दै गइरहेको बताइन्छ ।

घाँटीमा साइनाइडको माला
प्रभाकरणको घाँटीमा सधैँ साइनाइडको माला झुन्डिएको हुन्छ । कुनै प्रकारले उनी सरकारी कब्जामा परेका खण्डमा त्यसलाई खाइहाल्ने अठोटले उनले साइनाइडको माला सधैँ पहिरिएका हुन्छन् । महिला वा बालबालिका नै किन नहुन्, आफ्ना कार्यकर्ताले पनि यसप्रकारको समर्पण भाव राखून् भन्ने उनको चाहना छ । किलिनोच्ची सहर वास्तवमा लिट्टेको राजधानी नै हो, अहिलेसम्म उसकै नियन्त्रणमा छ तर अब भने त्यहाँबाट लिट्टेको नियन्त्रण खुकुलो हुँदै छ । किलिनोच्ची सहरमा लिट्टेको पतन भयो भने तमिल आन्दोलन तुहिने बलियो सम्भावना छ । प्रभाकरणका साथीमध्ये केही वरिष्ठ नेता मरिसकेका छन् । तीमध्ये उनीसँग छुट्टिएका करुणाले अर्को समूह खोलेपछि प्रभाकरणको समूहमा अनुशासनको समस्या देखा पर्‍यो । उनी मारिए । तमिल टाइगरका सिद्धान्तकार मानिएका अन्तोन बालासिंघमको क्यान्सरका कारण लन्डनमा निधन भयो । प्रभाकरण द्वन्द्वको भावुकतालाई उक्साउनमा निपुण छन् भनिन्छ । यसैकारण त्यहाँ सिंहाली र तमिल समुदायबीच विभाजनको गहिरो प्रभाव देख्न सकिन्छ । आफ्ना कार्यकर्ताका लागि उनी स्वतन्त्रताका लागि लडिरहेका योद्धा हुन् र सिंहालीहरूको दमनचक्रबाट तमिल समुदायलाई मुक्त गर्न चाहन्छन् । विरोधीका नजरमा उनी मानव-जीवनलाई ख्याल नगर्ने आत्मप्रशंसक र क्रूर व्यक्ति हुन् ।
नेपोलियन र अलेक्जेन्डरका अनुयायी
उनी पत्रकारलाई मुस्किलैले अन्तर्वार्ता दिन्छन् । तर, हरेक नोभेम्बर महिनामा उनी तमिल टाइगरले मनाउने गरेको वीरदिवसका दिन एक प्रवचन दिन्छन् । उनी यस दिन बलिदान दिएका विद्रोही टाइगरहरूको स्मरण गर्छन् । भाषण भने उस्तै खालको पुरानो र असरदार हुन्छ । 'सिंहालीहरूको सम्झौताविहीन अन्धराष्ट्रवादले तमिल इलमका जनताको स्वतन्त्र राज्यबाहेक अन्य कुनै पनि विकल्प हामीलाई दिँदैन,' दुई वर्षअघिको नोभेम्बरमा उनले भनेका थिए । उनी जंगलमा लुक्दै हिँड्दा निकै गोप्य तवरले हिँड्छन् । कैयौँपटक त उनी झन्डै समातिएका वा मारिएको अवस्था पनि आएको थियो । सन् १९५४ को नोभेम्बर महिनामा श्रीलंकाको उत्तरी क्षेत्र जाफ्ना प्रायद्वीपको बेल्भेतिथुराईमा जन्मेका प्रभाकरण परिवारका चार सन्तानमध्ये सबैभन्दा कान्छा सन्तान हुन् । अध्ययनकालमा उनी औसत, संकोची स्वभावका तर किताब पढैया विद्यार्थी थिए । उनी नेपोलियन र अलेक्जेन्डरलाई आदर्श मान्छन् । सुवासचन्द्र बोस र भगतसिंहजस्ता अंग्रेजविरुद्ध सशस्त्र संघर्षको वकालत गर्ने भारतीय नेताबाट समेत प्रभावित छु भन्छन् उनी । सानै हुँदा राजनीति, शिक्षा र रोजगारीमा तमिललाई विभेद गरिएको देखेपछि क्रुद्ध भएका उनी बिस्तारै राजनीतिक सभामा सहभागी हुन थाले र मार्सल आर्ट पनि सँगसँगै सिक्न थाले । चाँडै नै उनी तमिल आन्दोलनमा राम्रैसँग सरिक भए । उनलाई सन् १९७५ मा जाफ्नाका नगरप्रमुखको हत्या गरेको अभियोग लाग्यो । यो नै तमिल राष्ट्रवादी आन्दोलनको पहिलो हत्या थियो । तमिल टाइगर्सको जग हाल्नमा उनै प्रमुख कारक थिए । सन् १९९१ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीको हत्याको आरोप पनि उनलाई लागेको थियो ।