News

Apr 23, 2010

सङ्गीत तथा नाटय प्रतिष्ठानको कुलपतिमा अम्बर गुरुङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल सङ्गीत तथा नाटय प्रतिष्ठानको कुलपतिमा नियुक्त वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई शुक्रबार राजधानीमा कुलपतिको पद तथा गोपनीयताको सपथ गराउनुभयो ।प्रधानमन्त्री सो प्रतिष्ठानका संरक्षक हुनुहुन्छ । वरिष्ठ सङ्गीतकार गुरुङ व्याकुल माइलाद्वारा रचित नेपालको राष्ट्रिय गानका सङ्गीतकार पनि हुनुहुन्छ ।प्रधानमन्त्री कार्यालयमा आज बिहान आयोजित सोही सपथ समारोहमा कुलपति गुरुङले सो प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्ल, सदस्यसचिव तीर्थ श्रेष्ठ र सदस्यहरुलाई पनि शपथ गराउनुभयो ।सो प्रतिष्ठानका सदस्यहरुमा तीर्थ थापा, यज्ञराज उपाध्याय, मिथिला शर्मा, कविता आले, रमेशरञ्जन झा र रामकृष्ण दुवाल हुनुहुन्छ ।झा भने काठमाडौँबाहिर रहनुभएकाले सपथ ग्रहण समारोहमा अनुपस्थित हुनुहुन्थ्यो ।सरकारले सो प्रतिष्ठानको कुलपतिमा वरिष्ठ सङ्गीतकार गुरुङलाई बिहीबार नियुक्त गरेको हो । प्रधानमन्त्री नेपालले प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ अनुरूप नौ सदस्यीय परिषद् र २४ सदस्यीय सभा मनोनयन गर्नुभएको हो ।प्रतिष्ठानको २४ सदस्यीय सभामा गुरुङ, मल्ल, श्रेष्ठ, शर्मा, उपाध्याय, दुवाल, थापा, झा, कविता आले र रमेश बुढाथोकी रहनुभएको छ ।यसैगरी, हरिबहादुर थापा, आलोकश्री, चेतनारायण राई, मदनदास श्रेष्ठ, हरिदेवी कोइराला, शकुन्तला प्रधान, विष्णुभक्त फुयाँल, श्रवण मुकारुङ, भरत नेपाली, शान्तिराम राई, बृजकिशोर सहनी, कृष्ण शाह यात्री, उन्नतिशिला बोहरा र नमुना शर्मा रहनुभएको छ ।प्रतिष्ठानका पदाधिकारी र सदस्यको नाम मनोनयनका लागि सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा.मीनेन्द्र रिजाल अध्यक्ष र सदस्यद्वय डा.विमल कोइराला र शान्ति मास्के रहनुभएको तीन सदस्यीय समितिले सिफारिस गरेको थियो ।

No comments: