News

Dec 11, 2008

अन्तरबैंक ब्याजदर तीन सय प्रतिशतभन्दा बढीले गिरावट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वाणिज्य बैंकहरूको अन्तरबैंक ब्याजदर तीन सय प्रतिशतभन्दा बढीले घटेको छ । सात प्रतिशत पुगेको अन्तरबैंक ब्याजदर गत साता औसत २.०१ प्रतिशतमा झरेको छ । यस्तै, बुधबार १.५ प्रतिशतमा बैकदर कायम भएको छ । राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०६५/६६ को पहिलो त्रैमासमा नौ अर्ब दुई करोड रुपैयाँबराबरको खुद तरलता प्रशोचन भएको छ । 'बजारमा तरलता भएर अन्तरबैंक ब्याजदर घटेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक त्रिलोचन पंगेनी स्वीकार गर्छन । उनी भन्छन्, 'यो अघिल्लो वर्षको तुलनामा निकै कम हो ।' पोहोर यतिखेर बजारमा तरलता संकट आएका कारण बैंकहरूले रिपो बिक्री गरेका थिए भने ब्याजदर औसत पाँच प्रतिशतमा स्थिर थियो । गत साता ब्याजदर घटेर एक प्रतिशतसम्म पुगेको थियो । तीन महिनाअघि सात प्रतिशत पुगेको अन्तरबैंक ब्याजदर बीचमा ५.५ मा केही दिन स्थिर भएर निरन्तर घटिरहेको छ । 'अहिलेको अन्तरबैंक ब्याजदरमा आएको गिरावट अप्रत्यासित हो,' ग्लोबल बैंकका सहायक महाप्रबन्धक जनक शर्मा पौड्यालले नयाँ पत्रिकासित भने । उनका अनुसार, यस्तो समय अझ केही दिन लम्बिए निक्षेपको ब्याजदर घटाउन बैंकहरू बाध्य हुनेछन् । राष्ट्र बैंकका ऋण विभागका कार्यकारी निर्देशक लोकबहादुर खड्काले बैंकदरको घटबढ दीर्घकालीन नहुने हुँदा बैंकले ब्याजदर बढाउनुपर्ने बताउँछन् । उनले भने, 'भोलि लगानीका क्षेत्र फराकिलो हुने भएकाले निक्षेपलाई अकषिर्त गर्न पनि ब्याजदर बढाउनुपर्छ ।'तीन महिनाको बीचमा अन्तरबैंक ब्याजदरमा व्यापक उतारचढाव आएकाले निश्चित समयपछि औसत अर्थात् ४/५ प्रतिशतमा पुग्न सक्ने ग्लोबलका पौड्यालले बताए । चार पाँचवटा कम्पनीको प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने तयारी गरिरहेकाले ब्याजर बढ्ने उनले जानकारी दिए । 'बैंक ब्याजदरको निक्रयौल समयले पनि गर्छ,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले नयाँ पत्रिकासँग भने, 'नयाँ कम्पनीहरूको आइपिओ आएपछि अवस्था अहिलेकै जस्तो रहँदैन ।' उनले ठूलो रकममा कारोबार भएमा ब्याजदर बढ्न समय नलाग्ने जानकारी दिए । यो वर्ष तरलता प्रशोचन भएकामध्ये तीन अर्ब ५० करोड रुपैयाँ सोझै बिक्री बोलकबोल र बाँकी पाँच अर्ब ५२ करोड रुपैयाँ रिभर्स रिपो बोलकबोलमार्फत् प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो वर्ष पाँच अर्ब ५७ करोड रुपैयाँबराबरको मात्र खुद तरलता प्रशोचन भएको थियो ।वाणिज्य बैंकहरूसँग पर्याप्त तरलता देखिएकाले अझै अन्तरबैंक ब्याजदर घट्ने पंगेनीले बताए । उनले भने, 'अहिले बजारमा तरलतामा कुनै समस्या छैन ।' त्यसमा पनि अझै अघिल्लो वर्षको जस्तो खुला बजार कारोबारका उपकरणमार्फत् तरलता प्रवाह भने भएको छैन ।

No comments: