News

Feb 23, 2013

दलहरूले प्रधान्यायाधीशलाई नेतृत्व लिन आग्रह गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फाल्गुन १३ - प्रमुख राजनीतिक दलले आइतबार प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व गर्न अन्तिम पटक आग्रह गर्ने भएका छन् । उनीहरूले दलहरूबीचको सहमति पत्रसहित रेग्मीसँग छलफल गरी सरकारको नेतृत्व लिने/नलिनेबारे अन्तिम निर्णय लिन लागेका हुन् । नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समिति कार्यालयमा शनिबार बसेको प्रमुख चार पक्षको बैठकले चुनावमा जान ढिलाइ गर्न नहुने निष्कर्ष निकाल्दै प्रधानन्यायाधीशलाई अन्तिम निर्णय दिने आग्रह गर्न लागिएको नेताहरूले बताए । प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी परिषद् गठन गरी जेठभित्र निर्वाचन गराउन एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा गतसाता सहमत भएका थिए । तर प्रधानन्यायाधीश रेग्मीले संवैधानिक अड्चन, राजनीतिक दल र बाहिरबाट समेत आइरहेका विरोधका कारण जनाउँदै निर्णय लिइसकेका छैनन् । प्रधानन्यायाधीशले नेतृत्व लिन स्वीकार गरे दुई दिनभित्र सरकार गठन गर्ने दलहरूको तयारी छ । त्यसका लागि कार्यदलले तीन विषयबाहेक सहमति भएका नौ बुँदाको राजनीतिक दस्तावेज हस्ताक्षरका लागि तयार पारेको छ । नयाँ सरकार निर्माणदेखि चुनावमा जान आवश्यक संविधान र कानुन संशोधनका लागि बाधा अड्काउ फुकाउने प्रस्तावसमेत कानुन मन्त्रालयले तयार पारिसकेको स्रोतले बतायो । बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधीशले नै चुनावी सरकारको नेतृत्व गर्नु सबभन्दा उत्तम हुने निष्कर्षमा प्रमुख दलहरू रहेको जनाए । रेग्मीसँग आइतबार अन्तिम निर्णय लिइने उनले बताए । 'प्रधानन्यायाधीशले चुनावी सरकारको नेतृत्व गरी राष्ट्रिय जिम्मेवारी लिन दलहरूले विश्वस्त गराउने कुरा भएको छ,' उनले भने, 'चुनावी सरकारको नेतृत्व लिने/नलिनेबारे समेत उहाँसँग अन्तिम गर्नुपर्छ भन्ने भएको छ ।' उनले प्रधानन्यायाधीशले मुलुकलाई निकास दिन राष्ट्रिय जिम्मेवारी महसुस गर्नुपर्ने बेला भएको समेत जनाए । कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानन्यायाधीशले स्वीकारे एक/दुई दिनभित्र चुनावी सरकार गठन हुने बताए । 'कहिलेसम्म सरकार गठन हुन्छ भन्नेकुरा प्रधानन्यायाधीशमा निर्भर छ । हामी उहाँको निर्णय पर्खेका छौं,' सहमतिका लागि राजनीतिक दस्तावेज र बाधा अड्काउ फुकाउने प्रस्तावसमेत तयारी भइरहेको जनाउँदै निधिले भने, 'मुलुकलाई संवैधानिक बाटोमा ल्याउन प्रधानन्यायाधीशले जिम्मेवारीबोध गरेर आउनुभयो भने सरकार चाँडै गठन हुन्छ ।' उनलाई मनाउन यसअघि पनि चारै दलका शीर्ष नेताहरू रेग्मीको निवासमै गएर आग्रह गरेका थिए । तर उनले यसबारे सर्वोच्चमै रिट परेको, कांग्रेस/एमालेभित्रबाटै विरोध आएको, नेपाल बार एसोसिएसनले समेत विरोध गरिरहेको सन्दर्भमा जेठभित्र निर्वाचन हुनेमा आशंका गर्दै नेतृत्व लिन अनिच्छा देखाएका थिए ।

No comments: