News

Nov 17, 2009

माओवादीलाई एक्ल्याउदैँ बजेट पारीत गर्ने निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ नोभेम्बर, २००९,प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेस संसदमा अवरोधका बीच पनि बजेट पारित गर्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज मंगलबार बसेको दुवै पार्टीका वरिष्ठ नेताहरुबीचको बैठकमा भोलि बुधबार बिहानसम्म पनि सहमति नभए माओवादीको अवरोधबीच पनि संसदमा बजेट पास गर्ने सहमति भएको छ । एकीकृत माओवादीसँग समझदारी कायम गर्न घनीभूत ढङ्गबाट अगाडि बढने निर्णयमा काँग्रेस र एमाले पुगेका छन् । आज दिनभर एकीकृत माओवादीलाई मनाउन काँग्रेस र एमालेले प्रयास गर्ने भएका छन् । सहमतिकै प्रयासमा आज एमाले, काँग्रेस र एकीकृत माओवादीका नेताहरुबीच आज बेलुका वार्ता हुने भएको छ ।यस अगाडि सोमबार राती प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजना गरिएको रात्रीभोजका क्रममा एमाले र काँग्रेसका नेताहरुबीच भएको वार्तामा माओवादीले लामो समयदेखि गर्दै आएको व्यवस्थापिका संसदको गतिरोध नखुलाए माओवादीको अवरोधका बीच ध्वनिमतले बजेट पारित गर्ने निष्कर्ष निकालेका हुन् । आगामी मंसिर ५ गतेभित्र सकेसम्म सहमतिका साथ नभए बहुमतले बजेट पारित गर्ने सहमति भएको हो ।वार्तामा दुवै दलका नेताहरुले एकीकृत माओवादीले बजेट पारित हुन नदिएर सरकारलाई आर्थिक संकट घोषणा गर्न बाध्य बनाउन खोजेको निचोड समेत निकालेका छन् । बालुवाटारको रात्रीभोजमा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति एवं काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, महामन्त्रीद्वय केबी गुरुङ, बिमलेन्द्र निधि, सहमहामन्त्री अर्जुननरसिंह केसी लगायतको सहभागिता रहेको थियो ।यस्तै भोजमा एमालेका प्रभावशाली नेता केपी शर्मा ओली, एमालेकी उपाध्यक्ष एवं रक्षामन्त्री बिद्यादेवी भण्डारी, अर्थमन्त्री सुरेन्द्र पाण्डे, गृहमन्त्री भीम रावल, सञ्चारमन्त्री शंकर पोखरेल, सचिव युवराज ज्ञवाली र अमृत कुमार बोहोराको समेत सहभागिता रहेको थियो । यसैबीच सत्तामा रहेका तीन ठुला दल कांग्रेस, एमाले र फोरमले आफ्ना सभाषादहरुलाई राजधानी बाहिर नजान निर्देशन दिएको छ ।

No comments: