लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ असोज : माओवादी पोलिटब्युरो सदस्य तथा सभासद् गोपाल किरातीले पार्टी अध्यक्ष प्रचण्डको निर्देशनमा भारतीय राजदूतविरुद्ध प्रदर्शन गरिएको बताएका छन् । 'सामान्य विरोध प्रदर्शन गर्नु भन्ने अध्यक्ष प्रचण्डको निर्देशन थियो,' सोलुखुम्बुमा भारतीय राजदूत राकेश सुद आएको कार्यक्रममा विरोध प्रदर्शनबारे नेता किरातीले भने, 'तर, साथीहरूले ढुंगा र जुत्तासमेत प्रहार गरेछन् ।' सोलु पुगेर भारतीय राजदूत सुदले आफ्नो प्रभाव हिमाली क्षेत्रमा बढाउन खोजेको आरोपसमेत किरातीले लगाए । 'फेरि पनि सोलुको थामेमा भारतीय सेनाको चेकपोस्ट राख्ने प्रपञ्च रचिएको हो कि भन्ने हाम्रो आशंका हो,' राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा नेता किरातीले भने, 'फेरि पनि खम्पाविद्रोह दोहोर्याउन खोजिएको त होइन ? राजदूतमाथि ढुंगामुढा भएकोमा आफू गौरवान्वित भएको पनि उनले बताए । राजदूत सुद सोलुको फाप्लु पुगेका वेला उनी चढेको गाडीमा स्थानीय माओवादी कार्यकर्ताले ढुंगामुढा र जुत्ता प्रहार गरेका थिए । सोलुखुम्बुको ग्रामीण इलाकामा तिब्बती धार्मिक नेता दलाई लामाका एजेन्टहरू सक्रिय रहेको सूचना आफूहरूलाई आएको पनि नेता किरातीले दाबी गरेका छन् । किरातीले तिब्बती धार्मिक नेता दलाई लामा एजेन्ट लेप्जुङ लामा सोलुको थामेमा चीनविरोधी गतिविधिमा सक्रिए रहेको सूचना माओवादीलाई आएको दाबी गरे ।
No comments:
Post a Comment