News

Jan 19, 2012

मूल्यवृद्धिको बिरोधमा आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ५ - सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरोधमा विभिन्न राजनीतिक दल निकट १३ विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेको छ । बिहीबार राजधानीमा बसेको संयुक्त बैठकले मूल्यवृद्धि फिर्ता लिन सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियूका अध्यक्ष माधव ढुंगेलले बताए । उनले मूल्यवृद्धि फिर्ता नगरिए सडक आन्दोलनको विकल्प नरहने उल्लेख गर्दै १० गते देशव्यापी मशाल जुलुश तथा ११ गते उपत्यका बन्दको कार्यक्रम तय गरिएको जानकारी दिए । यसैबीच मूल्यवृद्धिको बिरोधमा बिहीबार राजधानी काठमाडौं लगायत मुलुकको विभिन्न भागमा विद्यार्थीहरुले प्रदर्शन गर्नुका साथै चक्काजाम समेत गरेका छन् । राजधानीको विभिन्न क्याम्पसहरु अगाडि प्रदर्शन गरिएको छ । कान्तिपुरकर्मी मकर श्रेष्ठले जनाएअनुसार शंकरदेव क्याम्पसका विद्यार्थीहरुले पुतली सडकमा प्रदर्शन गरिरहेका छन् । उनीहरु सडकमै नाचगान तथा प्रदर्शन गर्दा ट्राफिक व्यवस्थापन अस्त व्यस्त भएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । त्यस्तै विभिन्न दल निकट युवा संगठनहरुले गठन गरेको संयुक्त युवा तथा तरुण आन्दोलन संयोजन समितिले पनि आन्दोल गर्ने घोषणा गरेको छ । नेपाल आयल निगमले बुधबार खाना पकाउने ग्यासमा प्रति सिलिण्डर १ सय ७५ रुपैयाँ,पेट्रोलमा प्रति लिटर १० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ९ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।

सरकारी निर्णयको बिरोधमा कांग्रेस-एमाले एक ठाउँमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ५ प्रतिपक्षी दलहरु कांग्रेस र एमालेले कथित 'जनसत्ता' ले गरेको निर्णयलाई वैद्यता दिने सरकारी निर्णय फिर्ता नभएसम्म बिरोध जारी राख्न सहमत भएका छन् । सिंहदरवारमा बिहीबार दुई दलको बसेको बैठकले सरकारको उक्त निर्णय वर्तमान अन्तरिम संविधान,शान्ति सम्झौता र ऐन,कानुन विपरीत रहेको ठहर समेत गरेको छ । दुवै दलले शान्ति र संविधानको काममा बाधा पुर्‍याउने गरी कुनै कार्य नगर्न सरकारलाई आग्रह समेत गरेको छ । बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले कथित 'जनसत्ता'ले गरेको जग्गा किनबेचको गरेको निर्णयप्रति दुवै पार्टीको गम्भीर आपत्ति रहेको बताए । उनले उक्त निर्णय फिर्ता लिएर शान्ति र संविधानका लागि सहज वातावरण बनाउन सरकार र माओवादीलाई दवाब दिने सहमति भएको बताए ।
त्यस्तै,कांग्रेस नेता रामचन्द्र पौडेलले सरकार सहमति बाहिर गएर मनपरी चलेको आरोप लगाए । उनले सरकारले गरेको निर्णय फिर्ता नभएसम्म दुवै दलले बिरोध जारी राख्ने निर्णय गरेको जानकारी दिए । पौडेलले भने-'शान्ति र संविधानमा माओवादीको अभिरुची नै देखिन छाडेको छ । यो गम्भीर चिन्ताको विषय छ ।'
युद्धकालमा माओवादीले गठन गरेको 'जनसत्ता'ले जग्गा किनबेच सम्बन्धी गरेका विभिन्न निर्णयहरुलाई वैद्यता दिने केही दिन अगाडि मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक भएपछि प्रतिपक्षी दुवै ठूला दल त्यसको बिरोधमा उत्रिएका छन् । दुवै दलले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्नुका साथै संसद समेत अवरुद्ध पारेका थिए ।

यथाशीघ्र जहाज ल्याउन संसदीय समितिको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ५,संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले नेपाल वायुसेवा निगमका लागि यथाशीघ्र आवश्यकताअनुसार थप जहाज ल्याउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट, सचिव गणेशराज जोशी, सहसचिव रञ्जनकृष्ण अर्याल, निगमका नायब महाप्रबन्धकहरू गणेश ठाकुर र राजुबहादुर केसी तथा नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक रतीशचन्द्रलाल सुमनसँग बुधबार छलफल गरेपछि समितिले उक्त निर्देशन दिएको हो। 'लुम्बिनी भ्रमण वर्ष २०१२ र पर्यटन दशकलाई समेत प्रभावकारी बनाउने विधिसम्मत र पारदर्शी ढंगले यथाशीघ्र जहाज ल्याउन निर्देशन दिएका छौं,' समितिका सभापति पदमलाल विश्वकर्माले भने। समितिले त्रिभुवन विमानस्थललाई व्यवस्थित, सुरक्षित र विश्वसनीय हुने थप व्यवस्था गर्दै विमानस्थलका सबै कर्मचारीलाई पोसाक र परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको छ।
त्यसै गरी बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तथा अन्तर्राष्ट्रिय हवाई रुट थप र व्यवस्थित गर्नका लागि शीघ्र पहल थाल्न, निजी वायुसेवा कम्पनीका जहाजका अवस्था, सुरक्षा र सेवाको विश्वसनीयता निगरानी गर्दै थप व्यवस्थित बनाउन, ग्राउन्डेड जहाजमध्ये बन्नेलाई तुरुन्त बनाउन र काम नलाग्ने अवस्थाकालाई उपयुक्त ढंगले व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको हो।
अन्य देशका वायुसेवा कम्पनीलाई 'पाँचौं स्वतन्त्रता अधिकार' प्रयोग गर्दै नेपालबाट अरू गन्तव्य विन्दु जान अनुमति दिँदा राष्ट्रको अहित नहुने गरी कानुनसम्मत ढंग प्रयोग गर्न तथा लुम्बिनी भ्रमण वर्ष र पर्यटन दशकलाई प्रभावकारी पार्न आवश्यक सबै व्यवस्था मिलाउन कुनै कसर बाँकी नराख्न पनि समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो।
यसअघिको छलफलमा पर्यटन मन्त्री विष्टले निगमलाई चीनबाट जहाज खरिद गर्न धेरै प्रक्रिया अगाडि बढेको बताए। 'जहाज दिने विषयमा अध्ययन गरिरहेको र प्रस्ताव चित्त बुझे एक्जिम बैंकबाट सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सकारात्मक रहेको चीनबाट जानकारी आएको छ,' उनले भने।
चीनबाट एमए-६० मोडेलका तीन र वाई-१२ई मोडेलका पाँच जहाजमध्ये दुवै मिलाएर तीनवटा अनुदान र पाँचवटा सहुलियतपूर्ण ऋणमा खरिद गर्न पहल भइरहेको उनले जानकारी दिए। ५० देखि ७० सिट क्षमताका एमए-६० लाई सहरी विमानस्थल र १९ सिटे वाई-१२ईलाई दुर्गम भेगमा उडाउने योजना उनले सुनाए। 'प्रत्यक्ष, पारदर्शी र जवाफदेही ढंगले जहाज आउँछ र यसका लागि म र मेरो टिम प्रतिबद्ध छ, तर कमिसनबारे मलाई केही थाहा छैन,' विष्टले भने, 'कुनै पनि मूल्य चुकाएर गडबड नगरी जहाज ल्याइन्छ।'
आफूभन्दा अघिका २१ पर्यटन मन्त्रीले जहाज ल्याउन प्रयास गरे पनि सफल नभएको उदाहरण दिँदै उनले आफ्नो कार्यकालमा जहाज ल्याएरै छाड्ने दाबी गरे। 'जहाज खरिद गर्न सजिलो भए विगतकै सरकारले किनिसक्थ्यो,' उनले भने, 'यो तरकारी किनेजस्तो होइन, सबै कुरा मिलाउनुपर्छ। यसअघि जहाज किन्ने विषयमै निगमका अधिकारीहरू जेल परिसकेका छन, त्यसमा पनि ध्यान दिन्छौं।'
पर्यटन सचिव जोशीले चीनबाट जहाज लिन केही दिनभित्र पूर्णप्रस्ताव पठाइने जानकारी दिए। निगमका नायब महाप्रबन्धक ठाकुरले सरकारको सहयोग भए जहाज आउने बताए। प्राधिकरणका उपमहानिर्देशक तथा त्रिभुवन विमानस्थलका महाप्रबन्धक सुमनले विमानस्थलमा क्षमताभन्दा बढी मानिसको आवतजावन हुने गरेको बताए। 'विमानस्थलको दैनिक क्षमता ३२ हजार ४ सयलाई सेवा दिने हो,' उनले भने, 'तर, अहिले दैनिक ४५ हजार आवतजावत हुने गरेको छ।' दिनमा १८ घन्टा विमानस्थल खुला हुँदा ७५ अन्तर्राष्ट्रिय र ३ सय ७५ आन्तरिक जहाज उडान-अवतरण हुने गरेको तथ्यांक उनले दिए। विमानस्थलमा हाल २ सय ३६ संस्थाले काम गरिरहेका र तीमध्ये अधिकांशलाई विमानस्थल व्यवस्थापनले निर्देशन दिन नमिल्ने उनको भनाइ थियो। अध्यागमन, सेना, प्रहरी, सशस्त्र, अनुसन्धानलगायत निकायले कामबारे विमानस्थल व्यवस्थापनले बोल्न नमिल्ने उनले बताए।
समितिका सदस्यहरू दलबहादुर राना, राधा ज्ञवाली, बिन्दा पाण्डे, चन्द्रिकाप्रसाद यादव, नजिर मिया, रेणु शर्मालगायतले विमानस्थलमा व्यापक सुधार गर्न, कर्मचारीलाई पोसाक र परिचयपत्र लगाउन अनिवार्य गर्न, एक्सरे मेसिनमा कर्मचारीलाई जतिबेला पनि उपस्थित गराउन सुझाव दिएका थिए।

शान्ति र संविधानमा अवरोध नपुग्नेगरी चुनाव गराउन निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ५- संसदको विकास समितिले जारी शान्ति र संविधान निर्माण प्रक्रियामा अवरोध नपुग्नेगरी स्थानीय निकाय चुनाव गराउन सरकारलाई निर्देशन दिएको छ। स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीलाई बोलाएर समितिले स्थानीय निकायमा गएको बजेट दुरुपयोग हुनसक्ने भएकाले चुनाव गराउन भनेको हो। स्थानीय निकायमा करिब ४४ अर्ब रुपियाँ जाने तथ्याङ्क पेश गर्दै समितिका अध्यक्ष जितेन्द्रप्रसाद सोनारले चुनाव नभए यति धेरै बजेट दुरुपयोग हुन सक्ने शङ्का व्यक्त गरेका थिए। समितिका सदस्य तथा सभासदहरुले स्थानीय निकायमा रहेको सर्वदलीय संयन्त्र खारेज गरिएको र अन्य व्यवस्था नभएकाले रकम दुरुपयोगको सम्भावना बढेको बताएका थिए। उनीहरुले कर्मचारीलाई मात्र जिम्मा दिँदा पनि लापरबाही झनै बढ्ने दाबीसमेत गरेका थिए। उनीहरुले जेठ १४ अघि नै चुनावको कुरा गर्दा सबैको ध्यान त्यता जाने तथा शान्ति र संविधान निर्माणमा बाधा पुग्नसक्ने भएकाले मिति पहिले नै तोक्ने तर चुनाव भने संविधान जारी भएपछि गर्नुपर्ने धारणा राखेका थिए। मन्त्री रायमाझीले सरकारले मङ्सिरमा चुनाव गराउने सोच राखेको बताएका थिए। उनले स्थानीय निकायमा अहिले छुट्टै संयन्त्र बनाउनेबारे सोच भइरहेको जानकारी पनि दिएका थिए।

विश्वमा आधाभन्दा बढि गर्भपतन असुरक्षित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व स्वास्थ्य सङ्गठनको नयाँ तथ्याङकअनुसार विश्वमा आधाभन्दा बढि गर्भपतन असुरक्षित रहेको छ । सङ्गठनका अनुसार चिकित्सकको सहयोग विना गरिने सबै गर्भपतन असुरक्षित रहेको जनाएको छ । असफल र असुरक्षित गर्भपतनका कारण विश्वमा १३ प्रतिशत आमाको ज्यान जाने गरेको छ । यसमध्ये अफ्रिका र दक्षिण अमेरिकाको स्थिति गम्भिर रहेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

Jan 18, 2012

थाहै नपाई बैंकको पैसा चोर्ने भाइरस भेटिएको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ट्रस्टियर नामक इजरायली सुरक्षा र्फमले हालै बैंकको खाताबाट थाहै नपाई पैसा चोर्ने भाइरस भेटिएको दाबी गरेको छ। उक्त संस्थाले उल्लेख गरेअनुसार यो भाइरसले पैसा चोरेको निशानसमेत मेटाएर जान्छ। बैंकको पैसा चोर्ने बेलामा उच्च सुरक्षा क्षमताको स्वचालित भिडियो क्यामेरालाई पनि ह्याक गर्ने प्रविधि यसमा छ। स्पाई आई ट्रोजान हर्स नामक नयाँ खाले उक्त भाइसरले बैंक र खाताबालबीचको सबै गोप्य सूचना, खाता नम्बर, पैसा झिक्ने पास वर्ड आदि सूचना विवरणहरू चोरेर ह्याकरलाई उपलब्ध गराउँछ। अचम्मलाग्दो त के छ भने यो भाइरसले लेखापरीक्षण गर्ने र हिसाब मिलान गर्ने काम पनि आफैं गरिदिन्छ। त्यति मात्र होइन, ह्याकरले चाहेको खण्डमा उक्त भाइसरले काम तमाम भएपछि बैंक र खातावालाबीचको इन्टरनेट लिंकका साथै वेबपेज पनि मेटाइदिन्छ। यसरी ह्याकरले बैंकको खाता नम्बर, डेबिट कार्ड नम्बर, एटीएम कार्ड नम्बर र पासवर्ड प्रयोग गरेर सामान खरिद गरिसकेको हुन्छ, तर बैंक खाताबाट पैसा हराएको खातावाललाई थाहा हुँदैन। यो भाइरसले बैंकको पैसा चोरी गर्न थालेको केही महिनामात्र भएको ट्रस्टियर नामक संस्थाको कथन छ।

लोकप्रिय विकिपिडियासहित केही वेबसाइट बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ४ - इन्टरनेट नक्कल (पाइरेसी)विरुद्धको विद्येयकको विरोधमा लोकप्रिय विकिपिडियासहित केही वेबसाइट बन्द भएका छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा 'स्टप अनलाइन पाइरेसी एक्ट' (सोपा) र माथिल्लो सदन सिनेटमा दर्ता भएको 'प्रोटेक्ट इन्टेलेक्चुअल प्रपर्टी एक्ट' (पिपा)को विरोधमा विकिपिडियासहित केही वेबसाइट विरोधस्वरुप २४ घण्टाका लागि बन्द भएका हुन् । विकिपिडिया अमेरिकामा सर्वाधिक हेरिएको वेबसाइटमा दसौं नम्बरमा छ । सेतो-खैरो रंगको अंग्रेजी भाषाको विकिपिडियाले आफ्नो गृहपृष्ठमा कालो पोतेर विरोध सूचना राखेका छन् । सूचनामा दसक लगाएर निर्माण गरिएको 'विश्वकोष'मा अमेरिकी कङ्ग्रेसले गरेको सांघातिक हमलाविरुद्ध 'ब्लाकिङ आउट' गरिएको उल्लेख छ । 'यी विद्येयक (सोपा र पिपा) खतरनाक छन्, यीनले वास्तविक पाइरेसीका समस्या समाधान गर्दैनन्,' विकिपिडियाका सह संस्थापक जिम्मी वेल्सले भनेका छन्, 'इन्टरनेट नीति हलिउडले बनाउन मिल्दैन ।' विकिपिडिया गैर नाफामुखी विकिमिडिया पाउन्डेसनले सञ्चालन गर्दै आएको छ । विकिपिडियाको कार्यक्रममा नेपालीलगायत गैरअंग्रेजी भाषी संस्करण भने सामेल छैनन् ।