News

Jun 2, 2012

बर्माकी प्रजातन्त्रवादी नेत्री सुकीद्वारा सहयोगको अपिल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले सुधारको बाटोमा हिडेको बर्मालाई आवश्यक सहयोग गर्न विश्व समुदायसँग अपिल गर्नभएको छ । थाईल्याण्डको बैंककमा विश्व आर्थिक मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै सुकीले बर्माका लाखौं युवालाई रोजगारी सृजना गर्न ठूलो सहयोग चाहिएको बताउनुभयो । २४ वर्ष यता पहिलोपटक विदेश भ्रमणमा निस्कनुभएकी सुकीले आफ्नो भ्रमणको मूख्य उद्देश्य विश्व समुदायका लागि बर्मालाई खुला गर्नु हो भन्नुभयो । देशमा विदेशी लगानी भित्रिएपछि त्यसले भ्रष्टाचार र असमानतालाई उर्जा थप्ने काम गर्न नहुनेतर्फ पनि सुकीले विश्व समुदायलाई सचेत गराउनुभयो । बर्मामा लगानी बढाउन ईच्छुक लगानीकर्ता र दातृ समुदायलाई लक्षित गर्दै सुकीले बर्मेली शासकको चाहना भन्दापनि सामान्य बर्मेली जनताको जीवनस्तर उकास्ने परियोजनाहरुमा लगानी गर्न आह्वान गर्नुभयो ।

अर्थमन्त्रीको कार्यक्रममा बम पड्क्यो, तीन पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 

सिन्धुपाल्चोक, जेष्ठ २० - अर्थमन्त्री वर्षमान पुन सहभागी सिन्धुपाल्चोकको जलबिरेमा आयोजित माओवादी सभामा आज मध्याह्न सकेट बम विष्फोट भएको छ । विष्फोटबाट स्थानीय आनन्द उच्च माध्यिमिक विद्यालको दक्षिण पश्चिम प्रवेशद्वारमा सामान्य क्षति पुगेको छ । प्रहरीका अनुसार कार्यक्रम स्थलबाट करिब ६० मिटर टाढा विद्यालयको मूलद्वारमा २ जनाले बम राखेर हिँडेको केही छिनमै विष्फोट भएको थियो । प्रहरी नायव उपरीक्षक वसन्तकुमार लामाका अनुसार ३ जनालाई नियन्त्रणमा लएर सोधपुछ भइरहेको छ । यसैगरी अर्थमन्त्री वर्षमान पुनले सोही कार्यक्रममा बोल्दै मुलुकमा जातीय पहिचानसहितको संघीय राज्य स्थापनाका लागि माओवादीले निर्वाचनमा जाने घोषणा गरेको बताएका छन् । आफूलाई लोकतान्त्रिक पार्टीका दाबी गर्ने कांग्रेस र एमाले निर्वाचनमा जान डराएको आरोप लगाए । कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य अग्नीप्रसाद सापकोटाले अब जनताकाबीचमा पूर्व लडाकु, कमाण्डर र वाईसीएलसमेत चुनावमा सहभागी हुने भएकाले कार्यकर्तालाई ढुक्क भएर क्रियाशील हुन निर्देशन दिएका छन् ।

Jun 1, 2012

चुनाव हुन नसक्ने बहालवाला मन्त्रीहरुको स्वीकारोक्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जेष्ठ १९ - सरकारले घोषणा गरेको संविधानसभा निर्वाचन यथास्थितिमा हुन नसक्ने सरकारका बहालवाला मन्त्रीहरुले दाबी गरेका छन् । उनीहरुले चुनावअघि संवैधानिक जटिलता अन्त्य गर्नुपर्ने बताए । राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा भूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशीले अहिले रहेका संबैधानिक जटिलता अन्त्य गरेपछि मात्रै संविधानसभाको निर्वाचन हुन सक्ने स्पष्ट पारे । 'अहिले मुलुकमा संबैधानिक जटिलता छ,' उनले भने, 'यस्तो अवस्थामा निर्वाचन भएको विश्वमा पनि उदाहरण मैले भेटेको छैन ।' जटिलता समाधान गरेपछि मात्रै निर्वाचन हुने उनले बताए । मन्त्री जोशीले राजनीतिक सहमतिबाटै मात्रै संवैधानिक जटिलताको अन्त्य गर्न सकिने भन्दै दलहरुवीचको सहमतिको विकल्प नभएको स्पष्ट पारे । उनले सहमति खोज्ने जिम्मेवारीसमेत राजनीतिमा हालिमुहाली गर्ने प्रमुख दलकै भएको दावी गरे । संविधानसभाको अवसान प्रमुख दलहरुको इगोका कारण भएको आरोप लगाउँदै उनले प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरुले यसको जिम्मेवारी लिनु पर्ने धारणा राखे । 'हामी पनि थोरै जिम्मेवार छौँ,' उनले भने, 'त्यसको लागि जनतासँग माफी माग्छौँ तर संविधानसभालाई नै बन्धक बनाउने तीन दल र मोर्चाले यसको जिम्मेवारी लिनु पर्छ ।' महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेले संविधानसभा पनि नरहने र संकटकालमा पनि सहमति बन्न नसकेपछि सरकारले एक मात्र विकल्प निर्वाचन रोजेको दाबी गर्दै जनतामा जाने कुरामा कसैले पनि आपत्ति मान्नु पर्ने आवश्यकता नरहेकेा बताए । 'देश शुन्यतामा रहन सक्दैन । त्यसैले अन्तिम विकल्प स्वरुप निर्वाचन घोषणा गरिएको हो,' उनले भने, 'जनतासँग म्याण्डेड लिने कुरामा कोही पनि अत्तालिनु पर्दैन ।' सहकारी तथा गरिवी निवारण मन्त्री एकनाथ ढकालले सरकारको चाहना नभए पनि संविधानसभाको विघटनको अवस्थामा पनि विकल्पमा दलहरुवीच सहमति बन्न नसकेपछि बाध्यतावश सरकारले निर्वाचन घोषणा गरेको स्पष्ट पारे ।

गधा र खच्चडको दंगाले गयो १५ को ज्यान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 गधा र खच्चडको कारणले गर्दा जातीय दंगाको शुरुवात हुने कल्पना सायदै कसैले गर्लान् । तर यमनको एक आदिवासी प्रान्तमा यस्तै घटना भएको छ । यमनको दक्षिण पश्चिम आबा प्रान्तमा गधा र खच्चडले जन्माएको विवाद कारण चलेको गोलीले १५ जनाको मृत्यु भएको छ । गधा र खच्चडले गर्दा घटेको घटना पनि अनौठो रहेको छ । सायदै मानिसहरुले सुनेका होलान् कि एक जनावरले अर्को जनावरको बलात्कार गर्यो । यदि जनावरहरुले यस्तो गरिहाले पनि हाम्रो लागि सरोकारको कुनै विषयमा पर्न आउँदैन होला । तर यस्तै जनावरले गरेको बलात्कारले यमनको आदिवासी प्रान्तमा जातिय दंगा फैलिएको थियो । एक स्थानीय व्यक्तिले पालेको गधाले अर्को व्यक्तिले पालेको खच्चडलाई लखेटी लखेटी बलात्कार गरे पछि क्रोधित भएका खच्चड मालिकाले गधा मालिकसँग झगडा गर्न थाले । झगडाले निकै ठूलो रुप लिएपछि दुई पक्षबीच गोली हानाहान भएको थियो । सो गोली हानाहानमा १५ जना स्थानीय बासिन्दाले अकालै ज्यान गुमाएका थिए । सो घटनाले जातिय दंगाको रुपमा परिणत भई ती व्यक्तिहरुले अकालमा ज्यान गुमाएका हुन् । गधाका मालिक मकाबी समुदायका थिए भने खच्चडका मालिक अब्बास समुदायका थिए । यो दुई जनावारको विषयलाई लिएर स्थानिय दुई समुदायहरुको एक आपसमा झगडा गरेका थिए । हिंसाले ठूलै जातिय दंगाको रुप लिन थालेपछि स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिएका लिए । सो घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेका छन् ।

विशिष्ट व्यक्तिलाई सुरक्षा खतराको मूल्याङ्कन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जेठ १९सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हिजो दिनदहाडै गोली हानी हत्या भएसँगै केन्द्रीय सुरक्षा समितिले विशिष्ट व्यक्तिहरुलाई समेत सुरक्षा खतरा हुनसक्ने भन्दै सुरक्षा व्यवस्था मिलाएको छ। त्यसका लागि बैठकले सुरक्षा व्यवस्थापन निर्देशिकालाई परिमार्जन गर्न कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। बैठकले न्यायाधीशहरुलाई थप सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ। गृह सचिवको अध्यक्षतामा बस्ने बैठकमा गृह मन्त्रालय अन्तर्गत रहेका तीनै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रहने गर्छ। बैठकमा रक्षा मन्त्रालय अन्तर्गत रहने सेनाको प्रतिनिधि पनि रहने गर्छ। गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखा प्रमुख पनि रहने समितिको बैठक प्रत्येक शुक्रबार नियमित बस्ने गर्छ।

हङकङमा दुर्लभ हिरा १ करोड ७४ लाख अमेरिकी डलरमा बिक्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 हङकङमा एउटा दुर्लभ हिरा १ करोड ७४ लाख अमेरिकी डलरमा बिक्री भएको छ । लिलामीमा राखिएको मार्टिएन नामको गुलाबी रंङको प्रख्यात उक्त हिरा एक अज्ञात ब्यक्तिले टेलिफोनमार्फत बोलकबोल गरी खरिद गरेका हुन् । १२ कैरेटको यो हिरा सन् १९७६ मा अमेरिकी सुनार हैरी विन्स्टनले क्रिस्टी नामका अमेरिकी नागरिकलाई बेचेका थिए । हिरा खरिद गर्ने अमेरिकी नागरिक भएको र उनले यो हिरा हङकङमा नै बिक्री गर्र्ने बताएका छन् । हिराका पारखीहरुको संख्या अरु देशको तुलनामा हङकङमा धेरै रहेकाले खरिद मूल्यभन्दा एक तिहाई बढीमा बिक्री गर्ने बताएका छन् । यही हिरा बेलायतकी महारानी एलिजाबेथ द्वितीयासँग पनि रहेको छ । सन् १९४७ मा बिबाहका अवसरमा एलिजाबेथलाई यो हिरा दिइएको थियो ।

बर्माकी प्रजातन्त्रवादी नेत्री सुकीले ओस्लोमा सम्बोधन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 ओस्लो- बर्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले नर्वेको राजधानी ओस्लोमा नोबेल पुरस्कारसम्बन्धी विशेष समारोहमा सम्बोधन गर्ने भएकी छिन् । सुकी सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् । उनी हाल थाइल्याण्ड भ्रमणमा छिन् । उनले जुन १६ मा ओस्लोमा आयोजना हुने नोबेल शान्ति पुरस्कारसम्बन्धी समारोहलाई सम्बोधन गर्ने जानकारी नोबेल पुरस्कार समितिका प्रवक्ता सिग्रिड लाङबेरकले दिएका छन् । भ्रमणका क्रममा नेत्री सुकीले नर्वेका प्रधानमन्त्री जेन्स स्टोल्टसेनवर्ग तथा विदेशमन्त्री जोनास गाह्र स्टोरेसँग भेटवार्ता गर्ने पनि बताइएको छ ।