News

Dec 2, 2008

दरबन्दी सरकारी भए पनि डाक्टरहरू निजी क्लिनिकमा ब्यस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दरबन्दी सरकारी भए पनि डाक्टरहरूले अधिकांश समय नर्सिङहोम र निजी क्लिनिकमा बिताउँछन् । यसको प्रत्यक्ष असर सरकारी अस्पताल धाउने बिरामीमा परेको छ ।सरकारी अस्पतालका डाक्टरले बिहान नौदेखि साँझ चार बजेसम्म काम गर्नुपर्ने नियम छ । तर, अधिकांश वरिष्ठ डाक्टर ११ बजेतिर हाजिर ठोक्न अस्पताल आउने गरेको पाइयो । वीर अस्पतालका जागिरे डाक्टर अशोक बज्राचार्य समयमा अस्पताल नपुग्ने डाक्टर भनेर कहलिएका छन् । निजी क्यापिटल अस्पतालका निर्देशक पनि रहेका डा. बज्राचार्यलाई यो संवाददाताले १० बजेसम्म पनि उनको निजी अस्पतालमा भेट्यो । आफ्नो निजी अस्पतालमा 'सिरियस बिरामी' आएमा कुनै पनि बेला वीर अस्पतालको ड्युटी छाडेर डा. बज्राचार्य आफ्नो निजी अस्पताल आउने गरेका छन् । 'इमर्जेन्सी पर्दा अरू डाक्टरहरू पनि जुनसुकै समय पनि आउनुहुन्छ तर डाक्टर अशोक र डाक्टर असरुफ पासा बढी आउनुहुन्छ,' क्यापिटल अस्पतालका एक कर्मचारीले जानकारी दिए । डा. पासा पनि वीर अस्पतालकै चिकित्सक हुन् । त्यसैगरी, प्रसूतिगृह थापाथलीकी चिकित्सक डा. सुधा थापा सरकारी जागिरबाहेक थप तीन ठाउँमा काम गर्छिन् । उनी पुतलीसडकस्थित 'भ्याली म्याटरनिटी नर्सिङहोम, डिल्लीबजारमा रहेको सिद्धार्थ पोलिक्लिनिकअगाडि रहेको औषधी पसल र रातोपुलस्थित औषधी पसलको निजी क्लिनिकमा काम गर्छिन् । सरकारी जागिर चार बजेसम्मको भए पनि उनी दिउँसै क्लिनिकमा पुग्ने गरेको पाइयो । चार बजेसम्म प्रसूतिगृहमा बस्नुपर्ने डा. थापालाई तीन बजेभन्दा अगाडि नै रातोपुलस्थित औषधी पसलमा भेटिने सो क्लिनिकका एक कर्मचारीले जानकारी दिए । त्यस्तै, सैनिक अस्पतालमा कार्यरत डाक्टर ब्रजेन्द्र श्रीवास्तवलाई नयाँ पत्रिकाले पछ्याउँदा उनी साढे तीन बजे नै नर्भिक अस्पतालमा भेटिए । सरकारी अस्पतालका डाक्टरहरू मात्र होइन, स्वास्थ्य मन्त्रालयका कायममुकायम सचिव डा. दीर्घसिंह बम अहिले पनि निजी क्लिनिक धाइरहेका छन् । त्रिपुरेश्वरमा बमको निजी क्लिनिक 'जीवन पोलिक्लिनिक' रहेको छ । छाती रोग विशेषज्ञ बम बेलुका चार नबज्दै आफ्नो क्लिनिक पुग्छन् । बमलाई मन्त्रालयभित्र 'भगुवा डाक्टर' भनेर तल्लो तहका कर्मचारीले टिप्पणी गरेको सुनिन्छ । 'उहाँलाई मन्त्रालयमा भेटिन्न । भेट्न उहाँकै क्लिनिक जानुपर्छ,' मन्त्रालयका एक कर्मचारीको भनाइ थियो, 'डाक्टरको काम बिरामी जाँच्ने भएर होला उहाँको रुचि प्रशासनिक काममा भन्दा त्यसैमा छ ।'डाक्टरहरूकै लापरबाहीका कारण देशको सबैभन्दा पुरानो वीर अस्पतालले सुरु गरेको 'पेइङ सेवा' प्रभावित भएको छ । बिरामीहरूको सुविधाका लागि सजिलै डाक्टर भेट्ने अवस्था बनोस् भनेर अस्पताल प्रशासनले 'पेइङ सेवा' सुरु गरेको थियो । एक सय ५० रुपैयाँको टिकट काटेपछि डाक्टरलाई अस्पतालमै सिधै भेट्न पाउने सेवा डाक्टर अभावका कारण घोषणामा मात्र सीमित भयो । 'डाक्टरहरू जहाँ बढी पैसा आउँछ त्यतै दौडन्छन्,' अस्पताल प्रशासनका एक कर्मचारीले भने, 'डाक्टरहरू सेवामुखी हुन छाडेको उदाहरण हो यो ।' दिउँसो एक बजेदेखि तीन बजेसम्म सञ्चालन हुने सो सेवामा अहिले जुनियर र प्रशिक्षार्थी डाक्टरहरू भेटिन्छन् । स्वास्थ्य सेवा ऐनले मन्त्रालयबाट स्वीकृति लिएर सरकारी अस्पतालका चिकित्सकले अन्यत्र काम गर्न पाउने व्यवस्था गरेको त छ तर डाक्टरहरूले ऐनलाई लत्याइरहेका छन् । मन्त्रालयले पनि अहिलेसम्म दुईजनाबाहेक अन्य डाक्टरलाई कारबाही गर्न सकेको छैन । चिकित्सकले निजी स्वास्थ्य संस्थामा काम गर्न अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको मन्त्रालयका सचिव डा. सुधा शर्माले बताइन् । उनले भनिन्, 'उजुरी आएपछि हामी अनुमति लिएको/नलिएको विषयमा छानबिन गर्छौं । उजुरी नपर्दासम्म कसले कहाँ काम गरेको छ भन्न सक्ने अवस्था छैन ।' स्मरण रहोस्, उजुरी र अनुगमन गर्ने निकायका अधिकारीहरूले नै सरकारीभन्दा निजी क्लिनिकमा बढी समय दिने गरेका छन् । निजी नर्सिङहोम तथा मेडिकल कलेजले दिने आकर्षक पारिश्रमिकका कारण अधिकांश चिकित्सक निजी स्वास्थ्य संस्था धाउने गरेका हुन् । नर्सिङहोमहरूको संगठन 'एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल'का अध्यक्ष डा. भोला रिजालको निजी स्वास्थ्य संस्थामा काम गर्ने ८० प्रतिशतभन्दा बढी डाक्टर सरकारी अस्पतालका कर्मचारी रहेको बताउँछन् । सरकारी अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरूले सरकारी सेवा छाडेर धमाधम निजी अस्पताल बनाउने क्रम बढ्दै गएको छ । 'यो सबै पैसाका कारण भएको हो,' चिकित्सक संघका महासचिव डा. केदारनरसिंह केसी भन्छन्, 'यसमा सरकारले ध्यान पुर्‍याउनुपर्ने अवस्था छ ।'प्रतिष्ठित न्युरो सर्जन डा. उपेन्द्र्र देवकोटा वीर अस्पतालको जागिर नै छोडेर न्युरो अस्पताल बाँसबारीमा काम गर्न गएका छन् । त्यस्तै स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाल पनि शिक्षण अस्पतालको जागिर छाडेर ओम अस्पतालमा काम गर्दै छन् । सरकारी अस्पतालबाट रिटायर्ड भएका अधिकांश डाक्टर निजी नर्सिङहोममा काम गर्छन् ।

No comments: