News

Jul 23, 2009

सूर्यग्रहणको अलौकिक दृश्य बादल हट्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ८ - आकाशमा बादलले लुकामारी खेले पनि राजधानीवासी भने भाग्यशाली सावित भए । उनीहरूले राजधानीको आकाशमा केही सेकेन्ड/मिनेटका लागि बादल हट्दा सूर्यग्रहणको अलौकिक दृश्यको आनन्द लिए । प्रधानमन्त्री माधवकुमार नेपालसमेत ग्रहण हेर्ने क्रममा पछि परेनन् । प्रधानमन्त्रीले खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) बाट सूर्यग्रहण अवलोकन गरे ।
राजधानीबाट आंशिक ग्रहण देखिए पनि ग्रहणको पूर्णताको समय पशुपक्षीमा देखिएको परिवर्तन भने धेरैजसो व्यक्तिले अनुभव गरेका थिए । पूर्ण सूर्यग्रहणपछि बिहान ६ बजेदेखि साढे ६ बजेसम्म कुखुरा बास्न थालेको अनुभव धेरैजसोले गरेका छन् । परेवालगायतका अन्य पक्षी बेस्सरी बोल्न थालेर आपmनो बासस्थानतर्फ फर्किन थालेको समेत अनुभव धेरैले गरे । विशेषज्ञहरूका अनुसार पूर्ण सूर्यग्रहणको समय पशुपक्षी भ्रमित भएर यस्तो आचरण गर्ने गरेका हुन् । 'पशुपक्षीले सूर्यग्रहणको समय असजिलो अनुभव गर्छन्,' नास्टका उपकुलपति प्राडा होमनाथ भट्टराईले भने, 'ग्रहण हेरियो, बादल नभएको भए अझ धेरै राम्रो हुने थियो ।' ग्रहण हेर्ने चस्माले सूर्य हँसियाजस्तो देखिएको भट्टराईले बताए ।
बुधबार कुरेर बसेकालाई बादलले गर्दा ग्रहण हेर्न नसक्दा टेलिभिजनको प्रत्यक्ष प्रसारणले भने मलमको काम गरेको थियो । पूर्ण सूर्यग्रहणको प्रत्यक्ष प्रसारणमा पूर्ण ग्रहणको समय देखिने परिवर्तनबाट सबै परिचित भएका थिए । प्रत्यक्ष प्रसारणअनुसार पूर्ण सूर्यग्रहण लाग्नुभन्दा २० मिनेटअघि त्यस ठाउँमा प्रकाशको तीव्रतामा धेरै कमी देखिएको थियो । पूर्ण सूर्यग्रहणको करिब तीन मिनेटअघि आकाश धेरै कालो भयो । त्यस समय सूर्य क्रिसेटजस्तै देखियो । पूर्ण सूर्यग्रहणको अवस्थाभन्दा करिब एक मिनेटअघि सेतो सतहमा तरंगजस्तै हिँड्ने गरेको कालो तथा सेतो पट्टीसमेत देखिन थाल्छ । यसलाई छायापट्टी (सैडो बैडस) भनिन्छ । अघिल्लो केही सेकेन्डमा सूर्यको प्रकाशको तीव्रता तीव्र गतिले कम हुन्छ । यसले वातावरणको तापक्रममा समेत कमी आउँछ र ठिक यसै समय चन्द्रमाको सतहमा रहेको घाँटीबाट आइरहेको प्रकाश -बेलिज बिड्स) मोतीको मालाजस्तै देखिन्छ । यसपछि छिट्टै चन्द्रमा चन्द्रमाको घाँटीबाट आउने प्रकाशको अन्तिम तीव्र चमक 'हीराको अंगुठी' जस्तै देखिन्छ । जब यो हीराको अंगुठी गायब हुन्छ अनि हामीलाई देखिने सूर्यको दृश्य श्वेत प्रकाश मण्डलको ठिक माथि भएको क्रोमोस्पिmयर -सूर्यको तल्लो वायुमण्डल) प्रकाशित । यो संकेत हो कि पूर्ण सूर्यग्रहण सुरु भएको छ । यो समय सूर्यतिरबाट लाखौं किलोमिटर टाढासम्म गइरहेको आगोको रातो तर सुन्तला रंगको सौर ज्वाला देखिन्छ । सूर्य अब चन्द्रमाको पछि पूर्णरूपमा छोपिन्छ र मोतीजस्तै सेतो भव्य प्रभामण्डल -कोरोना) टल्किन थाल्छ । किरिट याने कोरोना सूर्यको बाहिरी वायुमण्डल हो जसमा तातो विरल ग्यास हुन्छ । यो लाखौं किलोमिटर टाढासम्म फैलिएको हुन्छ । साधारणतथा यसको चमक क्षीण हुन्छ जसको तुलना चन्द्रमाको चमकसँग गरिन्छ । यसैले प्रकाश मण्डलको तीव्र चमकले गर्दा साधारणतथा यो देखिँदैन । टेलिभिजनमा ग्रहणको प्रत्यक्ष प्रसारणले भने रुचि भएकाहरूले ग्रहणको प्रत्येक क्षणको आनन्द लिए । सर्वसाधारणका लागि सूर्यग्रहण हेर्न नास्ट, बाल्मीकि क्याम्पस, सुन्धाराको काठमाडौं मल आदिबाट व्यवस्था गरिएको थियो । मुलुकमा धुलाबारी, विर्तामोड, भद्रपुर, हल्दिबारी, उर्लाबारी, च्याङथापु, तेह्रथुम, हात्तिखर्क, हनुमाननगर, राजविराज, लहान, सिरहा, जलेश्वर, धनकुटा, धरान, इटहरी, रंगेली, दमक, अठमौजा, भगवानपुर, छिन्तापु, बुधबारेलगायतका पूर्वी दक्षिणी नेपालबाट पूर्ण सूर्यग्रहण देखिएको हो । यसबाहेकका ठाउँबाट भने आंशिक ग्रहण देखियो ।

No comments: