News

Jun 13, 2011

पत्रकार ढकाललाई आक्रमण गर्ने अर्का अभियुक्त पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, जेष्ठ ३० - पत्रकार खिलानाथ ढकालमाथि आक्रमणमा संलग्नमध्येका युथफोर्सका सदस्य मनोज राईलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । उनलाई प्रहरीले महेन्द्र मोरङ क्याम्पसनजिकैबाट बिहान पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार राईलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ । यसअघि गत जेठ २२ गते घटना भएकै राति प्रहरीले आक्रमणमा संलग्न रोहित कोइरालालाई पक्राउ गरेको थियो । ठेक्कापट्टाको विषयमा भएको विवादपछि कृष्ण यादवको हत्या भएको घटनाका अभियुक्त अभिषेक गिरीलाई मुद्दाको पेसीका लागि मोरङ जिल्ला अदालत लैजाने क्रममा युथफोर्स कार्यकर्ताले अदालत हाताभित्रै आक्रमण गरेको सम्बन्धी समाचार लेखेको भन्दै पत्रकार ढकालमाथि सांघातिक आक्रमण भएको थियो । घटनाका मुख्य दोषी भनिएका युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेत भने अझै 'फेला नपरेको' प्रहरीले जनाउँदै आएको छ । पत्रकार आक्रमणमा संलग्न रहेको र निर्देशन दिएको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रहरीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको छ । दोषी सबैलाई पक्राउ गरी कानुनी कारबाही गर्न दबाब दिंदै घटनाको भोलिपल्टैदेखि महासंघले दिनहुँ धर्ना, प्रदर्शन, सभालगायत आन्दोलन गर्दैआएको छ । महासंघले घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न दवाब दिन देशव्यापी आन्दोलन सुरु गरेको छ ।

No comments: