News

Jan 30, 2013

सत्तारुढ गठबन्धनका २१ दलको आम सभा खुलामञ्चमा जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माघ १७ सत्तारुढ गठबन्धनका २१ दलको आम सभा खुलामञ्चमा जारी छ। बाबुराम भट्टराई नेतृत्वको सरकारबिरुद्ध बिपक्षीले विरोधका कार्यक्रम सञ्चालन गर्न थालेपछि सत्तारुढ लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले जनजागरणका लागि सभा आयोजना गरेको हो। सभामा प्रधानमन्त्री भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन्। सभालाई सम्बोधन गर्दै एनकेपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन चाहनेहरु गठबन्धनमा केन्द्रित भएको बताए। 'यो विशुद्ध कुर्सीको निम्ति नभइ मुद्दाको निम्ति निर्माण भएको गठबन्धन हो', उनले भने। सभाका वक्ताले अधिकांश समय विपक्षीलाई गाली गरे पनि दाहालले भने- 'विपक्षीलाई आरोप गर्ने सभा हुनु हुँदैन यो। यो हाम्रा मुद्दा भन्ने सभा हो। तपाइँहरुले आज सुन्नुभयो सभा कसैको भण्डाफोर गर्ने हिसाबले भएको छैन।' संघीयताविरुद्ध विभिन्न खाले षड्यन्त्र भइरहेको बताउँदै दाहालले नयाँ राष्ट्रिय एकताको तागत पैदा गरेर अघि बढ्न गठबन्धन जरुरी भएको उल्लेख गरे। उनले कांग्रेस एमालेलाई आह्वान गर्दै भने- 'तपाइँहरुले अहंकार गरिराख्नु भो भने यसले तपाइँहरुलाई ठूलो क्षति हुनेवाला छ।' विपक्षीको घमण्ड कायम रहे अन्तिम लडाइँ सुरु गरेर अस्तित्व समाप्त पार्दिने चेतावनी दाहालको थियो। सभालाई सम्बोधन गर्दै एनेकपा माओवादी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरु परिवर्तनको प्रक्रिया पूरा गरेर अघि जान चाहेको बताए। सरकार प्रमुखको जिम्मेवारीमा रहेका उनले २२ वर्षसम्म सरकार चलाउनेहरुले अहिलेको विसंगत अवस्थाको दोष आफूहरुलाई दिन नमिल्ने जिकिर गरे। राजधानीको सडक फराकिलो पार्ने कार्यलाई ठूलो उपलब्धिको रुपमा व्याख्या गर्दै उनले सरकार अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए। वाइसिएलले काभ्रेका पत्रकारलाई कुटेको र दैलेखका पत्रकार विस्थापित भएको घटनाबारे मिडियामा आएको विषयलाई सम्बोधन गर्दै उनले भने- 'यो सरकार सबभन्दा बढी पत्रकारप्रति प्रतिबद्ध सरकार हो।' कांग्रेस एमाले चुनावदेखि भागेको बताउँदै प्रधानमन्त्री भट्टराईले उनीहरुलाई नत्थी लगाएर चुनावमा ल्याउने बताए। 
 *** सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने- 'संघीयताविरोध विपक्षीविरुद्ध यो गठबन्धन बनाइएको हो। पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान नआएसम्म गठबन्धन कायम रहनु पर्छ।' उनले संविधानसभाको चुनावबाटै पहिचान सहितको संघीयता प्राप्त गर्ने दाबी गरे। कांग्रेस एमालेका नेताहरुलाई उनले गठबन्धनको विरोध गर्न छोड्न आग्रह गर्दै गच्छदारले प्याकेजको सहमतिका लागि आउन कांग्रेस-एमालेलाई आग्रह गरे। 
 *** तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले विपक्षीहरुले सत्ता मात्र खोजेकाले समाधान निस्कन नसकेको बताए। सभालाई दलिलत जनजाती पार्टीका विश्वेन्द्र पासवान, सद्भावना पार्टीका राजेन्द्र महतो बोलेका छन्। खुलामञ्च प्रधानमन्त्री बाबुराम भट्टराई, एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत गठबन्धनमा रहेका दलहरुका शीर्ष नेता उपस्थित छन्। 
 *** बाबुराम भट्टराई नेतृत्वको सरकारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आज राजधानीका विभिन्न ठाउँबाट निकालिएको र्‍याली अहिले खुलामञ्चमा सभामा परिणत भएको छ। विपक्षी गठबन्धनले हिजो सहिदगेटमा कोणसभा र र्‍याली गर्दै शक्ति प्रदर्शन गरेलगत्तै सत्तापक्षीयले पनि आज त्यस्तै कार्यक्रम गरेको हो। यसअघि खुलामंचमा हुने कार्यक्रमको लागि उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निस्कने क्रममा काठमाडौँको ट्राफिक अस्तव्यस्त भएको थियो। महानगरीय ट्राफिक महाशाखाका अनुसार भद्रकालीको र्‍यालिका कारण सिंहदरबारबाट भद्रकालीतर्फ जाने सवारी साधनलाई सिंहदरबारबाट डाइभर्सन गरिएको छ। त्यस्तै त्रिचन्द्र क्याम्पसबाट शुरु भएको र्‍यालीको कारण पुतली सडकबाट बागबजार हुँदै चल्ने सवारी साधनहरु चल्न सकेका छैनन्। र्‍यालिकै कारण चक्रपथ भएर भित्र चल्ने सार्वजनिक स वारी साधनलाई चक्रपथभित्र प्रवेशमा रोक लगाइएको छ । बानेश्वर , तिनकुने ,सिंहदरबार , पद्मोदयमोड , पुतली सडक, त्रिपुरेश्वर , कालिमाटी, कुपन्डोल, बसुन्धारा लगायत विभिन्न स्थानमा सवारी चाप रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।

ट्वीटरको भिडियो शेयरिङ एप्सलाई लिएर नयाँ विवाद सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ट्वीटरको भिडियो शेयरिङ एप्सलाई लिएर नयाँ विवाद सुरु भएको छ । पछिल्लो दिनमा ट्वीटरले भिडियो एप्स सुरु गरेको थियो । जसको माध्यमबाट प्रयोगकर्ताहरुले छोटो भिडियो क्लिप अपलोड गर्न सक्छन् । तर, यसको प्रयोग गरेर पोर्न समाग्री अपलोड तिब्र भएको छ, जसको चर्को आलोचना भएको छ । नियन्त्रण कम र आपत्तिजनक सामाग्रीमा रोक लगाउने व्यवस्था नहुँदा भिडियो एप्सको गलत प्रयोग भएको पाइएको डेलिमेलले जनाएको छ । समाचारमा जनाइएअनुसार यो एप्स प्रयोग गर्दा आपत्तिजनक सामाग्री अपलोड गर्न नपाउने भनी प्रष्ट उल्लेख छैन । यद्यपी उक्त सामाग्रीलाई अनुचित भन्न एक बटम भने राखिएको छ । यो बटममा क्लिक गर्नुको अर्थ उक्त भिडियो समाग्री हटाएको भने हैन । ट्वीटरमा उक्त सामाग्रीसम्वन्धी चेतावनी आएपनि त्यस्तो भिडियो ट्वीटरमा रहिरहन्छ । फेसबुक र युट्युवमा भने यस्ता तस्वीर र भिडियोमाथि रिपोर्ट भएमा आबश्यक छानविनपछि हटाउने ब्यबस्था छ ।

बराह ज्वेलरीका सञ्चालक हङकङमा मृत भेटिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१७ माघ, हङकङ,बराह ज्वेलरीका सञ्चालक इन्द्रकुमार विश्वकर्माको मंकी हिलमा मृत भेटिएका छन् । उनी शुक्रबारदेखि सम्पर्क बाहिर रहेका थिए । स्थानीय ओरियण्टल दैनिकको अनलाइन संस्करण अनुसार उनको शव कामसान कन्ट्री पार्कस्थित भिरालो जंगलको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । उनले आत्महत्या गर्न लागेको र खोजी नगर्नु भनेर मोबाइल मार्फत श्रीमतीलाई बताएको समाचारमा उल्लेख गरिएको छ । विश्वकर्माका व्यापारिक सहयोगी लवकुमार गुरुङले उक्त समाचारमा उल्लेख गरिएको विवरण सत्य रहेको पुष्टि गर्दै भने-’शुक्रबार बेलुका किरण बहिनीले इन्द्र दाइले फोनमा भनेको कुरा बताउने बित्तिकै प्रहरीलाई खबर गरेर हामी पनि खोजीमा लागेका थियौं, कुकुरसहित रातभर खोज्दा पनि अत्तोपत्तो पाउन सकिएन ।’ उनका अनुसार विश्वकर्माले मोवाइलमा श्रीमतीलाई पहिला घुम्न गएको ठाउँमा आफू रहेको र खोजी नगर्नु भन्दै सम्पर्क विच्छेद गरेका थिए । प्रहरीले शव भेटिएको खबर गरेपछि घटनापश्चात नेपालबाट आएका उनका छोरा शिव लामिछानेलगायतले मंकी हिल पुगेर उनको पहिचान गरेका थिए । ‘बुवाले आत्महत्या गर्नु हुन्छ भन्ने कल्पनासमेत गरेका थिएनौं, त्यही भएर घटनाको बारेमा केही भन्न सकिन्न’लामिछानेले भने-’प्रहरीको प्रक्रिया पुरा भएपश्चात लास नेपाल लाने मनस्थितिमा रहेका छौं ।’ धरानबाट शुरु भएको बराह ज्वेलरीको काठमाडौं, पोखरा र बेलायतपश्चात गत जूनमा हङकङमा शाखा खोलिएको थियो । त्यसपश्चात विश्वकर्मा नेपाल-हङकङ ओहोर-दोहोर गरिरहेका थिए ।

चीन सैन्य शक्तिमा नम्बर १ बन्ने तयारी गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनले सैन्य शक्ति निर्माणमा विश्वमा पहिलो स्थान प्राप्त गर्ने प्रयासहरु सफलताका साथ परीक्षण गरेको सार्वजनिक गरेको छ। आफैँले उत्पान गरेका मालवाहक विमानको सफल परीक्षण गरेर चीनले सैन्य क्षेत्रमा नयाँ फड्को मार्ने कुराको सार्वजनिक गरेको हो । स्थानीय तहबाट नै निर्माण गरिएका विमान, ट्यांक र फौजलाई कठिन हिमाली क्षेत्रमा उर्तान सक्ने क्षमताको ‘वाई–२०’ नाम गरेको एक विमानलाई उसले सफलताका साथ प्ररीक्षण गरेपछि यस्तो बताएको हो । सिन्ह्वाले जनाएअनुसार उत्तर–पश्चिम चीनमा विमानको सफल परीक्षण गरिएको छ । स्थानीय जनशक्तिको प्रयोग गरेर बनाएको उक्त युद्ध विमान तिब्बतजस्ता कठिन हिमाली भूभागमा युद्ध सामग्री तथा फौज उतार्न सफल भएको चीनले सार्वजनिक गरेको छ । यो निर्माण गरेसँगै चीनले आफूलाई युद्धक्षेत्रमा सामान ओसारपसार गर्नका लागि विमान निर्माण गर्न सफल भएको प्रमाणित गरेको छ । यस अघि युद्ध क्षेत्रमा मालसामान ओसार पसारका लागि अमेरिकाले ‘सी–१७’ र रुसले ‘‘इल–७६’ नामक विमानको निर्माण गरेका थिए । युद्ध क्षेत्रमा प्रयोग हुने मालवाहक विमानको विश्वबजारमा अमेरिका र रुसको आधिपत्य रहेका बेला चीनले आफूलाई समेत उक्त ठाउँमा उभ्यउँन सफल भएको हो ।

Jan 29, 2013

इरानले अन्तरिक्षमा पठाएको बाँदर पृथ्वीमा अवतरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इरानले अन्तरिक्षमा पठाएको एक बाँदर सफलतापूर्वक पृथ्वीमा अवतरण गराइएको इरानको सरकारी समाचार संस्थाले उल्लेख गरेको छ। आफ्नो अन्तरिक्ष अभियानलाई सफल बनाउँन इरानले अन्तरिक्षमा बाँदर पठाएको थियो । बाँदरलाई सफलतापूर्वक पृथ्वीमा अवतरण गरेपछि इरानले आफ्नो अन्तरिक्ष परिक्षण सफल भएको दाबी समेत गरेको छ । इरानको सरकारी सञ्चार माध्ययम झर्नालाई उल्लेख गर्दै समाचार संस्थाहरुले लेखका छन् इरानको अन्तरिक्ष अभियान र केही दिनअघि होमुर्जको खाडीको मिसाइल परीक्षणको सफलताबाट इजरेल र अमेरिकीहरु सशंकित बनेका छन् । इरानले गत साता अन्तरिक्षमा पठाएको बाँदर सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको दाबी गरेको हो । बाँदरलाई अन्तरिक्षबाट सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको मिति सार्वजनिक नगरि त्यहाँको सरकारी सञ्चार माध्यमले इरानले बाँदरको प्रयोग गरेर अन्तरिक्ष यात्रामा सफलता प्राप्त गरेको बताएको छ । इरानले सन् २०११ मा नै अन्तरिक्ष अभियानलाई अगाडि बढाउँने बताए पनि २०१३ मा मात्र यस्तो परीक्षण गरेको हो ।

साहित्य श्रृङ्खला हङकङले कृतिको समिक्षा र वाचन गर्‍यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली साहित्य प्रेमीहरूको साझा श्रृङ्खला नवौं स्थानीय जोर्डनको नेपाली महासंघको कार्यालयमा सौहाद्वपूर्ण रूपमा सम्पन्न भएको छ । धारावाहिक रूपले भैरहेको यस कार्यक्रममा विगतझैं महिनाको अन्तिम आईतवार विहान चन्द्र मादेन "आन्छन्"को संयोजकत्वमा सचांलन र सम्पन्न भएको छ। विशुध्द नेपाली वाङ्मयको संम्वर्द्वन र संम्रक्षण गर्ने हेतुले भैरहेको यस कार्यक्रममा हङकङवाट जन्मिएका सृजनाहरू माथि वहस गरिने गत महिनाको प्रस्ताविक निर्णय अनुरूप कवि चन्द्र मादेन "आन्छन्" को कृति "कुण्ठित मनका चित्कारहरू" को विषयमा उपस्थित श्रष्टाहरूवाट गहिरो समिक्षात्मक टिप्पोणी गरिएको थियो । उक्त श्रृङ्खलामा विभिन्न कविता, गजल र मुक्तक सुनाउने कवि र कवयित्रीहरू - प्रकाश छाङ्छा राई, डी वी पालुङ्वा, पूर्णिमा शाह, विष्णु ईङ्नाम, आशिष साम्पाङ् महेश र चन्द्र मादेन "आन्छन्" थिए भने अन्य साहित्य अनुरागीहरू विमल राई, त्रिभुवन लुङ्फुङ्वा, टोप व राई याक्खा, गीता राई आदिहरूको सृजनामाथि सुझाव र समालोचन भएको थियो । अर्को महिनाको लागि कवयित्री पूर्णिमा शाहको सृजना "त्यो प्याजी रूमाल" माथि समिक्षात्मक वहस हुने प्रस्ताविक निर्णय भएको थियो ।

फेसबुकका मालिक जुकरबर्ग कार्यकर्ता बनेर राजनीतिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फेसबुकका मालिक तथा सहसंस्थापक मार्क जुकरबर्ग राजनीतिमा लागेका छन् । नेपालमा भएको भए यस्ता चर्चित व्यक्तिलाई कुनै पार्टीले ठूलै पद दिएर भित्राउँथ्यो होला । तर जुकरबर्ग भने एक जना नेताको कार्यकर्ता बनेर राजनीतिमा पाइला हाल्न लागेका हुन् । जुकरबर्ग अर्को महिनादेखि न्यु जर्सी राज्यका गभर्नर क्रिस क्रिस्टीको चुनावी अभियानमा होमिन लागेको फेसबुकले पुष्टी गरेको छ । अर्बपति जुकरबर्ग क्रिसको चुनावी अभियानका लागि खर्च जुटाउने कार्यक्रमहरुमा सहभागि हुनेछन् । यसै क्रममा मध्य फेब्रुअरीमा उनको क्यालिफोर्नियास्थित पालो अल्टोमा रहेको घरमा एक कार्यक्रमको आयोजना हुनेछ । न्यू जर्सी राज्यका गभर्नर क्रिस्टी समेत सहभागि हुने उक्त कार्यक्रम आगामी गभर्नरको चुनाव र त्यसको प्रचार अभियानका विषयमा केन्द्रीत हुनेछ । स्मरण रहोस् रिपब्लिकन पार्टीका क्रिस्टीलाई अमेरिकाका भावी राष्टपतिका प्रत्यासी समेत ठानिएको छ । रिपब्लिकन पार्टीको कार्यकर्ता बनेका पति जुकरबर्ग भावी राष्टपतिलाई बोलाएर घरमा राजनीतिक कार्यक्रम गर्न लागेको प्रति जुकरबर्गकी पत्नी पि्रस्सीला पनि खुसी रहेको एएफपीले जनाएको छ । स्मरण रहोस् जुकरबर्ग र क्रिस्टी ३ वर्षदेखि मिल्ने साथीको रुपमा रहेका छन् । जुकरबर्गको घरमा हुने चुनावी कार्यक्रमबाट ३ हजार ८ सय अमेरिकी डलर रकम उठ्ने अपेक्षा गरिएको छ ।