News

Dec 7, 2012

नेपालका गैडा बचाउन गुगलको सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२२ मंसिर, एजेन्सी,इन्टरनेट कम्पनी गुगलले वन्यजन्तु संरक्षणको क्षेत्रमा पनि हात हालेको छ । गुगलको यो कदमबाट नेपाललाई समेत प्रत्यक्ष फाइदा पुग्नेछ, अर्थात् नेपालमा गैँडा, बाघ लगायतका वन्यजन्तुको संरक्षणमा समेत गुगलको यो सहयोग राशी उपयोग हुनेछ । संकटापन्न वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि भन्दै गुगलले एक अन्तर्राष्ट्रिय संस्थालाई ५० लाख अमेरिकी डलर सहयोग प्रदान गरेको हो । विश्व वन्यजन्तु कोषलाई दिइएको उक्त सहयोग राशी संकटापन्न वन्यजन्तुको चोरीसिकार गर्ने तस्करहरुको निगरानी राख्ने मानव रहित जहाजको संचालनमा खर्च गरिने बताइएको छ । स्मरण रहोस्, विश्व वन्यजन्तु कोषले नेपालका तराई क्षेत्रमा वन्यजन्तु तस्करहरुको निगरानीका लागि मानव रहित जहाजको प्रयोग सुरु गरिसकेको छ, जसमार्फत राष्टिय निकुञ्ज क्षेत्रमाथिको आकाशबाट निकुञ्जका वन्यजन्तुको अनुगमनका साथै चोरसिकारीहरुको निगरानी गरिन्छ । वन्यजन्तु कोषले यस्ता मानवरहित जहाज विश्वभरीनै प्रयोगमा ल्याउने तयारी गरेको छ । गुगलको सहयोग राशीबाट मानवरहित जहाज ड्रन कार्यक्रमलाई एसिया र अफि्रकाका अरु देशमा समेत विस्तार गरी गैँडा, हात्ती, बाघ लगायतका संकटापन्न वन्यजन्तुको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै यो सहयोग राशी वन्यजन्तुको ट्यागिङ प्रविधि, सेन्सर, तथा अनुगमन सफ्टवेयर लगायतका क्षेत्रमा पनि खर्च गरिनेछ । गुगलले आफ्नो विश्वव्यापी प्रभाव अवार्ड अन्तरगत विश्व वन्यजन्तु कोषलाई सहयोग राशी प्रदान गरेको बताएको छ । कठीन मानवीय चुनौति सँग जुध्न नयाँ प्रविधि तथा सोँचका साथ काम गरिरहेका संस्थालाई यस्तो अवार्ड दिइने गुगलको भनाइ छ । गुगलले यो पाला वन्यजन्तु कोषसँगै अरु ६ संस्थालाई समेत यस्तो अवार्ड प्रदान गरेको छ ।

No comments: