News

Dec 9, 2008

वीर अस्पतालले करोडौं मूल्यमा खरिद गरेका आइसियूका उपकरण थन्किए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीर अस्पतालले करोडौं मूल्यमा खरिद गरेका आइसियूका उपकरण दुई वर्षदेखि त्यसै थन्किएका छन् । अस्पतालले अहिलेसम्म पनि आइसियू सामग्री जडान नगर्दा बिरामी चर्को मूल्य तिर्न बाध्य भइरहेका छन् । अस्पताल प्रशासनको बेवास्ताका कारण १५ वटा आइसियू सामग्री त्यसै थन्किएका हुन् । आइसियूका उपकरण झकिाइएपछि वीर अस्पतालमा दुई निर्देशक र दर्जनौ पदाधिकारी परिवर्तन भए पनि आइसियू सञ्चालनमा आएनन् । सरकारी अस्पतालमा प्रतिदिन पाँच सय ५० रुपैयाँ शुल्क रहेको आइसियू बेडलाई निजी अस्पतालमा १४ हजारसम्म तिर्न सर्वसाधारण बाध्य छन् । निजी अस्पतालमा न्यूनतम आइसियू शुल्क नै तीन हजार रुपैयाँ छ । भेन्टिलेटरको शुल्क दैनिक न्यूनतम चार हजार छ । त्यसमाथि निजी अस्पतालले बेडचार्ज छुट्टै लिने गरेका छन् । राजधानीका सरकारीमध्ये वीर, शिक्षण र पाटन अस्पतालसँग मात्र आइसियू सेवा छन् । ती अस्पतालका जनरल वार्डमा जम्मा १७ बेड आइसियू सञ्चालित छन् । वीर अस्पतालमा हाल तीन आइसियू र तीन सिसियू छन् । शिक्षण अस्पतालसँग पनि ६ वटा मात्र आइसियू छन् । त्यस्तै, पाटन अस्पतालसँग तीन बेड आइसियू छन् । शिक्षण अस्पतालमा आइसियू र सिसियूकक्षमा बेड खाली नरहेको निर्देशक महेश खकुरेलले जानकारी दिए । 'जम्मा ६ बेड छन्, कहाँबाट खाली गर्ने ? महिनौंदेखि बिरामी हुन्छन्,' उनले भने, 'बेड खाली हुन कि त बिरामी निको भएर जानुपर्‍यो कि मर्नुपर्‍यो ।' अइसियूकक्षमा बेड नहुँदा आकस्मिक कक्षका बिरामीलाई अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । वीरमा वर्षौं देखि आइसियूमा बेड खाली नरहेको सो विभागका कर्मचारी दुर्गा थापाले बताइन् । त्यस्तै, पाटन अस्पतालमा पनि आइसियूमा बेड खाली नै नहुने अस्पतालले जनाएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. केदारनरसिंह केसी राजधानीमा मात्र दैनिक दुई सय आइसियूको माग रहेको बताउँछन् । 'दैनिक दुई सय आइसियूको माग छ, तर सरकारी अस्पतालमा त्यसको १० प्रतिशत पनि छैन,' उनले भने । बिरामीको मृत्युपछि तनाव सिर्जना हुने गरेका घटनाले गर्दा निजी अस्पतालले पनि सिरियस बिरामी भर्ना गर्न छाडेको उनको भनाइ थियो ।

No comments: