News

May 20, 2013

इरानमा महिला राष्ट्रपति बन्न बन्देज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इरानको एक संवैधानिक संस्थाले आसन्न जुन १४ मा हुने राष्ट्रपति निर्वाचनमा महिलाको प्रतिनिधित्वमाथि प्रतिबन्ध लगाएको छ । संविधानमा महिलालाई राष्ट्रपति पदमा उठ्नबाट बन्देज लगाएको गार्डियन काउन्सिल उलेमा मोहम्मद यजदीले बताए । अर्को महिना हुने यस निर्वाचनका लागि ३० महिलाले प्रत्यासीको रूपमा मनोनयन दर्ता गराएका थिए । नयाँ घोषणापछि उनीहरूको निर्वाचनमा खडा हुने सम्भावना लगभग समाप्त भएको छ । संविधानले स्पष्ट रूपमा यसबारे केही नबोलेको पर्यवेक्षकहरूले बताएका छन् । यो घोषणाले भने यस विषयको बहसमाथि नै पूर्णविराम लगाएको छ । "कानुनअनुरूप महिला न त राष्ट्रपति बन्न सक्छन्, न त उक्त पदका लागि चुनाव लड्न सक्छन् ।" यज्दीले भने । महिलाले संसदीय निर्वाचनमा भने सहभागी हुन पाउँछन् । यस दृष्टिकोणले उक्त मुलुकको ऐन निर्माणमा महिलाको भूमिका हुन्छ । त्यहाँको संविधानअनुरूप वर्तमान राष्ट्रपति महमुद अहमदिनेजादले तेस्रो पटक राष्ट्रपति पदमा उठ्न पाउने छैनन् । यो पदका लागि ६ सय ८६ जनाले नामांकन दर्ता गराएका छन् । उम्मेदवारको अन्तिम सूची मंगलबार जारी हुनेछ । यसमा छनोट गरिएका व्यक्तिहरूको मात्र नाम हुनेछ । सन् २००९ मा ४ सय ७५ मनोनयनमध्ये गार्डियन काउन्सिल चारजनालाई मात्र उक्त पदका लागि योग्य उम्मेदवार ठहर गरेको थियो । विपक्षी दलले उक्त निर्वाचनको विरोध गर्दै सडक प्रदर्शन पनि गरेको थियो । सुधारवादी प्रतिद्वन्द्वी मिर होसैन मुसाबी र मेहदी करौबीलाई नजरबन्द गरिएको थियो ।

No comments: