News

May 1, 2009

हजार गरिब छात्राको छात्रवृत्ति गुम्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गरिब तथा जेहेनदार छात्रालाई उच्च शिक्षामा प्रोत्साहित गर्न सरकारले स्थापना गरेको छात्रवृत्तिको ठूलो हिस्सा बर्सेनि गुम्दै आएको छ । कोषमा मनग्य रकम हुँदाहुँदै पनि लक्षित छात्राले त्यसको लाभ लिन सकेका छैनन् । छात्रवृत्ति छनोट समितिको बैठक समयमै बस्न नसक्दा यस आर्थिक वर्षमा पनि एक हजारको कोटा गुमेको छ । जिल्ला शिक्षा कार्यालयले विद्यार्थी-विवरण विश्वविद्यालय अनुदान आयोग र उच्च माध्यमिक शिक्षापरिषद्मा पठाउन ढिलाइ गरेकाले छात्राहरूले छात्रवृत्ति गुमाएका हुन् । नाम सिफारिस समितिमा जिल्ला शिक्षा अधिकारी, स्थानीय विकास अधिकारी, महिला अधिकृत, उच्च माविका प्राचार्य, तथा क्याम्पसका प्रतिनिधि रहने व्यवस्था छ । नेपाल सरकारले सामुदायिक उच्च माध्यमिक विद्यालय र विश्वविद्यालय अनुदान आयोगअन्तर्गत अनुदानप्राप्त क्याम्पसमा अध्ययनरत जेहेनदार, दलित, जनजाति, अपांग एवं आर्थिक रूपले विपन्न समूहका छात्राहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले ०६३ सालमा छात्रा शिक्षा कोष स्थापना गरेको थियो । सो कोषमा बर्सेनि बजेट बढ्दै गए पनि लक्षित वर्गका सरकारी क्याम्पसमा अध्ययन गर्ने छात्रासम्म सो छात्रवृत्ति पुग्न सकेको छैन । विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारी र सामुदायिक क्याम्पसमा जाने रकम लक्षित वर्गमा नपुगी र्फकने गरेको छ । यसरी छात्रवृत्ति गुमाउनेमा सरकारी र सामुदायिक क्याम्पस तथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरू रहेका छन् । चालू आर्थिक वर्षमा सरकारी र सामुदायिक क्याम्पसमा अध्ययन गर्ने छात्राका लागि वितरण गर्न छुट्याइएको कोटामध्ये साढे तीन सयको छात्रवृत्ति गुम्यो भने, उच्च माध्यमिक शिक्षा परिषद्बाट वितरण गरिने करिब सात सय छात्रासमेत छात्रवृत्तिको सुविधाबाट वञ्चित भए । यस वर्ष अनुदान आयोगले क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने एघार सय पचास छात्रालाई छात्रवृत्ति दिने घोषणा गरेको थियो । सरकारले क्याम्पसमा पढ्ने छात्रालाई कोषबाट प्रतिवर्ष दस हजार दिने व्यवस्था गरेको छ । उमाविमा अध्ययन गर्ने एक छात्राबराबर वर्षमा पाँच हजार रुपैयाँ दिने व्यवस्था छ । उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ र १२ मा अध्ययन गर्ने तीन हजार दुई सय छात्रालाई छात्रवृत्ति वितरण गर्ने घोषणा गरिए पनि दुई हजार पाँच सय मात्र छनोट भएको परिषद्का सदस्यसचिव रामबहादुर खड्काले बताए । एघार कक्षामा छनोट भई नामावलीमा नाम छुटेको भए मात्र रकम उपलब्ध गराउन सकिने उनले जानकारी दिए । खड्काका अनुसार उच्च माविमा अध्ययन गर्ने तराईका जिल्लाको छात्रवृत्ति धेरै गुमेको छ । धेरैपटक अनुरोध गर्दा पनि जिल्लाको छात्रवृत्ति समितिले समयमै छनोट गरी नाम नपठाएका कारण तोकिएको कोटा गुम्ने गरेको उनी बताउँछन् । खड्काले नयाँ पत्रिकासँग भने, 'छनोट समितिको समयमै बैठक बस्न नसक्दा गरिब छात्राले उनीहरूका लागि छुट्याइएको छात्तवृत्ति पनि पाउँदैनन् ।' अघिल्लो वर्षसमेत विश्वविद्यालय अनुदान आयोगबाट सरकारी र सामुदायिक क्याम्पसका छात्रालाइ दिने आधा छात्रवृत्ति गुमेको थियो । ०६३/०६४ का लागि सरकारले एक हजार छात्रालाई छात्रवृत्ति दिने घोषणा गरेको थियो । तर, देशभरका जम्मा ६ सय जनाले मात्र छात्रवृत्ति पाएका थिए । अघिल्लो वर्ष चार सय कोटा गुमेको थियो । यस वर्ष पनि साढे तीन सय कोटा गुमेका छन् । आयोगका कर्मचारी सानु महर्जनले आठ सय आठ जनाको नाम मात्र आयोगमा आएको बताए । महर्जनले नयाँ पत्रिकासँग भने, 'अब छुटेको भए मात्र छात्रवृत्ति पाउँछन्, नयाँको नाम थप्न त आर्थिक वर्षको समय सकिइसक्यो ।' शिक्षा मन्त्रालयका कार्यक्रम शाखाप्रमुख दीपक शर्माले छात्रवृत्तिका विषयमा समीक्षा भएको र छिट्टै मन्त्रालयमा तथ्यांक आउने बताए । उनले भने, 'सरकारले क्याम्पसमा छात्राका लागि छात्रवृत्ति बाँड्दै छ भन्ने सूचना समयमै नपुगेकाले धेरैको कोटा गुम्दो रहेछ ।'

सीमान्तकृत समुदायको राष्ट्रिय घोषणा पत्र जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ संविधानमा आफ्ना अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै काठमाडौंमा भेला भएका देशभरिका सीमान्तकृत समुदायका प्रतिनिधिहरूले राष्ट्रिय घोषणा पत्र जारी गरेका छन । उनीहरूले घोषणापत्र राष्ट्रपति, संविधानसभा अध्यक्ष र संविधानसभाका सबै समिति र सभासद्हरूलाई हस्तान्तरण गर्ने जनाएका छन । संविधानसभा सहयोग सञ्जालको सहयोगमा काठमाडौंमा भएको तीनदिने भेलापछि राष्ट्रिय घोषणापत्र निर्माण गरिएको हो । यसअघि, ७५ वटै जिल्लामा तयार पारिएका 'संविधान निर्माण प्रक्रियामा सीमान्तकृत समुदायका आवाज' नामक जिल्ला घोषणापत्रहरूको आधारमा राष्ट्रिय घोषणापत्र तयार पारिएको हो । पहिलो चरणमा संविधानसभाको अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हकअधिकार संरक्षण समितिका सभापति लालबाबु पण्डित र नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीलाइ सञ्जालले घोषणापत्र बुझाएको छ । संविधानसभा सहयोग सञ्जालले यसअघि नै देशका विभिन्न एक हजार पाँच सय स्थानमा सीमान्तकृत वर्ग/समुदायसित छलफल गरी नयाँ संविधानमा सीमान्तकृत समुदायका अधिकार र सरोकारका सवालहरू समावेश गर्ने सम्बन्धमा जिल्लास्तरीय घोषणापत्र तयार गरेको थियो ।

जातीय मोर्चाहरूद्वारा छुट्टै सरकार गठन गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आन्दोलनरत थरुहट स्वायत्त राज्यपरिषद्का अध्यक्ष लक्ष्मण थारूले २० वैशाखभित्र सरकारले विगतमा भएको ६ बुँदे सहमति कार्यान्वयन नगरे आफ्नो सत्ताको निर्माण आफैं गर्ने चेतावनी दिएका छन् । परिषद्सहित पाँचवटा जातीय मोर्चा र संविधानसभामा प्रतिनिधित्व गर्ने चारवटा दलहरूको संयुक्त पत्रकार सम्मेलनमा बिहीबार थारूले मुलुकलाई विखण्डन पार्ने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरे । 'संघहरूलाई सक्रिय बनाएर नयाँ सरकार घोषणा गर्दैछौं,' थारूले भने, 'आफ्नो सत्ताको निर्माण आफैं गर्छौं, हामीमाथि हस्तक्षेप भए ३५ हजार थारू सेना संघर्षका लागि तयार छन् ।' आफूहरूलाई सरकार र प्रमुख दलले पटक-पटक झुक्याएको र थारू आन्दोलन तुहाउन खोजेको उनको आरोप थियो । राष्ट्रिय आदिवासी जनजाति गणतान्त्रिक मोर्चाका सहअध्यक्ष किशोरकुमार विश्वासले थारू समुदायसँग भएको ६ बुँदे सहमति अक्षरस पालना नभए दुर्घटनाको चेतावनी दिए । आदिवासी जनजाति थारू समुदायको जायज माग सम्बोधनमा बेवास्ता गर्दै सरकार सेनापति हटाउन लागेको भन्दै उनले आपत्ति जनाए । कार्यक्रममा मुस्लिम नेता मसरुदिन अन्सारी, नेवाः नेता विजय सैंजू र लिम्बुवान नेता डिके बुद्धिस्टले हिमाल, पहाड र तराईमा एकसाथ आन्दोलन उठाउने चेतावनी दिए ।

भारतमा तेस्रो चरणको चुनाव कडा सुरक्षाबीच सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँदिल्ली/ भारतमा तेस्रो चरणको चुनावको मतदान बिहीबार कडा सुरक्षाबीच सम्पन्न भएको छ । नौ राज्य र दुईवटा केन्द्र शासित प्रदेशमा जारी मतदान छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा भएको सरकारी अधिकारीहरूले बताएका छन् । मध्यप्रदेश र गुजरातमा प्रचण्ड गर्मीबाट बच्न बिहान सबेरैदेखि मतदाता लामबद्ध भएका थिए । जम्मुकास्मिर र मुम्बईमा भने अन्य क्षेत्रको तुलनामा सुस्तगतिमा मतदान भएको थियो । तेस्रो चरणको चुनावमा एक सय एक महिलासहित एक हजार पाँच सय ६७ जना चुनावी मैदानमा उत्रेका छन् । तेस्रो चरणको चुनावमा निर्वाचन आयोगले एक लाख ६५ हजार एक सय १२ मतदानकेन्द्र स्थापना गरेको छ । यस चुनावमा १४ करोड ५० लाख मतदाता छन् । चुनावमा भारतका हस्ती मानिने कंग्रेस नेत्री सोनिया गान्धी, भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृण आडवानी र भूतपूर्व प्रधानमन्त्री हर्दनहल्लीडोडेगौडा देवेगौडालगायत नाम चलेका अन्य नेताको भाग्यको फैसला गर्नेछ ।

अब विवाहित महिलाले पनि सेनामा प्रवेश पाउँने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सेनामा सेवामा प्रवेश गर्न चाहने महिला अविवाहित नै हुनुपर्ने विद्यमान कानुनी व्यवस्था हट्ने भएको छ। सर्वोच्च अदालतले नयाँ बन्न लागेको सैनिक प्रहरी नियमावलीमा त्यस्तो भेदभावपूर्ण प्रावधान नराख्न सरकारको नाममा आदेश दिएकाले उक्त व्यवस्था हट्ने भएको हो। सर्वोच्चको आदेशबमोजिम नयाँ नियमावली आएपछि विवाहित महिलाले सैनिक सेवामा प्रवेश गर्ने बाटो खुला हुनेछ। हालको नियमावलीले सैनिक प्रहरी सेवामा प्रवेश गर्न अविवाहित र एकल महिला हुनुपर्ने एवं आधारभूत तालिम अवधिभर विवाह गर्न नपाउने व्यवस्था गरेको छ।उक्त व्यवस्था बदर गर्न दायर भएको रिटमा बिहीबार निर्णय सुनाउँदै न्यायाधीशहरु रामप्रसाद श्रेष्ठ रामकुमारप्रसाद साह र अवधेश यादवको विशेष इजलासले नयाँ नियमावलीमा भेदभावपूर्ण व्यवस्था नराख्न सरकारलगायतका नाममा आदेश दिएको हो।महिला कानुन विकास माचका तर्फबाट अधिवक्ताद्वय सपना प्रधान मल्ल र मिरा ढुंगानाले संयुक्त रुपमा उक्त कानुनी व्यवस्थाले समानताको संवैधानिक हक विवाहमा समान अधिकार लैङ्गिक विभेदविरुद्धको अधिकारसमेतको हनन भएको जनाउँदै सर्वोच्चमा २०६४ साउन १० मा रिट दिएका थिए। रक्षा मन्त्रालयले सैनिक ऐन २०६३ बमोजिम नयाँ नियमावली बनाइरहेको छ।

माओवादी अझै आतंककारी निगरानी सूचीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकाले एकीकृत नेकपा माओवादी र यसका दुई राजनीतिक र सैन्य संगठनलाई अझै आतंककारी संस्थाको निगरानी सूचीमा राखेको छ। अमेरिकी विदेश मन्त्रालयले बिहीबार जारी गरेको निगरानी सूचीअनुसार माओवादी र यसको संयुक्त क्रान्तिकारी जनपरिषद् र जनमुक्ति सेनालाई टेररिष्ट एक्सक्लुजन लिष्ट (आतंकारीलाई अलग्याउने सूची) मा राखिएको छ। 'माओवादी पार्टी आफ्नो दश वर्षे विद्रोह सन् २००६ मा अन्त्य गरी सन् २००७ मा अन्तरिम सरकारमा समावेश भए पनि माओवादी फ्याक्सनहरुले हिंसा, जबर्जस्ती असुली र अपहरणलाई निरन्तरता दिएका छन्'- प्रतिवेदनमा भनिएको छ।'माओवादीको जनमुक्ति सेनाका पूर्व सदस्यहरु योंग कम्युनिष्ट लीग वाइसीएल का रुपमा सन् २००७ सम्ममा प्रभावशालीरुपमा स्थापित भई माओवादी मिलिसिया रणनीतिअनुरुप दुर्व्यवहार, अपहरण, हत्या, जबर्जस्ती र असुलीलाई सहर र गाउँमा निरन्तरता दिइरहेका छन्'- यसले भनेको छ।सरकारमा माओवादीको उपस्थितिले अमेरिकी प्रतिआतंकवाद सहायतामा अवरोध पुगेकोसमेत प्रतिवेदनमा उल्लेख छ।

थारुहट बन्दको विरोधमा बृहत् प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थारुहट संयुक्त संघर्ष समितिले गरेको बन्दको विरोधमा शुक्रबार बिहानैदेखि धनगढीमा बृहत् प्रदर्शन भइरहेको छ। बन्दले जनजीवन कष्टकर बनेपछि स्वस्फूर्तरुपमा निस्केको प्रदर्शनमा विद्यार्थी व्यापारीलगायत् सयौंको सहभागिता छ। शान्ति सुरक्षा कायम गर, शिक्षण संस्था खुला गर, तोडफोड गर्न पाइँदैन, बजार खुलाउनै पर्छ जस्ता नारा उनीहरुले लगाएका छन्। शुक्रबार बिहान ८ बजे सुरु भएको रयालीले नगर परिक्रमा गरेको छ। उनीहरुले एलएन चोकमा कोणसभा पनि गरेका थिए। कोणसभामा व्यापारी चन्द्रप्रकाश भट्ट विद्यार्थी सुभास चन्द र नागरिक समाजका प्रेम बिसीले बन्दको निहुँमा तोडफोड गर्न र विद्याथीको भविष्यमाथि खेलवाड गर्न नपाइने बताएका थिए।प्रदर्शनका क्रममा युवाहरुले बन्द पसल खुलाउन पनि लगाएका थिए। बिहीबार साँझ धनगढीको शिवनगरमा खुला रहेका पसल थारु कार्यकर्ताले जबर्जस्ती बन्द गराउँदा व्यापारी र थारु कार्यकर्ताबीच झडप भएको थियो। कुनै पनि बेला झडप हुनसक्नेतर्फ सतर्क हुँदै बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ।