News

Oct 2, 2009

बैंकबाट साढे ७ किलोग्राम सुन र ३ लाख नगद चोरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनगढी असोज १६- बझाङको सदरमुकाम चैनपुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन र नगद चोरी भएको छ। दशैं बिदाका बेला बैंकको शाखाबाट करिव साढे ७ किलोग्राम सुन र ३ लाख नगद चोरी भएको हो। कार्यालय शुक्रबार बिहान खोल्दा ढुकुटी फोडेर नगद र सुन लगिएको पाइएको बैंकका निमित्त प्रमुख गोपालजंगबहादुर सिंहले बताए। असोज ८ गतेबाट दशैंको बिदा भएकाले बैंक बन्द थियो। कार्यालयको बाहिरको ढोका ताला लगाएको अवस्थामा जस्ताको तस्तै रहेको र भित्र बैंकको ढुकुटी मात्र फुटाएर नगद र सुन लगेको उनले बताए। बैंकका एक जना गार्ड सुरेश बिष्ट ८ गते साँझदेखि फरार रहेको बताइएको छ।बैंकबाट ७ किलो ६ सय ६६ ग्राम सुन र २ लाख ९९ हजार १ सय १० नगद लगेको सिंहले बताए। बैंकमा रहेको उक्त सुनमा बैंकले ८८ लाख ५९ हजार ७ सय ३८ लगानी गरेको थियो। बैंकमा रहेको ८ लाख ८३ हजार ७ सय ७० मध्ये २ लाख ९९ हजार १ सय १० मात्र लगेको जनाइएको छ। बाहिर ढोकामा ताल्चा पनि रहेको र ढोका पनि नफुटेको अवस्थामा भित्र सुरक्षित स्थानमा रहेको ढुकुटी फोडेर पैसा र सुन लगिएकाले बैंक कर्मचारीको संलग्नता रहेको अनुमान गरिएको बझाङका प्रहरी नायव उपरीक्षक वसन्त पन्तले नागरिकलाई बताए।सुरेश बिष्ट नामक गार्ड फरार छन् भने बैंककै गार्ड खडकबहादुर गुरुङ, गार्ड सुरेशबहादुर के.सी. र पियन वीर कुंवरलाई नियन्त्रणमा लिएको डि.एस.पी पन्तले बताए।दशैं बिदाका बेला गार्ड बैंकमा नै हुने भएकाले र बाहिरको ढोका नफोडी ढुकुटी फोडेर पैसा लग्ने काम गार्डको मिलेमतोमा भएको हुनसक्ने उनले बताए।३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि उनले बताए।

नेपालको राजनीतिक क्षेत्रमा ५६ प्रतिशत बाहुन-क्षत्री महिला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१ दशमलव ५१ प्रतिशत महिलाले समाजको नकारात्मक धारणालाई राजनीतिमा निरन्तरता दिन नसक्नुको कारण बताएका छन् भने १९ दशमलव ७७ प्रतिशतले घरपरिवारको नकारात्मक धारणालाई दोषी देखाएका छन्। नेपालमा राजनीतिक क्षेत्रमा लाग्ने महिलामध्ये ५६ प्रतिशत बाहुन-क्षत्री रहेको एक अध्ययनले देखाएको छ। बियोन्ड बेइजिङ कमिटीले १ हजार १६ जना राजनीतिक महिलाबीच गरेको अध्ययनले ३१ दशमलव ५ प्रतिशत जनजाति, ७ दशमलव ५८ प्रतिशत दलित, ४ दशमलव ७२ प्रतिशत मधेसी र शून्य दशमलव २० प्रतिशत मुस्लिम समुदायका महिला राजनीतिमा संलग्न रहेको देखाएको छ। मुलुकमा क्रियाशील १५ वटा राजनीतिक पार्टी साथै एक जना स्वतन्त्र वामपन्थीसमेत गरी ७३ जिल्लाका अगुवा राजनीतिक महिलाहरूबीच उक्त अध्ययन गरिएको थियो। उनीहरूको शैक्षिक स्थितिलाई हेर्दा २ दशमलव २७ प्रतिशत निरक्षर, ९ दशमलव ९७ प्रतिशत अनौपचारिक र १७ दशमलव ८२ प्रतिशतले प्राथमिक शिक्षा हासिल गरेका छन्। त्यस्तै ५२ दशमलव २७ प्रतिशतले माध्यमिक शिक्षा हासिल गरेका छन् भने १९ दशमलव ९४ प्रतिशतले मात्र उच्चशिक्षा हासिल गरेका छन्। त्यसै गरी राजनीतिमा सक्रिय रहेका १ हजार १६ महिलामध्ये ६ दशमलव १० प्रतिशत मध्यमवर्गीय आर्थिक हैसियतको परिवारका, ३२ दशमलव ४९ प्रतिशत निम्न आर्थिक हैसियतको परिवारका रहेको तथा उच्च आर्थिक घरानाका महिलाको राजनीतिक संलग्नताको स्थिति १ दशमलव ४१ प्रतिशत मात्र रहेको अध्ययनले देखाएको छ। अध्ययनअनुसार २१ दशमलव ५१ प्रतिशत महिलाले समाजको नकारात्मक धारणालाई महिलाले राजनीतिमा निरन्तरता दिन नसक्नुको कारण बताएका छन् भने १९ दशमलव ७७ प्रतिशतले घरपरिवारको नकारात्मक धारणालाई दोषी देखाएका छन्। त्यसै गरी ११ दशमलव ७७ प्रतिशतले परम्परागत रीतिरिवाज र पितृसत्तात्मक सोचका कारण राजनीतिलाई निरन्तरता दिन नसकेको बताएका छन्। ८ दशमलव ६ प्रतिशतले कमजोर मावनसंसाधनले गर्दा र ७ दशमलव ४१ प्रतिशतले पार्टीको उचित मूल्यांकनको अभावले नकारात्मक प्रभाव परेको कुरा व्यक्त गरेका छन्। त्यस्तै ७ दशमलव ५७ प्रतिशतले गरिबीको प्रभावलाई कारण बताएका छन् भने २ दशमलव ९८ प्रतिशतले अवसरको अभाव र बाँकी ६ दशमलव ७८ प्रतिशतले समयको अभाव बताएका छन्। अध्ययनमा सहभागी राजनीतिक महिलामध्ये ६५ प्रतिशतले राजनीतिमा महिला नेतृत्वक्षमता बढाउन शिक्षा, पर्याप्त राजनीतिक प्रशिक्षण, आर्थिक अधिकार र परिवारको सहयोग रहनुपर्ने बताएका छन्।

७.८ रिक्टर स्केलको भूकम्पले ७ सय ७० व्यक्ति मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पादाङ, इन्डोनेसिया, इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी झन्डै ८ सय जनाको मृत्यु भएको छ। बुधबार गएको ७ दशमलव ८ रिक्टर स्केलको उक्त भूकम्पमा परी कम्तीमा ७ सय ७० व्यक्ति मारिएको पुष्टि भएको सम्बन्धित अधिकारीहरूले जनाएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भूकम्पका कारण ढलेका भवनहरूको भग्नावशेषमा पुरिएका घाइतेहरूलाई निकाल्न बिहीबार उद्धारकर्मीहरूले एक्सकेभेटरहरू प्रयोग गरेका छन्।सुमात्रा टापुको जलीय क्षेत्र केन्द्रबिन्दु रहेको उक्त भूकम्पबाट पादाङ शहरमा मात्रै ३ सय ७६ जनाको ज्यान गएको छ। बाँकी व्यक्तिको अन्य चार जिल्लामा मृत्यु भएको हो। बिहीबार बिहान पनि सोही क्षेत्रमा ६ दशमलव ८ रिक्टर स्केलको अर्को भूकम्प गएको थियो। तर त्यसबाट भएको धनजनको क्षतिको विवरण प्राप्त भएको छैन। भूकम्पका कारण पादाङमा होटल, विद्यालय, अस्पताल, व्यापारिक केन्द्रलगायत ५ सयवटा भवन ध्वस्त भएका छन्। हजारौं व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। नौ लाख जनसंख्या रहेको सुमात्रा टापुमा भूकम्पपछि आगलागी भएको, कतिपय सडकको सर्म्पर्क विच्छेद भएको, बिजुली र सञ्चार पनि क्षत्रि्रस्त भएको बताइएको छ। भूकम्पले पादाङको २ सय ४० किलोमिटर क्षेत्रमा प्रभाव परेको थियो। यस क्षेत्रको २४ किलोमिटर गहिराइसम्म भूकम्पको प्रभाव देखिएपछि सुनामीको डरले हजारौं व्यक्ति घरबार छोडी भागेका थिए।भूकम्पको झट्का सयौं किलोमिटर टाढा मलेसिया र सिंगापुरमा पनि महसुस भएको थियो। भूकम्पपछि पश्चिमी सुमात्रा प्रान्तको राजधानी पादाङमा हजारौं बासिन्दा कार, मोटरसाइकल चढेर भागाभाग गरेका थिए भने हजारौं खुला सडकमा बसेका थिए। पादाङमा कम्तीमा ५ हजार घर ढलेको वा नराम्रोसित क्षति भएको बताइएको छ। सञ्चार सर्म्पर्कको कठिनाइका कारण त्यस क्षेत्र वरपरका इलाकामा कति क्षति पुग्यो भन्ने थाहा हुन सकेको छैन।भूकम्पबाट मर्नेहरूको संख्या हजारौं हुन सक्ने अनुमान गरी सरकार त्यस चुनौतीको सामना गर्ने तयारी गर्दै छ। इन्डोनेसियाली सरकारले तत्कालको सहायताका लागि १ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ।उद्धारका लागि चिकित्सा टोली खटिएका छन् भने भूकम्प प्रभावित क्षेत्रमा अस्पतालको व्यवस्था गर्न, पाल, औषधि र खाद्यान्न पुर्याउन सैनिक विमानहरू प्रयोगमा ल्याइएका छन्। भूकम्पका कारण सुमात्राका दुई दर्जन ठाउँमा पहिरो गएको छ। पहिरोबाट सडकहरू थुनिँदा रोकिएका सवारीसाधनको लाम माइलौंसम्म लागेको छ।

हलिउडको चर्चित जोडी जोली र ब्रड पिटले सँगै फिल्म नखेल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, असोज १६ हलिउडको चर्चित जोडी एन्जलिना जोली र ब्रड पिटले सँगै फिल्म नखेल्ने भएका छन्। लामो समयदेखि सँगै बस्दै आएका जाडीले आफ्ना ६ सन्तानका लागि प्रशस्त समय दिन नसकेको भन्दै यस्तो निर्णय गरेका हुन्। 'हामी दुवैले एउटै फिल्ममा काम गर्दा बच्चा अलपत्र पर्दा रहेछन्। फरकफरक फिल्ममा काम गरियो भने एउटा व्यस्त हुँदा अर्काले बच्चा हेर्न पाइन्छ,' एन्जलिनाले सँगै फिल्म नखेल्नुको कारण बताइन्। 'ब्रडसित काम गर्न मलाई ज्यादै मनपर्छ तर अभिभावक भएपछि सन्तानको जिम्मेवारी सबभन्दा माथि हुँदोरहेछ,' उनले भनिन्। जोलीको कुरामा पिट पनि सहमत छन्। उनी भन्छन्, 'सँगै काम गर्दा रमाइलो हुन्छ। तर, अहिले हाम्रा बच्चा हुर्किदै छन्। त्यसकारण दुवैजनाले छोड्न मिल्दैन।' यो जोडीका दुई आफ्नै र चार धर्मपुत्र/पुत्री छन्।

Oct 1, 2009

अमेरिकामा प्रधानमन्त्री माधवकुमार नेपाललाई झन्डै बोतल प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले नेपालका प्रमुख चासो र सरोकारका विषय विश्वसामु उजागर गर्न सकेकाले आफ्नो अमेरिका भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ। संयुक्त राष्ट्रसंघको ६४औं महासभामा भाग लिएर बुधबार स्वदेश फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले व्यापक सम्बन्ध विस्तारका लागि भ्रमण फलदायी भएको बताउनुभयो। २३ सदस्यीय टोलीको नेतृत्व गरेर अमेरिका जानुभएका प्रधानमन्त्री नेपालसँग गएका सात जना भने निजी भ्रमणका लागि अमेरिकामै रोकिएका छन्।प्रधानमन्त्री नेपाल संयुक्त राष्ट्रसंघको महासभापछि अमेरिकामा रहेका विभिन्न नेपाली संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रमहरूमा सहभागी हुनुभएको थियो। स्वदेशका कार्यक्रमहरूमा निरन्तर कालो झन्डा र विरोध प्रदर्शन खेप्दै आएका प्रधानमन्त्रीले अमेरिकामा समेत यसको सामना गर्नुपर्यो।न्युयोर्कको कोलम्बिया विश्वविद्यालय, न्युयोर्क विश्वविद्यालय, हावर्ड विश्वविद्यालय, पेन्सिलभानिया विश्वविद्यालयलगायतमा अध्ययन गर्ने विद्यार्थीहरूले प्रधानमन्त्रीको भ्रमणअवधिमा विरोध प्रदर्शन र कालो झन्डा देखाएका थिए।नेपालका कार्यक्रमहरूमा ढिलो जाने बानी परेका प्रधानमन्त्रीले न्युयोर्कमा पनि त्यसै गरी एक घण्टा कुराएपछि उहाँले चर्को हुटिङको सामना गर्नुपरेको अनलाइन न्युज पोर्टल जनपुकार डट कमले जनाएको छ।अमेरिकामा रहेका नेपालीहरूले खोलेको नेपाली आदिवासी जनजाति महासंघले अरू १५ संघसंस्थाले आयोजना गरेको ‘नेपालमा संघीयता र नयाँ संविधान विषयक’ अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ढिला गएर लामो भाषण मात्र दिएपछि सहभागीहरूले हुटिङ गरेको बताइएको छ।परराष्ट्रमन्त्री सुजाता कोइरालालगायत सबै नेपाली प्रतिनिधिमण्डल सहभागी उक्त कार्यक्रममा सहभागीले प्रश्न सोध्न नपाएको भन्दै पानीका बोतलले हान्न थालेपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई जोगाउन हम्मे परेको समाचारमा जनाइएको छ। चर्को हुटिङका कारण प्रधानमन्त्री मञ्चबाटै उठेर हिँड्नुभएको बताइएको छ।सोही महासभाका लागि ६ सदस्यीय टोली लिएर गएकी परराष्ट्रमन्त्री सुजाता कोइराला भने अझै स्वदेश फर्कनुभएको छैन। परराष्ट्रमन्त्रीको पहलमा अदालतमा विचाराधीन फौजदारी अपराधको मुद्दा फिर्ता लिएर निजी खर्चमा अमेरिका लगिएका पत्रकार ऋषि धमला पनि स्वदेश फर्किसकेका छैनन्।

बेलायत आइपुगेका नेपाली विद्यार्थी काम नपाएपछि विचल्ली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उच्च शिक्षाको नाममा 'पाउण्ड टिप्न' लाखौं खर्चेर बेलायत आइपुगेका नेपाली विद्यार्थी काम नपाएपछि विचल्ली भएका छन् । आफैं आर्थिक मन्दी खेपिरहेको बेलायतमा पर्याप्त रोजगारी नहुँदा सिमित 'ट्राभल चेक' बोकेर बेलायत उत्रेका असंख्य विद्यार्थी भोकै बस्नुपर्ने वाध्यता छ । आर्थिक अभावले केही नेपाली विद्यार्थी लन्डनस्थित साउथहल पार्कमै सुतेको खवर प्रकाशमा आएका छन् । खर्च सकिएपछि काम खोज्न करिव दश माइल पैदल हिंडेको समेत विद्यार्थीको दुःखेसो छ । जुलाई २४ मा युके आइपुगेका चन्द्रमणी चाम्लिङ अझै कामविहीन छन् । कामको खोजीमा उनले शहर डुल्दै धेरै सिभी छाडिसके । 'फोन आउने आशमा सिभी छोड्यो, तर कुनै जवाफ नआउँदा त दिक्कार लाग्छ'-उनको दुखेसो छ । धरान निवासी उनले कलेज अफ आइटी एण्ड इकमर्श, लन्डन बि्रजमा एड्भान्स् ग्रयाजुएड्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट पढ्न अंग्रेजी कोर्स सहित ३५ सय पाउण्ड बुझाइसकेका छन् । बुधवार, बिहिवार दुई दिन कलेज गएपछि बाँकी समय बिताउन सार्वजनिक पुस्तकालयमात्र उनको विकल्प छ । 'राम्रो शिक्षा र बाँच्नसम्म पाए मलाई अब कमाउने आस हरायो'-उनले भने-'खाने ठेगान छैन्, सिंगल बेडमा दुई जनासम्म सुत्नु परेको छ, के विजोग भयो यस्तो ।' बेलायतमा काम पाउन मुश्किल छ भन्ने थाहा हुँदाहुँदै पनि विदेश जाने चक्करले युके आएको बताउन लजाएनन् उनी । भने-'आइयो, चिन्ताले अन्यत्र सोच्नै भ्याएको छैन्, काम भएन भने त टिक्न पो गार्‍हो छ ।' ह्यारोस्थित हेलिफ्याक्स् कलेजमा होटल म्यानेजमेन्ट पढ्न कलेज शुल्कमात्र ४६ सय पाउण्ड (करिब ६ लाख नेपाली) तिरेर १४ सेप्टेम्बरमा बेलायत आएका कृष्ण चौधरीको मन कामविहीन अन्य साथीहरुको रोदन र बेरोजगारी समस्याले झनै विक्षिप्त बनाइदिएको छ । 'सबै साथी काम पाइएन मात्र भन्छन्, मेरो समेत आशा हरायो'-चौधरीको चिन्ता छ-'अर्को वर्षको कलेज शुल्क त छँदैछ, व्याजमा खोजेको लाखौं रुपैंया ऋण कसरी चुक्ता गर्ने भन्ने पिरलोले पो दिक्दार लाग्न थाल्यो ।' नेपाल मेडिकल कलेजमा दश वर्ष काम गरेर सेन्ट्रल लन्डनस्थित साइटेक कलेजमा हेल्थ केयर म्यानेजमेन्ट पढ्न २२ जुलाई, ००९ मा युके आइपुगेकी गीता ढकाल बाँच्नका लागि अझै कामको खोजीमा छन् । भौंतारिंदा भौंतारिदा सेन्ट्रल लन्डनमा साताभरका लागि १२ घण्टामात्र काम पाएकी उनले भनिन्-'अहिलेको कमाई ट्राभलमै सकिन्छ, अब कमाउन भन्दा पनि युके आउँदा खर्च भएको ८ लाख कसरी उठाउने भन्ने नै चिन्ता भयो ।' बेलायत सरकारले अपि्रल १, २००९ देखि उसकै शव्दमा 'कडा नियम' लागू गरेपछि बेलायत पढ्न आउने विद्यार्थी संख्या झन् बढिरहेको छ । तर, विद्यार्थी एकैपटक ओइरिंदा न काम छ, न आवास व्यवस्था । 'एकोमोडेशन' का लागि अगि्रम शुल्क बुझाइसकेका विद्यार्थी पनि कलेज व्यवस्थापनको चतुर्‍याइंका कारण कि त एउटै बेडमा तीन जना सुत्न वाध्य छन्, कि भुईंमा । नेपालीको बढि जनघनत्व भएको लन्डनस्थित प्लमस्टिडमा त कलेज व्यवस्थापनले केटाकेटीलाई एउटै कोठामा लस्करै सुताइदिएको समेत विद्यार्थीको गुनासो छ । नयाँ विद्यार्थी नौलो ठाउँमा ठगिएका उदाहरण पनि उत्तिकै छन् । बढिमा सात पाउण्डको 'डे ट्राभल कार्ड' बाट गन्तव्यसम्म पुग्न सकिने हुँदाहुँदै ट्याक्सी वा क्यावले ५० देखि एक सय पाउण्ड सम्म लिएका पाइएको छ । अरु त अरु, अहिले एकथरि नेपाली नै आफ्नै देशका नयाँ विद्यार्थीलाई एयरपोर्टबाट 'पिकअप' गर्ने नाममा सयौं पाउण्डसम्म लिएर कमाउने धन्दामा लागेको चर्चा पनि छ ।

काठमाडौंमा विरोध प्रदर्शन गर्ने चिनियाँ शरणार्थीलाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १५ चीनले कम्युनिस्ट सत्ता स्थापनाको ६० औं वर्षगाँठ मनाइरहेका बेला त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन गर्ने चिनियाँ शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ। चिनियाँ भिसा काउन्सलर कार्यालय हात्तिसार अगाडि चीन विरुद्ध प्रदर्शनमा उत्रेका ६० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।चीनले तिब्बतलाई गाभेपछि भागेका तिब्बती शरणार्थीहरुले चीन र तिब्बतका विशेष दिन पारेर प्रदर्शन गर्दै आएका छन्। नेपालले भने छिमेकी मुलुकप्रति नेपालमा प्रदर्शन हुन नदिने भन्दै त्यस्ता प्रदर्शनमा रोक लगाउँदै आएको छ।