News

Aug 5, 2013

कोरिया जान पाउँ भन्दै आमरण अनसन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२१ साउन, काठमाडौं । कोरियन भाषा उर्त्तीण गरेर कोरिया जान नपाएका यूवाहरु आमरण अनशन बसेका छन् । ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालय बाहिर टेन्ट टाँगेर ९ जना युवा आमरण अनसनमा बसेका हुन् । सरकारले आफुहरुलाई कोरिया पठाउने ग्यारेन्टी नगर्दासम्म आमरण अनासन यथावत राख्ने उनीहरुले चेतावनी दिएका छन् । आमरण अनसनमा बस्नेहरुमा कपिलवस्तुका दीपक एम.सी., रमेश गिरी, रुपन्देहीका बसन्त शर्मा पौडेल, गुल्मीका पदम भण्डारी, नवलपरासीका गोविन्द घताने, रेशम थापा, भोजपुरका डम्बरबहादुर खुलाल र दाङका चन्द्रबहादुर पुन रहेका छन् । आफुहरुलाई इपिएस पिडीत भनेर घोषणा गरेका युवाहरुले सरकारकै कारण आफुहरु कोरिया जान नपाएको आरोप लगाएका छन् । निकै आक्रामक देखिएका यूवाहरुले कि आफुहरुलाई कोरिया लैजानुपर्ने कि कोरियाको कोटा खारेज गर्नुपर्ने अडान राखेका छन् । अनसन कार्यक्रममा सहभागी पाल्पाका महेश घिमिरेले सरकारले चाहेमा आफूहरुलाई कोरिया पठाउन सक्ने दाबी गरे । सरकारले भने आफूले चाहाँदैमा कोरिया पठाउन नसक्ने बताउँदै आएको छ । कोरियाबाट कामदार माग भएमा मात्र पठाउन सक्ने सरकारको स्पष्टोक्ति छ । ‘सरकारले ८ हजार कोटालाई कुटनीतिक पहल अघि बढाएर १५ हजार पुर्‍याउन सक्छ भने हामीलाई पठाउन किन सक्दैन’ घिमिरेले अनलाइन खबरसँग भने- ‘तीन दिनभित्र सरकारले माग सुनुवाइ गरेन भने हामीे उपत्यका बन्द गर्छौं ।’ आफ्ना मागहरु इपीएस कार्यालयदेखि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसम्मलाई राखे पनि कतैबाट सुनुवाइ नभएको उनीहरुले गुनासो गरे । कोरिया जान नपाएका ६५ सय युवामध्ये ९ जना आमरण अनसनमा बसे पनि अनसनस्थलमा भने सय जनाको हाराहारीमा उपस्थिति छ । ‘सरकारले माग पूरा गर्ला भन्दा पनि हामीलाई प्रहरी लगाएर धरपकड गर्दैछ’ अनसनकारी दीपक एम.सी.ले अनलाइनखबरलाई भने- ‘पुलिसले टेन्ट फालिदिन्छु भन्दै धम्काइरहेको छ ।’आन्दोलनमा सहभागी पाँचथरकी कुमारी चेम्जोङले भनिन्- ‘सरकारले हामीलाई जसरी भए पनि कोरिया पठाउनुपर्छ ।’ आफुहरुलाई कोरिया नलगिए इपीएस प्रणाली नै बन्द गरिदिने उनले चेतावनी दिइन् । आमरण अनसन बसेपछि सरकारले आफुहरुलाई कोरिया पठाउन पहल गर्ने उनले विश्वास गरिन् । कोरियामा महिला कामदार लैजान सरकारले आनकानी गरेको बताउँदै उनले १५ सय महिलामध्ये जम्मा ४ सय ५० महिलालाई मात्रै कोरिया गरिएको गुनासो गरिन् । अनसन स्थलमा खटिएका प्रहरी र आन्दोलनकारीबीच रमाइलो दोहोरीसमेत चल्दै आएको छ । प्रहरीहरुलाई पनि अनसनकारीले आफ्नो मागमा समर्थन गर्न भनेका छन् । प्रहरीहरुले चाँहि तपाईहरु पैसा कमाउन जान लाग्नुभएको छ त, आफूहरुले थोरै पैसामा जागिर खाइरहेको भन्दै ठट्टा गरेको दृश्य निकै रोचक देखिएको छ ।

No comments: