News

Sep 21, 2010

बलिउडकी नायिका लारा दत्ता विवाह बन्धनमा बाँधिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क/ भारतीय टेनिस स्टार महेश भूपति र बलिउडकी नायिका लारा दत्ता विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूले न्युयोर्कमा बिहेको कुरा छिनेका छन् । सोसियल नेटवर्किङ साइट टि्वटरमार्फत सो जोडीले अघिल्लो साता न्युयोर्कमा इन्जगेजमेन्ट गरेको दाबी गरेको हो । यसै वर्षको सुरुवातमा भूपतिले मोडेल श्वेता जेशंकरसँगको ६ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका थिए । 'हो लारा र मैले न्युयोर्कमा इन्गेजमेन्ट गरेका छौँ,' इन्गेजमेन्टको आधिकारिक जानकारी दिँदै भूपतिले भने, 'मिडियामा आएका समाचार सत्य हो ।' चेन्नाईमा डेभिस कपको प्ले अफअन्तर्गत ब्राजिलविरुद्ध खेल्नुअगाडि भूपतिले आपनो टि्वटरमा लारासँगको सम्बन्धबारे प्रस्ट्याउँदै लेखेका छन्, 'अब छिट्टै वैवाहिक जीवनमा गाँसिनेछौँ ।'
पूर्वपत्नी श्वेतासँग दुई वर्षदेखि सम्बन्धविच्छेद भएको दाबी गर्दै भूपतिले भने, 'श्वेता र म दुई वर्षअघि नै अलग भइसकेका थियौँ, धेरै असमझदारी भएकाले हामीले अलग बस्ने निर्णय गरेका हौँ ।'
पूर्व मिस युनिभर्स लारा पछिल्लो दस वर्षदेखि न्युयोर्कमा बस्दै आएकी छिन् । भूपतिले पनि त्यहीँ नै जीवन बिताउँदै आएका छन् । उनीहरूको प्रेमसम्बन्धबारे मिडिया तथा नजिकका मित्रहरूसमेत अनभिज्ञ थिए । गत साता सम्पन्न वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनका क्रममा भूपतिले लारालाई भव्य रात्रिभोज दिएका थिए । 'उनले -भूपति) मलाई विशेष क्याडिल लाइट डिनर दिए,' लाराले डिनरबारे स्पष्ट पार्दै भनिन्, 'आश्चर्यजनक रूपमा उनले विवाहको प्रस्ताव राखे, म त्यतिवेला स्तब्ध तथा नाजवाफ भएकी थिएँ ।'
लाराका अनुसार, सो क्यान्डिल लाइट डिनरमा भूपतिले लुकाएर आकर्षक डिजाइनको औँठी ल्याएका थिए । 'पहिला त मैले विश्वास गर्न सकिनँ, उनले औँठी साथमा ल्याएका थिए भनेर,' लाराले भनिन्, 'उनको प्रस्ताव मैले स्वीकार गरे ।' यद्यपि, लारा र भूपतिले इन्गेजमेन्ट गरेको सार्वजनिक भए पनि दुवै खुलेर मिडियामा आउन चाहेका छैनन् । तर, लाराले कतिपय अन्तर्वार्तामा आफू एक्लो नभएको बताउने गर्छिन् ।
'मिडियाले मलाई एक्लो वा जोडीको प्रश्न गर्दा एक्लो नभएको जवाफ दिन्थ्यो,' लाराले भनिन्, 'मेरो व्यक्तिगत जीवनमा जे पनि भन्न पाउँछु, अक्सर भन्ने गर्छु पनि, दुईबीचको सम्बन्धबारे पनि ।' यता भूपतिका पूर्वश्रीमती श्वेताले आफूहरूबीचको वैवाहिक जीवनको अन्त्य लाराकै कारण भएको आरोप लगाएकी छिन् ।
'हामीबीचको सम्बन्ध तोडिनमा लाराको हात प्रमुख छ,' श्वेताले भनिन् । तर, लाराले भूपतिको वैवाहिक जीवनमा आफू कहिले तगारो नबनेको दाबी गर्छिन् । लाराका अनुसार, अघिल्लो वर्ष मात्र भूपतिसँग उनले भेटेकी थिइन् ।
'श्वेताको सम्बन्ध बिग्रनुमा मेरो हात छैन,' लाराले भनिन्, 'त्यो आपसी असमझदारी थियो ।' इन्गेजमेन्ट गरे पनि लाराले यस वर्ष विवाह हुन नक्सने जानकारी दिइन् । 'हामी दुवै निकै व्यस्त छौँ, यस कारण यस वर्ष विवाह हुने सम्भावना छैन,' उनले भनिन्, 'भूपति कमनवेल्थ खेलकुद तथा डेभिस कपको तयारीमा छन् ।' दुवै पक्षको परिवारले समेत विवाहको स्वीकृति दिएको लाराको भनाइ छ । 'हामी दुवैका परिवार निकै खुसी छन् र उत्साहित पनि,' लाराले भनिन् ।

फेसबुकमा पनि 'तटस्थता' को सुविधा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ५,सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा कसैले तपाईँलाई साथी बन्न निम्तो दिँदा त्यसलाई स्वीकार गर्ने कि नगर्ने दोधारमा हुनुहुन्छ? त्यसो हो भने तपाईँको समस्या अब समाधान हुनेछ। फेसबुकले अब तटस्थ बस्न अर्थात् 'अहिले हैन पछि सोचौँला' को विकल्प पनि दिएको छ। यसअघि कसैले साथी बन्ने निम्तो दिँदा तपाईँसित दुई वटा विकल्प मात्र हुन्थे- कि स्वीकार गर्ने, कि अस्वीकार गरी इग्नोर गर्ने। अस्वीकार गर्ने विकल्प रोज्नुभएको हो भने तपाईँले त्यो मान्छेसँग जीवन भरका लागि फेसबुक सम्पर्क बन्द हुनपुग्थ्यो। कसैकसैलाई अहिले स्वीकार गर्न मन नलागे त्यस्ता अनुरोधहरुलाई जवाफ नदिई यत्तिकै राख्‍न त सकिन्थ्यो, तर त्यसो गर्दा तपाईँको 'साथी आमन्त्रण' ट्याबमा त्यस्ता आमन्त्रणहरु सँधैका लागि स्टोर भएर बस्थे।
केही फेसबुक प्रयोगकर्ताको खातामा यो सुविधा सुरु भइसकेको छ। तपाईँको अन्यौललाई सजिलो बनाउन अब फेसबुकले यो नयाँ सुविधा दिन थालेको हो। फेसबुकले थपेको यो सुविधा अनुसार अब तपाईँले कसैको आमन्त्रणलाई स्वीकार गर्ने, बाहेक 'नट नाउ' अर्थात् 'अहिले हैन' मा क्लिक गर्न मिल्छ। 'अहिले हैन' मा क्लिक गर्नुभयो भने त्यस्ता साथी बन्न आमन्त्रण पठाउनेहरुको सूचि अलग्गै 'लुकाइएको आमन्त्रण' (हिडन रिक्वेस्टस) मा गएर बस्नेछ। यसरी 'तटस्थ' बसेपछि तपाईँ अब आफ्नो निर्णय गर्न मजाले समय पाउनु हुन्छ। त्यस्तो आमन्त्रण पठाउने साथीले भने 'तपाईँको निर्णय पर्खेर बसेको' सूचना मात्र पाउने छन्। यदि तपाईँले अन्तिममा त्यो व्यक्तिलाई साथी नबनाउने नै निर्णय गर्नुभयो भने तपाईँले लुकाइएको आमन्त्रणमा गएर आमन्त्रण अस्वीकार गरी निषेध (ब्लक) समेत गर्न सक्नुहुन्छ।आक्रामक रुपमा साथीको निमन्त्रणा पठाउने प्रवृत्तिलाई नियन्त्रण गर्न फेसबुकले यो व्यवस्था गर्न लागेको जनाएको छ। तपाईँले सुरुमा हाइड (लुकाउनु भएको) र पछि डिलिट गर्नुभएको छ भने 'म यो मान्छेलाई चिन्दिनँ' पनि भन्न पाइन्छ। त्यसमा क्लिक गर्नुभयो भने त्यो मान्छेले तपाईँलाई भविष्यमा सम्पर्क गर्न सक्दैन।

Sep 20, 2010

२१ नेपाली कामदार कतारमा अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३ असोज,महाराजगन्जस्थित एसओएस म्यानपावरबाट रोजगारीका लागि पुर्‍याइएका २१ नेपाली कामदार कतारमा एक महिनादेखि अलपत्र परेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजु सो म्यानपावर कम्पनीका सञ्चालक हुन् । अगस्ट १ मा १४ जना र २ तारिखमा ७ जना नेपाली कामदारलाई काठमाडौंबाट कतार पुर्‍याइएको थियो । दोहास्थित नेपाली दूतावासका अनुसार, १४ जनालाई श्रम स्वीकृतिको स्टिकर नम्बर ०६२७२० देखि ०६२७३३ र ७ जनालाई श्रम स्वीकृतीको स्टिकर नम्बर ०६२९८१ देखि ०६२९८७ बाट कतार पुर्‍याइएको थियो ।
नेपालबाट कुन कम्पनीमा लैजाने भन्ने जानकारीसमेत नदिई अर्कै कम्पनीमा पुर्‍याइएपछि उनीहरू हाल दोहास्थित नेपाली दूतावासको शरणमा आएका छन् । त्यसबारे जानकारी गराउँदै हालै दूतावासले परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई पत्राचार गरी जानकारी गराएको छ । 'कामदारहरू शरणमा रहेको दूतावासले जानकारी गराएको थियो,' परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीले नयाँ पत्रिकासँग भने, 'श्रम मन्त्रालयलाई जानकारी गराइसकिएको छ ।'
उता श्रम मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले कतारमा नेपाली कामदार अलपत्र परेको जानकारी आएको भन्दै त्यसका लागि वैदेशिक रोजगार विभागलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको बताए । 'दोहास्थित नेपाली दूतावाससँग हामी निरन्तर सम्पर्कमा छौँ,' उनले भने, 'कामदारको अवस्थाबारे जानकार छौँ, वैदेशिक रोजगार विभागलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेका छौँ ।'

गोलचक्कर तोड्नका लागि तीनबुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विद्यमान राजनीतिक गोलचक्कर तोड्नका लागि आफ्नो पार्टी र नेकपा (एमाले) बीच तीनबुँदे सहमति भएको बताउनुभएको छ ।एमाओवादीमा आज प्रवेश गरेका नवजनवादी मोर्चा, नेकपा (एकीकृत) र नेकपा (मसाल) का नेता/कार्याकर्तालाई स्वागत गर्ने क्रममा उहाँले दुई पार्टीबीचको सहमतिले गत्यारोध हट्ने उज्यालो देखिएको बताउँदै यसलाई मुलुकले निकास नपाउँदासम्म कायम राख्नुपर्नेमा जोड दिनुभयो ।ठूलो पार्टी हुनुको नाताले ठूलै जिम्मेवारी लिनुपर्छ भनेर आपनो दलले अनमिनको म्याद थप्ने र सेना समायोजन तथा पुनःस्थापना गर्ने विषयमा लचिलो बनेर सरकारसँग महत्वपूर्ण सहमति गरेको जानकारी दिदै अध्यक्ष प्रचण्डले सहमति एवम् सहकार्यका लागि नेपाली काँग्रेस र मधेसवादी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।देश विदेशमा क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच तीव्र ध्रुवीकरण भइरहेकाले क्रान्तिकारीले आपनो मोर्चा फराकिलो पार्नुपर्ने अध्यक्ष प्रचण्डको विचार थियो ।सो कार्यक्रममा नवजनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंह बाहेक प्रथम उपाध्यक्ष दीनानाथ भण्डारी, द्वितीय उपाध्यक्ष कृष्णकुमार राई, केन्द्रीय सचिवालय सदस्य आमोद दुञ्जुङ तामाङ, कुमारभक्त रञ्जितसहित ३८ जना एमाओवादीमा प्रवेश गर्नुभएको छ ।उपाध्यक्ष राईले अध्यक्ष सिंह र आफूहरूबीच बाँकी क्रान्ति पूरा गर्नेबारे वैचारिक अन्तर देखिएकाले आफूहरूमा रहेको उर्जा नफाल्न पूरै समूह एमाओवादीमा प्रवेश गरेको बताउनुभयो ।यसैबीच सोही कार्यक्रममा नेकपा (एकीकृत) को युवा सङ्घका अध्यक्ष उदय राई र नेकपा (मसाल) का धनबहादुर खत्री पनि एमाओवादीमा प्रवेश गर्नुभयो ।सो अवसरमा एमाओवादी उपाध्यक्ष मोहन वैद्यले क्रान्ति पूरा हुन बाँकी रहेकाले क्रान्तिकारी ध्रुवीकरण अभियानलाई अझै जारी राख्नुपर्छ भन्नुभयो ।कार्यक्रममा एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसहित स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरू उपस्थित हुनुहुन्थ्यो ।

उम्मेदवारी फिर्ताले मधेसवादी दल अन्योलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३ असोज,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि मधेसवादी दल अन्योलमा परेका छन् । अघिल्ला चुनावमा आफ्नो भोट सदुपयोग नगरेर 'अवसर गुमाएको' भन्दै सभासद्हरूले पार्टी नेतृत्वलाई र्‍याख्र्‍याख्ती पारेका छन् । प्रधानमन्त्रीको आगामी चुनावमा मतदान प्रक्रियामा सहभागी हुने निर्णय गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई माओवादीको निर्णयले अप्ठ्यारोमा पारेको छ । लोकतान्त्रिक फोरमभित्र एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई भोट हाल्न दबाब बढेपछि २२ भदौको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको थियो ।
माओवादीले नै चुनावी प्रक्रियामा सहभागी नहुने निर्णय गरेपछि मधेसी मोर्चामा रहेका मधेसवादी दलमा अन्योल सिर्जना भएको छ । स्रोतका अनुसार २२ गतेको बैठकमा उपप्रधानमन्त्री विजय गच्छेदारले पार्टीका असन्तुष्ट सभासद्लाई १० गते एकीकृत माओवादीलाई भोट हाल्ने आश्वासन दिएर थुम्थुम्याएका थिए । '१० गते माओवादीलाई भोट हाल्ने सर्तमा २२ गते पार्टीले बहिष्कार गरेको थियो, तर अब पार्टीले कसलाई भोट हाल्छ ?' लोकतान्त्रिक फोरमका सभासद् प्रमोदप्रसाद गुप्ता भन्छन्, 'हामीले ठूलो अवसर गुमायौँ । अब मधेसवादी दल सरकारमा जानु हुँदैन ।' २२ गते बिहान लोकतान्त्रिक फोरमका गुप्ता, करिमा बेगमलगायत ११ सभासद्ले भक्तपुर निलम बर्माको घरमा बैठक गरी माओवादीलाई भोट हाल्न पार्टी नेतृत्वलाई दबाब दिने निर्णय गरेका थिए । उनीहरूको दबाबपछि पार्टी नेतृत्वले संसदीय दलको बैठकलाई अबेरसम्म लम्ब्याएर मतदान प्रक्रिया टारेको थियो ।

११२ वर्षीया वृद्धा मतदाता नामावलीमा नाम दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डडेल्धुरा, असोज ४– अमरगढी नगरपालिका–६ भजनपुरकी १ सय १२ वर्षीया वृद्धा पार्वती खड्काले विद्युतीय मतदाता नामावलीमा नाम दर्ता गराएकी छिन्। 'उनी सम्भवत् देशकै सबैभन्दा जेष्ठ मतदाता हुन्', जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख भक्तराज जोशीले भने- आइतबार औंठा छापसहितको विद्युतीय मतदाता नामावलीमा उनी दर्ता भएकी हुन्। 'उनको वि.स. १९५५ मा जन्म भएको नागरिकतामा उल्लेख छ', टोलीका दर्ता कर्मचारी सिद्धराज जैशीले भने- यसअघि पनि उनको मतदाता नामावलीमा नाम थियो। पार्वतीका नाति-पनातिमात्र होइन, ५ वर्षीय खनाती पनि छन्। बूढी बज्यै खाना खाने, नुहाउने सबै आफैं गर्नुहुन्छ- १८ वर्षीय पनाती निरज खड्काले भने। उनले आँखा पनि राम्रोसँग देखिरहेको निरजले बताए। उनी राम्ररी हिँड्न सक्ने अवस्था छिन्।पार्वती आफैं मतदाता नामावलीमा नाम लेखाउन केन्द्र पुगेकी थिइन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख भक्तराज जोशीले खड्का देशकै सबैभन्दा बढी उमेर भएकी मतदाता भएको दाबी गरेका छन्।

मातृका नेतृत्वको माओवादीले मालपोत प्रमुखलाई मोसो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रे, आश्विन ४ - मातृका यादव नेतृत्वको नेकपा माओवादीले सोमबार काभ्रेका मालपोत प्रमुखलाई मोसो दलेको छ । माओवादी काभ्रे सेक्रेटरी दाबा लामा नेतृत्वको समूहले कार्यकक्षमै गएर मालपोत प्रमुख जनार्दन गुरागाईंलाई मोसो दलेको हो । कार्यालयभित्र भएका अनियमितता र ढिलासुस्तीविरुद्ध मोसो दलेको माओवादी काभ्रे सेक्रेटरी लामाले बताए । प्रमुख जिल्ला अधिकारी सुधीरकुमार शाहले भने मोसो दल्ने कार्यमा संलग्नलाई तत्काल कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।