News

Nov 24, 2009

एकीकृत नेपालीको हङकङमा सद्‌भाव साँझ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
मंसिर ८ मञ्चमा खचाखच चिनियाँ पाहुना, हलभरी नेपाली दर्शक, विभिन्न देशको प्रस्तुती। डाँडाघरे दाई 'गीत र नृत्यबाट शुरु भएको साँस्कृतिक कार्यक्रममा दर्शकहरूले खुब मन पराए, चिनियाँ कलात्मक नृत्यहरू। आइतबार साँझ याउ मा तेइ सामुदायिक हलमा यस्तो अवसर जुटायो हङकङस्थित एकीकृत नेपाली एकता समाजले। नेपाली, चिनियाँ, भारतीय, मलेसियन, फिलिपिनो नृत्यहरू प्रस्तुत गरेर ब्यानरमा भने जस्तै यसलाई 'जातीय सद्भाव साँस्कृतिक कार्यक्रम' को रुप दिइएको थियो।हङकङ सरकारको आर्थिक सहयोगमा यहाँ रहेका विभिन्न जातीबीच घुलमिल र एकता बढाउने उद्देश्यले यो कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष बुद्धिबहादुर थापाले बताए। कार्यक्रमकी प्रमुख अतिथि संवैधानिक तथा मुख्यभूमि मामिला विभागकी उपसचिव एडा क्वाङले चार वटा केन्द्रहरू सञ्चालन गरी सरकारले अल्पसंख्यक समुदायलाई सहयोग पुर्‍याइरहेको बताइन।त्यस्तै हङकङको ठूलो पार्टी डिएबिको अल्पसंख्यक विभागका अध्यक्ष अल्वर्ट लामले आफ्नो पार्टीमा अल्पसंख्यकहरूलाई महत्व दिइएको दावी गरे। कार्यक्रममा डिएबिका अध्यक्ष टाम यिउ चुम, विभिन्न देशका कन्सुल जनरल, महिला आयोग, डिस्ट्रिक काउन्सिलर र प्रहरी डिभिजन कमाण्डरको उपस्थिति थियो।

सांसदहरुले उठाएका प्रश्नहरुमा मन्त्रीहरुले पुरानै कुरालाई उठाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ नोभेम्बर, २००९,विनियोजन विधेयक २०६६ का विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैँ सम्बन्धित मन्त्रीहरुले पुरानै कुरालाई दोहोराई रहेका छन् ।आजको छलफलमा जवाफ दिने मन्त्रीहरुले बिगतमा सरकारले गरेका र वर्तमान सरकारले उठाएका मुद्दाहरु शिवाय अरु नयाँ कुरा केही ल्याउन सकेको छैन् ।सांसदहरुको प्रश्नको जवाफ दिदैँ महिला बालबालिका तथा समाज कल्याणमन्त्री सर्वदेवप्रसाद ओझाले आफ्नो मन्त्रालयले अपाङ्ग जेष्ठ नागरिक महिला तथा बालबालिकाको शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रको थप विकास गर्ने प्रतिबद्धता जनाएका छन् । रक्षा मन्त्री बिद्या भण्डारीले माओवादीका कारण सेना समायोजनको प्रक्रिया अगाडि बढ्न नसकेको बताइन्। उनले प्रविधिक समितिका बैठकहरुमा माओवादी अनुपस्थित रहने गर्नाले समायोजनको प्रक्रिया अगाडि नबढेको जानकारी दिइन । उनले सेनालाई थप आधुनिकि करण गर्न रक्षा मन्त्रालयलाई १२ अर्ब रकम समेत माग गरिन । गृह मन्त्री भिम रावलले सरकार शान्ति सुरक्षा कायम गर्न दृढ भएर लागेको बताए । उर्जा मन्त्री डा प्रकाशशरण महतले पनि पाँच बर्षभित्र देशलाई लोडसेडिङ मुक्त बनाउन लागि परेको र त्यसका लागि ग्रमिण बिद्युतीकरणलाई महत्व दिएको बताए । वातावरणमन्त्री ठाकुर शर्मा, सङ्घीय मामिला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री मिनेन्द्र रिजाल, युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपाली, कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमार यादव तथा भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठले पनि आफ्ना मन्त्रालयका उही पुरानै कुरालाई निरन्‍तरता दिए।

Nov 23, 2009

माओवादीको महाधिवेशन एक बर्षपछि गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ८ - माघ १५ गतेका लागि तय गरिएको माओवादीको महाधिवेशन एक बर्षपछि सरेको छ ।सोमबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन एक बर्षपछि गर्ने निर्णय गरेको हो । पार्टीको आन्तरिक तयारी, जारी नागरिक सर्वोच्चताको आन्दोलन तथा शान्तिप्रकृयालाई निष्कर्षमा पुर्‍याउने बाध्यताका कारण महाधिवेशनको मिति सारिएको केन्द्रीय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । 'खासगरी सदस्यता बृद्धिको अभियान, कतिपय जिल्ला सम्मेलनका कुराहरु र दस्तावेजहरु पूरा भइसकेका छैनन्,' पौडेलले भने, 'संघर्षका कार्यक्रम पनि घोषणा गरेको र शान्तिप्रकृयालाई निष्कर्षमा पुर्‍याउने र संविधान निर्माण गर्ने मुख्य जिम्मेवारी रहेकाले महाधिवेशनको कार्यक्रमलाई एक बर्षपछि सार्ने निर्णय गरेका हौं ।' सोमबारको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशन सार्नुपर्ने प्रस्ताव राखेका थिए । गत असारमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन आगामी माघ १५ देखि फागुन १ गतेसम्म गर्ने निर्णय गरेको थियो । बैठकले पार्टीको राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष दाहाललाई र संगठनात्मक प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष मोहन वैद्यलाई दिएको थियो । २०४८ सालमा तत्कालीन नेकपा मशाल, नेकपा चौम (निर्मल लामा समूह), रुपलाल विकले नेतृत्व गरेको सर्वहारावादी श्रमिक संगठन र क्रान्तिकारी मसालबीच एकीकरण भएपछि आयोजना गरिएको महाधिवेशनपछि माओवादीले अर्को महाधिवेशन गर्न सकेको छैन । माओवादीले यसअघि तीनपटकसम्म महाधिवेशनको मिति तय गरेपनि हुन सकेको छैन । केन्द्रीय कमिटीको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी नागरिक सर्वोच्चताको आन्दोलन, राष्ट्रिय सरकारको गठनलगायतका बिषयमा धारणा राखेका थिए । बैठकले सहमति र संवादको लागि प्रयत्न जारी राख्ने निर्णय गरेको जानकारी दिदै पौडेलले आन्दोलनलाई पनि सशक्त पारिने बताए ।

जातीय, भाषिक र क्षेत्रगत आधारमा संघीयता लागू गर्नुपर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आदिवासी जनजातिहरूको बृहत् भेलाले ऐतिहासिक पृष्ठभूमिसहितको जातीय, भाषिक र क्षेत्रगत आधारमा संघीयता लागू गर्नुपर्ने निर्णय गरेको छ। डा. कृष्ण भट्टचनको संयोजकत्वमा भएको किराँत याकथुङ चुम्लुङका प्रतिनिधिहरूले आधारभूत सहमतिपत्र-२००९ लाई अनुमोदन गरेका छन्।अनुमोदित आधारभूत सहमतिपत्रमा जातीय, भाषिक, क्षेत्रगत, संघीयताका साथसाथै आदिवासी जनजातिको आत्मनिर्णयो अधिकार, स्वायत्तता, स्वशासन र राजनीतिक अग्रँधिकारलगायतका साझा मुद्दाहरू छन्। नयाँ संविधानमा सुनिश्चित हुनुपर्ने कुराहरूमा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय कानुनको व्यवस्था, सबै प्रकारको जातीय विभेद उन्मूलन गर्ने महासन्धि अनुगमन समितिले नेपाल सरकारलाई मार्च १३, २००९ मा पठाएको अग्रीम चेतावनीपत्र र सेप्टेम्बर २८, २००९ मा पठाएको सोको अनुगमन तथा आदिवासीको मानवअधिकार हेर्न संयुक्त राष्ट्रसंघको विशेष कक्षले जुलाई २०, २००९ मा गरेको सिफारिशअनुरुप संविधान निर्माणमा प्रत्यक्ष आदिवासी जनजातिको प्रतिधित्व गराउनुपर्ने रहेका छन्। बृहत् भेलाले आदिवासी जनजाति बृहत् मोर्चा नेपालको सैद्धान्तिक मान्यता, उद्देश्य, गठन, संरचना र सञ्चालनसम्बन्धी कार्यविधि पारित गर्दै २७ सदस्यीय संघषॅ समिति गठन गरेको छ।संघषॅ समितिका प्रवक्ता शंकर लिम्बूले सात दिनभित्रै संघषॅका कार्यक्रम अगाडि बढाउँदै लाने बताउनुभयो। आदिवासी जनजातिका बारे संविधान लेखिँदा पूर्वसूचित मञ्जुरी कायम गरेर मात्रै संवैधानिक सिद्धान्त, प्रस्तावना, धारा, उपधारा, अनुसूचिलगायतका प्रावधान पारित गर्नसमेत आग्रह गरिएको छ।

कांग्रेसका सभापति र प्रचण्डबीच आज भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ नोभेम्बर, २००९ ,सरकार परिवर्तनको हल्ला चलिरहे पनि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्तामा सरकार परिवर्तन बारे कुनै पनि कुरा भएन । कोइरालालई सिङ्गापुरमै भेटेर फर्किएका दाहलले कोइराला स्वदेश फर्किएपछि सरकार परिवर्तन हुने दाबी गरेका थिए । यस बारेमा हिजो सभापति कोइरालाले सरकार परिवर्तनको कुनै कुरा नभएको बताएपछि अध्यक्ष प्रचण्डले आज सरकार परिवर्तनको कुरा सञ्चारमाध्यमले गलत रुपमा प्रचार गरेको टिप्पणी गरे । आज अपरान्ह कोइराला निवास महाराजगञ्जमा भएको भेटमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरी समस्या समाधान गर्ने सहमति भएको भेटमा सहभागी उपप्रधानमन्त्री सुजाता कोइरालाले जानकारी दिइन् । कोइरालाका अनुशार सभापतिले दाहाललाई सरकार परिवर्तनको हल्ला किन गरेको भन्दा उनले आफूले नभइ सञ्चारमाध्यमले त्यस प्रकारको गलत प्रचार गरेको बताए । अध्यक्ष दाहालले आफू कोइरालाको भनाईप्रति गम्भिर भएको र उच्चस्तरिय संयन्त्रको लागि तयार रहेको बताएको स्रोतले दाबी गरेको छ । कोइरालासँगको भेटपछि प्रचण्डले 'राजनीतिक सहमतिको निकास खोज्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको बताए । उनले सिंगापुरमा सरकार परिवर्तनबारे कुनै छलफल नभएको बताए । मिडियाले गलत रुपमा व्याख्या गरेको बताए । वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको उनको भनाइ थियो । स्वास्थ्योपचारबाट हिजो स्वदेश फर्किएका कोइरालाले राजनीतिक परामर्शलाई गति दिएका हुन् । यसअघि हिजो प्रधानमन्त्री माधवकुमार नेपालसंग छलफल गरेका थिए ।

एक हप्ताभित्र उच्चस्तरीय राजनीतिक संयन्त्र बन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३नोभेम्बर,२००९, नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र बनेपछि यही सरकार वा अर्को सरकार बनाएर भए पनि राष्ट्रिय सहमतिको सरकारबारे टुङ्गो बताउनुभएको छ ।
राजधानीमा आज आयोजित साक्षात्कारमा डा. कोइरालाले एक साताभित्रै उच्चस्तरीय राजनीतिक संयन्त्र घोषणा हुने बताउनुभयो । संयन्त्रलेनै राष्ट्रिय सहमतिको सरकारको टुंगो लगाउने उहाँले बताउनुभयो ।
'राष्ट्रिय सहमतिको सरकार अनिवार्य छ,' सहमतिको सरकार यही वा अर्को बन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो 'यही सरकारलाई निरन्तरता दिदै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्राथमिकतामा पर्छ, सहमतिका लागि सबै विकल्पहरुबारे छलफल हुन्छ ।' शान्ति प्रक्रियालाई केन्द्रमा राखेर सहमतिको सरकार बनाउने छलफल भएपनि मुख्यतः उच्चस्तरी राजनीतिक संयन्त्र गठनबारे कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले जोड दिनुभएको खुलासा गर्नुभयो । सभापति कोइरालाले माओवादीलाई यही सरकारमा आउन आग्रह गर्नुभएको बताउनुभयो । सरकार कस्को नेतृत्वमा बन्नेभन्दा पनि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने रोडम्याप तयार गर्नुपर्ने बताउनुभयो । सरकार सबै दल सहभागी भएको हुनुपर्ने बताउनुभयो । माओवादीले भनेजस्तो उसको नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

सुनसरी स्ववियु सभापतिद्वारा क्याम्पस प्रमुखलाई हातपात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, मंसिर ८ सुनसरीको इनरुवास्थित सुनसरी बहुमुखी क्याम्पसका प्रमुख नारायणप्रसाद शर्मा भट्टराईलाई स्ववियु सभापतिले कार्यकक्षमै हातपात गरेका छन्। स्ववियु सभापति धर्मवीर आर्यले भट्टराईलाई हातपात गरेकाले सोमबारदेखि प्राध्यापकले सुरक्षाको माग राखेर पठनपाठन ठप्प पारेका छन्। केही दिनअघि धरानमा भएको वक्तृत्वकला प्रतियोगितामा विजयी भएर आएका दुई जना विद्यार्थीलाई भाडा खर्च दिने विषयमा विवाद हुँदा स्ववियु सभापति आर्यले भट्टराईमाथि हातपात गरेका हुन्।लामो समयदेखि आर्य आफूविरुद्ध लागेकाले सामान्य निहुँमा हातपात गरेको भट्टराईले बताएका छन्। आर्यले भने विद्यार्थीको हितका लागि समस्या लिएर जाँदा जहिले पनि प्रमुख भट्टराईले एकलौटी निर्णय गर्ने र वक्तृत्वकला प्रतियोगितामा विजयी भएर आएका विद्यार्थीलाई भाडा खर्च दिन प्रमाण खोजेकाले आवेशमा आएर हातपात गरेको बताएका छन्। उनले भने- सुरुमा दुई झप्पड हानें, पछि क्याम्पस प्रमुखले गाली गरेपछि थप कति थप्पड हानें ख्याल नै भएन।'