News

Feb 1, 2012

३ सय ५० यात्रु बोकेको डुङ्गा दुर्घटना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १९ (एएफपी)– पपुआ न्यु गिनीमा बिहीबार लगभग ३ सय ५० यात्रु बोकेको डुङ्गा डुबेको छ। डुङ्गामा सवारमध्ये २८ जनाको उद्दार गरिएको भए पनि थुप्रै ज्यानमालको नोक्सान भएको अनुमान छिमेकी अष्ट्रेलियाले गरेको छ। बिहीबार बिहान डुङ्गाबाट मद्दतका लागि सङ्केत पठाइएको थियो। बिहीबार बिहान स्थानीय समयअनुसार लगभग ६ बजे एमभी राबाउल क्विनसँगको सम्पर्क टुटेको अपरेटर स्टार सिप्सले जनाएको छ। दुर्घटना हुँदा डुङ्गा प्यासिफिक नेशनको पूर्वतर्फ किम्बे र लीबीचमा थियो। दुर्घटनाको कारण खराब मौसम भएको बताइएको छ। 'अहिले अष्ट्रेलियाबाट उद्दार टोली त्यसतर्फ गएको छ। अहिलेसम्म कसैको मृत्युको खबर आइसकेको छैन'- स्टार सिप्सका प्रवक्ता जोन हि्वटनीले भने।

राज्य पुनर्संरचना प्रतिवेदनमा कांग्रेस-एमाले असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १८ - राज्य पुनर्संरचनाको जटिल मुद्दा समाधान गर्न बनाएको आयोग आफैंले 'विवादित प्रतिवेदन सार्वजनिक गरेको' भन्दै प्रमुख दलहरू असन्तुष्ट बनेका छन् । आयोग बनाउने प्रस्तावकर्ता दलहरूले नै प्रतिवेदनको 'स्वामित्व लिन' हिच्किचाएका छन् । प्रतिवेदनलाई कांग्रेस-एमालेले उपयोगिताविहीन सामग्रीका रूपमा टिप्पणी गरेका छन् भने सत्तारूढ दलले भने दलीय छलफलपछि मात्र अघि बढ्ने प्रतिक्रिया दिएका छन् । जातीय पहिचानलाई बढी प्राथमिकता दिने खालको प्रतिवेदन आएकामा कांग्रेस र एमाले विपक्षमा उभिएका हुन् । उनीहरूले आयोग सदस्यले आफ्नो विज्ञता प्रदर्शन गर्नुको सट्टा निश्चित दलको निर्देशनमा चलेको अरोप लगाए । 'आयोगले जस्तो भूमिका खेल्नुपर्ने थियो त्यो भएन, एनजीओ, आईएनजीओका मान्यताहरूको वाहक बन्ने काम भयो,' एमाले महासचिव ईश्वर पोखरेलले कान्तिपुरसँग भने, 'कुनै दलका अदूरदर्शी मान्यता र निर्देशनमा आयोग चल्यो ।'

राज्य पुनर्संरचना आयोगको दुई बेग्लाबेग्लै प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १८ - प्रदेश निर्माणको आधार, संख्या, नाम, सीमा र मुख्य अधिकार क्षेत्रका विषयमा साझा धारणा बनाउन नसकेपछि राज्य पुनर्संरचना आयोगले बहुमत र अल्पमतका दुई छुट्टाछट्टै प्रतिवेदन मंगलबार सरकारलाई बुझाएको छ । आयोगका अध्यक्ष मदन परियारले बहुमतको र सदस्य रमेश ढुंगेलले अल्पमतको प्रतिवेदन प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाएका हुन् । बहुमतले जातीय पहिचानमा आधारित ११ प्रदेश र अल्पमत पक्षले सामथ्र्यमा आधारित ६ प्रदेशको प्रस्ताव गरेका हुन् । थोरै प्रदेश पक्षधरले बलियो स्थानीय निकाय रहने गरी तीन तहको सरकार प्रस्ताव गरेको छ । बहुमत पक्षले केन्द्र र प्रदेशमा गरी दुई तहको सरकार सिफारिस गरेको छ । प्रदेश तहमा कुनै विशेष जातिको राजनीतिक अग्राधिकार रहने व्यवस्था आवश्यक छैन भन्नेमा भने आयोगले सर्वसम्मत निर्णय गरेको छ । बहुमत पक्षले प्रदेश मातहत रहने विशेष जातीय स्वायत्त क्षेत्रमा एक कार्यकालका लागि अग्राधिकार दिने प्रस्ताव गरेको छ । प्रदेश तहमा मुख्य जातिलाई राजनीतिक अग्राधिकार दिने/नदिनेबारे सदस्यहरूबीच मत विभाजन हुँदा बराबरी भएको थियो । पछि बहुमत पक्ष पनि 'विशेष क्षेत्र' मा मात्र अग्राधिकारको व्यवस्था गर्न लचिलो भएको थियो । अल्पमतको प्रस्तावमा विशेष जातीय क्षेत्र उल्लेख छैन । उनीहरूले जिल्ला, नगर र गाउँपालिका गरी तीन प्रकारको बहुजातीय स्थानीय निकाय प्रस्ताव गरेका छन् । त्यहाँ कुनै जाति विशेषको अग्राधिकार हुने छैन ।
आयोगको बहुमतले दलित समुदायका लागि भूगोलबिनाको एक प्रदेशसहित ११ प्रदेश प्रस्ताव गरेको छ । प्रस्तावित १० भौगोलिक प्रदेशमा मधेस-मिथिला-भोजपुरा, मधेस-अवध-थारूवान, लिम्बुवान, किराँत, नारायणी, ताम्सालिङ, नेवाः, तमुवान, मगरात र कणर्ाली छन् । मुलुकभर छरिएर रहेका दलितहरूका लागि जनसंख्याको अनुपातमा प्रतिनिधित्व हुने गरी खास भौगोलिक सीमा नतोकी एक प्रदेश छुट्टयाइएको छ ।
१० भौगोलिक प्रदेश संविधानसभाको विषयगत समितिबाट प्रस्तावित १४ प्रदेशमा शेर्पा, जडान र सुनकोसी प्रदेश झिक्दा बाँकी हुन आउनेसँग मिल्दो छ । उक्त प्रस्तावमा साविक चितवन जिल्लालाई विभाजन गरी त्यहाँबाट पूर्व र पश्चिम दुई प्रदेश सीमांकन गरिएका छन् । संविधानसभाको विषयगत समितिको प्रतिवेदनमा तराई-मधेसका दुई प्रदेशलाई नारायणी प्रदेशले विभाजन गरिएको थियो । आयोगका तर्फबाट अध्यक्ष परियारले जारी गरेको विज्ञप्तिमा पहिचानको दृष्टिकोणबाट लक्षित समुदायको सकेसम्म एकै प्रदेशमा बाहुल्य होस् भन्ने मान्यतामा प्रदेशहरूको पुनः सीमांकन गरिएको उल्लेख छ । संविधानसभाले तय गरेको पहिचानका ५ र सामथ्र्यका ४ तत्त्वलाई आधार मानिएको दाबी गर्दै उनले पहिचान र सामथ्र्यका आधारमा प्रदेशहरू प्रस्ताव गरेको र गैरभौगोलिक दलित प्रदेशको सुझाव दिएको जनाएका छन् । उक्त प्रस्तावलाई माओवादीतर्फका स्टेला तामाङ, मल्ल के सुन्दर, मधेसी मोर्चाबाट पठाइएका सुरेन्द्र महतो, कृष्ण हाछेथु र एमालेका भोगेन्द्र झाले समर्थन गरेका छन् । आयोगको कार्यविधिमा समेत असहमति जनाएका कांग्रेसतर्फका सदस्यहरू रमेश ढुंगेल, सावित्री गुरुङ र एमालेका सर्वराज खड्काले भने फरक मत राखेका थिए । उनीहरूले तराईमा दुई र पहाड-हिमालमा ४ गरी ६ बहुजातीय प्रदेशको प्रस्ताव गरेका छन् । प्रदेश व्यवस्थापिकाले नै नाम राख्ने गरी प्रस्ताव गरिएका ती प्रदेशमध्ये तराईका दुइटाको भारतसँग र बाँकी चारवटाको भारत र चीन दुवैसँग सीमा जोडिएका छन् ।
तीन सदस्यको प्रस्तावलाई फरक मतका रूपमा स्वीकार गर्न बहुमत पक्ष तयार नभएपछि उनीहरूले छुट्टै प्रतिवेदन तयार गरेका थिए । तर अन्तिम समयमा अध्यक्ष परियारले अल्पमत पक्षसँग समन्वय गरी ६ प्रदेशको अवधारणालाई पनि प्रतिवेदनको अंश बनाएका थिए । 'सुरुमा जे जस्तो भए पनि अन्तिम समयमा अध्यक्ष परियारले सदाशयतापूर्वक हाम्रो विचार पनि प्रतिवेदनमा समावेश गर्नुभएको छ,' ढुंगेलले भने, 'हाम्रो विचार नै प्रतिवेदनमा नसमेटिएको अवस्थामा हामीले छुट्टै प्रस्ताव तयार गरेका थियौं । देशका लागि यो काम गरेको हुनाले हामीले छुट्टै प्रतिवेदन पनि प्रधानमन्त्रीलाई बुझाएका छौं ।' त्यस प्रतिवेदनमा फरक मतका रूपमा समावेश गरिएका विषयको विस्तृतीकरण रहेको उनले बताए । 'हामीबीच आधारभूत विषयमा नै भिन्नता रह्यो,' उनले भने । प्रदेश निर्माणको आधार, संख्या, नाम, राजनीतिक अग्राधिकार, अवशिष्ट अधिकार, सरकारको तहजस्ता मूलभूत विषयमा सहमति नभएपछि अल्पमत पक्षले पछिल्लो साता आयोगको बैठक बहिष्कार गरी छुट्टै प्रतिवेदन बनाएको थियो । उनीहरूले जातीयताका आधारमा प्रदेश निर्माण गर्न नहुने अडान राख्दै स्थानीय निकायलाई अधिकारसम्पन्न गर्नुपर्ने धारणा अघि सारेका थिए ।
बहुमत पक्षले भने केन्द्र र प्रदेश गरी दुई तहको मात्र सरकार हुने प्रस्ताव गरेको छ । उक्त पक्षले प्रदेशमातहत विशेष जातीय क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र रहने सुझाव दिएको छ । सरकारले मंसिर ६ गते दुई महिनाको समय तोकेर दलीय प्रतिनिधित्वका आधारमा सदस्यहरू मात्र रहेको आयोग गठन गरेको थियो । पछि सरकारले परियारलाई अध्यक्ष नियुक्त गरेको थियो । उनको नियुक्तिअघि नै सदस्यहरूले विवादकै बीच सर्वसम्मत नभएका विषयमा साधारण बहुमतले निर्णय गर्ने कार्यविधि बनाएका थिए । अल्पमत पक्षले त्यसप्रति लिखित असहमति जनाएको थियो ।
प्रदेश निर्माणको आधार, संख्या, नाम, सरकारको तह, अग्राधिकार र अवशिष्ट अधिकारजस्ता महत्त्वपूर्ण विषयमा माओवादी-मधेसी मोर्चाका प्रतिनिधिले साझा धारणा बनाएका थिए । एमालेका दुईमध्ये झाले धेरै मुद्दामा उक्त गठबन्धनलाई साथ दिएपछि ढुंगेल, खड्का र गुरुङ अल्पमतमा परेका थिए । उनीहरूबीच संविधानसभामा सहमति भएको विषयमा समेत विवाद भएको थियो । स्थानीय निकायको संवैधानिक हैसियतसहित तीन तहको सरकार रहने, अवशिष्ट अधिकार केन्द्रमा रहनेजस्ता विषयमा संविधानसभामा विवाद थिएन । आयोगमा ती विषयमा समेत व्यापक विवाद भएको थियो । अल्पमत पक्षले अवशिष्ट अधिकार केन्द्रमा रहने सिफारिस गरेको छ भने बहुमत पक्षले केन्द्र र प्रदेश दुवैमा यस्तो अधिकार रहने प्रस्ताव गरेको छ । अहिले संविधानमा उल्लेख नभएका कुनै विषय भविष्यमा आएमा केन्द्र र प्रदेश जोसँग सम्बन्धित विषय आउँछ, उसैसँग अवशिष्ट अधिकार रहने उनीहरूको प्रस्ताव छ ।
आयोगले सरकारलाई प्रतिवेदन बुझाउनुअगावैदेखि यसको विरोध सुरु भएको छ । हिमाली क्षेत्रमा शेर्पा र जडान प्रदेश नराखिएकामा असन्तुष्ट सभासदहरूले आयोग पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयको मूलढोकामा रोक्ने प्रयास गरे । प्रधानमन्त्री कार्यालयको पूर्वी ढोकामा माओवादी, कांग्रेस र एमालेका शेर्पा सभासदहरूको अवरोध हटाउन सुरक्षाकर्मीलाई निकै मुस्किल परेपछि आयोग पदाधिकारीहरू दक्षिण र पूर्वी ढोकाबाट भित्र गएका थिए । संविधानसभाको राज्य पुनर्संरचना समितिद्वारा प्रस्तावित १४ प्रदेशमा उल्लेख गरिएका शेर्पा र जडान प्रदेशलाई आयोगले आफ्नो सिफारिसमा नसमेटेको भन्दै सभासदहरूले विरोध गरेका हुन् । 'हिमाली क्षेत्रको पहिचानमा आधारित शेर्पा र जडान प्रदेश नराखिएको सूचना प्राप्त भएपछि आयोगसँग जवाफ खोज्न यहाँ आएका हौं,' सभासद पासाङ शेर्पाले भने ।

शिक्षकलाई विपश्यना गराउन सरकारी निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बइ, माघ १८,महाराष्ट्र सरकारले आफ्नो प्रदेशका सबै शिक्षकलाई विपश्यना ध्यान गराउन निर्देशन दिएको छ। सरकारी निर्देशनअनुसार १० दिनसम्म ध्यानमा बस्दा शिक्षकको तलब कट्टा हुने छैन। महाराष्ट्र सरकारले गत वर्ष ७ हजार सरकारी कर्मचारीलाई विपश्यना ध्यानमा पठाएको थियो। विपश्यना अभ्यासपछि कर्मचारीको कार्यक्षमता वृद्धि भएको अनुभवलाई आधार मान्दै शिक्षकलाई तलबी विदामा ध्यानमा पठाउन सर्कुलर जारी गरिएको हो।सरकारी निर्देशन लगत्तै महाराष्ट्रमा रहेका विपश्यना ध्यान केन्द्रहरुले शिक्षकका लागि सञ्चालन गरिने शिविरको तयारी गरेका छन्। 'महाराष्ट्रका सबै विपश्यना केन्द्रमा विद्यालय शिक्षकलाई प्राथमिकता साथ स्थान दिइनेछ', इगतपुरीस्थित विपश्यना मुख्य केन्द्रले भनेको छ- 'यो राम्रो कदम अन्य राज्यले पनि अनुसरण गर्न सक्छन्।'

संसद् अवरोध हटाउन दाहालको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १८ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी संसद् अवरोध हटाउन कांग्रेस सभापति सुशील कोइरालालाई आग्रह गरेका छन् । कोइराला निवास महाराजगञ्जमा बुधबार भएको भेटमा दाहालले संसद् नचल्दा शान्ति र संविधान निर्माण ओझेलमा परेको भन्दै संसद् खुलाउन आग्रह गरेका हुन् । 'जनसत्ता'ले गरेको घरजग्गा कारोबारलाई मान्यता दिने निर्णय फिर्ताको माग गर्दै विपक्षी कांग्रेस-एमालेलगायतका दलले संसद् अवरोध गर्दै आएका छन् । 'सर्वोच्च अदालतले अन्तरिम आदेश दिइसकेको अवस्थामा संसद् अवरुद्ध नगर्नुस्,' दाहालको भनाइ उद्धृत गर्दै स्वकीय सचिव समीर दाहालले भने, 'यसले शान्ति र संविधानको मुख्य कार्यभार ओझेल पार्‍यो ।'कोइरालाले भने मन्त्रिपरिषद्को निर्णय फिर्ता नै हुनुपर्ने अडान दोहोर्‍याए । उनले सात बुँदे सहमतिमै घरजग्गा फिर्ता हुनुपर्ने उल्लेख भएको अवस्थामा 'जनसत्ता'ले गरेको घरजग्गा कारोबारलाई मान्यता दिएर सरकारले सहमति भाँडेको आरोप लगाए । दुवै नेता सवै विवादित विषयलाई प्याकेजमै समाधान गर्न सहमत भएको दाहालले जानकारी दिए ।

फेसबुक चलाउन मिल्ने टिभीको साढे आठ लाख रुपियाँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १८ फेसबुक, युट्युब, स्काइप, ट्विटर जस्ता सामाजिक सञ्जालका साइटहरु चलाउन मिल्ने जापानी कम्पनी सार्पको टेलिभिजन नेपाली बजारमा आएको छ। ७० इञ्चको सो एलइडी टेलिभिजनको मूल्य आठ लाख ४९ हजार नौ सय तोकिएको नेपालका लागि आधिकारिक विक्रेता एस. जी. ग्लोबलले जनाएको छ। यसमा चार रङहरुको क्वाट्रन प्रविधि प्रयोग भएकोले अरु टिभीभन्दा फरक देखिने उत्पादकको दावी छ।

गच्छदारले कांग्रेस र एमाले संघीयताको विरोधी भएको बताए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारले कांग्रेस र एमाले संघीयताको विरोधी भएको बताएका छन् । संघीयताको विरोधी रहेकोले उनीहरुको निर्देशनमा राज्य पुनर्संरचना आयोगका केही सदस्यले आचारसंहिता विपरित फरक मत बुझाएको बताए । आयोगका बहुमत सदस्यले बुझाएको संघीयताको प्रतिवेदन सरकारलाई मान्यहुने बताएका छन् । बहुमत सदस्यले बुझाएको संघीयताको प्रतिवेदनमा हिमाल, पहाड र तराइ, मधेस सबैको पहिचान र अस्तित्वलाई समेट्ने उनको भनाइ छ । बुधबार विराटनगरको विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले भने 'त्यस प्रतिवेदनमा मधेसी मोर्चा र माओवादीको स्वायत्त प्रदेशको अवधारणासँग समानता रहेको छ ।'