News

Dec 2, 2008

सार्वजनिक स्थलबाट एचआइभी संक्रमितले पीडा सुनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व एड्स दिवसका अवसरमा सोमबार दुई एचआइभी संक्रमितले आफ्ना पीडा सुनाइरहँदा चौतारामा उपस्थित कसैको पनि मन थामिएन । महिला, बालबालिका, युवा, वृद्ध-वृद्धा, सरकारी अधिकारी, प्रहरी, अधिकारकर्मी, पत्रकार सबै उनीहरूका पीडा सुनेर स्तब्ध मात्र भएनन् आँसु झार्न बाध्य भए । चौतारास्थित टुँडिखेलमा आयोजित सभामा एचआइभी संक्रमित तारा नेपाल र पदम लामाले बेचिनु र संक्रमित बन्नुको कहालीलाग्दो विगत सार्वजनिक गरेका थिए । संक्रमणपछि चेलिबेटी बेचबिखन र एचआइभी/एड्सविरुद्धको अभियानमा लागेका उनीहरूले चेतना जगाउन आफूहरूले सार्वजनिक स्थलबाट पीडा सुनाएको बताए । सानुसिरुवारी- ७ माइती भएकी ताराको कुभिन्डे- ६ का चोकनाथ नेपालसित ०५४ मा विवाह भएको थियो । श्रीमान् र सासूबाट बेचिएकी ३२ वषीया उनको व्यथा सुनिनसक्नुको छ । 'माडवारीकोमा राम्रो काम लगाउने भन्दै त्यसै सालको मंसिरमा श्रीमान् चोकनाथ र सासू युवकुमारी सहित ६ जनाले ५० हजार -भारु) मा बिक्री गरे,' उनले खाटा बसिसकेको घाउ कोट्याउन सुरु गरिन् । तीन वर्षसम्म नयाँ दिल्ली, मुम्बई, कलकत्तालगायतका सहरमा वेश्यावृत्ति गर्न बाध्य बनाइएकी उनले राति बत्ती गएको समयमा ०५७ माघमा भागेर नेपाल आउन सफल भएको बताइन् । 'यौनसम्पर्क राख्न नमान्दा कुटाइ खानुपथ्र्यो, वेश्यावृत्ति गर्न नमान्दा पाएको यातनाले हातका औँला चल्दैनन्,' कालो अतीत सम्भिmएर भक्कानिएको मन ताराले थाम्न नसकेपछि हातमा कन्डम र चेतनामूलक 'ब्रोसर' बोकेर एड्स दिवस मनाउन उपस्थित जनमानस स्तब्ध भयो । उनले संक्रमित भनेर समाजले हेला गरेको र माइत पनि बस्न नसकेको बताइन् । केही समय माइती नेपालको संरक्षणमा बसेकी उनी अहिले शक्ति समूहले चौतारामा खोलेको पुनस्र्थापन केन्द्रमा बसेर अभियानमा लागेकी छिन् । 'खाएको विष लाग्छ, गल्तीको सजाय पाउनुपर्छ,' अर्कैले गरेको अपराधको सजाय भोगिरहेका छन् अर्का संक्रमित पदम । सुन्दर भविष्यको कल्पना गर्दै कसेको लगनगाँठो नै अभिशाप बन्यो उनका लागि । र, उपहारमा पाए प्राणघातक रोग एड्स । 'आफन्तले संक्रमित युवतीसँग झुक्याएर बिहे गरिदिए,' चार वर्षअघि भएको बिहेको प्रसंगबाट सुरु गरे उनले आफ्ना व्यथा, 'उनीसँग यौनसम्पर्क भयो र म पनि संक्रमित भएँ । लिसंखु- ८ का पदमले भारतबाट फर्केकी युवतीसँग आफन्तले झुक्याएर विवाह गरिदिएको बताए । तारा र पदमले संक्रमितले पनि समाजमा केही गर्नसक्ने दृढता व्यक्त गरेपछि सबैका रसाएका आँखा ओभाएका थिए । 'संरक्षण राज्यले गरोस्, समाजले हेला नगरोस् संक्रमितले पनि मुलुकका लागि केही गर्न सक्छन्,' अभियानमा लागेका उनीहरूले विश्वासका साथ भने । नयाँ बन्ने कानुनमा चेलिबेटी बेचबिखन गर्ने र संक्रमितलाई हेलाहोचो गर्नेलाई दण्डित गर्ने कडा कानुनको व्यवस्था गर्न उनीहरूले मागसमेत गरेका थिए । संक्रमितद्वयले 'कन्डम लगाऔँ, एड्स भगाऔँ' भन्दै कन्डम र चेलनामूलक सामग्री वितरण गरेका थिए ।

No comments: