लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू
बैशाख ३१, २०६९,संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिले बैशाख ३० गते लिम्बुवान झापा दमकको गणतन्त्र चोकमा संघीयता र जातीय पहिचान तथा आत्मनिर्णयको अधिकारसहितको अरुण-सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितताका लागि लिम्बुवानका सबै राजनीतिक दल तथा जातीय संस्था किरात याक्थुङ चुम्लुङको सामूहिक आयोजना र पहलमा विशाल जनप्रदर्शन आमसभा सम्पन्न गरेको छ । बैशाख ३१ गते शनिबार विहानको ११ बजेबाट लिम्बुवान आइडल २०६८ का उत्कृष्ट कलाकारहरूको साङ्गीतिक प्रस्तुतीसँगै सुरुभएको यस ऐतिहासिक विशाल जनप्रदर्शन सभालाई सबै दलका प्रमुख नेतृत्व तथा लिम्बुवानका सभासद र लिम्बुवान अन्तर्गत विभिन्न स्वायत्त क्षेत्रका नेतृत्व, लिम्बुवानवासी गैर-लिम्बू, बुद्धिजीवी अभियन्ता नेतृत्वहरूले सम्बोधन गरेका थिए ।
लिम्बुवान संघर्ष समितिका संयोजक तथा नेकपा एमालेका पोलिट्व्युरो सदस्य विजय सुब्बाले जनप्रदर्शन आमसभालाई सम्बोधन गर्दै आफ्नै (जातिको) विरुद्धमा आफै रहेको पार्टीका प्रमुख नेताहरूले संविधान बनाउन लागेपछि आफू चुप लागेर बस्न नसकी यो आन्दोलनमा लागेको बताउनु भयो । वहाँले कथित् कम्युनिष्ट पार्टीका एकात्मक बाहुवादी नेतृत्वहरूले कहिल्यै पनि एउटा दलित र आदिवासी जनजातिलाई आफू बाहुन-क्षेत्री सरहको दाँजोमा ल्याउन नचाहेको कुरा आफूलाई सहैय नभएकोले त्यसको पर्दाफास गर्दै यो आन्दोलनमा आउन बाध्य भएको बताउनु भयो ।
त्यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले सो जनप्रदर्शन सभालाई सम्बोधन गर्दै लिम्बुवानको विशेष परिस्थितिले गर्दा लिम्बुवानका सबै राजनीतिक शक्तिहरूलाई साथ दिएर जानुपर्ने अवस्था भएको र त्यसमा लिम्बुवान संघर्ष समितिमार्फत् अन्तिम अवस्थासम्म आफूहरू संघर्ष गरिरहने बताउनु भयो । वहाँले लिम्बुवानले सँधै जातीय सद्भावको कुरा गरेको बताउँदै आफूहरूले लिम्बुवानमा सहज वातावण बनाएकोले बाहुन क्षेत्रीहरूले ताप्लिजोङमा जातीय सद्भावका साथ बस्न सकिनेमा विश्वस्त भइरहेको बताउनु भयो । वहाँले सबै लिम्बुवानवासीलाई विश्वस्त हुन आग्रह गर्दै लिम्बुवान सबै लिम्बुवानसीको साझा हुने बताउनु भयो । साथै, अध्यक्ष मिराक्ले अरुण-सप्ताकोशिपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितता नभए आफूहरू हजार वर्षसम्म पनि लडिरहने प्रतिवद्धतालाई दोहोर्याउनु भएको थियो ।
यसैगरी, नेपाली कांग्रेसका युवा नेता तथा नेपाल लिम्बू संघका अध्यक्ष र संघर्ष समितिका सचिव प्रवीण नेम्बाङले सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसले जे भने पनि र जुनसुकै निर्णय गरेपनि नेपालीका कांग्रेसका लिम्बुवानवासी लिम्बू नेतृत्वहरू सँधै लिम्बुवानको पक्षमा रहेको प्रतिवद्धता जनाउनु भयो ।
लिम्बुवान जनप्रदर्शन आमसभालाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक तथा आदिवासी जनजाति आन्दोलनका बौद्धिक अभियन्ता बालकृष्ण माबुहाङले लिम्बुवानको संघर्ष समिति गठनको औचित्यबारे प्रकाश पार्दै यो कदम लिम्बुवान चाहने लिम्बुवानवासीको लागि खुशीको कुरा भएको बताउनु भयो । वहाँले संविधान सभाले १४ प्रदेशको प्रस्ताव पास गरिसकेपछि नेपालको संघीयताले विशेष प्रारुप लिइसकेको बताउनु भयो । प्राध्यापक माबुहाङले खासगरी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, एकीकृत नेकपा माओवादी, नेकपा माओवादी र नेपाली कांग्रेस लगायतका राजनीतिक सङ्गठनहरू मिलेर यो संघर्ष समिति बनेकोले पनि यो नयाँ आसाको सञ्चार भएको बताउनु भयो । वहाँले नेपालका प्रमुख एकात्मकवादी दलहरू आफू र आफ्नो जातिको मात्र निहित स्वार्थमा फसेकाले अहिलेको दुःखद् परिस्थिति सिर्जित भएको बताउनु भयो । वहाँले अब संघीयता, लोकतन्त्रको नाममा कुनै कसैले पनि लिम्बुवानवासी जनताहरूलाई अल्मलाउन नसक्ने पनि ठोकुवा गर्नुभयो ।
यसैगरी, लिम्बुवान आन्दोलनका अर्का बौद्धिक अभियन्ता भवानी बरालले सभालाई सम्बोधन गर्दै कथित् लोकतन्त्र र साम्यवादीहरूले सही तरिकाले शासनसत्ता सञ्चालन नगरी निहित एकात्मकवादी जातीय स्वार्थमा लिप्त भएकाले नेपालको यो दुर्दशा भएको बताउनु भयो । वहाँले लिम्बुवान भनेको लिम्बुवानका लिम्बूलगायत आदिवासी जनजातिको मुक्तिको सवाल पहिलो र सम्पूर्ण लिम्बुवानवासीको मुक्तिको सवाल दोस्रो प्रश्नको रुपमा रहेको बताउनु भयो । वहाँले मुलुकलाई बहुजातीय र बहुभाषिक भन्ने तर जातीय पहिचानसम्म पन नस्वीकार्ने नेताहरू वास्तवमा साम्प्रदायिक भएको बताउनु भयो ।
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य टंक आङ्बुहाङले सभालाई सम्बोधन गर्दै हामीले आदिवासी जनजातिको हक अधिकारको कुरा गरिरहँदा नेपालका उच्च जातीहरूद्वारा उत्पीडनमा पारिएका जनताहरूको मुक्तिको सवाललाई पनि बिर्सनु नहुने बताउनु भयो । वहाँले सबै उत्पीडित समुदायहरू एकढिक्का भएर सबैको हकअधिकारको लागि एकात्मकवादीहरूको विरुद्धमा जस्तोसुकै कठोर संघर्ष गर्न पनि तयार हुनुपर्ने बताउनु भयो ।
नेकपा एकीकृतका केन्द्रीय सदस्य भुपेन्द्र नेम्बाङले सभालाई सम्बोधन गर्दै आफ्नो पार्टी नेकपा एकीकृतको तर्फबाट संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिको उद्देश्य पूरा गर्ने कार्यक्रममा लागि पर्ने प्रतिवद्धता जनाउनु भयो ।
लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्बाङले लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिबारे प्रष्ट्याउँदै लिम्बुवानको आन्दोलनमा आफू र आफ्नो सङ्गठनले गरेको ऐतिहासिक कार्यहरूबारे जानकारी गराउनु भयो ।
किरात याक्थुङ चुम्लुङका अधयक्ष उत्तमसिङ थाङ्देनले सभलाई सम्बोधन गर्दै लिम्बू जातिको साझा संस्था चुम्लुङको तर्फबाट चुम्लुङको छैटौं महाधिवेशन सोही दमकमा भएको बेलामै आईएओ महासिन्ध नं. १६९ र यूएनड्रीपको आधारमा अब चुम्लुङको भूमिका लिम्बुवान स्वायत्तताको आन्दोलनमा होमिनु पर्छभनेर निर्णय गरेर अघि बढेको सम्झाउँदै अब हजारौं वर्षलागेपनि सो लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितता नभएसम्म चुम्लुङको सहजीकरणको भूमिका रहिरहने प्रतिवद्धता जनाउनुभयो ।
संघीयता कार्यान्वय लिम्बुवान संघर्ष समितिका सह-संयोजक एनेकपा माओदवादीका नेता धिरेन्द्र लावतीको अध्यक्षतामा सम्पन्न यो कार्यक्रमको सञ्चालन संघर्ष समितिका सचिव तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले गरेका थिए ।
No comments:
Post a Comment