News

Dec 21, 2012

'नागरिक'मा आक्रमण गर्नेहरु सात दिन थुनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पुस ६ (नागरिक)- नागरिक दैनिकको कार्यालयमा हिजो भएको आक्रमणमा संलग्न १३ जना हुल्याहालाई प्रहरीले सार्वजनिक अपराध अभियोगमा अनुसन्धान प्रक्रिया सुरु गरेको छ। पक्राउ अभियुक्तहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी अनुसन्धानका लागि सात दिन म्याद पाएको छ। नेपाल रिपब्लिक मिडियाको सह-प्रकाशन शुक्रबार साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर हिजो शिव सेना नेपालको नाममा आएको जत्थाले कार्यालय कब्जामा लिएर आक्रमण गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको शंकामा १५ जनालाई पक्राउ गरे पनि दुई जना निर्दोष देखिएपछि रिहा गर्दै बाँकीलाई कुटपिट र तोडफोडको अभियोगमा हिरासतमा राखेको थियो। उनीहरु महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। काठमाडौं परिसरका प्रवक्ता धिरजप्रताप सिंहले हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन अनुमति पाएको बताए। घटनामा संलग्न अन्यको समेत खोजी शुरु गरिएको सिंहले बताए। हुल्याहा समूह पक्राउको विरोधमा शिव सेना नेपालले शुक्रबार नेपाल बन्द घोषणा गरे पनि कुनै प्रभाव परेन। प्रहरी स्रोतका अनुसार सञ्चारमाध्यममाथि आक्रमण गर्ने समूहलाई छुटाउन शुक्रबार एक समूह काठमाडौं परिसर पुगेर प्रहरीलाई दबाब दिएको थियो। प्रहरीले उनीहरु घटनामा संलग्न रहेको प्रमाण भएकाले कारबाही हुने जवाफ दिएपछि सो समूह आक्रमणकारीलाई कारबाहीबाट जोगाउन दबाब दिन काठमाडौंको प्रमुख जिल्ला अधिकारी भेट्न गएका थिए। तर पनि उनीहरु सफल भएनन्। सिडिओले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन अनुमति दिएपछि उनीहरुले गल्ती भएको स्वीकार्दै सार्वजनिक रुपमा माफी माग्न तयार भएको बताउँदै सिडिओलाई सहयोगका लागि आग्रह गरेका थिए। स्रोतका अनुसार सिडिओ चुडामणि शर्माले पीडितपक्ष राजी नभएसम्म केही गर्न नसक्ने बताउँदै 'नागरिक'मा गएर माफी माग्न सुझाव दिएका थिए । हिजो दिउँसो करिब ५० जनाको समूहमा रहेका हुल्याहाहरुले कार्यालयका सुरक्षा गार्ड र टेलिफोन सेटहरु कब्जामा लिएर रिसेप्सनमा रहेका कर्मचारीलाई दुर्व्यवहार गर्दै प्रधानसम्पादक किशोर नेपाल, नागरिककर्मी सुदर्शन सापकोटा, राजेन्द्र ज्ञवाली, विश्वमणी पोखरेल र स्वरुप आचार्यलाई कुटेका थिए। भिडियो खिच्ने प्रयास गर्दा नागरिकन्युजकर्मी मदन चौधरीलाई समेत आक्रमणकारीले तारो बनाएका थिए। प्रधान सम्पादक नेपाललाई सुरक्षा गार्ड श्याम फुयाँल लगायतका नागरिककर्मीले आक्रमणकारीबाट जोगाएका थिए। उनीहरुले कार्यालयमा रहेका पत्रिका च्यात्दै कार्यालयभित्रै आगो लगाउने प्रयास गरे पनि प्रहरीको हस्तक्षेपका कारण उनीहरु असफल भएका थिए। पक्राउ अभियुक्तहरुले शुक्रबार सप्ताहिकमा प्रकाशित सामाग्री सच्याउन आग्रह गर्दा समेत बेवास्ता गरेपछि दबाब दिन कार्यालयमै गएको बताएपनि प्रारम्भिक अनुसन्धानमा घटना नियोजित देखिएको छ। हिजो बिहानै उनीहरु भुगोलपार्क गएर शुक्रबार साप्ताहिकका वितरकलाई दबाब दिँदै पत्रिका खोस्ने प्रयास गरेका थिए । अन्य समूहको प्रतिवादपछि असफल उनीहरु सुन्धारा जेडिए कम्प्लेक्समा रहेको नेपाल रिपब्लिक मिडियाको कार्यालयमा आएका थिए। सार्वजनिक अपराध ऐन अभियोग लागेका उनीहरुलाई प्रहरीले २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। प्रवक्ता सिंहले अभियुक्तहरुसँग बयान लिने क्रम शुरु भएको बताए ।

No comments: