News

Dec 11, 2008

मालपोत अधिकृतलाई कालोमोसो घुस मागेकोमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जग्गा नामसारी गरेबापत १५ हजार घुस मागेको भन्दै मालपोत कार्यालय सिराहाका अधिकृतलाई बुधबार कालोमोसो लगाई नगर परिक्रमा गराइएको छ । गोपाल सेवासमिति सिराहाको जग्गा पास गर्दा घुस मागेको आरोपमा युथफोर्सका कार्यकर्ताले मालपोत अधिकृत मदनकुमार झालाई कालोमोसो लगाएका हुन् । उनीहरूले कालोमोसो लगाएर लाहान नगरपरिक्रमा गराई झालाई वडा प्रहरी कार्यालय लाहानमा बुझाएका छन् ।मालपोत अधिकृत झामाथि लाहान नगरपालिका-१ (क) सिंगराहीस्थित २७१ नं. कित्ताको तीन कट्ठा ११ धुर जग्गा गोपाल सेवासमितिको नाममा पास गराउन घुस मागेको आरोप लगाइएको छ । सेवासमितिका अध्यक्ष विशेश्वर यादवले जग्गा पास गर्न अधिकृतले दुई महिनादेखि आलटाल गरिरहेको बताउँदै बुधबार कार्यालयमा जाँदा अधिकृत झाले १५ हजार घुस मागेको दाबी गरे । प्ररायुसंघका केन्द्रीय सचिवालय सदस्य सत्यनारायण यादवले रकम नदिँदा नामसारी नगर्ने भनेका कारण युथफोर्स, क्रान्तिकारी जनवादी युवासंघ र स्थानीय बासिन्दाले झालाई कालोमोसो लगाएर प्रहरीलाई बुझाएको बताए ।उनलाई नियन्त्रणमा लिएर कार्यकक्षभन्दा बाहिर निकाली कालोमोसो दलेर लाहान नगर परिक्रमा गराई प्रहरीलाई बुझाइएको हो ।वडा प्रहरी कार्यालय लाहानका प्रहरी निरीक्षक अविचन्द्र रिजालले कारबाहीका लागि बुझाइएका अधिकृत झामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिने बताए ।गोपाल सेवासमितिका अध्यक्ष विशेश्वरले बिहीबार वडा प्रहरी कार्यालयमा झाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराउने बताए । मुद्दाउपर छानबिन गरिने प्रमुख जिल्ला अधिकारी गेहराज भण्डारीले जानकारी दिए ।

No comments: