News

Mar 26, 2012

जहाज खरिद प्रकरण नलम्ब्याउन छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १३ - नेपाल वायुसेवा निगमका लागि जहाज खरिदका विषयमा सरोकारवाला पक्षबीच सोमबार प्रधानमन्त्री कार्यालयमा आनौपचारिक छलफल भएको छ । छलफलका क्रममा प्रधानमन्त्री बावुराम भट्टराईले जहाज खरिद प्रकरणमा भएका अलमल हटाई प्रक्रियालाई मूर्त रूप दिन सम्बद्ध सबैलाई निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि जहाज किन्न सबै प्रकारका बाधा अड्चन हटाउन सरकार लाग्ने उनले बताए । जहाज खरिदका लागि समस्याका गाँठा फुकाएर अगाडि बढ्नुपर्ने उनको धरणा थियो । जहाज खरिदका विषयमा सर्वोच्चमा लामो समयदेखि थाति रहेको मुद्दा छिटो किनारा लगाइदिन सर्वोच्च अदालतलाई अनुरोध गर्ने बारे पनि बैठकमा छलफफल भएको थियो । प्रधानमन्त्रीले नेपाल वायुसेवा निगमसाग राष्ट्रिय ध्वजावाहक राम्रा जहाज नहुँदा नेपालको पर्यटन क्षेत्रमा गम्भीर नकारात्मक असर परेको बताउँदै यसले गर्दा राज्यले आर्थिक क्षति व्यहोर्नु परिराखेको औंल्याए । उनले विवाद सृजना गर्ने तर नटुंग्याउने प्रवृत्ति गलत भएको पनि बताए । लामो समयदेखि जहाज खरिद गर्ने विषयमा छलफल हुने निर्णय हुने तर कार्यान्वयन नहुने कारण उक्त कार्य अधुरै रहेको छ ।
सरकारले ०६५/०६६ को बजेट भाषणमा २ वटा ठूला जहाज किन्ने घोषणा गरेको थियो । पछि विभिन्न कारणबस त्यो प्रक्रिया अवरुद्ध भयो । सार्वजनिक लेखा समितिले पनि विमान खरिदका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने निर्देशन दिएको लामो समय भइसकेको छ । विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी विशेष अदालतमा दायर गरेको मुद्दा विशेष अदालतले खारेज गरे तापनि आयोगले पुनः सर्वोच्चमा पुनरावेदन गरेको छ र त्यसको टुंगो लागेको छैन । बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्ट, भौतिक योजना तथा पुनर्निर्माण मन्त्री हृदयेश त्रिपाठी, माओवादीका सभासद नारायण दाहल, एमालेका सभासद रवीन्द्र अधिकारी, मुख्य सचिव माधव घिमिरे, पर्यटन मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

No comments: