News

Jun 7, 2012

जापानी महिला बलात्कार आरोपी नेपाली १५ वर्षपछि रिहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २५ - जापानी महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा जेल परेका नेपाली गोविन्द्रप्रसाद मैनाली १५ वर्षपछि बिहीबार अदालतको आदेशमा रिहा भएका छन् । टोकियोस्थित उच्च अदालतको आदेशमा मैनाली रिहा भएका हुन् । अदालतले मैनालीलाई निर्दोष सावित गर्दै मुक्त गर्ने फैसला गरेको विरोधमा परेको रिट खारेज भएको छ । सन् १९९७ मार्चमा ३९ वर्षीया यौनकर्मी महिलाको बलात्कारपछि हत्या अभियोगमा इलामका मैनाली थुनामा थिए । हत्या गरिएकी महिलाको बीर्य र रौंको डीएनए परीक्षण गर्दा मैनाली निर्दोष ठहरिएका थिए । योकोहामास्थित कारागारमा रहेका मैनाली रिहा भएपछि जापानमा रहेका नेपालीले खुशी साटेका छन् । अदालती सुनुवाई सुन्न मैनाली पत्नी राधा र दुई छोरी अदालत पुगेका थिए ।

फोरम लोकतान्त्रिकका ५ जना पूर्वसभासदहरुलाई कारबाही गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पार्टीहित विपरीत क्रियाकलाप गरेको भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आफ्ना ५ जना पूर्वसभासदहरुलाई कारबाहीको तयारी गरेको छ । फोरम लोकतान्त्रिकले केहीदिनअघि मात्र नेता शरतसिंह भण्डारीलाई पार्टीको सदस्य समेत नरहनेगरी निस्कासन गरेको थियो । फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीका अनुसार पूर्व सभासदहरु निलम बर्मा, प्रमोद गुप्ता, रामानन्द मण्डल, कौसल यादव, सेउकीदास पतमालाई स्पष्टिकरण माग गरिएको पत्र आज पठाइने छ । अनुशासन समितिले पठाएको पत्र बुझ्न नमानेमा दैनिक पत्रिका मार्फत स्पष्टिकरण सोध्ने तयारी भएको नेता चौधरीले जानकारी दिनुभयो । पार्टीहित विपरित कार्यमा संलग्न भएकोभन्दै अर्का नेता ओमप्रकास यादव पनि कारबाहीको सूचीमा परेको फोरम लोकतान्त्रिक स्रोतले जनाएको छ ।

Jun 6, 2012

जनजाति आन्दोलनका घाइते धनबहादुर थनेतको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले गरेको आन्दोलनका क्रममा नवलपरासीको डण्डामा प्रहरीको गोली लागि गम्भीर घाइते भएका धनबहादुर थनेत थारुको मंगलबार राति निधन भएको छ । थनैतको उपचारका क्रममा हिजो राति काठमाडौंको शिक्षण अस्पतालमा मृत्युभएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ र थारु संयुक्त सङ्घर्ष समितिले संयुक्त रूपमा आह्वान गरेको आन्दोलनका क्रममा उहाँ घाइते हुनुभएको थियो । डन्डाबजारमा रहेको थारु सङ्ग्रालय जलाइएको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । घाइते थारुको उपचारका लागि सरकारले सबै खर्च बेहोर्ने र उहाँको थप उपचारका लागि दिल्ली पठाउने निर्णय गरिसकेको थियो । यसैबीच थारु संयुक्त सङ्घर्ष समितिले हिजो निधन भएका थारुलाई सहिद घोषणा गर्न र परिवारलाई राहत उपलब्ध गर्न सरकारसँग माग गरेको छ ।

विघटित संविधानसभाका पदाधिकारीको गाडी फिर्ता गर्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानसभा विघटन भइसकेकाले संसदका पदाधिकारी वा सभापतिको हैसियतमा राज्यका तर्फ उपलब्ध गराइएको गाडी सुविधा तत्काल फिर्ता गर्न संसद सचिवालयलाई निर्देशन दिएको छ । संविधानसभा विघटन भएपछि राज्यका तर्फबाट पाएको गाडी सुविधा २२ जना तत्कालीन पदाधिकारीले फिर्ता गरेको र १० जनाले फिर्ता गर्न बाँकी रहेको समाचार सार्वजनिक भएपछि अख्तियारले मंगलबार संसद सचिवालयलाई तत्काल फिर्ता गर्न लिखित निर्देशन दिएको हो । अख्तियारले विघटित संविधानसभाका पदाधिकारीले अनधिकृत रूपमा गाडी प्रयोग गरिरहेको पाइएमा तत्काल नियन्त्रणमा लिई संसद सचिवालयलाई बुझाइदिन र त्यसको जानकारी आफूलाई गराउन प्रहरी प्रधान कार्यालयलाई समेत निर्देशन दिएको छ । गाडी फिर्ता गर्न बाँकीमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, एमाले संसदीय दलका तत्कालीन सचेतक भीम आचार्य, तत्कालीन संविधानसभा/संसदका विभिन्न समितिका तत्कालीन सभापतिहरू कुलबहादुर गुरुङ, यशोदा गुरुङ सुवेदी, रमेश रिजाल, सुशील कन्दङ्वा, पद्मलाल विश्वकर्मा, सन्ध्या देवी, विश्वेन्द्र पासवान छन् । पौडेल र यादवले विपक्षी दलको नेताको हैसियतमा गाडी सुविधा पाएका हुन् ।

नेपाली फिल्ममा अर्धनग्न-अश्लील दृश्य नराख्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २२-पछिल्लोपटक नेपाली चलचित्रमा अश्लील दृश्य बढ्दै गएको भन्दै त्यसलाई रोक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। चलचित्र लेखक तथा निर्देशक मनिष पन्तद्वारा लिखित 'जिन्दगानी दर्पणछायाँ' चलचित्र प्रदर्शनीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चलचित्र पत्रकार शान्ति प्रियले आफ्नो चलचित्रलाई लोकप्रिय बनाउन र चलाउने नाममा हदैसम्मको अश्लील दृश्य नराख्न चलचित्र लेखक, निर्माता र निर्देशकहरुसँग आग्रह गरेका हुन्। अधिकारकर्मी शङ्कर पाण्डेले पछिल्लोपटक चलचित्रको बजार खस्किँदै गएको हुँदा चलचित्रको बजारलाई उकास्नका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने भन्दै चलचित्र क्षेत्रलाई राज्यले गम्भीरतामा साथ नलिएको गुनासो गरे। 'जिन्दगानी दर्पणछायाँ'का लेखक मनिष पन्तले ग्रामीण भेगमा बसोवास गर्ने दर्शकहरुले नारायणहिटी दरबारको बारेमा चलचित्रमार्फत् हेर्न र बुझ्न सकुन् भन्ने उद्देश्यले सो चलचित्रको अधिकांश छायाङ्कन नारायणहिटी दरबारभित्र गरिएको जानकारी दिए। यही जेठ २६ गतेदेखि उपत्यकामा र असार ८ गतेदेखि उपत्यका बाहिर प्रदर्शन हुने 'जिन्दगानी दर्पणछायाँ' फिल्म नेपाली संस्कृति, पारिवारिक प्रेम कथामा आधारित भएको निर्माण पक्षले जानकारी दिएको छ।

नारायणगढमा गोली चल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चितवन, जेठ २४ -जानकारीविनै छापामार्न आएको राजश्व अनुसन्धान विभागका पदाधिकारीले घुस मागेको भन्दै नारायणगढका व्यवसायीहरु प्रदर्शनमा उत्रिँदा नारायणगढमा प्रहरीले गोली चलाएको छ। प्रदर्शनका क्रममा व्यवसायीहरुले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरक्षाका लागि रबरको गोली प्रहार गरेको हो। तनावग्रस्त बनेपनि गोली भने कसैलाई लागेको छैन्। नारायणगढको लक्ष्मीनारायण वस्त्रालयका छापामार्न पुगेको राजस्व विभागका पदाधिकारी र व्यवसायीबीच विवाद भएपछि तनावको अवस्था आएको हो। जानकारी नै नदिई छापा मार्न आएको र उल्टै व्यावसायीसँग दशलाख घुस मागेको आरोप व्यवसायीले लगाएका छन्। विभागको छापाविरुद्ध नारायणगढका सडकमा उत्रिएर प्रदर्शन गरिरहेका व्यवसायीले प्रहरी बिट आगो लगाइदिएका छन्। शहिदचोक र पुल्चोक र लायन्सचोकमा व्यवसायीहरुले सडक अवरुद्ध गरी विरोध थालेपछि प्रहरीले रोक्न खोज्दा प्रहरी र व्यवसायीबीच झडप भएको थियो। व्यापारीहरुले आन्तरिक राजश्व कार्यालयको गाडी जलाएका छन्। त्यस्तै आगो निभाउन गएको वारुण यन्त्रसमेत तोडफोड गरेका छन्।

हङकङका प्रमुखले भेटे नेपाली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २४ -हङकङका कार्यकारी प्रमुख चुनयिङ लियुङले नेपालीलगायत अल्पसंख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गरेका छन्। सेन्ट्रलस्थित सरकारी कार्यालयमा मंगलबार भएको वार्तामा लियुङले शिक्षामा जोड दिएर अल्पसंख्यक समुदायलाई अवस्था सुधार गरिने बताए। दुई महिनअघि चार वर्षका लागि कार्यकारी प्रमुखमा निर्वाचित लियुङ जुलाई १ मा कार्यभार सम्हाल्नुअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता गरिरहेका छन्। एक घन्टाको वार्तामा हङकङका नेपालीसहित भारतीय, पाकिस्तानी, बंगलादेशी र श्रीलंकाली समुदायका प्रतिनिधि सहभागी थिए। वार्तामा गएका चुरा थापा, कुलप्रसाद गुरुङ, बुद्धिबहादुर थापा, एमबि थापा, डेनी थापा बेइजिङसमर्थक हङकङको डेमोक्रेटीक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस (डिएबी) पार्टीमा आबद्ध नेपाली हुन्। पाँचैजना डिएबीको जातीय अल्पसंख्यक समितिका सदस्य हुन्। भारतीयबाहेक सबै आमन्त्रित सरकारसमर्थक डिएबीमा आबद्ध प्रतिनिधि हुन। बेइजिङनिकट मानिने लियुङ हङकङको डिएबी लगायत पार्टीको समर्थनमा कार्यकारी प्रमुख बनेका हुन्। विजयी भएपछि पहिलोपटक अल्पसंख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्नुअघि लियुङले समान अवसर आयोग पुगेर उनीहरूका समस्याबारे जानकारी लिएका थिए। लियुङलाई उद्धृत गर्दै चुराले भने, 'हङकङका ७० लाख नागरिक एउटै परिवारका सदस्य हौं, सबै मिलेर परिवार राम्रो बनाउनुपर्छ।' वार्तामा हङकङको लेजिस्लेटीभ काउन्सिलका अध्यक्ष चाङयोक सिंले उच्चस्तरीय जातीय अल्पसंख्यक आयोग स्थापना गर्न राखेको प्रस्तावमा नेपाली प्रतिनिधिले समर्थन गरे। सहभागी कुलप्रसादका अनुसार सिंले हङकङमा नेपाली क्लब स्थापनाका लागि पहल गर्न कार्यकारी प्रमुखलाई आग्रह गरे। 'नेपाली समुदायले लामो समयदेखि क्लब स्थापनाको माग गर्दै आएका छन्, यसलाई सरकारले गम्भीर रूपमा हेर्नुपर्छ,' सिंलाई उद्धृत गर्दै गुरुङले भने। सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरणपछि हङकङमा सरकारी रोजगारीका लागि चिनियाँ भाषा अनिवार्य गरिएपछि गैरचिनियाँ समुदाय अवसरबाट वञ्चित भएको गुनासो सहभागीले गरेका थिए। लियुङलाई लिखित अवधारणापत्र बुझाउँदै हङकङका अल्पसंख्यक समुदायको शिक्षामा विद्यावारिधि गरिरहेका चुराले अल्पसंख्यक समुदायलाई हेर्ने गरी शिक्षा मन्त्रालयमा छुट्टै ब्युरो स्थापना गर्न सुझाव दिए। ' समग्रमा सामाजिक समायोजनमा केन्द्रित भएर शैक्षिक नीति ल्याउन सुझाव दिएका हौं,' थापाले भने। नेपाली सहभागीले हङकङमा नेपालीले भोग्दै आएको भिसा समस्याको एजेण्डा पनि उठाएका थिए। कार्यकारी प्रमुख लीयुङले भेटवार्तामा उठेका एजेण्डाहरू अध्ययन गरी सबैलाई मिलाएर लैजाने प्रतिवद्धता जनाएको सहभागीहरूले बताए।