News

Oct 1, 2009

बेलायत आइपुगेका नेपाली विद्यार्थी काम नपाएपछि विचल्ली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उच्च शिक्षाको नाममा 'पाउण्ड टिप्न' लाखौं खर्चेर बेलायत आइपुगेका नेपाली विद्यार्थी काम नपाएपछि विचल्ली भएका छन् । आफैं आर्थिक मन्दी खेपिरहेको बेलायतमा पर्याप्त रोजगारी नहुँदा सिमित 'ट्राभल चेक' बोकेर बेलायत उत्रेका असंख्य विद्यार्थी भोकै बस्नुपर्ने वाध्यता छ । आर्थिक अभावले केही नेपाली विद्यार्थी लन्डनस्थित साउथहल पार्कमै सुतेको खवर प्रकाशमा आएका छन् । खर्च सकिएपछि काम खोज्न करिव दश माइल पैदल हिंडेको समेत विद्यार्थीको दुःखेसो छ । जुलाई २४ मा युके आइपुगेका चन्द्रमणी चाम्लिङ अझै कामविहीन छन् । कामको खोजीमा उनले शहर डुल्दै धेरै सिभी छाडिसके । 'फोन आउने आशमा सिभी छोड्यो, तर कुनै जवाफ नआउँदा त दिक्कार लाग्छ'-उनको दुखेसो छ । धरान निवासी उनले कलेज अफ आइटी एण्ड इकमर्श, लन्डन बि्रजमा एड्भान्स् ग्रयाजुएड्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट पढ्न अंग्रेजी कोर्स सहित ३५ सय पाउण्ड बुझाइसकेका छन् । बुधवार, बिहिवार दुई दिन कलेज गएपछि बाँकी समय बिताउन सार्वजनिक पुस्तकालयमात्र उनको विकल्प छ । 'राम्रो शिक्षा र बाँच्नसम्म पाए मलाई अब कमाउने आस हरायो'-उनले भने-'खाने ठेगान छैन्, सिंगल बेडमा दुई जनासम्म सुत्नु परेको छ, के विजोग भयो यस्तो ।' बेलायतमा काम पाउन मुश्किल छ भन्ने थाहा हुँदाहुँदै पनि विदेश जाने चक्करले युके आएको बताउन लजाएनन् उनी । भने-'आइयो, चिन्ताले अन्यत्र सोच्नै भ्याएको छैन्, काम भएन भने त टिक्न पो गार्‍हो छ ।' ह्यारोस्थित हेलिफ्याक्स् कलेजमा होटल म्यानेजमेन्ट पढ्न कलेज शुल्कमात्र ४६ सय पाउण्ड (करिब ६ लाख नेपाली) तिरेर १४ सेप्टेम्बरमा बेलायत आएका कृष्ण चौधरीको मन कामविहीन अन्य साथीहरुको रोदन र बेरोजगारी समस्याले झनै विक्षिप्त बनाइदिएको छ । 'सबै साथी काम पाइएन मात्र भन्छन्, मेरो समेत आशा हरायो'-चौधरीको चिन्ता छ-'अर्को वर्षको कलेज शुल्क त छँदैछ, व्याजमा खोजेको लाखौं रुपैंया ऋण कसरी चुक्ता गर्ने भन्ने पिरलोले पो दिक्दार लाग्न थाल्यो ।' नेपाल मेडिकल कलेजमा दश वर्ष काम गरेर सेन्ट्रल लन्डनस्थित साइटेक कलेजमा हेल्थ केयर म्यानेजमेन्ट पढ्न २२ जुलाई, ००९ मा युके आइपुगेकी गीता ढकाल बाँच्नका लागि अझै कामको खोजीमा छन् । भौंतारिंदा भौंतारिदा सेन्ट्रल लन्डनमा साताभरका लागि १२ घण्टामात्र काम पाएकी उनले भनिन्-'अहिलेको कमाई ट्राभलमै सकिन्छ, अब कमाउन भन्दा पनि युके आउँदा खर्च भएको ८ लाख कसरी उठाउने भन्ने नै चिन्ता भयो ।' बेलायत सरकारले अपि्रल १, २००९ देखि उसकै शव्दमा 'कडा नियम' लागू गरेपछि बेलायत पढ्न आउने विद्यार्थी संख्या झन् बढिरहेको छ । तर, विद्यार्थी एकैपटक ओइरिंदा न काम छ, न आवास व्यवस्था । 'एकोमोडेशन' का लागि अगि्रम शुल्क बुझाइसकेका विद्यार्थी पनि कलेज व्यवस्थापनको चतुर्‍याइंका कारण कि त एउटै बेडमा तीन जना सुत्न वाध्य छन्, कि भुईंमा । नेपालीको बढि जनघनत्व भएको लन्डनस्थित प्लमस्टिडमा त कलेज व्यवस्थापनले केटाकेटीलाई एउटै कोठामा लस्करै सुताइदिएको समेत विद्यार्थीको गुनासो छ । नयाँ विद्यार्थी नौलो ठाउँमा ठगिएका उदाहरण पनि उत्तिकै छन् । बढिमा सात पाउण्डको 'डे ट्राभल कार्ड' बाट गन्तव्यसम्म पुग्न सकिने हुँदाहुँदै ट्याक्सी वा क्यावले ५० देखि एक सय पाउण्ड सम्म लिएका पाइएको छ । अरु त अरु, अहिले एकथरि नेपाली नै आफ्नै देशका नयाँ विद्यार्थीलाई एयरपोर्टबाट 'पिकअप' गर्ने नाममा सयौं पाउण्डसम्म लिएर कमाउने धन्दामा लागेको चर्चा पनि छ ।

No comments: