News

Feb 28, 2013

साउदीका ७० हजार नेपालीलाई आममाफी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १५ -वर्षौंदेखि साउदी अरबमा अवैध रुपमा बस्दै आएका करिब ७० हजार नेपाली कामदार अब स्वदेश फर्कन पाउने भएका छन्। साउदी सरकारले त्यहाँका अवैध आप्रवासी कामदारलाई बिनाजरिवाना स्वदेश फर्कन आममाफी (एम्नेस्टी) दिने घोषणा गरेपछि उनीहरुलाई घर फर्कने बाटो खुलेको हो। साउदीले १५ वर्षपछि आइतबार अवैध आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेको हो। 'साउदीले अवैध रुपमा बस्दै आएका आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेको छ,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनमा नागरिकसँग भने, 'अवैध नेपाली कामदारलाई यसले ठूलो राहत मिलेको छ।' साउदीका श्रममन्त्री अडेल फकेईले आइतबार 'श्रमबजारको विकृति' हटाउन भन्दै अवैध आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेका हुन्। अवैध आप्रवासी कामदारलाई कुनै पनि किसिमको दण्डसजाय नदिई स्वदेश फर्कन सुनौलो अवसर दिइएको उनले घोषणामा भनेका छन्।

Feb 27, 2013

रेग्मीको नेतृत्व एमालेमा सर्वसम्मत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १७,एमालेले प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रक्रियालाई बाटो खुला गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत नेता बहालवाला प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाउनु नहुने पक्षमा रहे पनि बुधबार केन्द्रीय कमिटीको आकस्मिक बैठकले रेग्मी नेतृत्वकै पक्षमा सर्वसम्मत निर्णय गरेको हो। 'बैठकमा जारी प्रक्रियाबारे छलफल भयो,' सचिव विष्णु पौडेलले भने, 'त्यसले प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रियाका लागि बाटो खोलेको छ। प्रक्रियालाई निष्कर्षमा पुर्यायउने सर्वसम्मत निर्णय भएको छ।' बैठकपछि जारी विज्ञप्तिमा संविधानसभाको नयाँ निर्वाचन चाँडो गराउन र त्यसका लागि वर्तमान कामचलाउ सरकारलाई विस्थापन गरी सहमतिका आधारमा चुनावी सरकार निर्माण गर्न केन्द्रीय कमिटी निर्णयका आधारमा चालु प्रक्रियालाई निष्कर्षमा पुर्यामउने निर्णय गरेको छ। फागुनको पहिलो साता भएको केन्द्रीय कमिटीको आकस्मिक बैठकले वर्तमान सरकार विस्थापन र निर्वाचनका लागि सबै विकल्पमा जान सकिने निर्णय गरेको थियो। पार्टीभित्र चर्को विरोध भए पनि एमाले नेतृत्वले प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा सहमति सरकार गठन गर्ने विषयमा सहमति जनाएको थियो। पार्टी निर्णयविरुद्ध वरिष्ठ नेता नेपाल, महासचिव पोखरेल, सचिव शंकर पोखरेललगायतले विरोध गरेका थिए। न्यायपालिका र कार्यपालिका दुवैको प्रमुख एकै व्यक्ति हुँदा समस्या हुने उनीहरुले दाबी गर्दै आएका छन्। बैठकमा नेताहरुले केन्द्रीय कमिटीको निर्णयको गलत रुपमा व्याख्या गरेर प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनका लागि सहमति जनाएको आरोप लगाए। राजनीतिक दलबाटै विकल्प खोज्नुपर्ने उनीहरुको जोड थियो। निर्णयको पक्षमा पार्टी अध्यक्ष झलनाथ खनाल, स्थायी कमिटी सदस्य केपी शर्मा ओली, उपाध्यक्षहरु वामदेव गौतम र विद्या भण्डारी, सचिव विष्णु पौडेल उभिएका थिए। उनीहरुले प्रधान न्यायाधीशको नेतृत्वलाई स्वीकार अहिलेको गतिरोधलाई निकास दिनुपर्ने धारणा थियो। यसैगरी, बैठकले महिला दिवसलाई महिला हिंसाविरुद्ध अभियानसँग जोडेर प्रभावकारी बनाउन तल्लो कमिटीलाई निर्देशन दिएको छ। विश्वभर मार्च ८ मा महिला दिवस बनाउने गरिन्छ।

धरानमा सामुदायिक वन अतिक्रमण गर्नेहरुलाई प्रहरीले हटायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
धरान र विष्णुपादुका वीचमा पर्ने सर्दुखोला पश्चिम उत्तर रहेको जलकन्या सामुदायिक वनको जग्गा अतिक्रमण गर्नेहरुलाई प्रहरी प्रशासनले लखेटेको छ । उपभोक्त समुहले संरक्षण गरेको जमिन अतिक्रमण गरी बनाइएका ८ सय घर टहरा १२ दिन अघि पनि जनपद प्रहरी, शसस्त्र प्रहरी र वनविभागका कर्मचारीले भत्काएका थिए । घरटहरा भत्काए पनि अतिक्रमणकारीहरु फेरि बस्न थालेपछि पुन प्रहरीले बल प्रयोग गरी हटाएको हो । वनको खाली जग्गामा सुकुम्वासीको नाममा अतिक्रमण भएपछि माघ २३ गते वन समुह, स्थानिय राजनीतिक दल, नागरिक समाज, इलाका वन कार्यालय र धरानका प्रतिनीधिको भेलाले सामुदायिक वन क्षेत्रमा घर टहरा निर्माण गरेमा कारवाही गर्ने निर्णय अनुसार घरटहरा भत्काएको हो । विभिन्न क्षेत्रबाट सुकुम्वासीको नाममा आएका मानिसहरुले करिव १५ विगाहा खाली जमिन अतिक्रमण गरी घरटहरा बनाए पछि हट्न सुचना जारी गरेपनि नहटेपछि बल प्रयोग गरिएको थियो । सामुदायिक वनले खाली जमिनमा आँप, लिचि, सिसौ जातका विरुवाहरु समेत रोपेर संरक्षण गरेको अवस्थामा केही समुहको नेतृत्वमा वनक्षेत्र अतिक्रमण गरिएको थियो ।

रेग्मीलाई बनाए राष्ट्रपतिलाई एक वर्षको बोनस !

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१७ फागुन,लामो समय सत्तामा बसिरहन कसलाई इच्छा हुँदैन ! एमाओवादी नेताहरुले १० देखि २० वर्षसम्म शासन गर्ने भाषण गरिरहेकै बेला उता राष्ट्रपति डा. रामवरण यादवलाई झण्डै एक दशकसम्म लगातार राष्ट्रपति बनिरहने मौका जुर्न लागेको छ । राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक निकासका लागि संविधानमा बाधा अड्काऊ फुकाउने मौका पाउनासाथ आफ्नो कार्यकालसमेत बढाउनुहुने लगभग पक्का भएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने गरी अन्तिरम संविधानमा बाधा अड्काऊ फुकाउना साथ राष्ट्रपतिले पनि करिब १५ महिना शीतलनिवासमै बिताउने गरी ‘बोनस’ कार्यकाल पाउनुहुने भएको छ । कानूनमन्त्रालयका सचिव भेषराज शर्मा समेत मिलेर बनाइएको बाधा अड्काऊ फुकाउने मस्यौदामार्फत् राष्ट्रपतिलाई खुशी पार्न उहाँको कार्यकाल थप्ने प्रस्ताव ल्याइएको हो । मन्त्रालयका अधिकारीले तयार पारेको यो प्रस्तावमाथि बुधबारबाट कार्यदलका सदस्यहरुले छलफलसमेत शुरु गरेका छन् । नेताहरुले राष्ट्रपतिलाई फकाउन र खुशी पार्नका लागि एकवर्षको अवधि ‘बोनस’ दिन लागिएको बताएका छन् । बाधा अड्काऊ फुकाउने कानून मन्त्रालयको मस्यौदा प्रस्तावमा भनिएको छ- ‘धारा ३६ को (ग) मा ‘राष्ट्रपतिको पदावधि संविधान सभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुनेछ’ भन्ने उल्लेख भएकोमा अव राष्ट्रपतिको पदावधि अर्को संविधानसभा गठन भई त्यसले संविधान जारी गरेर त्यो संविधान प्रारम्भ नभएसम्म हुनेछू भन्ने व्यवस्था गर्ने ।’ डा. रामवरणलाई पहिलो संविधानसभाले ०६५ साउनमा नेपालको पहिलो राष्ट्रपति निर्वाचित गरेको हो । अन्तरिम संविधानमा संविधानसभाको कार्यकाल दुई वर्ष तोकिएको थियो भने राष्ट्रपतिको कार्यकाल संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि तोकिएको छ । तर, जुन संविधानसभाले यादवलाई राष्ट्रपति बनाएको हो, सो संविधानसभा गत जेठमै विघटन भैसकेको छ । डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने व्यवस्थापिका संसद् विघटन भएपछि भट्टराई स्वतः काम चलाउ भैसकेको छ । सोही संविधानसभाले चुनेको राष्ट्रपतिको वैधानिकतामाथि अहिलेसम्म कसैले पनि प्रश्न उठाएको छैन । केही समय अघि एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको समेत चुनाव गर्नुपर्ने बताउनुभएको थियो । यद्यपि अहिले प्रचण्डकै पार्टी राष्ट्रपतिको म्याद बढाउने गृहकार्यमा लागेको छ । अन्तरिम संविधानमा बाधा अड्काउ फुकाउन कानुन मन्त्रालयले तयार पारेको मस्यौदाको दोस्रो नम्बरमै राष्ट्रपतिको पदावधि बढाउने उल्लेख गरिएको छ । बाधा अड्काऊ फुकाउने दस्तावेजमा राष्ट्रतिको पदावधिको चर्चा गरिनुले संविधानसभाको दोस्रो निर्वाचनसँगै यादवको पदावधिमा बाधा पर्ने संकेत गरेको छ । राष्ट्रपतिको पदलाई बाधा नपर्ने भए संविधानको ३६ (ग)को बाधा फुकाइरहन जरुरी नभएको स्रोत बताउँछ । ०६५ मा निर्वाचित राष्ट्रपति यादवले पदभार सम्हालेको आगामी साउनमा ५ वर्ष पुग्छ । नयाँ संविधानसभाले एक वर्षमा संविधान बनाउने भनिएकाले त्यसपछि मात्रै संसद्ले नयाँ राष्ट्रपति चुन्ने गरी बाधा अड्काऊ फुकाउन लागिएको स्रोत बताउँछ । तर, जेठमा चुनाव भएन र मंसिर वा चैत्रमा मात्र भयो भने नेपालका पहिलो राष्ट्रपति यादवले ६ देखि ७ वर्षसम्म सत्तामा रहने सौभाग्य पाउने निश्चित छ ।

कोरिया पुगेका ३३ नेपाली एअरपोर्टबाटै फर्काइए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरिया गएका ३३ जना नेपाली त्यहाँस्थित इन्छन विमानस्थलबाटै फर्किएका छन् । सजिलैसित कोरिया जान पाएकोमा आफुलाई भाग्यमानी ठान्दै उडेका यी नेपाली कामदारलाई कोरियाली अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाइएको छ । सन् २०१२ मा मात्रै यसरी ३३ जना नेपाली कामदारलाई फर्काइएको वैदेशिक रोजगार विभाग इपीएस शाखाले जनाएको छ । ती मध्ये ३२ जनालाई नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा फर्काइएको हो । एक जना महिलालाई भने पहिले त्यहाँ गैरकानुनीरुपमा बसेको अभियोगमा फिर्ता पठाइएको छ । फर्किनेहरुमा बाँकी सवै पुरुष छन् । नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै बिदेशी अध्यागमले डिपोर्ट गरेको भएपनि उनीहरु त्रिभुवन बिमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका छैनन् । इपीएस कोरिया शाखाका निर्देशक नारायणबहादुर थापाले अनलाइनखबरसँग भन्नुभयो- उहाँले भन्नुभयो-’उनीहरु फर्किएर आएपछि हामी कहाँ आउँदैन् । कारबाही भएको हामीलाई कुनै जानकारी छैन ।’

Feb 23, 2013

दुई हजार कर्मचारीलाई स्वतः स्थायी गरिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फाल्गुन १३ - सरकारले स्थानीय निकायका कर्मचारीलाई स्वतः स्थायी गर्न स्थानीय स्वायत्त शासन नियमावली संशोधनको तयारी गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट उठेको प्रस्ताव मन्त्रिपरिषद्ले थप छलफलका लागि सरोकारवाला समितिमा पुर्‍याएको हो । 'सीमित प्रतियोगिता'का नाममा हाल कार्यरत कर्मचारीबीच मात्रै प्रतिस्पर्धा गराई उनीहरूलाई स्थायी गर्न एमाओवादी निकटको कर्मचारी संगठनको दबाबमा मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो । नियमावली संशोधन प्रस्ताव पारित भए हाल जिविस, नगरपालिका तथा गाविसमा २०६४ अघिदेखि कार्यरत करिब दुई हजार कर्मचारी स्वतः स्थायी हुनेछन् । 'स्वायत्त शासन नियमावलीअनुसार स्थानीय निकायको स्वीकृत दरबन्दीमा सार्वजनिक प्रतिस्पर्धाबाट मात्रै कर्मचारीको स्थायी नियुक्ति गर्न मिल्ने व्यवस्था थियो' स्थानीय विकास मन्त्रालय स्रोतले भन्यो, 'अहिले यो प्रावधान हटाएर २०६४ अघिका कर्मचारीलाई स्वतः स्थायी गर्न खोजिँदैछ । त्यसकै लागि नियमावली संशोधनको तयारी भएको हो ।' प्रस्ताव स्वीकृतका लागि एमाओवादी कर्मचारी संगठनले उपप्रधान एवं स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठलगायत प्रधानमन्त्री र मुख्यसचिवसम्म दबाब दिएका छन् । स्थानीय स्वायत्त शासन नियमावली २०५६ को भाग पाँचको परिच्छेद एकमा कर्मचारी नियुक्ति व्यवस्था छ । त्यसअनुसार स्वीकृत दरबन्दीमा लोकसेवा आयोगको परामर्शमा स्थायी रूपमा पदपूर्ति गर्ने र करार तथा अस्थायी नियुक्त गर्न नपाइने व्यवस्था छ । तर नियमविपरीत करारमा कार्यरत कर्मचारीलाई अवकाश दिनुको साटो प्रतिस्पर्धाबिना स्थायी गरिनु नियमविपरीत हुने असन्तुष्टहरूको भनाइ छ ।

दलहरूले प्रधान्यायाधीशलाई नेतृत्व लिन आग्रह गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फाल्गुन १३ - प्रमुख राजनीतिक दलले आइतबार प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व गर्न अन्तिम पटक आग्रह गर्ने भएका छन् । उनीहरूले दलहरूबीचको सहमति पत्रसहित रेग्मीसँग छलफल गरी सरकारको नेतृत्व लिने/नलिनेबारे अन्तिम निर्णय लिन लागेका हुन् । नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समिति कार्यालयमा शनिबार बसेको प्रमुख चार पक्षको बैठकले चुनावमा जान ढिलाइ गर्न नहुने निष्कर्ष निकाल्दै प्रधानन्यायाधीशलाई अन्तिम निर्णय दिने आग्रह गर्न लागिएको नेताहरूले बताए । प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी परिषद् गठन गरी जेठभित्र निर्वाचन गराउन एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा गतसाता सहमत भएका थिए । तर प्रधानन्यायाधीश रेग्मीले संवैधानिक अड्चन, राजनीतिक दल र बाहिरबाट समेत आइरहेका विरोधका कारण जनाउँदै निर्णय लिइसकेका छैनन् । प्रधानन्यायाधीशले नेतृत्व लिन स्वीकार गरे दुई दिनभित्र सरकार गठन गर्ने दलहरूको तयारी छ । त्यसका लागि कार्यदलले तीन विषयबाहेक सहमति भएका नौ बुँदाको राजनीतिक दस्तावेज हस्ताक्षरका लागि तयार पारेको छ । नयाँ सरकार निर्माणदेखि चुनावमा जान आवश्यक संविधान र कानुन संशोधनका लागि बाधा अड्काउ फुकाउने प्रस्तावसमेत कानुन मन्त्रालयले तयार पारिसकेको स्रोतले बतायो । बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधीशले नै चुनावी सरकारको नेतृत्व गर्नु सबभन्दा उत्तम हुने निष्कर्षमा प्रमुख दलहरू रहेको जनाए । रेग्मीसँग आइतबार अन्तिम निर्णय लिइने उनले बताए । 'प्रधानन्यायाधीशले चुनावी सरकारको नेतृत्व गरी राष्ट्रिय जिम्मेवारी लिन दलहरूले विश्वस्त गराउने कुरा भएको छ,' उनले भने, 'चुनावी सरकारको नेतृत्व लिने/नलिनेबारे समेत उहाँसँग अन्तिम गर्नुपर्छ भन्ने भएको छ ।' उनले प्रधानन्यायाधीशले मुलुकलाई निकास दिन राष्ट्रिय जिम्मेवारी महसुस गर्नुपर्ने बेला भएको समेत जनाए । कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानन्यायाधीशले स्वीकारे एक/दुई दिनभित्र चुनावी सरकार गठन हुने बताए । 'कहिलेसम्म सरकार गठन हुन्छ भन्नेकुरा प्रधानन्यायाधीशमा निर्भर छ । हामी उहाँको निर्णय पर्खेका छौं,' सहमतिका लागि राजनीतिक दस्तावेज र बाधा अड्काउ फुकाउने प्रस्तावसमेत तयारी भइरहेको जनाउँदै निधिले भने, 'मुलुकलाई संवैधानिक बाटोमा ल्याउन प्रधानन्यायाधीशले जिम्मेवारीबोध गरेर आउनुभयो भने सरकार चाँडै गठन हुन्छ ।' उनलाई मनाउन यसअघि पनि चारै दलका शीर्ष नेताहरू रेग्मीको निवासमै गएर आग्रह गरेका थिए । तर उनले यसबारे सर्वोच्चमै रिट परेको, कांग्रेस/एमालेभित्रबाटै विरोध आएको, नेपाल बार एसोसिएसनले समेत विरोध गरिरहेको सन्दर्भमा जेठभित्र निर्वाचन हुनेमा आशंका गर्दै नेतृत्व लिन अनिच्छा देखाएका थिए ।