News

Dec 12, 2008

चासोससँगै उधौली चाड धूमधाम मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किराँत/राइको पवित्र चाड साकेला उधौली आज शुक्रबार देशभर मनाइँदैछ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल राजधानीको हात्तीवनमा किराँत चाड याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राइको उधौली सकेला र लिम्बुको चासोक तङ्नामको शुभारम्भ भएको थियो । परम्पराअनुसार दुइ दिनअघि लिम्बुले चासोक तङ्नाम पर्व मनाउने गर्छन् भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किराँत पर्व मनाउने गर्छन् ।पर्वका अवसरमा सरकारले पहिलोपटक राष्ट्रिय विदाको घोषणा गरेको छ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राइले उधौली सकेला र लिम्बुले चासोक तङनाम भनेर मान्ने गर्छन् । बाली लगाउने बेलामा भने किराँत उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ । साकेला किराँत/राइको मुख्य पर्व हो, सो उभौली र उधौलीको नामले वर्षमा दुइ पटक मनाइने गरिन्छ । साकेला उभौली वैशाख पूर्णिमाको दिन र उधौली मङ्सिरे पूर्णिमाको पूर्ण चन्द्रमा उदाउने बेलामा मनाउने गरिन्छ । किराँतको पवित्र धार्मिक पुस्तक मुन्धुमअनुसार वर्षका दुइ भाग अर्थात् उभौली -माथि र उधौली -तलमा सो चाड मनाइने परम्परा छ । चराको बसाइँसराइका आधारमा अर्थात् गर्मी सुरु हुने बेला बैशाखमा चराहरू चिसो ठाउँ पहाडतिर बसाइँसराइ हुने र चिसोको बेला तलतिर सर्ने हुनाले दुइपटक साकेला पर्व मनाइने चलन छ ।परम्पराअनुसार किराँती धर्मगुरु -नेक्चोल्ङले चुलोको पूजाबाट सुरु गर्ने यस चाडमा धर्मगुरुले साकेला थानमा कुखुराको बलि दिने चलन छ । बलिपछि धर्मगुरुको आदेशबाट साकेला नाच सुरु गरिन्छ । पर्वको बेला बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर परम्परागतरूपमा नाच गर्छन् ।

No comments: