News

May 1, 2009

जातीय मोर्चाहरूद्वारा छुट्टै सरकार गठन गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आन्दोलनरत थरुहट स्वायत्त राज्यपरिषद्का अध्यक्ष लक्ष्मण थारूले २० वैशाखभित्र सरकारले विगतमा भएको ६ बुँदे सहमति कार्यान्वयन नगरे आफ्नो सत्ताको निर्माण आफैं गर्ने चेतावनी दिएका छन् । परिषद्सहित पाँचवटा जातीय मोर्चा र संविधानसभामा प्रतिनिधित्व गर्ने चारवटा दलहरूको संयुक्त पत्रकार सम्मेलनमा बिहीबार थारूले मुलुकलाई विखण्डन पार्ने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरे । 'संघहरूलाई सक्रिय बनाएर नयाँ सरकार घोषणा गर्दैछौं,' थारूले भने, 'आफ्नो सत्ताको निर्माण आफैं गर्छौं, हामीमाथि हस्तक्षेप भए ३५ हजार थारू सेना संघर्षका लागि तयार छन् ।' आफूहरूलाई सरकार र प्रमुख दलले पटक-पटक झुक्याएको र थारू आन्दोलन तुहाउन खोजेको उनको आरोप थियो । राष्ट्रिय आदिवासी जनजाति गणतान्त्रिक मोर्चाका सहअध्यक्ष किशोरकुमार विश्वासले थारू समुदायसँग भएको ६ बुँदे सहमति अक्षरस पालना नभए दुर्घटनाको चेतावनी दिए । आदिवासी जनजाति थारू समुदायको जायज माग सम्बोधनमा बेवास्ता गर्दै सरकार सेनापति हटाउन लागेको भन्दै उनले आपत्ति जनाए । कार्यक्रममा मुस्लिम नेता मसरुदिन अन्सारी, नेवाः नेता विजय सैंजू र लिम्बुवान नेता डिके बुद्धिस्टले हिमाल, पहाड र तराईमा एकसाथ आन्दोलन उठाउने चेतावनी दिए ।

No comments: