News

May 20, 2012

चीनका शी बने ७५ वर्षको उमेरमा छोरीको बाबु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनको दक्षिण पश्चिमी चोङ्गक्वीङ्ग प्रान्तको युबेई जिल्लाका शी ७५ वर्षको उमेरमा बाबु बनेका छन् । उनकी श्रीमतीले गएको आईतबार छोरी जन्माएकी हुन् । श्रीमतीको उमेर भने खुलाईएको छैन । शी को पहिलो सन्तानकी रुपमा रहेकी छोरी भने अहिले ५७ वर्षकी भईसकेकी छन् । यसरी वृद्धावस्थामा सन्तान जन्मिएकोमा शीलाई खुसी भन्दा पनि दुःखले बढी सताउने गरेको छ । चीनको एक सन्तान नीतिको उल्लंघन गरेकाले उनले सजायको भागीदार बन्नुपर्ने हो कि भनेर उनी चिन्तामा परेका छन् ।

May 19, 2012

लिम्बुवान संघर्ष समितिको जनप्रदर्शन आमसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू 
बैशाख ३१, २०६९,संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिले बैशाख ३० गते लिम्बुवान झापा दमकको गणतन्त्र चोकमा संघीयता र जातीय पहिचान तथा आत्मनिर्णयको अधिकारसहितको अरुण-सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितताका लागि लिम्बुवानका सबै राजनीतिक दल तथा जातीय संस्था किरात याक्थुङ चुम्लुङको सामूहिक आयोजना र पहलमा विशाल जनप्रदर्शन आमसभा सम्पन्न गरेको छ । बैशाख ३१ गते शनिबार विहानको ११ बजेबाट लिम्बुवान आइडल २०६८ का उत्कृष्ट कलाकारहरूको साङ्गीतिक प्रस्तुतीसँगै सुरुभएको यस ऐतिहासिक विशाल जनप्रदर्शन सभालाई सबै दलका प्रमुख नेतृत्व तथा लिम्बुवानका सभासद र लिम्बुवान अन्तर्गत विभिन्न स्वायत्त क्षेत्रका नेतृत्व, लिम्बुवानवासी गैर-लिम्बू, बुद्धिजीवी अभियन्ता नेतृत्वहरूले सम्बोधन गरेका थिए । लिम्बुवान संघर्ष समितिका संयोजक तथा नेकपा एमालेका पोलिट्व्युरो सदस्य विजय सुब्बाले जनप्रदर्शन आमसभालाई सम्बोधन गर्दै आफ्नै (जातिको) विरुद्धमा आफै रहेको पार्टीका प्रमुख नेताहरूले संविधान बनाउन लागेपछि आफू चुप लागेर बस्न नसकी यो आन्दोलनमा लागेको बताउनु भयो । वहाँले कथित् कम्युनिष्ट पार्टीका एकात्मक बाहुवादी नेतृत्वहरूले कहिल्यै पनि एउटा दलित र आदिवासी जनजातिलाई आफू बाहुन-क्षेत्री सरहको दाँजोमा ल्याउन नचाहेको कुरा आफूलाई सहैय नभएकोले त्यसको पर्दाफास गर्दै यो आन्दोलनमा आउन बाध्य भएको बताउनु भयो । त्यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले सो जनप्रदर्शन सभालाई सम्बोधन गर्दै लिम्बुवानको विशेष परिस्थितिले गर्दा लिम्बुवानका सबै राजनीतिक शक्तिहरूलाई साथ दिएर जानुपर्ने अवस्था भएको र त्यसमा लिम्बुवान संघर्ष समितिमार्फत् अन्तिम अवस्थासम्म आफूहरू संघर्ष गरिरहने बताउनु भयो । वहाँले लिम्बुवानले सँधै जातीय सद्भावको कुरा गरेको बताउँदै आफूहरूले लिम्बुवानमा सहज वातावण बनाएकोले बाहुन क्षेत्रीहरूले ताप्लिजोङमा जातीय सद्भावका साथ बस्न सकिनेमा विश्वस्त भइरहेको बताउनु भयो । वहाँले सबै लिम्बुवानवासीलाई विश्वस्त हुन आग्रह गर्दै लिम्बुवान सबै लिम्बुवानसीको साझा हुने बताउनु भयो । साथै, अध्यक्ष मिराक्ले अरुण-सप्ताकोशिपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितता नभए आफूहरू हजार वर्षसम्म पनि लडिरहने प्रतिवद्धतालाई दोहोर्‍याउनु भएको थियो । यसैगरी, नेपाली कांग्रेसका युवा नेता तथा नेपाल लिम्बू संघका अध्यक्ष र संघर्ष समितिका सचिव प्रवीण नेम्बाङले सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसले जे भने पनि र जुनसुकै निर्णय गरेपनि नेपालीका कांग्रेसका लिम्बुवानवासी लिम्बू नेतृत्वहरू सँधै लिम्बुवानको पक्षमा रहेको प्रतिवद्धता जनाउनु भयो । लिम्बुवान जनप्रदर्शन आमसभालाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक तथा आदिवासी जनजाति आन्दोलनका बौद्धिक अभियन्ता बालकृष्ण माबुहाङले लिम्बुवानको संघर्ष समिति गठनको औचित्यबारे प्रकाश पार्दै यो कदम लिम्बुवान चाहने लिम्बुवानवासीको लागि खुशीको कुरा भएको बताउनु भयो । वहाँले संविधान सभाले १४ प्रदेशको प्रस्ताव पास गरिसकेपछि नेपालको संघीयताले विशेष प्रारुप लिइसकेको बताउनु भयो । प्राध्यापक माबुहाङले खासगरी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, एकीकृत नेकपा माओवादी, नेकपा माओवादी र नेपाली कांग्रेस लगायतका राजनीतिक सङ्गठनहरू मिलेर यो संघर्ष समिति बनेकोले पनि यो नयाँ आसाको सञ्चार भएको बताउनु भयो । वहाँले नेपालका प्रमुख एकात्मकवादी दलहरू आफू र आफ्नो जातिको मात्र निहित स्वार्थमा फसेकाले अहिलेको दुःखद् परिस्थिति सिर्जित भएको बताउनु भयो । वहाँले अब संघीयता, लोकतन्त्रको नाममा कुनै कसैले पनि लिम्बुवानवासी जनताहरूलाई अल्मलाउन नसक्ने पनि ठोकुवा गर्नुभयो । यसैगरी, लिम्बुवान आन्दोलनका अर्का बौद्धिक अभियन्ता भवानी बरालले सभालाई सम्बोधन गर्दै कथित् लोकतन्त्र र साम्यवादीहरूले सही तरिकाले शासनसत्ता सञ्चालन नगरी निहित एकात्मकवादी जातीय स्वार्थमा लिप्त भएकाले नेपालको यो दुर्दशा भएको बताउनु भयो । वहाँले लिम्बुवान भनेको लिम्बुवानका लिम्बूलगायत आदिवासी जनजातिको मुक्तिको सवाल पहिलो र सम्पूर्ण लिम्बुवानवासीको मुक्तिको सवाल दोस्रो प्रश्नको रुपमा रहेको बताउनु भयो । वहाँले मुलुकलाई बहुजातीय र बहुभाषिक भन्ने तर जातीय पहिचानसम्म पन नस्वीकार्ने नेताहरू वास्तवमा साम्प्रदायिक भएको बताउनु भयो । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य टंक आङ्बुहाङले सभालाई सम्बोधन गर्दै हामीले आदिवासी जनजातिको हक अधिकारको कुरा गरिरहँदा नेपालका उच्च जातीहरूद्वारा उत्पीडनमा पारिएका जनताहरूको मुक्तिको सवाललाई पनि बिर्सनु नहुने बताउनु भयो । वहाँले सबै उत्पीडित समुदायहरू एकढिक्का भएर सबैको हकअधिकारको लागि एकात्मकवादीहरूको विरुद्धमा जस्तोसुकै कठोर संघर्ष गर्न पनि तयार हुनुपर्ने बताउनु भयो । नेकपा एकीकृतका केन्द्रीय सदस्य भुपेन्द्र नेम्बाङले सभालाई सम्बोधन गर्दै आफ्नो पार्टी नेकपा एकीकृतको तर्फबाट संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिको उद्देश्य पूरा गर्ने कार्यक्रममा लागि पर्ने प्रतिवद्धता जनाउनु भयो । लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्बाङले लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिबारे प्रष्ट्याउँदै लिम्बुवानको आन्दोलनमा आफू र आफ्नो सङ्गठनले गरेको ऐतिहासिक कार्यहरूबारे जानकारी गराउनु भयो । किरात याक्थुङ चुम्लुङका अधयक्ष उत्तमसिङ थाङ्देनले सभलाई सम्बोधन गर्दै लिम्बू जातिको साझा संस्था चुम्लुङको तर्फबाट चुम्लुङको छैटौं महाधिवेशन सोही दमकमा भएको बेलामै आईएओ महासिन्ध नं. १६९ र यूएनड्रीपको आधारमा अब चुम्लुङको भूमिका लिम्बुवान स्वायत्तताको आन्दोलनमा होमिनु पर्छभनेर निर्णय गरेर अघि बढेको सम्झाउँदै अब हजारौं वर्षलागेपनि सो लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितता नभएसम्म चुम्लुङको सहजीकरणको भूमिका रहिरहने प्रतिवद्धता जनाउनुभयो । संघीयता कार्यान्वय लिम्बुवान संघर्ष समितिका सह-संयोजक एनेकपा माओदवादीका नेता धिरेन्द्र लावतीको अध्यक्षतामा सम्पन्न यो कार्यक्रमको सञ्चालन संघर्ष समितिका सचिव तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले गरेका थिए ।

प्रधानमन्त्रीको सम्वोधनपछि संसदको अबरोध हट्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 मधेसी सभासदहरुले उठाएका मगका सम्बन्धमा प्रधानमन्त्री बाबुराम भट्टराईले सम्वोधन गरेपछि व्यवस्थापिका संसदको बैठक सुचार भएको छ । सम्वोधनमा भट्टराईले ११ प्रदेश बनाउने प्रारम्भीक सहमति मात्रै भएको बताएका थिए । संसदको अबरोध हटेपछि छोटो प्रक्रियाबाट संविधान जारीगर्न अन्तिरिम संविधानको १२औं संसोधन प्रक्रिया अघि बढेको छ । जेठ १४ भित्रै संविधान जारीगर्न संविधानको धारा ७० संशोधन गर्नुपर्ने जनाउदै प्रधानमन्त्रीले गम्भीर हुन मधेसी मोर्चालाई आग्रह गरेका थिए । प्रधानमन्त्रीको सम्वोधनपछि बृहत मोर्चाका संयोजक उपेन्द्र यादवले एकिकृत माओवादी अध्यक्ष प्रचण्डसं शुक्रबार भएको भेटमा मुलुकलाई ११ प्रदेशमा पुनःसंरचना गर्नेबारेको सहमति प्रारम्भीक भएको बताएकाले संसद चल्न दिएको बताए । बैठक शुक्रबार अपराह्न ३ बजेका लागि बोलाइएको भए पनि मधेसी दलहरुसंग छलफल गर्दै प्रधानमन्त्रीले सम्वोधन गर्नुपर्ने भएकाले कारण साँझ ८ बजे मात्रै सुरु भएको थियो ।बृहद् मधेसी मोर्चामा आवद्ध सभासद्हरूले प्रमुख तीन दलबीच भएको ११ प्रदेशसहितको राज्य पुनःसंरचना बारेको सहमति मधेसी, आदिवासी र दलितका हितमा नभएकोले सहमति भङ्ग नभएसम्म संसद स्थगित गर्नुपर्ने बताएका थिए । मोर्चामा आवद्ध सभासद्हरुको अवरोधका कारण व्यवस्थापिका–संसदको विहिबारको दोस्रो बैठक अवरूद्ध भएको थियो ।

कन्सुलरले त्यस्तो अभिव्यक्ति नदिएको सहभागीको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वीरगन्ज, जेठ ६,नेपाली कङ्ग्रेसका पर्सा जिल्ला सदस्य शैलेन्द्र यादवले भारतीय कन्सुलर एसडी मेहताले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डताविरुद्ध अभिव्यक्ति दिएको भन्ने प्रचार गलत भएको दाबी गरेका छन्। यादवसमेतको भनाईका आधारमा समाचार प्रकाशित भएको थियो। जसलाई उनैले हैन भनेका छन्। त्यसैगरी जनता दलका महासचिव विनय यादव र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका निलम्वित सभासद् विपी यादवले पनि कन्सुलरले उक्त कुरा नै नभनेको तथा यो सरासर झुट भएको दाबी गरे। उनीहरुले संयुक्त पत्रकार सम्मेलन गरी यसरी कन्सुलरको बचाव गरेका हुन। यी तीनै जना उक्त दिन आयोजित भोजका सहभागी हुन। विनयले उक्त भोज आफूले आयोजना गरेको दाबीसमेत गरेका थिए। वीरगन्जस्थित भारतीय महावाणिज्य दूताबासका राजनीतिक मामिला हेर्ने कन्सुलर मेहताले जेठ १४ अघि नै मधेश आन्दोलनको आँधी बेहरी ल्याउनुपर्छ भनेका समाचार सार्वजनिक भएको थियो। उनको यो अभिव्यक्ति कूटनीतिक आचरणविरुद्ध रहेको र त्यसबाट नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप भएको भन्दै विभिन्न दल तथा संस्थाले व्यापक आपत्ति जनाउँदै आएका छन्।

मधेशी र जनजातिले संयुक्त आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जेष्ठ ६ - वृहत मधेशी मोर्चा र आदिवासी जनजाति संयुक्त संघर्ष समिति आफ्ना साझा मागका लागि संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । दुवैले शनिबार पत्रकार सम्मेलन मार्फत साझा माग र आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । दुई पक्षबीच मोर्चाले जेठ ५ गतेबाट आह्वान गरेको अनिश्चितकालीन मधेश बन्द, समितिले आह्वान गरेको जेठ ७, ८ र ९ को आमहड्ताल सहितको नेपाल बन्द संयुक्त रुपमा सफल पार्ने सहमति भएको छ । त्यस्तै समितिको जेठ १० देखि १४ सम्म संविधानसभा भवन अगाडि धर्ना कार्यक्रममा पनि मोर्चाको सहभागिता रहने छ । दुवै संगठनले पहिचान सहितको संघीयता, राज्यको सबै अंगमा जाति समुदायको जनसंख्या अनुसारको समावेशी प्रतिनिधित्व, आत्मनिर्णयको अधिकार सहित प्रादेशिक स्वायत्तता र स्वायत्त क्षेत्रको सुनिश्चितताको माग गरेको छ । संयुक्त वक्तव्यमा मोर्चाका उपेन्द्र यादव तथा समितिका पर्शुराम तामाङ लगायतले हस्ताक्षर गरेका छन् ।

सगरमाथामाको शिरमा ७३ वर्षीया जापानी महिला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जापानकी ७३ वर्षीया महिलाले सगरमाथाको शिरमा पाइला राखेर आफ्नै पुरानो कीर्तिमानलाई तोडेकी छन् । सन् २००२मा ६३ वर्षको उमेरमा सगरमाथाको टुप्पोमा पाइला टेकेकी जापानी महिला तामाए वातानाबेले आफ्नै रेकर्ड तोडेकी हुन । पहिलो पटक सगरमाथा चढेको १० वर्षपछि वातानाबेले चार साथीसहित सगरमाथाको तिब्बतखण्डबाट उचाइ नाप्दै आफ्नो रेकर्ड तोडेकी हुन । उनले सगरमाथाको उचाइ नापेको खबर पर्यटन व्यवसायी आङछिरिङ शेपाले दिएका छन् । ७३ वर्षमा सफल सगरमाथा आरोहण गर्ने वातानाबे र उनको टोली सगरमाथामा पाइला राखेर सफलताका साथ आधार शिविरतर्फ फर्किरहेको खबर प्राप्त भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकारमाथि कुटपीट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 प्रधानमन्त्री डा.बाबुराम भट्टराईका प्रेस सल्लाहाकार रामरिझन यादवमाथि आज राजधानीको थापागाउँमा आक्रमण भएको छ । बा ५ च २९०४ नम्बरको सान्ट्रो गाडीमा सवार परिचय नखुलेका एक व्यक्तिले प्रधानमन्त्री सल्लाहाकारमाथि कुटपीट गरेका हुन् । यादवले इन्जिनियर इन्द्रभुषण यादवलाई ठक्कर दिदा ‘गाडि चलाउन आउँदैन’ भने लगत्तै गाडी रोकेर अपरिचित व्यक्तिले सल्लाहाकार यादवमाथि आक्रमण गरेको हो । सल्लाहाकार यादवले आफूलाई कुटपीट गर्ने गाडी नम्बर र घटनाको विवरण प्रहरीलाई टिपाए पनि यो समाचार तयार गर्दासम्म यादवलाई आक्रमण गर्नेको पहिचान हुन सकेको छैन ।