News

Aug 21, 2011

छात्रामाथि हातपात गर्ने शिक्षकलाई एक लाख जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लमजुङ, भदौ ४ लमजुङसँगै जोडिएको उत्तरी तनहुँको रूपाकोटस्थित एक विद्यालयका शिक्षकलाई छात्रामाथि हातपात गरेको आरोपमा एक लाख रूपैयाँ जरिवाना गरिएको छ। विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा शिक्षकमाथि जरिवाना तिराउने यो सम्भवतः देशकै पहिलो घटना हो। तनहुँको रूपाकोट गाउँ विकास समितिको वडा नं. ७ स्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक कृष्णविलास पौडेललाई छात्राहरूलाई हातपात गरेको आरोपमा एकलाख १० हजार रूपैयाँ जरिवाना गरिएको हो। गत साउन २७ गते कक्षा ६ का चारजना छात्रालाई हातपात गरेपछि शिक्षक पौडेल फरार भएका थिए। घटनाको भोलिपल्टै बसेको विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको संयुक्त भेलाले पौडेलविरुद्ध सो निर्णय गरी पाँच दिनभित्र विद्यालयमा हाजिर नभए जिल्ला शिक्षा कार्यालयमार्फत कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि उनी विद्यालयमा हाजिर हुन आएका थिए। स्थानीयवासीले निज शिक्षकलाई रूपाकोट गाविस र त्यस वरपरसमेत अध्यापन गर्न नपाउने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद अधिकारीले बताए। उक्त जरिवानावापतको रु. एक लाख १० हजार विद्यालयको अक्षय कोषमा जम्मा गर्ने निर्णय भएको अभिभावक चिजा कुँवरले बताइन्।

No comments: