News

Feb 29, 2008

लिम्बुवान कार्यकर्ताद्वारा यात्रुबसमा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,पथरी
संघीय लिम्बूवान राज्य परिषदले बन्दको अवज्ञा गरेको भन्दै विहीबार पथरीको जयचौकमा चारवटा यात्रुबाहक बसमाथि तोडफोड गरेको छ। संयुक्त मधेशी मोर्चाले बन्द खुलेको घोषणा गरेपछि पूर्वबाट काठमाडौ जाँदै गरेको ३ वटा गाडीमा परिषदका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्। तोडफोडबाट गाडीका चालकहरु सामान्य घाइते भएपनि यात्रुहरु भने सकुशल रहेको पथरी प्रहरी चौकीले जनाएको छ।

गणतान्त्रिक मोर्चासितको वार्ता निश्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
सरकारी वार्ता समिति र सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबीच भएको वार्ता हिजो बिना निष्कर्ष टुङ्गिएको छ। वार्ता आज पनि हुँदैछ।मोर्चाले राखेका पाँच बूँदे मागमध्ये राजतन्त्रको समूल अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गर्ने, संविधानसभा निर्वाचन जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक प्रणालीअनुसार हुनुपर्ने र मोर्चासँग भएका सबै सहमतिका बुँदाको संवैधानिक सुनिश्चितता हुनुपर्ने मागमा दुवै पक्षबीच सहमति हुन नसक्दा वार्ता बिना निष्कर्ष टुङ्गिएको हो।
सरकारी वार्ता समितिका संयोजक एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेलले मोर्चाका तर्फबाट तत्काल पूरा गर्न नसकिने केही अप्ठ्यारा माग अगाडि सारिएकाले वार्ता निष्कर्षमा पुग्न नसकेको बताउनुभयो। संविधान संशोधन, निर्वाचनप्रणाली परिवर्तन गर्ने कुरा अहिले गर्न नसक्ने अवस्था रहेकाले हामीहरूले मोर्चाका साथीहरूलाई आफ्ना मागका सम्बन्धमा पुनर्विचार गरेर आउन भनेका छौं, उहाँले भन्नुभयो-वार्ता भोलि पनि जारी रहने छ। मोर्चाको एक घटक दलित जनजाति पार्टी अध्यक्ष विश्वेन्द्र पासवानले आफूहरूको माग संवैधानिकरूपमा पुरा नहुँदासम्म सरकारसँग सहमति नगर्ने बताउनुभयो। वार्तामा सहभागी मोर्चाका केही नेताहरूले आफूहरूको माग प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने अडान राखेका थिए। आज भएको वार्तामा सरकारी वार्ता समितिका संयोजक पौडेल तथा सदस्यहरू झलनाथ खनाल, देव गुरुङ, घनश्याम शर्मा पौडेल, सुनिल प्रजापति र कुमार बेल्वासे र मोर्चाका तर्फाट कमल छाराहङ, कुमार लिङ्देन, डि.के.बुद्धिस्ट, किशोरकुमार विश्वास, लक्ष्मण थारु, हृदयनारायण चौधरी र विश्वेन्द्र पासवान सहभागी हुनुहुन्थ्यो।

इटहरीमा श्रीजङ्गा लिपिको साइनबोर्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ प्रतिनिधि
किरात याक्थुङ चुम्लुङ्ग, इटहरी शाखाको अगुवाइमा त्यहाँका लिम्बुहरुले हिजो इटहरी नगरपालिकामा श्रीजङ्गा लिपिका साइनबोर्ड राखेका छन्।नागरिक समाज, बुद्धिजीवी, समाजसेवी र स्थानियबासीसहितको उपस्थितिमा चुम्लुङ्गले लिम्बु भाषामा लेखिएको साइनबोर्ड राखेको हो। सङ्घीयताको कुरा उठिरहेकाले सोको थालनीस्वरुप नगरपालिकामा लिम्बु भाषाको साइनबोर्ड राखिएको चुम्लुङ्गकी नगरअध्यक्ष उषा लिम्बुले बताउनुभयो। सरकारी कार्यालयमा श्रीजङ्गा लिपिका बोर्ड राख्ने अभियान नै चलाउने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो। यसअघि धरानका केही सरकारी कार्यालयमा श्रीजङ्गा (लिम्बु) भाषाका साइनबोर्ड राखिसकिएको छ।

लिम्बूवान राज्य प्राप्तिको लागि वेलायतमा रहेका लिम्बूवानवासीहरुको प्रतिबद्धता

लिम्वूवान डट व्लगस्पोट डटकम,राजु सुब्बा, लण्डन
नेपाल सरकारले देशलाई संघिय संरचनामा लैजाने निर्णय गरि सकेको अवस्थामा पूर्वी नेपालका लिम्बूवानवासीहरुले माग गरेको लिम्बूवान राज्यको माग जायज र न्यायोचित ठहर गर्दै वेलायतमा रहेका लिम्बूवानवासीहरुले पनि लिम्बूवान राज्य प्राप्तिको लागि चर्किएको आन्दोलनमा प्रतिबद्धता जाहेर गरेको छ। चर्किएको आन्दोलनलाई निर्णायक र फलदायी बनाउन सम्भावित सबै प्रकारका सहयोगका लागि पल्लो किरात लिम्बूवान क्षेत्रका वेलायतवासीहरु जुटेका छन्। गत २७ फेब्रुवरीका दिन लण्डनमा सम्पन्न भेलाले जे. याक्थुङ्बाको संयोजकत्वमा वेलायतमा लिम्बूवान स्वायत्त सघर्ष मञ्चको निर्माण भएको छ। भर्खरै निर्माण भएको १५ सदस्य मञ्चले अन्तरक्रिया लगायत आर्थिक सहयोग संकलनको कार्य पनि धमाधम अघि बढाएको छ। यो असारे रोपाइमा सबैको सहभागिता रहेको खण्डमा भोलि मंसिरमा पाक्ने बालि सामुहिक तवरले उठाउन मिल्दछ अन्यथा रोपाई गर्न नचाहने तर भोलि पाकेको बालि उठाउन तम्सिनु नमिल्ने भन्दै भोलिको स्वायत्त राज्य सबैको जित हुने कुरा उल्लेख गरेका छन्।
सयौ बर्षमा आउने यो फलाम तातिएको जस्तो एउटा विशिष्ट परिस्थितीलाई सबैले बुझ्नु पर्ने लगायत विदेशमै बसेको भए पनि देशको लागि, आफ्नो गाँउठाँउ र समाजको लागि केही न केही योगदान पुर्याउन सबैमा आग्रह गरेको छ। वेलायतमा बसोवास गर्नेहरुको नेपालमा आफ्नै पहिचान रहेकोले पनि झनै यो नयाँ संरचनाको संवेदनाशिल अवस्थामा सहभागिता हन अनिवार्य भएको हो उल्लेख छ।
स्वायत्त राज्यको सवालमा छलफल तथा विचारहरु आदान प्रदान गर्नको लागि limbuwanuk@gmail.com इमेल एकाउण्ट सबैको लागि खुल्ला गरिएको छ। प्रश्न सोध्नको लागि, सहयोग गर्न इच्छुक ब्यक्तिको लागि पनि सोहि इमेल प्रयोग गर्न आग्रह गरिएको छ। लिम्बूवान स्वायत्त सघर्ष मञ्च वेलायतले तत्कालको लागि नेपालको संघिय लिम्बूवान राज्य परिषद (कुमार लिङदेन समूह) संग निकट रही काम गर्ने उल्लेख छ। वर्तमान नेपालको स्थितीलाई औल्याउदै संयोजक याक्थुङबाले भने अहिलेको नेपालको अवस्था असक्षम डाक्टरले अप्रेशन गरेर बिगारेको घाउ जस्तै भएको छ र यसको समाधान शासक पक्षले संघिय पद्धतिको बारेमा अध्ययन गर्नु पर्दछ र आदिवासी तथा मधेसीहरुको पीडाको महसुस गर्नु पर्दछ। यो अत्यन्तै महत्वपूर्ण समयमा घरदेश र परदेशमा रहनु भएका सबै सबैलाई राजनैतिक चेतना र चासो राख्न पनि उनले आग्रह गरे।

Feb 28, 2008

लिम्वुवान राष्ट्रिय मोर्चाको जनजागरण कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२४ फेव्रुवरी २००८ को वेलुका याउ मा तेइ कम्युनिटी सेन्टरको एक सभाकक्षमा लिम्वुवान राष्ट्रिय मोर्चाको आयोजनामा लिम्वुवान भेला र लिम्वुवान सम्वन्धी जनजागरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता मोर्चाको अध्यक्ष दिल पालुङवा लिम्वुले गर्नुभएको थियो भने सञ्चालन र स्वागत मन्तव्य क्रमश महासचिव अविचन्द्र इङनाम र सदस्य डि.वी. पालुङवाले गर्नुभएको थियो ।विशेष गरेर लिम्वुवान सम्वन्धी हङकङवासी लिम्वु तथा लिम्वुवान वासीहरुलाई सचेत गराउने र नेपाल लिम्वुवानमा पनि सोही वमोजिम कार्य गर्न उत्साहित गर्नको लागि उक्त कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा अध्यक्ष दिल पालुङवा लिम्वुवाट मूख्य गरेर जनजागरण गर्नु पर्ने विषयहरुको १० वुंदे प्रस्तावहरु वुंदागत रुपमा प्रस्तुत गर्नुभएको थियो । उक्त वुंदाहरु उपर लिम्वुवान विकास परिषदको अध्यक्ष प्रकाश यक्सो, वुद्धिजिवीहरु वीर वहादुर येङदेन, जीवन मेन्याङवो, कृष्ण लावती, गौमती गुरुङ र उपन्यासकार देश सुव्वाहरुले टिप्पणी गर्नु भएको थियो । प्रस्तुत प्रस्तावहरुमा मूख्य गरेर लिम्वुवानको सिमानाको सवालमा व्यापक कुरा उठेको थियो । माओवादीले प्रस्ताव गरेको कोचिला प्रदेश झापा, मोरङ र सुनसरी र किरात प्रदेशमा संखुवासभा राखिएकोले उक्त क्षेत्रहरु कुनै हालतमा पनि लिम्वुवानमा रहनु पर्ने र यस कुराको सवैले विरोध गर्नु पर्ने प्रसंग उठेको थियो । किनकी इतिहास देखिनै उक्त भूमिहरु लिम्वुवान राज्य अन्तर्गत रहेका थिए । मधेशमा कुनै कोचिला राज्यको अस्तित्व पनि थिएन ।
तसर्थ ऐतिहासिक पृष्ठभूमिको आधारमा पूर्वमा मेची, पश्चिममा सिस्वा संखुवा अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत विचको ताप्लेजुङ, पानथर, इलाम, झापा, संखुवासभा, तेरथुम, धनकुटा, सुनसरी र मोरङ गरि नेपालको ९ जिल्लाहरु लिम्वुवान राज्य भित्र हुनुपर्ने छलफल भएको थियो । त्यस्तै गरेर लिम्वुवान स्वायत्त राज्य प्राप्तीको लागि विभिन्न पार्टीहरुमा आवद्ध लिम्वु तथा लिम्वुवानवासीहरुलाई पार्टीभन्दा माथि उठी सवै एक भएर लिम्वुवान स्वायत्त आन्दोलनमा लाग्न आग्रह गरिएको थियो । भेलाले उक्त कुराहरु पारित गरी हङकङवाट लिम्वुवानमा सुझाव तथा सन्देश पठाउने निर्णय गरेको थियो । भेलामा वोल्ने क्रममा अध्यक्ष पालुङवाले हामीलाई कुनै पनि हालतमा लिम्वुवान स्वायत्त चाहिन्छ साथै लिम्वुवान स्वायत्त आन्दोलनमा कसैले पनि लिम्वुवानको इतिहासलाई विगारेर धोका दिने हिसावले कार्य गर्नु हुदैन । यदि कसैले त्यस्तो कार्य गरेमा त्यस्ता कुतत्वलाई छोड्नु पनि हुदैन । हामीलाई हाम्रा पूर्खाहरुले जसरी वि.सं. १८३१ मा गोर्खासंग सम्झौता गर्दा दूरदर्शिता अपनाएर कार्य गरे । त्यस्तै हामीले पनि दूरदर्शिता अपनाई हाम्रा सन्ततिहरुलाई विरासत छोडिदिनु पर्ने वताउनु भएको थियो । त्यस्तै गरी महासचिव अविचन्द्र इङनामले पनि लिम्वुवान स्वायत्त राज्य हुनु पर्ने कुराको जिकिर गर्दै सवै जात जाति गोलवन्द भै कार्य गर्नु पर्ने वताउनु भएको थियो । साथै यदि लिम्वुवान स्वायत्त नभएमा आन्दोलनको स्वरुप फेरिएर शसस्त्र आन्दोलन गरेर भए पनि लिम्वुवान राज्य प्राप्त गरेरै छाड्ने वचनवद्धता गरेका थिए ।

लिम्बुवान राज्यपरिषद द्वारा जनमुक्ति सेनाको गाडीमा आगजनी

लिम्वूवान डट व्लगस्पोट डटकम, मोरङ
संघीय लिम्बुवान राज्यपरिषदका कार्याकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै बुधवार विहान जनमुक्ति सेनाको गाडीमा आगजनी गर्नुका साथै एक लुटेर लगेका छन। मोरङको विराटचौकवाट टाँडीस्थित रत्‍न-सकुन्तल स्मृति ब्रिगेड बेसक्याम्प हिँडेका जनमुक्ति सेनाको मोटरसाइकललाई शनिश्‍चरे जिरिखिम्ति पुलनजिक विहान ६ बजे कब्जामा लिई आगजनी गरेका थिए। जनमुक्ति सेनाका छापामार विक्रम कार्कीको अनटेस्ट लेखिएको हिरोहोन्डा मोटरसाइकलमा आगजनी गरेका थिए भने अर्को तिभाग्य खनालले चलाएको वा ५ ट ५७४७ नम्वरको मोटरसाइकल लुटेर लगेको पीडित बिक्रम बताउँछन्। जनमुक्ति सेता तिभाग्यका अनुसार १५ जनाको समूहले आफूहरुलाई कब्जामा लिई मोटरसाइकलमा आगो लगाएको बताए। आफुहरु पनि १० बर्षसम्म जनयुद्ध लडेर आएकोले नडराएको तर उनीहरुसँग साथमा एकथान भरुवा बन्दुक र धारिलो हतियार भएकोले आफुहरुले प्रतिकार गर्न नसकेको तिभाग्य बताउँछन्। संघीय मञ्चका पथरी इञ्चार्जसँग बुझदा आफुले मोटरसाइकलमा आगजनी गरेको स्विकारे पनि हतियार नभएको बताउँछन्। पथरी प्रहरी चौकीका अनुसार घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको बताउँछन्।

Feb 27, 2008

लिम्बुवान कार्यकर्ताले झापामा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
बन्दको अवज्ञा गरेको भन्दै सङ्घीय लिम्बुवान राज्यपरिषद्का कार्यकर्ताले पूर्व-पश्चिम महेन्द्र राजमार्गको झापा खण्डको बुट्टाबारीमा एक मोटरसाइकल तोडफोड गरेका छन् ।बिर्तामोडबाट काकरभिट्टातर्फगइरहेको ना१प १०५० नम्बरको मोटरसाइकल लिएर एक व्यक्ति सो स्थानको देवनिया पुल नजिक पुगेपछि सो परिषद्का कार्यकर्ताले रोकी गाडीमा तोडफोड गरेर आगो लगाउन खोज्दा तत्काल प्रहरी पुगेपछि उनीहरु जङ्गलतर्फ भागेको इलाका प्रहरी कार्यालय, बिर्तामोडले जनाएको छ ।