News

Jun 9, 2011

पत्रकारमाथि आक्रमण गर्नेलाई छिट्टै पक्रने प्रहरीको आश्वासन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नागरिक दैनिकका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरी फरार रहेका युथफोर्स संलग्न व्यक्तिहरुलाई छिट्टै पक्रने पूर्वाञ्चलका प्रहरी प्रमुख डीआइजी विनोद सिंहले बताएका छन् । घटना छानबिनका लागि केन्द्रीय महासचिव ओम शर्माको संयोजकत्वमा पत्रकार महासंघले गठन गरेको मिशन टोली र मोरङका सञ्चारकर्मीहरू ज्ञापनपत्र बुझाउन जाँदा उनले यस्तो आश्वासन दिएका हुन् । डीआइजी सिंहले घटनाप्रति प्रहरी गम्भीर रहेको बताउँदै केही दिनमा नै घटनामा संलग्नहरु पक्राउ पर्ने बताएका छन् । घटना छानबिनका लागि गठित मिशन संयोजक शर्मा, सदस्यहरू महासंघका पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपाने र मोरङ शाखा अध्यक्ष विक्रम निरौलाले घटनाको पाँच दिन बित्दा पनि बस्नेत र राईलाई पक्राउ गर्न नसक्नुले प्रहरी प्रशासनको काम गराइ शंकास्पद देखिएको बताएका थिए । ढकालमाथि विराटनगरमा आइतबार राति एमालेको युवा संगठन युथ फोर्स सम्बद्ध समुहले सांघातिक आक्रमण गरेको थियो । घटनापछि पत्रकार महासंघ मोरङ शाखाले सोमबार युथ फोर्सका मोरङ संयोजक पर्शुराम बस्नेत, युवा संघ नगर संयोजक रोहित कोइराला र मनोज राईको नाममा किटानी जाहेरी प्रहरीलाई दिएको थियो । घटनालगतै कोइराला पक्राउ परेपनि अन्यलाई फरार रहेको भन्दै प्रहरीले समातेको छैन । यसैबीच, नागरिक दैनिकका पत्रकार खिलानाथ ढकाललाई केही दिन अगाडी समाचार लेखेकै आधारमा नेकपा एमाले सम्बद्ध युथफोर्सका कार्यकर्ताले विराटनगरमा आक्रमण गरी गम्भीर घाइते बनाएको घटनाप्रति गणतान्त्रिक सञ्चारकर्मी मञ्च नेपालले घोर निन्दा एवम् भत्र्सना गरेको छ । सो घटनामा संलग्न सम्पूर्ण दोषीहरुलाई छानबिन गरी तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गर्दै मञ्चले ढकालले लेखेको समाचारलाई नै आधार बनाई ज्यान नै लिने हैसियतले उनलाई आक्रमण गरेको पाइएकाले घटनामा संलग्न दोषीहरुलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।मञ्चले पछिल्लो समयमा सञ्चार क्षेत्रमाथि निरन्तर आक्रमण भईरहदा पनि सरकारले मौखिक रुपमा मात्र दोषीलाई कारबाही गर्ने प्रलोभन देखाउने तर व्यवहारमा केही नगरी उल्टै दोषीलाई आरक्षण दिने खालको उदासिनता र गैर जिम्मेवारीतापन प्रवृत्तिको अन्त्य गर्न पनि सरकारसँग माग गरेको छ । मञ्चका अध्यक्ष राजु लामाद्वाराले निकालेको विज्ञप्तिकम समाचार संकलन गरेकै विषयमा पत्रकारमाथि कुटपिट र अभद्र व्यवहार गर्ने जो सुकै दोषीलाई पनि पहिचान गरी तत्काल आवश्यक कारबाही गरेर स्वतन्त्र प्रेसको आभास दिलाउन माग गरिएको छ ।

No comments: