लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, फाल्गुन २३ - पूर्वी नेपालको गतिविधि पछिल्लो ८० दिनमा ६१ पटक प्रभावित भएको छ । व्यवसायीका अनुसार बन्द हडताल र चक्काजामका कारण दैनिक १५ करोड रुपैयाँ बराबरको आर्थिक गतिविधिमा असर परेको छ । पुसयताका ८० दिनमा ६१ पटकभन्दा बढी बन्द/चक्काजाम भएको छ । जसमा नेपाल बन्द २ दिन, क्षेत्रीय बन्द ५ दिन, तराई मधेस बन्द २ दिन, जिल्ला बन्द ७ दिन र ४५ पटक चक्काजाम भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बहिर्गमनमा परेका माओवादी लडाकुले पुस ४ गते र २१ गते नेपाल बन्द गरेका थिए । उनीहरूले फागुन २१ गते मेचीकोसी बन्द गराएका छन् । यसैगरी उनीहरूले पुस १८ र फागुन ५ गते पूर्वाञ्चल बन्द गराएका थिए । पुस ४ गते कांग्रेस निकट युवा विद्यार्थीहरूले नेपाल बन्द गराए भने फागुन ११ गते खसक्षेत्री एकता समाजले पूर्वाञ्चल बन्द गर्यो ।
यसैगरी थारूवान् संघर्ष समितिले पुस १९ र २७ गते तराई मधेस बन्द गरेका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बन्यो । एमाले निकट युवा संघले पुस १० गते सिरहा बन्द गराए । आदिवासी जनजाति महासंघले पुस ११ मा खोटाङ बन्द गरायो । त्यही दिन पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई लिएर विभिन्न विद्यार्थी संगठनहरूले झापा, उदयपुर र सिरहा जिल्ला बन्द गराए । यसैगरी एमालेले फागुन ६ मा सिरहा तथा ७ गते सिरहा र सप्तरी जिल्ला बन्द गराएको थियो । यसका अलावा बितेका ८० दिनमा ४५ पटक चक्काजाम भयो । जसमा पुसमा १८ पटक विभिन्न जिल्लामा चक्काजाम हुँदा २३ घन्टा यातायात बन्द भयो । माघ महिनामा १९ पटक चक्काजाम हुँदा ४९ घन्टा अवरुद्ध भयो । यसैगरी फागुन महिनामा पनि १० पटकभन्दा बढी चक्काजाम भइसकेको छ ।
यसरी दैनिकजसो हुने बन्द, हडतालका कारण सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगहरूले दैनिक १५ करोडभन्दा बढी क्षति बेहोर्नुपरेको व्यवसायी बताउँछन् । यस क्षेत्रका अधिकांश उद्योग आइतबारदेखि बन्द छन् । दैनिक ३० करोडभन्दा बढी उत्पादन गर्ने यहाँका उद्योगीले बन्द बढ्दै गएको चिन्ता व्यक्त गरेका छन् । मोरङ व्यापार संघका महासचिव प्रकाश मुन्दडा पछिल्लो समय बढेको बन्द हडताललाई निरुत्साहित गर्न नसके यो क्रम अझ बढ्ने बताउँछन् । 'लोडसेडिङका कारण ४० प्रतिशतसम्म उत्पादन कटौती गरेका यहाँका उद्योगलाई बन्दले ढाड सक्यो,' उनले भने, 'डिजेल किन्न पाइँदैन । बत्ती आउने/जाने ठेगान छैन । कति दिनसम्म राजस्व मात्र तिरेर टिक्ने ?'द्वन्द्वका बेला लामो समयसम्म बन्द, हडताल र अराजक गतिविधिका कारण यस क्षेत्रका धेरै उद्योग सदाका लागि बन्द भएका थिए । उद्योग संगठनका उपाध्यक्ष शिवशंकर अग्रवाल प्रश्न गर्छन्, 'केही समय सास फेर्न पाएजस्तो भएको थियो, फेरि बन्द हडतालको क्रम सुरु भयो । यस्तो अवस्थामा कसरी काम गर्न सकिएला ?'
No comments:
Post a Comment